
रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडानको शुरुवात गरेको छ । बिहिबार मलेसिया क्वालालम्पुरबाट गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हिमालयनले आजै मलेसियाको लागि १ सय ३५ जना यात्रु सहित उडान गरेको हो । गौतमबुद्ध विमानस्थलबाट उडान गरेका अधिकांश यात्रु भने काठमाडौंबाट गौतमबुद्धमा ल्याएको जनाइएको छ ।
हिमालयन एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टड उडानको शुरुवात गरेको र परीक्षण सफलता पश्चात नियमित तालिकामा उडान भर्ने जनाएको छ । एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्ठका अनुसार हिमालयले चार्टड उडान भएपनि नियमित दरमा नै भाडा लिएर यात्रुलाई सेवा प्रदान गरेको छ । हिमालयले गौतमबुद्धलाई आफ्नो विमास्थल मानेर सञ्चालन गर्ने श्रेष्ठले सञ्चारकर्मीसँग बताए । उनले एयरलाईन्सले धार्मिक पर्यटनको सम्भावनामा बर्माबाट पनि उडानको लागि अध्ययन गरेको बताए ।
उपाध्यक्ष श्रेष्ठले हिमालयनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र गौतमवुद्धमा ग्राउन्ड ह्यान्डलिङ गर्न पाउनुपर्ने बताए । विगतमा ग्राउन्ड ह्यान्डलिङको अनुमति पाएर पनि काम गर्न नपाएको उनको भनाइ थियो ।