काठमाडाैं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले अहिलेकाे ब्याज धेरै नभएकाे बताएका छन् । बिहीबार राजधानीमा आयोजित तराई विकास तथा सञ्चार केन्द्र नेपालले नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका लागि सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका विषयक कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
श्रेष्ठले अहिले ब्याज १२ प्रतिशत औषतमा रहेको तर २०७४ मै १२.४७ प्रतिशत पुगेको बताउँदै हालकाे ब्याज धेरै नभएकाे बताए । यस्तै, उनले अहिले तरलता अभाव नभएको तर लगानी योग्य रकमको अभाव भने रहेको बताएका छन् ।
‘अहिले विदेशी विनिमय सञ्चिति घटेको भए पनि पहिला जस्तो डराउनु पर्ने अवस्था छैन, सञ्चिति बोर्डर लाइनमा रहेको छ,’ उनले भने, ‘विदेशी विनिमय सञ्चिति नबढे तरलता सहज हुँदैन, अहिले ब्याज १२ प्रतिशत औषतमा रहेको छ, २०७४ मा १२.४७ प्रतिशत पुगेको थियाे, त्यसैले यो अहिलेसम्मकै धेरै हाेइन,’
नेपालमा आयातका लागि पैसा बाहिर जाँदा तरलता अभाव जस्तो देखिएको उनको भनाइ छ ।उनले नेपालमा घर जग्गा, सेयर बजार जस्ता अनुत्पादक क्षेत्रमा लगानी बढेको बताए । ‘नेपालमा भएको लगानी कहाँ गएको छ भनेर खोज्न आवश्यक रहेको छ, नेपालको उत्पादन बिक्री नहुने र भारतबाट बढी आयाता भइरहेको छ,’ उनले भने ।