एनएमबि बैंक र युएसऐड ट्रेडबीच १८.९ मिलियन अमेरिकी डलर लगानी भित्र्याउन सहकार्य
काठमाडौं । एनएमबि बैंकले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसऐड ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्य अन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरुको लागि वित्तीय पहुँच बढाउने छ । यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्ध हुन प्रवद्र्धन गर्नेछ । युएसऐड ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुको लागी दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउनको सहयाेग गर्दछ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।
मनाङ र मुस्ताङका लागि हेलिकोप्टरमार्फत मतपत्र ढुवानी
मनाङ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्लाहरू मनाङ र मुस्ताङमा मतपत्र पुगेका छन् । आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत ती जिल्लामा मतपत्र पुर्याइएको हो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार र समानुपातिकतर्फ नौ हजार मतपत्र ल्याइएको मनाङका जिल्ला निर्वाचन अधिकृत पुष्पराज आचार्यले जानकारी दिए । ‘आज साढे आठ बजे प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र आइपुगेको छ । कडा सुरक्षा व्यवस्था गरी जिल्ला निर्वाचन कार्यालयमा सुरक्षित साथ राखिएको छ’, आचार्यले भने । प्रदेशसभा–१ को समानुपातिकतर्फ तीन हजार पाँच सय र प्रदेशसभा–२ का लागि पाँच हजार पाँच सय समानुपातिक मतपत्र आएको उनले बताए । गत निर्वाचनमा कुल पाँच हजार आठ सय ८१ मध्ये चार हजार तीन सय ३८ मत खसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी कुल छ हजार सात सय ७९ मतदाता छन् । रासस
साँझ पैदल यात्रा गर्दा र परिवारलाई समय दिँदा राम्रोसँग निन्द्रा लाग्ने
एजेन्सी । विश्वभर निद्रा एक प्रमुख समस्या बन्दै गएको छ। हरेक ८ मध्ये एक जना अनिद्राबाट पीडित छन् । राति निन्द्रा नपुगेकाले दिन गडबडी हुँदै जानुका साथै काम गर्ने क्षमता समेत घट्दै गएको छ । ‘द स्लीप प्रिस्क्रिप्शन’ पुस्तकका लेखक क्यालिफोर्निया विश्वविद्यालयका मनोवैज्ञानिक डा. एरिक प्राथर भन्छन् कि राम्रो निद्राले मानिसलाई दयालु र रचनात्मक बनाउँछ। यति मात्र होइन यो असल अभिभावक र राम्रो जीवन साथी बनाउन पनि सहयोगी हुन्छ । पुस्तकमा पथरले औषधिबिना राम्रो निन्द्रा लाग्ने धेरै वैज्ञानिक उपाय बताएका छन्। सुत्ने ठाउँलाई अँध्यारो राख्नुहोस्, सुत्ने दिशा बदल्नुहोस् समाधान होइन, समस्या लेखेर पुग्छः दिनको कुनै पनि समयमा वा सुत्नुअघि निश्चित समयमा यसो गर्नाले सुत्ने बेलामा मनमा ती समस्या हावी हुँदैनन् । समस्या लेख्नुहोस्, समाधान लेख्न आवश्यक छैन। सुत्ने कोठाको भित्री भाग बदल्न सकिन्छ : हरेक दिन एउटै ठाउँमा सुत्दा पनि धेरै पटक निन्द्रा लाग्दैन । सुत्ने ठाउँ फेर्न सक्नु हुन्न भने दिशा बदल्नुस् । कोठा को भित्री भागको सजावट परिवर्तन गर्न सकिन्छ। पौष्टिक र हल्का खाना खानुहोस् : बेलुका पौष्टिक र हल्का नास्ता खानुहोस्। हिड्न जानूहोस, गीत सुन्नुहोस् तपाईंको बगैचामा बिरुवाहरूसँग समय बिताउनुहोस्। बुककेसहरू सफा गर्नुहोस्। परिवारका सदस्यहरू वा आफ्ना साथीहरूसँग कुरा गर्नुहोस्। कोठाको तापक्रमको ख्याल गर्नुहोस् : बेडरूममा ल्यापटप-कम्प्युटर नराख्नुहोस्। सुत्दा कोठालाई चिसो र अँध्यारो राख्नुहोस्। उज्यालो प्रकाशले तपाईंलाई सुत्न दिँदैन। स्लीप मास्कको प्रयोग लाभदायक हुन सक्छ। दिमागलाई पनि समय दिनुहोस् मस्तिष्कलाई ल्यापटप जस्तै व्यवहार नगर्नुहोस्। सुत्न मन शान्त हुनुपर्छ । काम सकिएपछि आफैलाई समय दिनुहोस्। आफ्नो मनपर्ने पुराना टिभी कार्यक्रमहरू हेर्नुहोस्। ओछ्यानमा गएको २० मिनेटसम्म सुत्न सक्नुभएन भने उठ्नुहोस्। घरमा वा टेरेसमा हिंड्नुहोस्। किताबहरू पढ्नुहोस् चिया र कफीबाट टाढा रहनुहोस्। सुत्नु भन्दा कम्तिमा ६ घण्टा अगाडि चिया कफी नपिउनुहोस । न्युयोर्क टाइम्सबाट ।
एफवान सफ्टले ल्यायो युज माबाईल डटकम, मोबाईल बैंकिङ्ग प्रयोग बारे सम्पुर्ण जानकारी दिने
काठमाडौं । एफवान सफ्ट इन्टरनेशनले युज मोबाईल बैंकिङ्ग डटकमको सुरुवात गरेको छ । यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्नेछ । वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ्ग अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु ९सन्दर्भ सामाग्री० छन् । कम्पनीको अनुसार कुनैपनि ग्राहकले वेबसाईटमा गएर आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगको ट्युटोरियल ९सन्दर्भ सामाग्री० हेर्न सक्नेछन् । वेबसाईटमा मोबाईल बैंकिङ्ग सम्बन्धी नविनतम तथ्य,तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनि निरन्तर अपडेट गरिने बताइएको छ । एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सवाश शर्माले मानिसहरुलाई टेक्नोलोजीसँग अझ बढि परिचित गराउन युज मोबाईल बैंकिङ्ग डट कमले सहयोग गर्ने बताइन् । एफवान सफ्ट १८ वर्षभन्दा बढि समयदेखि डिजिटल फाइनान्समा केन्द्रित छ । हाल एक हजार भन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको कम्पनीले ५० भन्दा बढि वित्तीय संस्थाहरुको बैंकिङ्ग र वित्तीय संस्थाहरुको बैंकिङ्ग अनुप्रयोगहरु निर्माण गरेको छ ।
तराई जोड्ने दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक स्तरोन्नति सुरु
खोटाङ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट खानीडाँडा हुँदै रेग्मीटार पुग्ने सडक स्तरोन्नति थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा हुँदै रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्गमा जोडिने सडकको कामले तीव्रता पाएको हो । सडक निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ४० लाख रुपैयाँ उपलब्ध गराएको छ भने उपभोक्ता समितिले छ लाख ७९ हजार सात सय २१ रुपैयाँ बराबरको श्रमदान उपलब्ध गराएको छ । तत्कालीन जिल्ला विकास समितिले ट्रयाक खोलेको उक्त सडक नगरपालिकाले गौरवको आयोजनामा राखेको छ साढे ३१ किलोमिटर लामो उक्त सडकको भौतिक प्रगतिबारे जानकारी लिन नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, दिक्तेलका वडाध्यक्ष नवराज राई र खाल्लेका वडाध्यक्ष खगेन्द्र राई तथा नगरपालिकाको प्राविधिक टोली मङ्गलबार निर्माणस्थलमा पुगेको थियो । नगरप्रमुख विशन राईले तत्कालका लागि राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायात सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए । तत्कालिन जिल्ला विकास समितिले आहालेबाट राजापानीको घर्तीभिरसम्म र सगरथामा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट घर्तीभीरसम्म सिधा ‘ट्रयाक’ खोलेको थियो । घर्तीभिरमा ठूलो चट्टान भएकाले अहिलेसम्म दुवैतर्फको ट्र्याकलाई जोड्न नसकिएको नगरप्रमुख भट्टराईको भनाइ छ । ‘घर्तीभिरको चट्टान फोडेर ट्र्याक जोड्ने प्रयास जारी छ’, उनले भने, ‘ट्र्याक नजोडिँदा हाल दिक्तेलबाट महुरे, बुइँपा, राजापानी हुँदै घुमेर रेग्मीटार पुग्नुपर्ने बाध्यता छ ।’ उक्त सडक जोड्न सकिए दिक्तेलबाट डेढ घण्टामा रेग्मीटार पुग्न सकिने उनको भनाइ छ । दिक्तेल–महुरेबीचको २० किलोमिटर सडक कालोपत्र भइसकेको छ भने महुरे–राजापानी–रेग्मीटारअन्तर्गत पर्ने २९ किलोमिटर सडकमा कालोपत्र भइरहेको छ । हाल स्तरोन्नति सुरु गरिएको दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडकखण्ड दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ । नगरप्रमुख नवराज भट्टराईले अहिले प्राप्त भएकै बजेटबाट काम गर्न उपभोक्ता समितिलाई निर्देशन दिएका छन् । अपुग बजेटका लागि फेरि बजेट व्यवस्थापन गर्ने उनले बताए । सडक स्तरोन्नति भई नियमित यातायात सञ्चालन भए कम मूल्यमै खाद्यान्न, हार्डवेयर, इन्धनलगायत उपभोग्यवस्तु ढुवानी गर्न सकिने वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । दिक्तेल–खानीडाँडा सडक भने करिब वर्ष दिनदेखि अलपत्र अवस्थामा छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजार रुपैयाँ लगानीमा कालोपत्रको काम थालिए पनि ठेकेदारको लापरबाहीले अलपत्र परेको हो । ठेकेदार कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले २०७६ चैत ७ भित्र सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो । त्यसपछि समयावधि बढाएर २०७८ वैशाख २९ गते बनाइएको थियो । अलपत्र अवस्थामा रहेको दिक्तेल–खानीडाँडा सडक कालोपत्रको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ४७।७६ प्रतिशत मात्रै पुगेको छ । अलपत्र सडक तत्काल सम्पन्न गर्न ठेकेदार कम्पनीलाई लिखितरुपमै निर्देशन दिइएको नगरप्रमुख भट्टराईले जानकारी दिएका छन् ।
दुई पटक मूल्य घटेर आएपनि पेट्रोलको मूल्य नघटाउने निगमको निर्णय
काठमाडौं । नेपाल आयल निगमले तत्कालको लागि पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । ईण्डियन आयल कर्पोरेशनबाट दुई पटक मूल्य घटेर आए पनि निगमले तत्कालको लागि मूल्य नघटाउने जानकारी दिएको छ । निगमले ईण्डियन आयल कर्पोरेशनको वक्यौता र सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न अझैपनि चुनौतिपूर्ण रहेको बताउँदै हाललाई मूल्य नघटाउने जनाएको छ । ईण्डियन आयल कर्पोरेशनले असोज ३० गते र कात्तिक १५ गते पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो । निगमकाे अनुसार कर्पोरेशनले कात्तिक १५ गते घटाएर पठाएकाे मूल्य अनुसार निगमलाई हाल डिजेलमा १२.१४ प्रति लिटर घाटा र एल.पी.ग्यासमा २२८. ८४ प्रति सिलिण्डर घाटा रहेकाे छ । तर, समग्रमा निगमलाई आगामी १५ दिनमा करीब १८ करोड मात्र नाफा हुने प्रक्षेपण निगमले गरेकाे छ ।
फिलिपिन्स आँधी : एक सय पचास जनाको मृत्यु
फिलिपिन्स । फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ५० पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६ जना बेपत्ता भएका छन् । आँधीले ३९ लाख सर्वसाधारण नराम्ररी प्रभावित भएका छन् भने चार सय ९९ सडकमा क्षति भएको छ । त्यसैगरी एक सय २० वटा पुल आंशिक वा पूर्ण रूपमा भत्केका छन् । आँधीका कारण राजधानी मेट्रो मनिलासहित १७ क्षेत्रका ३१,९४२ गाउँका १८ लाख १२ हजार सात सय ४० जना प्रभावित भएका मनिला टाइम्सले जनाएको छ । आँधीसँगैेको बाढीका कारण कम्तीमा एक लाख १३ हजार चार सय आठ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ भने ११ हजार ७६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ । आठ हजार छ सय आठ किसान र माछुवारा प्रभावित भएका छन् । मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस शहर अधिक प्रभावित भएका छन् । यी स्थानका धान, मकैका साथै अन्य बालीमा क्षति भएको छ । रासस
सिमेन्टको ५० र डण्डीको मूल्य ७ रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । दशैं, तिहार र छठ पर्व सकिएसँगै निर्माणजन्य सामग्रीको मूल्य पनि घट्न थालेको छ । चाडपर्व सकिएसँगै निर्माणको अफ सिजन हुँदा सिमेन्ट तथा डण्डीको मूल्य घट्न थालेको हो । निर्माण व्यवसायीहरु अहिले मूल्य घट्न थालेको बताइरहेका छन् । अहिले निर्वाचन नजिकिँदा पनि निर्माणका कामहरु कम हुँदा र सामानको मागमा पनि कमि आउँदा निर्माण सामग्रीको मूल्य घटेको उनीहरुको भनाइ छ । यस्तै बैंकमा लगानीयोग्य पुँजीको अभाव हुँदा पनि त्यसको मार निर्माण क्षेत्रमा पनि परेको हो । निर्माण सामग्री व्यवसायी संघका उपाध्यक्ष दीपक श्रेष्ठ दशैं तिहार सकिएसँगै निर्माण सामग्रीको मूल्य घटेको बताउँछन् । दशैं अघिको तुलनामा पछिल्लो समय सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँसम्म सस्तो भएको उनको भनाइ छ । ‘निर्माणको अफसिजन तथा तरलता अभावका कारण अहिले निर्माण क्षेत्रमा मन्दी आएको छ, अहिले हार्डवयरको बजार ७० प्रतिशत डाउन छ, खपत कम भएपछि मूल्य घटेको हो’, उनले भने, ‘दशै अगाडीको तुलनामा डण्डी किलोमै ७ रुपैयाँ र सिमेन्टमा ५० रुपैयाँसम्म मूल्य घटेको छ, निर्माण सामग्रीको अफ सिजन र बैंकले पैसा नदिम्दा निर्माण सामग्रीको खपत न्यून भयो ।’ अफ सिजन र सिजनमा निर्माण सामग्रीको मूल्यमा खासै फरक नभएतापनि हाल तरलता अभावका कारण व्यापार नोक्सानीमा गएको उनले बताए । उनले पछिल्लो समय खपतमा कमी आउँदा निर्माण सामग्रीको बजार सुस्ताएको बताए । व्यापार नभए पनि व्यवसायीहरुले नोक्सानीमै रहेर कर्मचारीको व्यवस्थापन गर्ने काम गरिएको उनले बताएका छन् । उपाध्यक्ष श्रेष्ठले मंसिर ४ गतेको निर्वाचनपछि निर्माण सामग्रीले बजार पाउने आशमा व्यवसायी रहेको बताए । निर्वाचनका कारण सरकारी कार्यालयबाट हुने अधिकाशं भुक्तानी रोकिएकोे कारण पनि अहिले निर्माणजन्य काम हुन नसकेको उनले बताए । तरलता अभावकै कारण घर बनाउनेहरु घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य घटेको व्यवसायीको भनाई छ । निर्माण सामग्री व्यापार संघका महासचिव टंक नेपाल निर्माण सामग्रीको बजारमा मन्दी आएको बताउँछन् । उनले निर्माण सामग्रीको मागमा कमी आएपछि मूल्य अस्थीर रहेको बताए । ‘कहिले माग उच्च हुँदा पनि मूल्य बढेको हुँदैन कहिले माग न्यून हुँदा समेत मूल्य बढ्ने गरेको छ, भारतीय बजारमा निर्भर हुँदा मूल्य अस्थिर भएको छ, उनी भन्छन्, तरलता अभावकै कारण घर बनाउनेहरु घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य पनि घटेको हो ।’ यस्तै, सर्वोतम सिमेन्टका जनरल म्यानेजर जगनाथ दाहालले पनि अहिले कम्पनी अनुसार सिमेन्टको मूल्य फरक फरक रहेको धारणा राखे । उनका अनुसार सिमेन्टको कतिपय उद्योगले घटाएको पनि हुन सक्ने धारणा राखे । उनले पनि बैंकबाट घर बनाउनका लागि कर्जा नपाइने भएकै कारण सिमेन्टको बजार खस्किएको बताए । अहिले बजारमा प्रतिबोरा सिमेन्टको मूल्य ६५० रुपैयाँदेखि ७५० रुपैयाँसम्म कारोबार भइरहेको छ भने स्टीलको केजीको ९५ रुपैयाँदेखि ११० रुपैयाँसम्म कारोबार भइरहेको उद्योगी व्यवसायीहरु बताउँछन् ।