विकासन्युज

माझी बस्ती जहाँ भोट माग्न मात्रै पुग्छन् उम्मेदवार

बागलुङ । जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् । बिहान–बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश देखाइरहेका छन् । विसं २०४८ मा बागलुङ–पोखरा राजमार्ग निर्माण गर्दा विस्थापित भएका माझी परिवार एक दशक बढी बाङ्गेचौर वरपर छाप्रो बनाएर बसे । त्यही नै गुजारा चलाए । चार वर्ष अगाडि सरकारले नियरघाट नजिकै बस्ती निर्माण गरी उनीहरूलाई हस्तान्तरण गर्यो । धेरैले घरसहित लालपुर्जा पाए । तर अझै केही परिवारले पाउन सकेका छैनन् । माझी समुदायलाई सडक, खानेपानी, रोजगारलगायतका आश्वासन चुनावैपिच्छे आउँछन्, तर काम गर्दैनन् । स्थानीय सोमबहादुर माझी भन्छन्, ‘चुनावका बेला यो गर्दिन्छौँ, त्यो गर्दिन्छौँ भन्दै दिनदिनै नेताहरू आउछन्, चुनाव जितेपछि एकपटक पनि हाम्रो बस्तीमा आउदैनन्, काम पनि खासै केही गर्न सकेनन्, हाम्रो बस्तीमा धेरै समस्या छन् ।’ उम्मेदवारले चुनावका बेला सडक, खानेपानी र रोजगारको कुरा गरे पनि अहिलेसम्म कुनै पनि बाचा पूरा गर्न नसकेको माझीको गुनासो छ । उनी वर्षौँ बितिसक्दा पनि खानेपानीको व्यवस्थापन पूर्णरूपमा हुन नसकेको भन्दै सडकको अवस्था पनि उस्तै रहेको बताउँछन् । ‘चुनावका बेला भोट माग्न आउने सबैले सडक, खानेपानीको कुरा गर्छन्, यहाँ पानी ल्याउने भनेको धेरै भयो अहिलेसम्म स्वच्छ खानेपानीको व्यवस्था हुनसकेको छैन’, उनले भने । विस्थापित माझी परिवारलाई सरकारले १३ घर निर्माण गरी चार वर्ष अगाडि हस्तान्तरण गरेको थियो । उनीहरूले घर पाए पनि स्वास्थ्य, शिक्षा, रोजगार र खानेपानीको राम्रो व्यवस्था हुन नसकेको स्थानीय उमा माझीले बताइन् । उनले पटक–पटक आफूहरूले भोट दिए पनि माझी समुदायमा उम्मेदवार जितेपछि कमै आउने गुनासो गरिन् । ‘हाम्रा लागि काम गर्लान् भनेर भोट दिएर जिताइयो तर फर्कि हेरेनन्, समस्या जस्ताकोतस्तै छन्’, उनले भनिन्, ‘भोट माग्न आउने बेलामा गर्छौँ भनेर भन्छन्, विश्वास लाग्छ तर काम गर्दैनन्, अहिले आएर हामीहरूलाई झुक्याउन खोजेको जस्तो लाग्न थाल्यो ।’ माझी समुदायको उम्मेदवारसँग ठूलो अपेक्षा छैन । रोजगार सिर्जना गरिदिए पुग्ने उनीहरु बताउँछन् । स्थानीय चन्द्रकला माझी भन्छिन्, ‘भएको घर सम्पत्ति सडकले खाइदियो, सरकारले यति घरमात्रै बनाइदिएको हो, घरमात्रै भएर नहुने, गरीखाने ठाउँ छैन, सरकारले कि गरिखाने ठाउँ, कि काम गर्ने ठाउँको व्यवस्था गरिदिए हुन्थ्यो ।’ उम्मेदवारको ध्यान माझी बस्तीमा पुग्न नसक्दा आफूहरूको समस्या ज्यूँका त्यूँ रहेको उनीहरु बताउँछन् । ‘अहिले आउने उम्मेदवार अर्को चुनावमा मात्र फर्किन्छन्’, उनले भनिन्, ‘भ्रममात्रै छर्दा रैछन्, काम गर्दा रहेनछन् ।’ सडक निर्माण गर्दा विस्थापित बनेकामध्ये १३ परिवारको सरकारले घर निर्माण गरेर हस्तान्तरण गरे पनि तीन परिवारले अझै लालपुर्जा पाउन सकेका छैनन् । अहिलेसम्म गमसिंह माझी, रामबहादुर माझी र यमबहादुर माझीले लालपुर्जा पाएका छैनन् । विभिन्न प्रक्रिया नपुग्दा आफूहरूले अहिलेसम्म लालपुर्जा पाउन नसकेको यमबहादुर माझीको भनाइ छ । रासस

शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै पाल्पाको ‘गङ्गा मावि’

रामपुर । गङ्गा माध्यमिक विद्यालयको हाताभित्र प्रवेश गरेपछि सबैको नजर बाल उद्यानमै तानिएको हुन्छ । भनिन्छ, बालबालिकालाई सानैदेखि नै राम्रो वातावरण दिन सकियो भने उनीहरूको भविष्य सुन्दर र उज्ज्वल बन्छ । यहीँ भनाइको सुरुआत गङ्गा माविबाट भएको छ । बालबालिकाको खेल संस्कार विकास गर्न र उनीहरूलाई समयानुकूलको शिक्षा प्रदान गर्न पाल्पाकै नमूना विद्यालयका रूपमा रहेको रामपुर नगरपालिका–८ स्थित गङ्गा माविमा सो अभ्यासको थालनी भएको छ । यहाँको शैक्षिक वातावरणले विद्यालयभित्र पुग्ने जो–कसैलाई पनि लोभ्याउँछ । बालबालिका खेल्दै, पढ्दै गरेको दृश्यले उनीहरूको सुन्दर भविष्यको रेखा कोरिएको छ । गाउँका शैक्षिक संस्थामा यस्तो व्यवस्था खासै पाइँदैन । त्यसमा पनि सामुदायिक विद्यालयमा निर्माण भएको बाल उद्यानले शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ । यहाँको विद्यालयमा बालविकासलाई प्राथमिकता दिँदै उनीहरूको खेल्ने र मनोरञ्जन गर्ने अधिकारलाई प्रत्याभूत गराउँदै बाल उद्यान अर्थात् बालसंसार निर्माण गरेपछि शैक्षिक क्षेत्रमा यसले नौलो आयाम थपेको छ । स्थानीयवासी तथा नेपाल सरकारका पूर्व राष्ट्रसेवक कर्मचारी कृष्णप्रसाद पौड्याल र गोविन्दप्रसाद पौड्यालद्वारा स्व पिता जयलाल एवं माता कौशल्यदेवीको सम्झनामा बाल उद्यान तयार पारिएको हो । करिब २० लाखको लगानी परेको बाल उद्यानमा पौड्याल परिवारको १३ लाख रुपैयाँ बराबरको सहयोग छ । बाँकी रकम आवश्यक खेलजन्य सामग्रीमा विद्यालयले खर्चेको छ । बाल उद्यानको संरचना सबै पौड्यालकै लगानीमा बनेको हो । यहाँ निर्माण गरिएको बाल उद्यानको गत असोज २३ गते जापानी नागरिक काजुमासा काकिमी ओकेबाजेले उद्घाटन गरेका हुन् । उद्यान विद्यालयलाई हस्तान्तरण गरिएको छ । सो उद्यानमा आठ पिङ, चिफ्लेटी, बिगप्ले स्टेशनलगायत विभिन्न खेलका सामग्री छन् । तल्ला कक्षाका बालबालिकालाई लक्षित गरेर उद्यान तयार पारिएको हो । एकैपटकमा ५० देखि ६० जनासम्म साना बालबालिका अट्ने क्षमता छ । यस उद्यानले खेल संस्कारको विकास भएको छ । समाज परिवर्तन गर्नका लागि बालबालिकाबाट सुरु गर्नुपर्छ भनेर समाजमा सकारात्मक सन्देश दिन र उनीहरूको सर्वाङ्गीण विकासका लागि बाल उद्यानमा लगानी गरेको पूर्व राष्ट्रसेवक कर्मचारी पौड्याल बताउँछन् । ‘बालबालिकालाई असल नागरिक बनाउने कुरा गर्छौँ तर हामीले राम्रो वातावरण दिन सक्दैनौँ, उनीहरूको शारीरिक, बौद्धिक र सकारात्मक भावनाको विकास जबसम्म हुँदैन तबसम्म असल नागरिक बनाउन धेरै कठिन हुने भएकाले बालबालिकामा लगानी गर्न कन्जुस्याइँ गर्नु हुँदैन’, उनले भने । विद्यालयबाट होस् या घरपरिवार, समाजबाट बालबालिकालाई महत्व दिएर काम गरियो भने विकासको सुरुआत त्यहीँबाट हुने उनको भनाइ छ । सानैदेखि नै बालबालिकालाई राम्रो वातावरण दिन सकियो भने भविष्यमा ठूलो मान्छे बनेर उनीहरूबाट हामीले धेरै फाइदा लिन सक्ने भएकाले लगानी गर्न पछि नहट्न सम्बन्धित निकाय, व्यक्तिसँग उनको आग्रह छ । महिला तथा बालबालिका विभागको महानिरीक्षक पदमा रहँदा नै बालबालिकामा लगानी गर्नुपर्छ भन्ने अवधारणाको सुरुआत गरेको र सो अवधारणालाई अहिले सेवा निवृत्त भएपछि सामाजिक, शैक्षिक क्षेत्रमा अगाडि बढाएको उनी बताउँछन् । ‘महिला उत्पीडनमा छन्, बालबालिका वितृष्णामा पर्छन्, यो सानैदेखि राम्रो शिक्षा दिन नसकेर भएको हो’, उनले भने, ‘हाम्रो समाजमा पछिल्लो समय महिला हिंसा, बालहिंसाका घटना बढिरहेका छन्, बालबालिकामा राम्रो वातावरण दिन नसक्दा समाजमा यस्ता क्रियाकलाप हुने गरेका छन्, त्यसकारण सानैदेखि उनीहरूलाई संस्कारसहितको वातावरण हामीले सिर्जना गरिदिनुपर्छ ।’ राम्रो वातावरण दिनका लागि महिला तथा बालबालिका विभागमा कार्यरत रहँदादेखि नै देशभर केही गर्नुपर्छ भनेर अभियान चलाएको पौडेल बताउँछन् । गङ्गा माविबाट सुरुआत गरेको अभियानलाई अब अतिक्रमणमा परेका सार्वजनिक जग्गामा बाल उद्यान तयार पार्नुपर्ने उनको भनाइ छ । बाल विकासका लागि उनी आफैँ सार्वजनिक जग्गा संरक्षण र बालहित संसार अभियानको संयोजक भएर लागेका छन् । सार्वजनिक जग्गाको सम्पत्ति संरक्षणका लागि बाल खेल संसार अभियान सुरुआत गरियो भने त्यसले जग्गाको संरक्षण र बालबालिका खेल्ने उद्यानको विकास हुनेछ । अतिक्रमण गरेका सार्वजनिक जग्गा पनि मुक्त गराउन रामपुरमा यस अभियानको थालनी गर्न समिति बनाइएको छ । व्यक्तिको लगानी हुँदा सामाजिक अपनत्व कम हुने भएकाले यस अभियानलाई स्थानीय सरकारले सहयोग गर्यो भने नगरपालिका तथा समाजको अपनत्व धेरै बढ्ने उनी बताउँछन् । सरकारी सेवामा करिब २८ वर्ष सेवारत उनी सात वर्षअघि महिला तथा बालबालिका विभागको महानिरीक्षक पदबाट निवृत्त भएपश्चात् सामाजिक अभियानमा लागेका छन् । आफूले सरकारी सेवामा रहँदा नै सुरु गरेको यो अभियानलाई देशव्यापीरूपमा अगाडि बढाउने उनको सोच छ । अहिलेको समयमा एकोहोरो कक्षाकोठाभित्रै पढाएर परिवर्तन गर्न गाह्रो स्थितिमा यस उद्यानले बालविकासको छिटो परिवर्तन हुने, पढाइमा विद्यार्थी आकर्षित बन्दै गएको बताउँछन्, गङ्गा माविका प्रधानाध्यापक देवराज देवकोटा । ‘बाल उद्यानले विद्यालयमा असाध्यै रौनकता ल्याएको छ, विद्यार्थीबाट उद्यान सञ्चालनवापतको विद्यालयले शुल्क लिएको छैन, खेल संस्कारको विकास भएको छ, बालबालिकाको रेखदेखका लागि चार शिक्षक खटाएका छौँ’, प्रअ देवकोटाले भने । असल नागरिक तयार पार्नलाई बालबालिकालाई खेलतर्फ आकर्षित गर्न अतिआवश्यक छ । सो बाल उद्यानमा अहिले बालबालिका रमाउँदै पढ्ने, खेल्ने गर्दा विद्यालयको शैक्षिक माहोल नै बदलिएको शिक्षक कृष्णप्रसाद घिमिरेले बताए । बाल उद्यानले विद्यालय आउन अप्ठ्यारो मान्ने, पढाइमा चासो नदिने बालबालिकाको पठनपाठनप्रति रुची बढाएको छ । रासस

हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ । आज जागा हुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढा–टाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउँछन् । चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको घुइँचो लागेको महन्त निगमानन्द स्वामीले जानकारी दिए । भक्तजन आउन थालेपछि बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति २ बजेदेखि मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो । नाराययणस्थानमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिहान ७ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजा आजा एवं दर्शन गरेको उनले बताए । साढे सात बजेदेखि सवा आठ बजेसम्म बूढानीलकण्ठको विशेष पूजाका लागि मन्दिर दर्शनार्थीका लागि बन्द गरिएको मठले जनाएको छ । बूढानीलकण्ठमा आजदेखि कात्तिक शुक्ल पूर्णिमा कात्तिक २६ गतेसम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत बूढानीलकण्ठमा घुइँचो लाग्छ । मठले प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अवसर पारेर श्रीमद्भागवत कथा वाचन गराउने गरेको छ । यो कार्यक्रम गत कात्तिक १५ गतेदेखि नै सुरु भएको जनाइएको छ । तुलसीको विशेष पूजासहित विवाह गरिँदै आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि पूजाआजा सुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । यसैगरी नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको पुजारी शिवप्रसाद पौडेलले बताए । जोरपाटीस्थित नारायण मन्दिर, हनुमानढोका दरबार क्षेत्रका विभिन्न नारायण मन्दिरलगायत देशभरका नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको जनाइएको छ । नेपालीले आजै घर–घरमा तुलसीको विशेष पूजा गर्दैछन् । आज विशेष पूजा गरी दामोदरसँग तुलसीको विवाह गरिन्छ । हरिबोधिनी एकादशीका अवसरमा दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा मेला लाग्ने भएकाले आज स्थानीय पर्व बिदा दिइएको नगरपालिकाका सूचना अधिकारी दीपकुमार केसीले जारी गरेकाे सूचनामा उल्लेख छ । यसैगरी बूढानीलकण्ठ नगरपालिकाले पनि आज स्थानीय पर्व बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा उल्लेख छ । रासस

तिहारमा मात्रै सयपत्री बिक्री गरेरै आठ लाख आम्दानी

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमामात्रै आठ लाख रुपैयाँ बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ । गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन् । तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूल गाउँपालिकाले प्रतिकिलो दुई सय ५० रुपैयाँ र कृषक तथा समूहले प्रतिकिलो तीन सय रुपैयाँका दरले बिक्री गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए । ‘किसान तथा समूहले फूलका थुङ्गाका अलावा मालासमेत बनाएर बिक्री गरे’, उनले भने, ‘तिहारको अवधिमा किसान तथा समूहद्वारा प्रतिमाला ८० रुपैयाँ देखि एक सय रुपैयाँका दरले बिक्री भयो ।’ यहाँ उत्पादन भएको फूल तथा माला स्थानीय बजारमै अत्यधिक खपत भएको थियो । स्थानीय बजारसँगै बुटवल, पोखरा, काठमाडौँ, दाङ, नवलपुरलगायत ठाउँमा समेत माला खपत भएको पौडेलले बताए । तिहारको अवधिमा सयपत्री फूलको माग विगतका वर्षका तुलनामा यसपाली बढेको थियो । व्यापारीले यहीँ आएर फूल खरिद गरेर लगेका थिए । ‘फूल पहिलो चरणको बिक्री भएर सकियो’, उनले भने, ‘दोस्रो चरणमा अहिले फेरि फूल उत्पादन भइसकेको छ, यो फूल विवाह, व्रतबन्धलगायतमा बिक्री गर्छौँ । साउनमा लगाइएको बोटबाट चैतसम्म उत्पादन लिन सकिन्छ ।’ फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिई आर्थिकलाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफैँले फूलखेती गरेको थियो । यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो । गाउँपालिकाले वडा नं ४ को बिर्घा पुछारमा करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्नका लागि नर्सरी स्थापना गरेको थियो । गाउँपालिकाले व्यावसायिकरूपमा फूलखेती गर्नका लागि नर्सरी राखेको बिर्घा पुछारमा पालिकाका सबै वडाबाट छनोट भई आएका कृषक समूह तथा कृषकलाई प्राविधिक ज्ञान दिएको थियो । खनजोतदेखि फूल उत्पादन हुँदासम्मका लागि गाउँपालिकाले प्रतिरोपनी रु नौ हजारका दरले अुनदान उपलब्ध गराएको थियो । गत वर्ष गाउँपालिकाले परीक्षणका रूपमा थालेको फूलखेतीको उत्पादन तथा बजारीकरण राम्रो भई मनग्य आम्दानी गरेपछि यस वर्षबाट कृषकलाई आकर्षित गर्न अनुदान उपलब्ध गराएको हो । पालिकाका सातवटै वडाका तीन महिला समूह, एक घरबास होमस्टे र १० कृषक गरी १४ समूह तथा व्यक्ति छनोट भएका हुन् । कृषक समूह तथा व्यक्तिले कम्तीमा पनि दुई रोपनीदेखि पाँच रोपनी जग्गामा व्यावसायिक फूलखेती गरेका छन् । गाउँपालिकाले यस वर्ष सयपत्री कर्मा ५५५ जातको बीउ लगाएको छ । एउटा बोटबाट चार सय वटासम्म फूलका थुङ्गा उत्पादन हुन्छन् । फूलको व्यावसायिक उत्पादन गर्न सकेको खण्डमा आर्थिक उपार्जन गर्न सकिने, खेर गइरहेको जमिनको सही सदुपयोग हुने, फूलको माध्यमबाट पालिकाको पहिचान स्थापित गर्न सकिनुका साथै यहाँको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गाउँपालिकाको छ । फूल उत्पादन हुने क्रम आगामी चैतसम्म हुने भएकाले बिक्री गरी थप आम्दानी लिन सकिन्छ । यहाँ व्यावसायिक फूलखेती थालेका किसानले तिहारको अवधिमा मात्रै न्यूनतम ३० हजार रुपैयाँदेखि अधिकृतम ७०–८० हजार रुपैयाँसम्म आम्दानी गरेका छन् । कालीगण्कडी गाउँपालिका–६ कुणादीका चिन्तामणि अधिकारीले तिहारमा मात्रै सयपत्री फूल बिक्रीबाट ६० हजार रुपैयाँ आम्दानी गरे । पहिलोपटक परीक्षणका रूपमा दुई रोपनीमा फूलखेती गरेका अधिकारीले तिहारको अवधिमा मात्रै फूल तथा माला बिक्री गरी मनग्य आम्दानी गरेका हुन्। ‘तिहारको अवधिमा मात्रै करिब दुई हजार मालाको माग थियो’, उनले भने, ‘मालाको माग अत्यधिक थियो तर पर्याप्त फूल थिएन र माग भएबमोजिम उपलब्ध गराउन सकेनौँ ।’ तिहारको समयमा सयपत्री माला तथा फूलको घरमै छोपाछोप भएको उनले बताए । उत्पादित फूलको ८० प्रतिशत माला बनाएर प्रतिमाला फुटकर एक सय रुपैयाँ र होलसेलमा ९० रुपैयाँमा बिक्री भएको उनी बताउँछन् । तिहारमा उत्पादन भएजति फूल फेरि पनि बोटमा उत्पादन भएकाले आम्दानी अझै वृद्धि हुने व्यवसायी अधिकारीले बताए । ‘विभिन्न जातका गेडागुडी लगाउने गरेको जमिनमा यस वर्ष गाउँपालिकाको सहयोगमा पहिलोपटक सयपत्री फूल लगाएँ’, उनले भने, ‘फूलबाट राम्रै आम्दानी भयो, बाँदरबाट पनि समस्या भएन, अबका दिन अझै क्षेत्र विस्तार गरी फूलखेतीलाई निरन्तरता दिने सोचमा छु ।’ रासस

प्रचण्ड र माधवको दबाबमा प्रधानमन्त्री बन्नुपर्यो : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफु दवावमा प्रधानमन्त्री बनेको बताएका छन् । गृहजिल्ला डडेल्धुरामा आयोजना गरिएको चुनावीसभामा आज पुगेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालका साथै अन्य दलको सहयोगमा आफूले नचाहँदा पनि प्रधानमन्त्री बन्नुपरेको बताए । ओलीले सरकारको नेतृत्व गरिरहेकै बेला दुईपटक मध्यरातमा संसद् विघटन गरेको घटना, लोकतन्त्र र जनताको मर्म बुझ्ने गरी निर्माण भएको संविधानको बर्खिलापमा लाग्न थालेपछि माओवादी, समाजवादी, जनमोर्चा र अन्य मधेसवादी दलका नेतताको सहयोगमा आफूले नेतृत्व लिएको उनको भनाइ थियो । जनतालाई झुटा आश्वासन र गफका भरमा देशको गरिमा नै खतरामा पारिरहेको अवस्थामा ओलीको सर्वसत्तावाद र स्वेच्छाचारी प्रवृत्तिबाट मुक्त गर्न पाँच दलीय गठबन्धन गरी देशलाई हाँकिरहेको प्रधानमन्त्री देउवाले जिकिर गरे । ुत्यसैले यो गठबन्धन देशको आर्थिक समुन्नति र बेरोजागारीका साथै समृद्ध नेपाली नबनेसम्म रहिरहन आवश्यक छ, उनले भने । उनले डडेल्धुराको विकासका लागि आफू सधैँ लागिपरेको जनाउँदै डडेल्धुरा–धनगढी चार लेन सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । डडेल्धुरामा मेडिकल कलेजको काम अगाडि बढिसकेको स्मरण गराउँदै उनले पश्चिमसेती जलविद्युत् परियोजनाका लागि भारतसँग सम्झौता गरी काम अगाडि बढिसकेको जानकारी दिए । अन्य ग्रामीण सडक विस्तार र प्राविधिक शिक्षासँगै गुणस्तरीय शिक्षाका लागि पनि आफू लाग्ने उनले स्पष्ट गरे । प्राचीन धरोहर र मौलिकता ओगटेका कुरालाई जोगाएर राख्नका लागि जिल्लावासीलाई प्रधानमन्त्री देउवाले आग्रहसमेत गरे। स्थानीयस्तरमा बजार तथा गाउँका नाम परिवर्तन गर्दा मौलिकता हराउँदै गएको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सङ्कोच नगर्नसमेत जिल्लावासीलाई अनुरोध गरे । आफूलगायत गठबन्धनका नेताले एक–अर्काको पार्टीलाई पटक–पटक भोट हालेको जनाउँदै जिल्लावासीलाई पनि कुनै द्विविधामा नरही गठबन्धनबाट उम्मेदवार बनेका नेतालाई जिताउन अपिलसमेत गरे । प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी आरजु देउवा राणा, केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी पोलिटब्यूरो सदस्य खगराज भट्ट, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष नन्दराज भट्ट, जगत् पार्कीलगायतका नेताले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि जिल्लावासीलाई अनुरोध गरे । रासस

एकैदिन १२ सय रुपैयाँले बढ्यो युनिलिभरको सेयर मूल्य

काठमाडौं । बिहिबार यूनिलिभर नेपालले सेयर मूल्य एकैदिन ६.५६ प्रतिशतले बढेको छ । बिहीबार बिहान लाभांश घोषणा गरेको युनिलिभरको एकैदिन १२ सय रुपैयाँले सेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार युनिलिभरको कारोबार भएको अन्तिम मूल्य १९ हजार ५०० रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १२१५ रुपैयाँ लाभांश दिने घाेषणा गरेकाे छ । कात्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीले आगामी मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर ३ गतेसम्म कायम सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त लाभांश विगत ४ वर्ष यताकै उच्च हो । कम्पनीले आव २०७३/७४ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १ हजार २७० रुपैयाँ लाभांश वितरण गरेको थियो । त्यसयता कम्पनीले प्रतिकित्ता क्रमशः ७००, ७७०, १०० र ६५० रुपैयाँ लाभांश वितरण गरेको थियो ।

उपत्यकामा विद्युतीय बस सेवा विस्तारमा नगर विकास कोषले सहयोग गर्ने

काठमाडौं । नगर विकास कोषले दिगो सहरी यातायात कार्यक्रमअन्तर्गत सरकारका सम्बन्धित निकायको समन्वयमा काठमाडौँ उपत्यकामा विद्युतीय बस विस्तार गर्ने योजना अघि सारेको छ । यो कार्यक्रमलाई अन्य ठूला सहरमा पनि थप्दै लैजाने योजना रहेको कोषले जनाएको छ । त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थान, त्रिवि केन्द्रीय भूगोल विभाग, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), ‘साउथ एसिया इन्स्टिच्युट अफ एड्भान्स्ड स्टडिज’ (एसआइएएस), ‘प्राक्टिकल एक्सन साउथ एसिया अफिस’लगायत संस्थाले संयुक्तरूपमा आयोजना गरेको ‘भोलिको सहर’ विषयक कार्यशाला गोष्ठीमा कोषका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले सहरी पूर्वाधार विकास कार्यक्रमलाई पनि सहयोग गरिरहेको जानकारी दिए । अहिले पनि साझा यातायात, सुन्दर यातायातलगायत कम्पनीले केही मात्रामा भए पनि राजधानीमा विद्युतीय बस सेवा सञ्चालन गरेका छन् । कोषले विद्युतीय बस सेवाका लागि सहयोग गरेपछि राजधानी सहरको वातावरणीय सुधारमा पनि योगदान पुग्ने विश्वास गरिएको छ । देशभरका ८८ नगरपालिकामा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उहाँले सुशासन प्रवद्र्धन, नगरपालिकालाई सुव्यवस्थितरूपमा सञ्चालनका लागि क्षमता विकास, खानेपानी पूर्वाधार एवं सरसफाइजस्ता कार्यक्रममा नगरपालिकालाई सहयोग भइरहेको उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नगरपालिकालाई विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक सहयोग गरिएको जानकारी दिए । युके एडका तर्फबाट सहरी योजनाविद् सरोज बस्नेतले सहरमा सम्पदा संरक्षणको कार्यक्रमका लागि प्राविधिक सहयोग माग भइरहेको सुनाए । पोखरा महानगरपालिका, जनकपुर र बुटवल नगर क्षेत्रमा हाल युके एडले कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

मतदान बिहान ७ बजेबाट शुरु हुने

काठमाडौं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु हुने बताएका छन् । आयोगका निर्वाचन आचारसंहिता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु हुने र मतदान शुरु हुनपूर्वको ४८ घण्टा कुनैपनि उम्मेदवार र राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार गर्न नपाउने बताएका छन् । उनले आज (बिहीबार) बाट प्रचारप्रसारमा जुटिरहेका दलहरुलाई पूर्णरुपमा आचारसंहीता पालना गर्न आग्रह पनि गरेका छन् । भण्डारीले उम्मेदवार र राजनीतिक दलहरुले आचारसंहीताको सीमा नमिचिकन प्रचारप्रसार गरे निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुने बताए ।