सुनसरीका मतदाता भन्छन् : जनतालाई भेडाबाख्रा बनाउने काम भयो
काठमाडाैं । ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरी जिल्लामा यसपटक सबैभन्दा बढी चासोका रुपमा निर्वाचन क्षेत्र नम्बर ४ लाई हेरिएको छ । निर्वाचन क्षेत्र नम्बर ४ मा हुन लागेको दुई हेभिवेट नेताको चुनावी भिडन्तले समग्र जिल्लाकै ध्यान खिचेको हो । सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा काँग्रेसबाट सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा छन् । अघिल्लो निर्वाचनमा भोजपुरबाट सुनसरी झरेर विजयी बनेका कार्कीले सुनसरी ४ बाट पुनः आफ्नो उम्मेदवारी दोहोर्याएका छन् । यद्यपि, सो क्षेत्रका आम मतदाताहरु मन्त्री कार्कीको गत चुनावपछिका कामबाट सन्तुष्ट छैनन् । यसकारण पनि कार्कीलाई आसन्न निर्वाचनमा जित्न सहज छैन कि, एमाले नेता जगदीश कुसियैत स्थानीय नेता हुन् जो कार्कीका प्रतिष्पर्धी बनेका छन् । कोशी गाउँपालिकाको साबिक श्रीपुर घर भएका कुसीयैत बाबु बाजेको विरासत धान्दै अघि बढेका र समुदायमासमेत मजबुत पकट भएको व्यक्ति भएकाले कार्कीका लागि ठूलो चुनौति बन्ने देखिन्छ । अघिल्लो पटक एमालेले कमजोर प्रतिद्वन्दी दिएकाले कार्कीका लागि जित सहज देखिएको स्वयं कांग्रेसी नेता, कायकर्ताहरुको भनाइ छ । यसपटक भने स्थानीय उम्मेदवार उठाएको एमाले र उसको जसपासँगको तालमेलले मन्त्री कार्कीका लागि आसन्न निर्वाचन सहज देखिँदैन । एक लाख २८ हजार ६५ जना मतदाता रहेको सुनसरी ४ मा कोशी गाउँपालिकाका सबै वडा, बराहक्षेत्र नगरपालिकाको ६,७,८,९,१० र ११ सहित रामधुनीको ४ नम्बर वडा पर्दछ । त्यसैगरी इनरुवाको ३,४ र ८ नम्बर वडा पर्छ भने भोक्राहा गाउँपालिकाको सबै वडा र हरिनगरको १,२,४,५,६ र ७ नम्बर पर्दछ । मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा दुवै उम्मेदवारका तर्फबाट स्वतन्त्र उम्मेदवार उठाइए पनि डाक्टर खालिद हुसेनले ल्याउने मत कार्की र कुसियैत दुवैका लागि निर्णायक सावित हुने चर्चा हुने गरेको छ । जसकारण समेत आम मतदाताले मंसिर ४ गतेको निर्वाचन रोचक हुने आँकलन गरेका छन् । यद्यपी, मतदाता माझ पार्टीगत धारणा उम्मेद्वार अनुकुल देखिएपनि पाँच वर्र्षे अवधिमा भएका विकास निर्माणप्रति उनीहरु खासै सन्तुष्ट भने छैनन् । स्थानीयहरु भन्छन्, हात्तीको समस्या ठूलो छ, गत निर्वाचनमा समस्या समाधान गर्ने आश्वासन दिए तर काम भएन । निर्वाचन जितेपछि एकपटक पनि यहाँको समस्या समाधानका लागि नेताहरु आएनन् । उक्त क्षेत्रमा कोशीको मुआब्जा, आशातित विकास निर्माण नहुनु, सञ्चारमन्त्रीको क्षेत्रमा नेटवर्क समस्याको समाधान नहुनेले जनता निराश मात्रै छैनन्, कार्कीसँग आक्रोशित पनि छन् । न्युज एजेन्सीका संवाददाताहरु सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ मा पुग्दा स्थानीयहरुले नेताहरुबिरुद्ध ठूलो आक्रोश पोखे । ‘जुन नेताहरु आएपनि हुने केही होइन, जनतालाई भेडाबाख्रा बनाउने काम भएको छ’ एक स्थानीयले भने, ‘बाढीको समस्या कति छ, छ, कसैले समाधान गर्न खोजेन, आश्वासन मात्रै हो, चुनावका बेला चहलपहल हुन्छ, जितेपछि कोही फर्किएर आउँदैन ।’ त्यसका अलावा जंगली जनावर नियन्त्रणकालागि ठोस योजना सञ्चालनमा ल्याउन नसक्नु, वाचा अनुसारको काम हुन नसकेको र पार्टीका सिमित व्यक्ति काखी च्यापेर हिँड्ने गरेको भनेर नेता उपर लाग्ने गरेको ट्याग यस पटकको मत परिणामकालागि निर्णायक बन्नसक्ने आँकलन धेरैको छ । जसलाई यस पटक सो क्षेत्रका मतदाताले आफ्नो बलियो मुद्दा बनाएको सहजै अनुमान लगाउन सकिन्छ । यता सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की भने आसन्न मंसिर ४ गते सम्पन्न हुने निर्वाचनले देशमा जनताका समृद्धि र विकासको आकंक्षालाई कार्यतालिकाको आधारमा अघि बढाउने समयको प्रारम्भ गर्ने बताउनु हुन्छ । मन्त्री कार्की आसन्न निर्वाचनका लागि आफूले उम्मेदवारी दिएको सुनसरी क्षेत्र नम्बर ४ मा मतदातासँग मत माग्नका घरदैलो कार्यक्रममा व्यस्त छन् । यद्यपी, सुनसरी ४ मा कार्की र जगदीश दुवै हेभिवेट भएकाले समेत उनीहरु मतदाता रिझाउन प्रयासरत हुनुहुन्छ । दुवै नेताले प्रतिष्पर्धीको तुलानामा आफूलाई अब्बल देखाउन आफ्नो उम्मेदवारी उपर जितको आधार सहितको फेहरिस्त खोलिरहेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरुले चुनावी प्रचार र घरदैलो बढाउँदै लगेका छन् । मतदाता माझ खासै नदेखिएको उत्साह र नेताका आश्वासन मात्रले आजित भएका जनताले कसलाई मत दिएर जिताउने हुन् त्यो भने मंसिर ४ को निर्वाचनले नै तय गर्नेछ ।
बैंकविरुद्द बैंककै मालिक सडकमा
काठमाडौं । बैंकहरुले उच्च रुपमा ब्याज बढाएको भन्दै उद्योगी व्यवसायीहरु सडकमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, ललितपुर उद्योग वाणिज्य संघ, उद्योग वाणिजय संघ भक्तपुर उद्योग वाणिजय संघ काभ्रे र उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले संयुक्त रुपमा विरोध कार्यक्रमको आयोजना गर्दै बैंकको ब्याजदरको विषयमा विरोध गरेको हो । आन्दोलनमा बैंकका सञ्चालकहरु पनि देखिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका एनआइसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघाई समेत बैंक विरुद्धको आन्दोलनमा सडकमा उत्रिएका छन् । संघाई नेपाल उद्योग वाणिज्य महासंघका एशोसिएट उपाध्यक्षसमेत हुन् । बैंक तथा वित्तीय संस्थाहरुले उच्च रुपमा ब्याज बढाएको भन्दै उनीहरु सडकमा उत्रिएका हुन् । महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिल्लानगर तर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ लगायत आन्दोलनमा देखिएका छन् । उनीहरुले बैंकको ब्याज एकल अंकमा हुनु पर्ने माग राखेका छन् । उद्योगी व्यवसायीहरुले मनपरी प्रिमियम बन्द गर, गरिखाने मर्दैछ सरकारको राजश्व घट्दैछ र ब्याजदरमा स्थीरता देउ लगायतका नारासहितका पम्पलेट प्रदर्शन गरेका छन् । उद्योगी व्यवसायीहरुले ब्याज वृद्धिले निक्कै अप्ठेरो भएको भन्दै गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर घटाउन माग गरेका थिए । तर, यसप्रति राष्ट्र बैंकले कुनै सुनसुवाई नगरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले ब्याजदर बढ्दै गए सबै उद्योग सरकारलाई बुझाउन तयार रहेको बताएका छन् । ‘लागत बढेको छ, बैंकले लगानी गर्नको लागि ऋण दिएको छैन, ब्याजदर बढेको कारण हाम्रो प्रतिस्पर्धी क्षमतामा ह्रास हुँदै गएको छ, औद्योगिक क्षेत्रमा निकै समस्या भएको कारण नै हामी सडकमा उत्रिनु परेको हो,’ उनले भने । डिपोजिट गर्नेलाई बढी ब्याजदर दिएर बैंकहरुको लागत बढाउन खोजेको उनको भनाइ छ ।
ज्योति विकास बैंकका ग्राहकलाई दराजकाे ११:११ अभियानमा छुट
काठमाडाैं । ज्योति विकास बैंक र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख बसन्त दाहाल र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११:११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ ।बैंककाे अनुसार यो योजना कार्तिक २५ गतेदेखि लागू हुनेछ ।
बैंकको बढ्दो ब्याजविरुद्ध काठमाडौंमा व्यवसायीले गरे विरोध कार्यक्रम
काठमाडौं । बैंकले बढाएको ब्याजदरविरुद्ध उद्योगी तथा व्यवसायीहरुले विरोध कार्यक्रम गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बैंकले बढाएको ब्याजविरुद्ध शुक्रबार माइतीघर मण्डलामा शान्तिपूर्ण मौन विरोध कार्यक्रम गरेका हुन् । संघले बैंक तथा वित्तिय संघ संस्थाहरूले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने ब्याज वृद्धि गरको आरोप लगाएको छ । ब्याज वृद्धि तथा अर्थतन्त्रलाई नकारात्मक असर पार्ने खालका गतिविधिहरुकोविरुद्ध राज्यलाई सचेत गराउन तथा नियामक निकायबाट उपयुक्त कदमहरु चाँडो सम्बोधन होस् भनी ध्यानाकर्षण गराउन विरोध कार्यक्रम आयोजना गरेको संघले जनाएको छ ।
वीरगंजको कृषि औजार कारखानाको मर्मत शुरु, मेसिन एक वर्ष भित्रै चलाउन सकिने
काठमाडौं । वीरगंजको कृषि औजार कारखाना सञ्चालन हुने देखिएको छ । सरकारले पछिल्लो समयमा सो कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएपछि टोलीले तीन दिनदेखि काम शुरू गरिरहेको हो। डा महावीर पुनलगायत १० जनाको टोलीले बन्द रहेको कृषि औजार कारखाना सञ्चालनको लागि पहल थालेका हुन्। कृषि औजार कारखाना सञ्चालनको लागि पहिलोचोटि यसरी प्राविधिक टोली खटिएको हो । टोलीमा सिभिल, इलेक्ट्रिकल तथा मेकानिकलतर्फका प्राविधिकहरू खटिएर काम सुरु गरेका हुन्। पहिलो चरणमा कारखानाको सरसफाइ र पुराना मेशिनहरूको अवस्थाबारे अध्ययन भइरहेको केन्द्रका प्रमुख डा पुनले बताए । सरकारले सञ्चालन मितिदेखि १० वर्षको लागि सो केन्द्रलाई जिम्मा दिएपछि कामको सुरुआत भएको हो । यसअघिका सरकारले कृषि औजार कारखाना र वीरगंज चिनी कारखाना सञ्चालन गर्ने भनेपनि संचालनको पहल भएको थिएन। कारखानामा ८० प्रतिशत मेशिनको अवस्था ठीक रहेको प्राविधिक टोलीको दाबी छ । नेपाल सरकारले चाहेमा आगामी एक वर्षमा कारखाना सञ्चालनमा ल्याउन सकिने प्राविधिक टोलीले बताए । तीन दशकअघि कृषि औजार कारखाना बन्द भएको हो । कारखानाका मेशिनहरूको अवस्था खासै खराब नभएको र सरकारले चाहेको खण्डमा सञ्चालन हुन सक्ने पूर्व कर्मचारीहरूको पनि भनाइ छ । सरकारी इच्छाशक्तिको अभावमा कारखाना लामो समयसम्म बन्द रहेको उनीहरूको आरोप छ । २०२३ सालमा कारखाना सञ्चालनमा हुँदा नेपाल विद्युत् प्राधिकरण, हेटौंडा दुग्ध, सिमेन्ट कारखानालाई आवश्यक पर्ने सामग्रीदेखि किसानलाई चाहिने अधिकांश कृषि औजार उत्पादन हुँदै आएको थियो ।
नेपाल बैंकका ग्राहकलाई दराजमा सपिङ गर्दा ३ हजारसम्मको छुट
काठमाडौं । नेपाल बैंक र अनलाइन सपिङ् पोर्टल दराज केयमुबीच सम्झाैता भएकाे छ । बैंक र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई बैंकको ८६ औं वार्षिकोत्सको अवसरमा दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हाे । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । यो योजना कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने बैंकले जानकारी दिएकाे छ । सम्झौता अनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकले दराजकाे ११.११ अभियानको अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा २५ सयसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ । नेपालभर २२१ शाखाहरु, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।
माग नभएको भन्दै हुवासिन सिमेन्टले गर्यो उत्पादन बन्द, कम्पनी भन्छ : करोडौं घाटा भयो
काठमाडौं । हुवासिन सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको छ । गत भदौमा नापतौल तथा गुणस्तर विभागबाट नेपाल गुणस्तर चिह्न (एनएस) पाएको हुवासिन सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको हो । पछिल्लो समय बजारमा सिमेन्टको माग कम हुँदा केही समयका लागि सिमेन्ट उत्पादन सटडाउन गरिएको कम्पनीले जनाएको छ । नेपालमा विदेशी लगानीको ठूलो सिमेन्ट उद्योगले नै खपत कम भएको भन्दै उत्पादन बन्द गरेको हो । करिब ८ महिनादेखि परीक्षण उत्पादन गरिरहेको कम्पनीले पछिल्लो समय ठूलो परिमाणमा मौज्दात हुँदा केही समयका लागि सटडाउन गर्नुपरेको उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए । कम्पनीले गुणस्तर विभागबाट एनएस चिह्न पाएसँगै सटडाउन गरेको हो । ‘हाल बजारमा आर्थिक गतिविधिमा मन्दी आउँदा सिमेन्टको माग अत्यन्तै कम छ, बजारको अवस्थाका कारण हाल अधिकांश सिमेन्ट उद्योगहरु समस्यामा छन्, त्यसमा बढी समस्यामा हुवासिन भयो’, उनले भने,‘ उत्पादनको तयारीबाटै विभिन्न खालको समस्या झेलेको उद्योगले गुणस्तरको अनुमति पाएसँगै बजारको मन्दी थपियो ।’ उनले उद्योगले अनुमान गरेभन्दा सिमेन्ट उत्पादनको समयसँगै लगानी थपिँदा हुवासिन सिमेन्टले सुरुवाती चरणदेखि नै घाटाको व्यापार गर्न बाध्य भएको उनको भनाइ छ । उनले हाल उद्योगवाट उत्पादिन सिमेन्ट काठमाडौं, पोखरा र चितवन सहित मुख्य मुख्य बजारमा पठाएको बताए । ‘नेपालमा धेरै सिमेन्ट उद्योग छ, अधिकांश उद्योगले क्षमताको ३० प्रतिशतसम्म समेत सिमेन्ट उत्पादन गर्न सक्ने अवस्था छैन, हामीले क्षमताभन्दा कम उत्पादन गर्दै उत्पादन लागतभन्दा पनि सस्तो मूल्यमा सिमेन्ट उपलब्ध गराएका छौँ’, उनले भने । उनले हाल सिमेन्ट उद्योग समस्यामा परेको भन्दै सरकारले आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । हाल उद्योगले पीपीसी सिमेन्ट ५३० रुपैयाँमा र ओपीसी सिमेन्ट ६४० रुपैेयाँमा बिक्री गर्दै आएको छ । लगानी बोर्डसँग सुरुआती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले थप तीन अर्ब लागत बढ्न गएको बताइएको छ । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो । अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो चार वर्षदेखि नियमितरुपमा उत्पादन गरिरहेको छ । सो उद्योग सञ्चालनमा आएपछि सस्तो मूल्यमा नेपाली बजारमा सिमेन्ट उपलब्ध हुन थालेको हो । हुवासिन बजारमा आएसँगै गुणस्तरीय सिमेन्टसमेत उपलब्ध हुने बताइएको छ । आर्थिक विकासको गतिमा अगाडि बढिरहेको मुलुकका लागि गुणस्तरीय सिमेन्ट उपलब्ध गराउनु नै आफूहरुको प्रमुख कर्तव्य रहेको उपमहाप्रबन्धक पोखरेलको भनाइ छ । हुवासिन सिमेन्ट उद्योगले दैनिक तीन हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने जनाइएको । उद्योगमा तीन सय ५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । वि.सं २०७४ मंसिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवद्र्धकले ६० करोड बराबरको लगानी गरेको थियो । खानीका लागि हालसम्मकै बढी खर्च गरिएको यो नै पहिलो हो । खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई उक्त खानी दिइएको हो । बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले स्वीकृति दिएको थियो । नेपालमा हाल झण्डै ३५ लाख मेट्रिकटन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता ५५ लाख मेट्रिकटन पुगिसकेको छ । विकास निर्माणका काममा बढोत्तरी हुँदै गएको तथा भौतिक पूर्वाधारमा लगानी बढिरहेका सन्दर्भमा आगामी दिनमा थप सिमेन्ट उद्योग स्थापना हुनेछन् । उद्योगले धादिङको ताल्दी पुग्ने सडक निर्माण, स्थानीयरुपमा निःशुल्क बिजुली उपलब्ध गराउनेदेखि अन्य सामाजिक कामसमेत गर्दै आएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक भन्छन् : अहिलेको ब्याज धेरै होइन
काठमाडाैं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले अहिलेकाे ब्याज धेरै नभएकाे बताएका छन् । बिहीबार राजधानीमा आयोजित तराई विकास तथा सञ्चार केन्द्र नेपालले नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका लागि सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका विषयक कार्यक्रममा उनले यस्ताे बताएका हुन् । श्रेष्ठले अहिले ब्याज १२ प्रतिशत औषतमा रहेको तर २०७४ मै १२.४७ प्रतिशत पुगेको बताउँदै हालकाे ब्याज धेरै नभएकाे बताए । यस्तै, उनले अहिले तरलता अभाव नभएको तर लगानी योग्य रकमको अभाव भने रहेको बताएका छन् । ‘अहिले विदेशी विनिमय सञ्चिति घटेको भए पनि पहिला जस्तो डराउनु पर्ने अवस्था छैन, सञ्चिति बोर्डर लाइनमा रहेको छ,’ उनले भने, ‘विदेशी विनिमय सञ्चिति नबढे तरलता सहज हुँदैन, अहिले ब्याज १२ प्रतिशत औषतमा रहेको छ, २०७४ मा १२.४७ प्रतिशत पुगेको थियाे, त्यसैले यो अहिलेसम्मकै धेरै हाेइन,’ नेपालमा आयातका लागि पैसा बाहिर जाँदा तरलता अभाव जस्तो देखिएको उनको भनाइ छ ।उनले नेपालमा घर जग्गा, सेयर बजार जस्ता अनुत्पादक क्षेत्रमा लगानी बढेको बताए । ‘नेपालमा भएको लगानी कहाँ गएको छ भनेर खोज्न आवश्यक रहेको छ, नेपालको उत्पादन बिक्री नहुने र भारतबाट बढी आयाता भइरहेको छ,’ उनले भने ।