काठमाडौं । बैंकहरुले उच्च रुपमा ब्याज बढाएको भन्दै उद्योगी व्यवसायीहरु सडकमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, ललितपुर उद्योग वाणिज्य संघ, उद्योग वाणिजय संघ भक्तपुर उद्योग वाणिजय संघ काभ्रे र उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले संयुक्त रुपमा विरोध कार्यक्रमको आयोजना गर्दै बैंकको ब्याजदरको विषयमा विरोध गरेको हो ।
आन्दोलनमा बैंकका सञ्चालकहरु पनि देखिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका एनआइसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघाई समेत बैंक विरुद्धको आन्दोलनमा सडकमा उत्रिएका छन् । संघाई नेपाल उद्योग वाणिज्य महासंघका एशोसिएट उपाध्यक्षसमेत हुन् । बैंक तथा वित्तीय संस्थाहरुले उच्च रुपमा ब्याज बढाएको भन्दै उनीहरु सडकमा उत्रिएका हुन् ।
महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिल्लानगर तर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ लगायत आन्दोलनमा देखिएका छन् । उनीहरुले बैंकको ब्याज एकल अंकमा हुनु पर्ने माग राखेका छन् । उद्योगी व्यवसायीहरुले मनपरी प्रिमियम बन्द गर, गरिखाने मर्दैछ सरकारको राजश्व घट्दैछ र ब्याजदरमा स्थीरता देउ लगायतका नारासहितका पम्पलेट प्रदर्शन गरेका छन् ।
उद्योगी व्यवसायीहरुले ब्याज वृद्धिले निक्कै अप्ठेरो भएको भन्दै गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर घटाउन माग गरेका थिए । तर, यसप्रति राष्ट्र बैंकले कुनै सुनसुवाई नगरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले ब्याजदर बढ्दै गए सबै उद्योग सरकारलाई बुझाउन तयार रहेको बताएका छन् । ‘लागत बढेको छ, बैंकले लगानी गर्नको लागि ऋण दिएको छैन, ब्याजदर बढेको कारण हाम्रो प्रतिस्पर्धी क्षमतामा ह्रास हुँदै गएको छ, औद्योगिक क्षेत्रमा निकै समस्या भएको कारण नै हामी सडकमा उत्रिनु परेको हो,’ उनले भने ।
डिपोजिट गर्नेलाई बढी ब्याजदर दिएर बैंकहरुको लागत बढाउन खोजेको उनको भनाइ छ ।