काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरले उद्योगी व्यवसायीको आत्मविश्वासमा कमजाेर भएकाे बताएका छन् ।
बिहीबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजसँगकाे भेटवार्तामा अग्रवालले लगानी योग्य रकमको अभाव, उच्च ब्याजदर, कम पूँजीगत खर्च, नेपाल राष्ट्र बैंकले हालै लागू गरेको चालु पूँजी कर्जा निर्देशिकालगायतका कारण उद्योगी व्यवसायीको आत्मविश्वासमा निकै कमी आएको बताएका हुन् ।
उनले मागमा आएको संकुचनका कारण उद्योगको प्रकृतिका आधारमा ३० देखि ७० प्रतिशतसम्म उत्पादन र मागमा गिरावट आएको बताए । एकै पटक सबै सुधारका उपकरणहरु लागू गर्दा अर्थतन्त्रमा थप समस्या बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने धारणाले उनकाे थियाे ।
यस्तै, आईएमएफ नेपाल प्रतिनिधि सांचेजले विभिन्न चुनौती रहेपनि एसियाको अर्थतन्त्र तुलनात्मक रुपमा राम्रो रहेको बताइन् । नेपालप्रति अन्तर्राष्ट्रिय समुदाय निकै सकारात्मक रहेको भन्दै आगामी दिनमा त्यसले नेपाललाई फाइदा गर्ने उनले बताइन् ।
परिसंघ सचिवालयमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो अर्थतन्त्र, उद्योगी व्यवसायीहरुले भोगेको समस्या, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा परिसंघ र आइएमएफबीच छलफल भएकाे छ ।
भेटमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, मानार्थ उपाध्यक्ष अनुज अग्रवाल, परिसंघ बैंक तथा वित्तीय समिति सभापति अनलराज भट्टराई, महानिर्देशक दीपकराज जोशी लगायत उपस्थित थिए ।