विकासन्युज

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति

काठमाडौं ।  चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका प्रस्ताव यसअघि नै गरेको थियो । प्राधिकरणले विभिन्न चार जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । निजी क्षेत्रले निर्माण गरेका २९ मेगावाट क्षमताको लिखूखोला ए, २५ मेगावाट क्षमताको काबेली बी–एक, २२ मेगावाटको माईखोला, १५ मेगावाट क्षमताको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित एक सय मेगावाट क्षमताको विद्युत निर्यातको प्रस्ताव गरिएको थियो । त्यसअघि ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, २४ मेगावाटको लिखूखोला ‘ए’, २३ दशमलव पाँच मेगावाटको सोलूखोला, २२ मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित एक सय ११ मेगावाट क्षमताको विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेमा विश्वास व्यक्त गर्दै आउनुभएको थियो । चिलिमेको अनुमतिसँगै अब दैनिक तीन सय ८६ मेगावाट बिजुली भारत निर्यात हुने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । गत असोज २५ गतेसम्म भारतर्फको विद्युत् निर्यात एक अर्ब युनिट नाघेको प्राधिकरणले जनाएको थियो । त्यसपछिको विवरण पनि आउने क्रममा छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी त्यस अवधिमा रु सात अर्ब ९३ करोड २२ लाख खुद आम्दानी भएको थियो । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य सात रुपैयाँ ९१ पैसा रहेको छ । सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ गतेदेखि विभिन्न छ वटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको थियो । आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ ।

उच्च ब्याजदरले व्यवसायीको आत्मविश्वास कमजोर भयो : विष्णु अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरले उद्योगी व्यवसायीको आत्मविश्वासमा कमजाेर भएकाे बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजसँगकाे भेटवार्तामा अग्रवालले लगानी योग्य रकमको अभाव, उच्च ब्याजदर, कम पूँजीगत खर्च, नेपाल राष्ट्र बैंकले हालै लागू गरेको चालु पूँजी कर्जा निर्देशिकालगायतका कारण उद्योगी व्यवसायीको आत्मविश्वासमा निकै कमी आएको बताएका हुन् । उनले मागमा आएको संकुचनका कारण उद्योगको प्रकृतिका आधारमा ३० देखि ७० प्रतिशतसम्म उत्पादन र मागमा गिरावट आएको बताए । एकै पटक सबै सुधारका उपकरणहरु लागू गर्दा अर्थतन्त्रमा थप समस्या बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने धारणाले उनकाे थियाे । यस्तै, आईएमएफ नेपाल प्रतिनिधि सांचेजले विभिन्न चुनौती रहेपनि एसियाको अर्थतन्त्र तुलनात्मक रुपमा राम्रो रहेको बताइन् । नेपालप्रति अन्तर्राष्ट्रिय समुदाय निकै सकारात्मक रहेको भन्दै आगामी दिनमा त्यसले नेपाललाई फाइदा गर्ने उनले बताइन् । परिसंघ सचिवालयमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो अर्थतन्त्र, उद्योगी व्यवसायीहरुले भोगेको समस्या, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा परिसंघ र आइएमएफबीच छलफल भएकाे छ । भेटमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, मानार्थ उपाध्यक्ष अनुज अग्रवाल, परिसंघ बैंक तथा वित्तीय समिति सभापति अनलराज भट्टराई, महानिर्देशक दीपकराज जोशी लगायत उपस्थित थिए ।

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले शुरु गर्यो पहिलो उडान

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडानको शुरुवात गरेको छ । बिहिबार मलेसिया क्वालालम्पुरबाट गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हिमालयनले आजै मलेसियाको लागि १ सय ३५ जना यात्रु सहित उडान गरेको हो । गौतमबुद्ध विमानस्थलबाट उडान गरेका अधिकांश यात्रु भने काठमाडौंबाट गौतमबुद्धमा ल्याएको जनाइएको छ । हिमालयन एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टड उडानको शुरुवात गरेको र परीक्षण सफलता पश्चात नियमित तालिकामा उडान भर्ने जनाएको छ । एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्ठका अनुसार हिमालयले चार्टड उडान भएपनि नियमित दरमा नै भाडा लिएर यात्रुलाई सेवा प्रदान गरेको छ । हिमालयले गौतमबुद्धलाई आफ्नो विमास्थल मानेर सञ्चालन गर्ने श्रेष्ठले सञ्चारकर्मीसँग बताए । उनले एयरलाईन्सले धार्मिक पर्यटनको सम्भावनामा बर्माबाट पनि उडानको लागि अध्ययन गरेको बताए । उपाध्यक्ष श्रेष्ठले हिमालयनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र गौतमवुद्धमा ग्राउन्ड ह्यान्डलिङ गर्न पाउनुपर्ने बताए । विगतमा ग्राउन्ड ह्यान्डलिङको अनुमति पाएर पनि काम गर्न नपाएको उनको भनाइ थियो ।

अरुण काबेलीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । अरुण काबेलीको १० प्रतिशत बोनश सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६२.७३ रूपैयाँ कायम भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको बिहिबार(कात्तिक १७ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३९९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

वैदेशिक रोजगारीमा गएकालाई आजबाट जारी सेयरमा १० प्रतिशत आरक्षण

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले आजबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओमा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागु गरेको छ । याेसँगै अब कुनै पनि कम्पनीले सर्वसाधारणलाई निस्कासन गर्नुअघि नै १० प्रतिशत आईपीओ विदेशमा रोजगार गरिरहेका नेपालीका लागि छुट्याउनुपर्छ । लगानीकर्ताले सेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरीद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत भुक्तानी गर्नुपर्ने छ। विदेशमा रहेर आइपीओ भर्नकाे लागि रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिले आफू कार्यरत रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ ।  

एनएमबि बैंक र युएसऐड ट्रेडबीच १८.९ मिलियन अमेरिकी डलर लगानी भित्र्याउन सहकार्य

काठमाडौं । एनएमबि बैंकले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसऐड ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्य अन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरुको लागि वित्तीय पहुँच बढाउने छ । यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्ध हुन प्रवद्र्धन गर्नेछ । युएसऐड ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुको लागी दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउनको सहयाेग गर्दछ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

मनाङ र मुस्ताङका लागि हेलिकोप्टरमार्फत मतपत्र ढुवानी

मनाङ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्लाहरू मनाङ र मुस्ताङमा मतपत्र पुगेका छन् । आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत ती जिल्लामा मतपत्र पुर्याइएको हो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार र समानुपातिकतर्फ नौ हजार मतपत्र ल्याइएको मनाङका जिल्ला निर्वाचन अधिकृत पुष्पराज आचार्यले जानकारी दिए । ‘आज साढे आठ बजे प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र आइपुगेको छ । कडा सुरक्षा व्यवस्था गरी जिल्ला निर्वाचन कार्यालयमा सुरक्षित साथ राखिएको छ’, आचार्यले भने । प्रदेशसभा–१ को समानुपातिकतर्फ तीन हजार पाँच सय र प्रदेशसभा–२ का लागि पाँच हजार पाँच सय समानुपातिक मतपत्र आएको उनले बताए । गत निर्वाचनमा कुल पाँच हजार आठ सय ८१ मध्ये चार हजार तीन सय ३८ मत खसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी कुल छ हजार सात सय ७९ मतदाता छन् । रासस

साँझ पैदल यात्रा गर्दा र परिवारलाई समय दिँदा राम्रोसँग निन्द्रा लाग्ने

एजेन्सी । विश्वभर निद्रा एक प्रमुख समस्या बन्दै गएको छ। हरेक ८ मध्ये एक जना अनिद्राबाट पीडित छन् । राति निन्द्रा नपुगेकाले दिन गडबडी हुँदै जानुका साथै काम गर्ने क्षमता समेत घट्दै गएको छ । ‘द स्लीप प्रिस्क्रिप्शन’ पुस्तकका लेखक क्यालिफोर्निया विश्वविद्यालयका मनोवैज्ञानिक डा. एरिक प्राथर भन्छन् कि राम्रो निद्राले मानिसलाई दयालु र रचनात्मक बनाउँछ। यति मात्र होइन यो असल अभिभावक र राम्रो जीवन साथी बनाउन पनि सहयोगी हुन्छ । पुस्तकमा पथरले औषधिबिना राम्रो निन्द्रा लाग्ने धेरै वैज्ञानिक उपाय बताएका छन्। सुत्ने ठाउँलाई अँध्यारो राख्नुहोस्, सुत्ने दिशा बदल्नुहोस् समाधान होइन, समस्या लेखेर पुग्छः दिनको कुनै पनि समयमा वा सुत्नुअघि निश्चित समयमा यसो गर्नाले सुत्ने बेलामा मनमा ती समस्या हावी हुँदैनन् । समस्या लेख्नुहोस्, समाधान लेख्न आवश्यक छैन। सुत्ने कोठाको भित्री भाग बदल्न सकिन्छ : हरेक दिन एउटै ठाउँमा सुत्दा पनि धेरै पटक निन्द्रा लाग्दैन । सुत्ने ठाउँ फेर्न सक्नु हुन्न भने दिशा बदल्नुस् । कोठा को भित्री भागको सजावट परिवर्तन गर्न सकिन्छ। पौष्टिक र हल्का खाना खानुहोस् : बेलुका पौष्टिक र हल्का नास्ता खानुहोस्। हिड्न जानूहोस, गीत सुन्नुहोस् तपाईंको बगैचामा बिरुवाहरूसँग समय बिताउनुहोस्। बुककेसहरू सफा गर्नुहोस्। परिवारका सदस्यहरू वा आफ्ना साथीहरूसँग कुरा गर्नुहोस्। कोठाको तापक्रमको ख्याल गर्नुहोस् : बेडरूममा ल्यापटप-कम्प्युटर नराख्नुहोस्। सुत्दा कोठालाई चिसो र अँध्यारो राख्नुहोस्। उज्यालो प्रकाशले तपाईंलाई सुत्न दिँदैन। स्लीप मास्कको प्रयोग लाभदायक हुन सक्छ। दिमागलाई पनि समय दिनुहोस् मस्तिष्कलाई ल्यापटप जस्तै व्यवहार नगर्नुहोस्। सुत्न मन शान्त हुनुपर्छ । काम सकिएपछि आफैलाई समय दिनुहोस्। आफ्नो मनपर्ने पुराना टिभी कार्यक्रमहरू हेर्नुहोस्। ओछ्यानमा गएको २० मिनेटसम्म सुत्न सक्नुभएन भने उठ्नुहोस्। घरमा वा टेरेसमा हिंड्नुहोस्। किताबहरू पढ्नुहोस् चिया र कफीबाट टाढा रहनुहोस्। सुत्नु भन्दा कम्तिमा ६ घण्टा अगाडि चिया कफी नपिउनुहोस । न्युयोर्क टाइम्सबाट ।