विकासन्युज

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा १३ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रति तोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

किसानले कोदो लगाउनै छाडे

तनहुँ । गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ । जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार यस वर्ष करिब पाँच हजार पाँच सय मेट्रिकटन कोदो उत्पादन हुने अनुमान गरिएको छ । यहाँ उत्पादित कोदो जिल्लामा नै खपत हुने गरेको छ । पहाडी क्षेत्रको माथिल्लो भेगमा कोदो खेती गरिँदै आएको छ । कोदोको परिकार स्वास्थ्यको हिसाबले खान उपयुक्त मानिन्छ । कोदोको परिकार स्वास्थ्यवद्र्धक हुने भएकाले जिल्लामा माग बढ्दै आएको तिवारी बताउँछन् । गत वर्ष छ हजार पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार आठ सय २९ मेट्रिकटन कोदो उत्पादन भएको थियो । कोदो रोप्न र चुट्न झन्झटिलो हुने हुँदा खेती गर्न छाड्ने क्रम बढेको तिवारीले बताए । ‘पाखो बारीमा नै उत्पादन हुने खेती हो । तर बीउ पारेर रोप्न र चुट्ने समस्याले किसानले खेती गर्नै छाड्न थाले । हरेक खेती हुने क्षेत्रको जमिन बाँझिने क्रममा छ’, उनले भने । कोदो उत्पादन क्षेत्रको जमिन घट्ने क्रम जारी रहेको उनले बताए । ‘वन्यजन्तुको समस्याले गर्दा गाउँबाट बसाइँसराइ जाने क्रम छ । विशेष गरी पाखो बारीमा खेती गर्ने जमिन बाँझिदै गएको छ । कोदो लगाउन गाह्रो हुँदा पनि समस्या हुने गरेको छ’, तिवारीले भने । अहिले घरवास होमस्टे सञ्चालन भएका स्थानमा उत्पादन भएकै ठाउँमा कोदो खपत हुने गरेको उनको भनाइ छ । बन्दीपुर, व्यास, भानु, ऋषिङ, घिरिङ, भिमाद, देवघाट र आँबुखैरेनीको पहाडी क्षेत्रको उपल्लो भागमा कोदो खेती हुन्छ । ऋषिङ, घिरिङ, भिमादमा कोदोको बढी उत्पादन हुने गरेको उनले बताए । कोदो उत्पादन भएको स्थानमा नै खपत हुने गरेको उनी बताउँछन् । केही स्थानमा उत्पादित कोदो बाहिर निर्यात गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । घरवासमा ढेडो, रोटी तथा पिठोबाट बन्ने विभिन्न परिकारको माग होमस्टेमा समेत बढेकाले पछिल्लो समय कोदोको माग बढ्दै गएको छ भने उत्पादन घट्ने क्रममा रहेको किसान बताउँछन् । पछिल्लो समय जिल्लामा कोदोको माग बढे पनि स्थानीय उत्पादन कम हुँदा अभाव छ । चालु आर्थिक वर्षमा स्थानीय तहसँग समन्वय गरी कोदोलाई रैथानेबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत विशेष प्राथमिकतामा राखी उत्पादन प्रशोधन र बजारीकरण गरी सहज गराउने उद्देश्य रहेको ज्ञान केन्द्रले जनाएको छ । रासस

सानिमा जीआईसीको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएको छ । कार्त्तिक २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सानिमा क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु सानिमा क्यापिटल मार्फत हुने छ ।

कुवेतमा अलपत्र सात कामदारको उद्धार, दुई महिनाकाे तलब पाएनन्

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो । उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन् । सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरुलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटकपटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ । सातैजनालाई हाल चाबहिलस्थित पासा होटलमा राखिएको छ । सम्बन्धित मेनपावरले उनीहरुको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ ।

मर्जर सम्झौता गरेका बैंकलाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकको डेडलाइन, कुनको कहिले ?

काठमाडौं । हाल करिब एक दर्जन वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा छन् । नेपाल इन्भेष्टमेन्ट-मेगा बैंक, ग्लोबल आइएमई–बैंक अफ काठमान्डू, हिमालयन बैंक-सिभिल बैंक, प्रभु बैंक-सेञ्चुरी बैंक र कुमारी बैंक-एनसीसी बैंक मर्जर सम्झौता गरेर मर्जको तयारी गरिरहेका छन् । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत् वाणिज्य बैंक र लघुवित्तहरूलाई २०७९ पुस मसान्तसम्म मात्रै मर्जर सुविधा दिने बताएपछि हतारिँदै बैंकहरु मर्जर प्रक्रियामा सामेल भए । पुस मसान्तपछि मर्जरमा पाइने सुविधा खोसिने डरले बैैंकहरुले एकपछि अर्को सम्झौता गरे । उक्त सुविधा पाउनका लागि दुइ महिना मात्रै बाँकी छ । मर्जरमा रहेका बैंकहरुका अनुसार पुस मसान्तभित्र नै एकीकृत कारोबार गर्ने गरी काम भइरहेको बताएका छन् । गत वर्षको वित्तीय विवरण स्वीकृत गर्न राष्ट्र बैंकले ढिलाइ गरेका कारण मर्जर प्रक्रियापछि धकेलिने हो की भन्ने चिन्ता बैंकका संचालकहरुमा छ । बैंक तथा वित्तीय संस्थाहरुले यसपटक गत वर्षको वित्तीय विवरण राष्ट्र बैंकमा पठाउन ढिलाइ गरेका थिए । सोही कारणले राष्ट्र बैंकले पनि वित्तीय विवरण स्वीकृत गर्न ढिलाइ गरिरहेको छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि वार्षिक साधारण सभा बोलाएर मर्जर प्रस्ताव पारित गर्ने पक्षमा संचालकहरु छन् । मर्जरमा गएका बैंकहरुलाई एकीकृत कारोबारका लागि राष्ट्र बैंकले ताकेता गरिसकेको छ । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई पुस २२ गतेसम्म मर्ज गर्न समयसीमा तोकेको छ । राष्ट्र बैंकले तोकिएको समयभित्र नै एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटि सदस्य समेत रहेका मेगा बैंकका संचालक गोपाल खनाल बताउँछन् । उनका अनुसार वार्षिक साधारण सभाबाट नै मर्जर प्रस्ताव पारित गर्ने योजना छ । राष्ट्र बैंकले गत वर्षको वित्तीय विवरण स्वीकृत नगरेका कारण ढिला हुन पुगेको उनको भनाइ छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत दिन ढिलाइ गरेपनि मर्जर प्रक्रियालाई भने समयमा नै सम्पन्न गर्ने उनी बताउँछन् । ‘पुस २२ गतेसम्म समय ताेकेको छ, वार्षिक साधारण सभाबाट नाफा बाँड्ने र त्यही सभाबाट मर्जर प्रस्ताव पनि पारित गर्ने योजना छ तर, राष्ट्र बैंकबाट दुवै बैंकको वित्तीय विवरण स्वीकृत भएको छैन, राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गर्न ढिलाई गरेपनि मर्जर अगाडि बढ्छ, समयमा नै मर्जर हुन्छ,’ उनले भने । अहिले राष्ट्र बैंकले दुवै बैंक वित्तीय विवरण फुल अडिट हेरिरहेको छ । उनले दुवै बैंकको डीयू डेलिजेन्स रिपोर्ट (डीडीए) रिपोर्ट पास भइसकेको बताए । डीडीए रिपोर्टमा कुनै समस्या नरहेको उनको भनाइ छ । ‘यसलाई वार्षिक साधारण सभामा पेश गरिन्छ, स्वाप रेसियो प्रारम्भिक सम्झौता अनुसार आएको छ ।’ नीतिगत तहमा छलफल भइरहेकाले शाखाहरु ब्यवस्थापन, प्रबन्ध नियमावली तयार, आईटी लगायत आन्तरिक काम भइरहेको उनले बताए । ‘राष्ट्र बैंकले मर्जर पछि पाउने सुविधा पुसपछि बन्द गर्छ, मर्जर गरेपछि फाइदा त लिनुपर्याे नी, राष्ट्र बैंकले मंसिर ५ गतेसम्म वित्तीय विवरण स्वीकृत दियो भने एकैचोटि वार्षिक साधारण सभा बोलाउँछौं, यदि ढिला नै हुन्छ भने विशेष साधारण सभा बोलाएर पुस भित्र नै एकीकृत कारोबार गर्नेछौं, पुस पहिलो साता एकीकृत कारोबार गर्ने तयारी थियो तर वित्तीय स्वीकृत नभएका कारण ढिला भएको हो, अब मर्जर रोकिँदैन,’ उनले भने । अब समय थप्ने भन्दा पनि पुस भित्र एकीकृत कारोबार गर्न लक्ष रहेको उनले बताए । राष्ट्र बैंकले दिएको सीमाभित्र मर्ज हुन तयार रहेको उनको भनाइ छ । मर्जर प्रक्रियामा कुनै असहज परिस्थिति नआएको उनले बताए । ‘एनआइबिएल पुरानो बैंक हो, हामीसँग पनि मर्जरमा अनुभव छ, मर्जरको विषयवस्तुमा कुनै विवाद, असहज परिस्थिती देखिएको छैन, विषयवस्तुहरु सौहार्द पूर्ण वातावरणमा अघि बढेको छ, कर्मचारी व्यवस्थापनदेखि अन्य कुराहरु एकीकृत कारोबार अघि सम्पन्न हुन्छ,’ उनले भने । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ । यस्तै, मर्जर कमिटि सदस्य रहेका सेञ्चुरी बैंकका संचालक मन बहादुर राई प्रभु बैंक र सेञ्चुरी बैंकबीच पुस मसान्त भित्र एकीकृत कारोबार हुने दाबी गर्छन् । उनले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत हुन बाँकी रहेकाले डीडीए रिपोर्ट आउन पनि ढिलाइ भएको बताए । वित्तीय रिपोर्ट राष्ट्र बैंकमा पेश गरेको छ । वित्तीय रिपोर्ट स्वीकृत हुनमा कसैको पनि दोस नरहेको उनको भनाइ छ । ‘पुस मसान्तभित्र नै एकीकृत कारोबार गर्ने लक्ष हो, यो भन्दा अघि पनि मर्ज हुन सक्छ, राष्ट्र बैंकबाट डीडीए रिपोर्ट स्वीकृत ढिला भएको छ, अझै केही समय लाग्ने जस्तो छ, यसअघिका मर्जर वर्ष दिन पछि पनि भएका थिए,’ उनले भने । उनका अनुसार एमओयू गरेका बैंकहरु मर्जरबाट ब्याक हुने अवस्थामा छैनन् । कुनै असमान किसिमको परिवर्तन डीडीए रिपोर्टमा नआउने उनले बताए । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले हस्ताक्षर गरेका थिए । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको छ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । सिभिल बैंकका सञ्चालक अम्बिर बोगटी डीडीए रिपोर्ट आउन बाँकी रहेको बताउँछन् । डीडीए रिपोर्टमा धेरै फरक भएर नआउने उनको भनाइ छ । स्वाप रेसियो र कर्मचारी व्यवस्थापन गर्नुपर्ने मुद्धा भएपनि त्यसमा कुनै समस्या नरहेको उनले बताए । ‘डीडीए रिपोर्ट फाइनलमा पुगेको छ, एकहप्ता भित्र डीडीए रिपोर्ट आउँछ, कर्मचारी व्यवस्थापन अन्तिम चरणमा छ, एमओयूमा भए अनुसारको डीडीए रिपोर्ट आउँछ, फाइनल डीडीएमा २/४ प्रतिशत फरक आउला तर यसमा केही फरक पर्दैन, १० प्रतिशतसम्म कम्परमाइज गर्न पाइन्छ, त्यो भन्दा बढी आउँदैन र घटेर नी आउँदैन, बढी आएपनि हामी माग्दैनौं,’ उनले भने, ‘कर्मचारीअहिले म्याचिङ भइरहेको छ, हाम्रोमा राम्रो छ भने त्यसलाई लागू गर्ने र उहाँहरुकोमा राम्रो छ उताको लागू गर्ने हो ।’ हिमालयन बैंक र सिभिल बैंकको वित्तीय विवरण स्वीकृतीका लागि राष्ट्र बैंकमा पेश गरेको छ । वित्तीय विवरण स्वीकृत नभइ वार्षिक साधारण सभा नहुने हुँदा रोकिएको उनले बताए । साधारण सभाले असारसम्मको नाफा वितरण गर्ने प्रस्ताव पारित गरेर मात्रै मर्जर गराउने उनको भनाइ छ । ‘कात्तिक २३ गते समय सकिएको हो, तीन महिनाको समय थप्न राष्ट्र बैंकमा आवेदन दिएका छौं, तीन महिना समय भएपनि पुस मसान्तभित्र नै टुङग्याउँछौं, कुनै विशेष परिस्थिती नआएमा पुस २५ गते एकीकृत कारोबार गर्छाैं,’ उनले भने । गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने भएको हो । प्राप्तिपश्चात् बन्ने बैंकको नाम हिमालयन बैंक हुनेछ भने हिमालयन बैंकको सञ्चालक समिति नै यथावत् रहने सम्झौता भएको हो । प्राप्ति पश्चात् बन्ने बैंकको सीईओमा हिमालयन बैंकको अशोक राणा र वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् । कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जेबी राणाले कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेभित्र गर्ने तयारी रहेको बताएका छन् । अध्यक्ष राणाले अहिले ‘सुपर फास्ट’ किसिमले मर्जरको तयारी भइरहेको बताउँदै डीडीए रिपोर्ट पनि छिट्टै आउने बताएका हुन् । ‘अहिले मर्जरका लागि सुपर फाष्टमा काम भइरहेको छ, पुस १७ गतेअघि नै एनसीसी बैंकसँग एकिकृत कारोबार गर्ने गरी मर्जर प्रक्रिया अघि बढेको छ, केही दिन भित्र डिडिए रिपोर्ट आउँछ,’ उनले भने । एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते मर्जर सम्झौता भएको थियो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ ।

दार्चुलाको गोकुलेश्वर माविमा आमसभा गरेकाप्रति आयोगको स्पष्टीकरण

काठमाडौं ।  निर्वाचन आयोगले दार्चुलाको गोकुलेश्वर उच्च माध्यमिक विद्यालयमा आमसभा गरेकामा आयोगबाट विभिन्न उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई चार दिनभित्र यस घटनाको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको जानकारी दिए । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ९ स्थित गोकुलेश्वर उच्च माध्यमिक विद्यालय गोकुलेश्वरमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)समेतको दलको आयोजनामा गरिएको थियो । आयोगले निर्वाचन प्रचार–प्रसारका लागि चुनावीसभा आयोजना गरिएको विषयमा निर्वाचन आयोगले विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशी, त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेश सभाअन्तर्गत दार्चुला–१ (१)मा कांग्रेसका उम्मेदवार विक्रमसिंह धामी र प्रदेशसभा–१ (२) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ग) मा ‘कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचार–प्रसार गर्न वा गराउन नहुने’ व्यवस्था छ । साथै, दफाको खण्ड (क) मा ‘सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत, साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ । उक्त व्यवस्थाविपरीत कार्य गरेकोप्रति आयोगले स्पष्टीकरण सोधेको हो ।  

गरिमा विकास बैंकको १४.५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात् बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुले प्राप्त गर्नेछन् ।

मध्यपश्चिम विश्वविद्यालयले सरसफाई अभियान सुरु गर्यो

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले आफूलाई एक्काइसौं शताब्दीको एक जीवन्त शैक्षिक संस्थाको रुपमा स्थापित गर्नका लागि चाहिने शैक्षिक गुणस्तरसँगै आधारभूत कक्षाकोठा, अत्याधुनिक फर्निचर, सफा शौचालय, विश्वविद्यालय परिसरभित्र विभिन्न प्रजातिका रुखविरुवा, रंगीविरंगी सुगन्धित फूलहरुले भरिएका सुन्दर बगैंचा निर्माण गरी सबैको आकर्षणको केन्द्रविन्दू बनाउने हेतुले २०७९ साल कार्तिक महिनादेखि हरेक महिनाको दोस्रो र चौथो विहिबार दिउँसो २ : ०० बजेदेखि ०५ : ०० बजेसम्म तीन घण्टा अनिवार्य श्रम गर्ने गरी विश्वविद्यालय अन्तर्गतका प्रत्येक निकाय प्रमुखहरुको नेतृत्वमा ‘मध्यपश्चिम विश्वविद्यालय हरियाली, फलफूल तथा सरसफाई अभियान’ संचालन गर्ने निर्यण गरेको छ । सोहि निर्यण अनुरुप आज मिति २०७९ कार्तिक २४ गते कुइनेपानि, सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर तथा घण्टाघर लाइन देखि खुलामंच सम्मको फोहोर उठाई सरसफाई अभियानको सुरुवात गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा। डा। नन्द बहादुर सिंहज्यूको नेतृत्वमा विश्वविद्यालयका रजिष्ट्रार, डीन, कार्यकारी निर्देशक, प्राचार्य, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य र कर्मचारीहरुको सहभागीतामा सरसफाई अभियान सुरु भएको हो । सुरुवाती दिनहरुमा विश्वविद्यालय परिवार र त्यसपछि क्रमश मध्यपश्चिम विश्वविद्यालयले थालेको हरियाली, फलफूल तथा सरसफाई अभियानमा स्वयंसेवी श्रमदानकर्ताका रुपमा समाजका विभिन्न सरोकारवाला व्यक्ति, समूह, समुदाय तथा संघ, संस्थाहरुलाई सहभागी गराउन आह्वान गर्ने र यस अभियानमा नियमित योगदान गर्ने संघ, संस्था तथा महानुभावहरुलाई विश्वविद्यालयले विशेष सन्दर्भ पारी कदरपत्रद्वारा सम्मान गर्ने योजना विश्वविद्यालयको रहेको छ ।