बैंकले ऋण नदिँदा निर्माण क्षेत्रमा मन्दी, सिमेन्ट उद्योगमा वित्तीय संकट
काठमाडौं । हिउँद लागेको छ । यस यामलाई विकास निर्माणका समयका रुपमा पनि लिइन्छ । विकास निर्माणको समय सुरु भए पनि सिमेन्ट तथा छडको माग भने न्यून भएको पाइएको छ । पछिल्लो केही समययता सिमेन्ट तथा रडको खपत न्यून रहेको व्यवसायीहरुले बताएका छन् । नेपाल राष्ट्र बैंकले गरेको कडाइ तथा देशमा तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले घर तथा आवास निर्माणका लागि सहजरुपमा ऋण नदिँदा सिमेन्ट तथा रडको माग नभएको व्यवसायीको भनाइ छ । बजारमा निर्माण सामग्रीको माग न्यून हुँदा मूल्यसमेत घट्न थालेको निर्माण सामग्री व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । बैंकले ऋण नदिँदा तथा तरलता अभावका कारण निर्माण क्षेत्रमा मन्दी आएको उनको भनाइ छ । उनका अनुसार दसैंयता सिमेन्ट प्रतिबोरामा ५० र छड प्रतिकेजी सातदेखि नौसम्म सस्तो भएको छ । तरलता अभावकै कारण घर बनाउने घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य घटेको व्यवसायीको भनाइ छ । क्षमताभन्दा आधा उद्योग सञ्चालन तरलता अभावका कारण पछिल्लो समय बजारमा माग घट्दा अधिकांश सिमेन्ट उद्योगले उत्पादन कटौती गर्न थालेका छन् । निर्माणजन्य गतिविधि न्यून हुँदा खपत हुन नसकेको तथा खपत नहुँदा अहिले सिमेन्टमा उद्योग वित्तीय सङ्कट देखिन थालेको सिमेन्ट उद्योगीले बताउन थालेका छन् । बजारमा सिमेन्टको मागमा उच्च गिरावट आएपछि हाल सञ्चालनमा रहेका अधिकांश सिमेन्ट उद्योगले क्षमताभन्दा न्यूनमात्रामा सिमेन्ट उत्पादन गर्दै आएका छन् । नेपाल सिमेन्ट उत्पादक सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेले सिमेन्टको माग न्यून हुँदा क्षमताअनुसार उत्पादन नभएको बताए । निर्माणको समय सुरु भए तापनि बजारमा चहलपहल नहुँदा न्यूनमात्रामा सिमेन्ट खपत हुन थालेको उनको भनाइ छ । उनले पछिल्लो केही दिनयता धेरै सिमेन्ट उद्योगले १५ देखि एक महिनाको समय राख्दै उद्योगले न्यूनमात्रामा न्यून उत्पादन गर्न थालेका छन् । गत भदौमा मात्र गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर प्रमाण चिह्न (एनएस) पाएको हुवासिन सिमेन्टले सीमितमात्रामा मात्रै उत्पादन गरिरहेको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार सिमेन्टको माग कम हुँदा केही समयका लागि उत्पादन कटौती सीमित गरिएको छ । सिमेन्ट उत्पादकका अनुसार एक दर्जन हाराहारीमा उद्योग बन्द छन् । बजारमा सिमेन्टको बिक्रीवितरण भइरहेको भए पनि उद्योगमा उत्पादन भने कटौती गरिएको र सटडाउनकै अवस्थामा छभन्दा पनि फरक नपर्ने उनको भनाइ छ । उत्पादन लागतभन्दा कम मूल्यमा ठूलो रकम नोक्सानी व्यहोरेर सिमेन्ट बिक्री गरिएको कम्पनीको दाबी छ । ‘हामीले उद्योग स्थापना गरेसँगै विभिन्न खालको समस्या बेहोर्नुपरेको थियो, अहिले बजारमा आर्थिक मन्दी आउँदा ठूलो रकम नोक्सानी खाएर भए पनि सिमेन्ट बिक्री सुरु गरेका थियौँ’, उनले भने, ‘बजारमा सिमेन्टको माग नहुँदा सञ्चालन खर्चमा मात्र वृद्धि भयो । सञ्चालन खर्च र धेरै मौज्दातका कारण केही समय न्यून उत्पादन गर्नुपरेको छ ।’ रासस
निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउँने प्रतिबद्धता
खोटाङ । वाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरूले निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई व्यावसायिक खेतीमा रुपान्तरण गर्ने प्रतिबद्धता जनाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवारले संयुक्तरूपमा हातेपर्चा प्रकाशन गरेर प्रतिबद्धता जनाएका हुन् । खेतीपाती, पशुपालन, फलफूल खेतीलाई व्यावसायीकरण गर्नका लागि पकेट क्षेत्र निर्धारण गरेर कार्यक्रम लागू गर्ने, कृषिलाई आधुनिकीकरण र व्यवसायीकरणको लागि आधुनिक यन्त्र, मल र बीउको व्यवस्था गर्ने बताएका छन् । बहुउद्देश्यीय नर्सरी स्थापना गर्न समूह, सहकारी तथा कृषि फार्ममार्फत अनुदानको व्यवस्था मिलाउने, खाद्यान्न, फलफूल र तरकारी आदि कृषि उत्पादनको लागि सङ्कलन र शीतभण्डारण केन्द्र स्थापना गर्नुका साथै बजारीकरण र प्रशोधनको व्यवस्था गर्ने वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले प्रकाशन गरेको संयुक्त प्रतिबद्धतापत्रमा उल्लेख छ । कृषिमा जैविक अग्र्यानिक उत्पादनलाई विशेष जोड दिँदै रैथाने बालीको अनुसन्धान र संरक्षण गर्ने, कृषिजन्य उद्योग स्थापना तथा कृषि पर्यटनमा विशेष जोड दिने, हिउँदको समयमा सिँचाइको सुविधा पुर्याउन अग्ला ठाउँमा रिचार्ज पोखरी निमार्ण गर्ने, किसानलाई बाँदर तथा अन्य जङ्गली जनावरको आतङ्कबाट मुक्ति दिलाउन प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरी जङ्गली जनावरको क्षतिपूर्तिको उचित व्यवस्थापन तथा सहुलियतमा कृषि बीमा गर्नेलगायतका बिषय समेटिएको छ । वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामकुमार राई, प्रदेशसभा १० मा नेकपा एकीकृत समाजवादी तर्फबाट वीरबलकाजी राई र प्रदेशसभा ९२० नेपाली कांग्रेसबाट भूपेन्द्र राई उम्मेदवार रहेका छन् । एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पार्टी पोलिटब्यूरो सदस्य विशाल भट्टराई, प्रदेशसभा १मा संविधानसभा सदस्य पाँचकर्ण राई र प्रदेशसभा २ मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राईले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा १ मा स्वतन्त्रसहित आठ–आठ तथा प्रदेशसभा २ मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।
कुमारी बैंकका ग्राहकलाई द हिमालयन गृल बाइ बाजेको सेवामा १५ प्रतिशत छुट
काठमाडौं । कुमारी बैंक लिमिटेड र टोखास्थित ‘द हिमालयन गृल बाइ बाजेको’ बिच सम्झौता भएको छ । बैंक र रेष्टुरेन्टबीच बैंकका ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिटरक्रेडिट कार्ड वा क्युआरमार्फत भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । द हिमालयन गृल बाइ बाजेको को तर्फबाट संचालक मौसम कुमार श्रेष्ठ र कुमारी बैंकको तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले हस्ताक्षार गरेका छन । यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिटरक्रेडिट कार्ड वाहकहरु वा क्युआर प्रयोगकर्ताहरुले द हिमालयन ग्रिल बाइ बाजेको टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५९ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेनसन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।
अन्नपूर्ण–धौलागिरि पदमार्गले फेरियो म्याग्दीको टिकोट गाउँको मुहार
गलेश्वर । विदेशी पाहुनासहित पहिलो पटक टिकोटहुँदै अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको भ्रमणमा आएका विश्व भेगन अर्गनाइजेशनका ज्याक टिकोटको प्राकृतिक सुन्दरता देखेर मख्ख परे । पदमार्गमा रहेका ज्याक यहाँको चिसो हावापानी, नजिकैबाट हिमालको दृश्यावलोकन, प्राङ्गारिक खाना, पदयात्रामा देखिने मनोरम दृश्यलगायतका कारण विदेशी पर्यटक टिकोटमा एक दिन बसेर यहाँबाट दृश्यावलोकन गर्न आकर्षित हुने उनले बताए । म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर सञ्चालनमा ल्याइएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने विदेशी तथा आन्तरिक पर्यटकको कारण टिकोट गाउँको मुहार फेरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने यो गाउँ सडक सञ्जाल र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग दुवैबाट जोडिएपछि पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्दै गएको अन्नपूर्ण गाउँपालिकाका पूर्व उपाध्यक्ष केशमाया मगरले बताए । ‘पदमार्गले नछोउञ्जेलसम्म विदेशी पर्यटक भनेका कस्ता हुन्छन् भन्ने कुरा देख्नै नपाएका यहाँका बासिन्दा अहिले दिनहुजसो पर्यटकलाई स्वागत गर्न पाउँदा मख्ख छन्’, उनले भने, ‘गाउँमा होमस्टे घरबास सेवा सञ्चालन भएका छन्, स्थानीय उत्पादनको बिक्री बढेको छ, गाउँलेको आम्दानीमा वृद्धि भएको छ ।’ पाँच वर्षदेखिइको पदमार्गका रूपमा सञ्चालनमा ल्याइएको यस पदमार्गमा भ्रमणमा आउने पर्यटकको सङ्या बढ्दै गएको पदमार्गका व्यवस्थापक चित्र तिलिजा पुनले बताए । सामाजिक कार्यकर्ता महावीर पुनको पहल तथा लघुउद्यम विकास कार्यक्रमको आर्थिक सहयोगमा म्याग्दीका सात र पर्वतका दुई गाविसका ग्रामीण भेगलाई समेटेर सञ्चालनमा ल्याइएको पदमार्गमा जर्मन, अमेरिका, अस्ट्रेलिया, बेलायत, इजरायल, फ्रान्सलगायतका देशबाट बढी पर्यटक आउने गरेका छन् । पदमार्ग हुँदै देखिने धौलागिरि, अन्नपूर्ण, मनासलु, लाङटाङ लगायतका हिमालको मनोरम हिमशृङखला, प्राकृतिक सौन्दर्यता, मगर समुदायको रहनसहन, सामुदायिक भाव, पदमार्गमा भेटिने, चौँरीपालन, भेडापालन लगायतले पर्यटकलाई आकर्षण गरेको व्यवस्थापक पुनले बताए । पर्यटकबाट भित्रिएको आम्दानीबाट गाउँको सामुदायिक विकास, शिक्षा, स्वास्थ्य संस्था सञ्चालन, पर्यटन पूर्वाधार निर्माणलगायतमा खर्च गरिने भएकाले पनि पर्यटक उत्साहित बन्ने गरेका छन् । एक सातादेखि १० दिनसम्म पूरा गर्न सकिने पदमार्ग पिप्लेको घुमाउने तालबाट सुरु भई पर्वतको बाँसखर्क, डाँडाकटेरी हुँदै म्याग्दीको नागी, हम्पाल डाँडा, महरेडाँडा, टिकोट हुँदै खिवाङ र मोहरेडाँडा, घोरेपानी, खोप्रालेक, नारच्याङहुँदै भुरुङ तातोपानी पुगेर टुङगिन्छ । ‘गाउँमै सडक आएको छ,गाउँलेलाई सडकले सुविधा भएको छ भने घुम्न आउने पर्यटक पदमार्गमार्फत आवतजावत गर्ने गर्दछन्’ स्थानीय ६१ वर्षीया गङ्गा पुनले भने ‘गाउँमा यस्तो परिवर्तन आउला भनेर मैले त सपनामा पनि सोचेकी थिइन ।’
लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसङ्घले दियो ९५ लाख डलर
लेबनान । राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो । राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले सो सहयोग उपलब्ध गराएको बिहीबार जनाएको छ । आपतकालीन सहयोग अन्तर्गत सो सहयोग उपलब्ध गराइएको राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । केही हप्तायतादेखि लेबनानमा हैजाको प्रकोप बढ्दै गएको छ । सो प्रकोपको नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाई एवं औषधी उपचारका लागि लेबनानले आर्थिक सहयोगको याचना गरेको थियो । बिहीबार उपलब्ध गराइएको सो सहयोगबाट लेबनानका कम्तीमा पनि १५ लाख मानिसलाई हैजाको प्रकोपबाट जोगाउने काममा प्रयोग गरिने बताइएको छ । लेबनानमा केही हप्तायता देखिएको हैजाबाट चार सय ९० जना विरामी देखिएका छन् । साथै यस प्रकोपबाट यहाँ कम्तीमा पनि १८ जनाको ज्यान गएको बताइएको छ । यहाँ गएको अक्टोबर ६ मा चार जनामा पहिलो पटक हैजाका किटाणु भेटिएका थिए । त्यसयता यहाँ हैजाको सङ्क्रमण फैलिएको हो । रासस
बैतडीको झुलाघाटमा मोटरेवल पुल सधैँको चुनावी एजेण्डा
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेवल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ । तर कहिले निर्माण हुने हो टुङ्गो भने लागेको छैन । राजनीतिक दलहरुले यसपटकको निर्वाचनमा पनि यसैलाई चुनावी एजेन्डा बनाएका छन् । स्थानीयवासीको मागअनुसार सबै राजनीतिक दलहरूले मोटरेवल पुल निर्माण गर्ने भन्दै यतिबेला प्रतिबद्धता जनाइसकेका छन् । यस नाकामा हाल करिब डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल सञ्चालन भइरहेको छ । तत्कालीन समयमा महाकाली नदीमा इष्ट इण्डिया कम्पनीले निर्माण गरेको झोलुङगे पुल यतिबेला जीर्ण अवस्थामा पुगेको छ । सुदूरपहाडका लागि भारत जोड्ने यो मुख्य नाकाका रुपमा रहेको यहाँ मोटरेबल पुल नहुँदा यो क्षेत्रको व्यापार व्यवसायमा असर पर्दै आएको छ । झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडी उद्योग वाणिज्य सङ्घले १० हजार बैतडीवासीको हस्ताक्षर सङ्कलन गरी नेपाल सरकार र भारतीय दूतावासलाई बुझाएको थियो । साथै उद्योग वाणिज्य सङ्घको अगुवाइमा २०७६ मा यहाँका स्थानीय बासिन्दा सदरमुकाममा ३६ दिन लामो रिले अनशनसमेत बसेका थिए । बुधबार मात्रै पाटनमै आयोजित लोकतान्त्रिक वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले झुलाघाट पुल निर्माण गरेरै छाड्ने दाबी गरे । ‘झुलाघाटमा मोटरेवल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, मोटरेवल पुल बनाएरै छोड्छु’, उनले भने । सोही सभालाई सम्बोधन गर्नुहुदै पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झुलाघाटमा पक्की पुल निर्माणका लागि पहल गर्ने बताए । ‘झुलाघाटमा पक्कीपुल निर्माणबारे गठबन्धनका उम्मेदवारले माग गरेका छन् । यो यहाँको आवश्यकता छ, गठबन्धनका उम्मेदवारलाई जिताउनोस् झुलाघाटमा पक्की पुल निर्माणको काम अगाडि बढाइनेछ’, उनले भने । त्यसअघि कात्तिक १८ गते पाटनमै आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि झुलाघाटमा पक्की पुल निर्माण हुने प्रतिबद्धता व्यक्त गरेका थिए । यसका साथै एक महिनाअघि मात्रै बैतडी पुगेका कांग्रेस केन्द्रिय सदस्य रमेश लेखकले पनि झुलाघाटमा पक्की पुल निर्माणको आश्वासन दिएका थिए । नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बने झुलाघाटमा मोटरेबल पुल बन्नेमा ढुक्क हुन उनको आग्रह थियो । प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्री समेतले झुलाघाटमा पक्की पुल निर्माणका लागि आश्वासन दिए पनि यहाँ स्थानीय बासिन्दा भने अझै विश्वासमा रहेका छैनन् । निर्वाचनको बेला नेताहरूले भोट माग्नका लागि मात्रै पुल निर्माणको आश्वासन दिने गरेकाले विश्वास लाग्न छाडेको बैतडीको दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले बताए । उनले भने, “निर्वाचनका बेला मात्रै झुलाघाट मोटरेवल पुल एजेन्डा बन्ने गरेको छ, निर्वाचनपछि भने यो कुरा सबैले बिर्सिन्छन्, कसैले पहल गर्दैनन् ।” बैतडी उद्योग वाणिज्य स्घका अध्यक्ष नरबहादुर चन्द पुल निर्माणको आवाज उठेको वर्षौ भइसकेको भए पनि कसैले पहल नगरेको बताउँछन् । उनले भने ‘हामीले हस्ताक्षर सङ्कलन गरेर सरकारलाई बुझायौँं, अनसन बस्यौँ, नेताहरूले खाली बन्छ भनेर आश्वासन मात्रै दिन्छन् । पुल बनाउन केही पहल नहुँदा राज्यले सधैँ हेपेको महसुस पनि हुने गरेको छ । ‘ नदी सीमामा भएकाले पुल निर्माणका लागि भारत सरकारको सहमति आवश्यक पर्छ । दुवै देश तयार भएमा मात्रै यो पुल निर्माणको काम अघि बढ्नसक्छ । तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लामै आएर पुल निर्माणको काम अगाडि बढाउने भनेको र लोकतान्त्रिक वामगठबन्धनले निर्वाचन जिते पुल बन्ने दाबी गरे । ‘प्रधानमन्त्रीले बोलेको विषयमा हामीलाई पूर्ण विश्वास छ’, उनले भने, ‘उनले बोलेको काम पूरा गर्छन्, मोटरेवल पुल बन्छ ।’ सुदूरपश्चिमकै पुरानो नाका झुलाघाटमा भएर सुदूरपश्चिमका मात्रै नभए कर्णाली प्रदेशका नागरिकसमेत आवतजावत गर्ने गर्दै आएका छन् । झुलाघाट नाकामा पक्की पुल निर्माणको माग सीमावर्ती भारतीय नागरिकले समेत राख्ने गरेका छन् । तर अहिलेसम्म पुल निर्माणको काम हुनसकेको छैन् । सीमा नाकामा मोटरेबल पक्की पुल नभएका कारण भरियाले बोकेरै पुल तार्नुपर्ने भएपछि सामान आयात निर्यात पनि महँगो गरेको छ । सीमा नाका झुलाघाटमा पक्की पुल निर्माण भए बैतडीको स्थानीय उत्पादनको बजार विस्तार र धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण नाका बन्ने देहिमाडौंँका व्यापारी दीपक बोहराले बताए । उनले भने, ‘झुलाघाटमा पक्की पुल सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक विकाससँग जोडिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गतको अन्तिम विन्दु झुलाघाटमा पक्की पुलको निर्माण गर्न सके भारतीय बजारमा थुप्रै नेपाली उत्पादन निर्यात गर्न सकिनेछ ।’ रासस
बन्द भयो नेप्सेको पुरानो वेबसाइट
काठमाडाैं । नेपाल स्टक एक्सचेन्जकाे पुरानाे वेबसाइट शुक्रबारबाट बन्द भएकाे छ । नेप्सेकाे अनुसार आजबाट सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइटमा अब कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको छ । यससँगै अब नेप्सेको नयाँ वेबसाइट कार्तिक २७ गतेबाट पूर्णरुपमा संचालनमा आउने छ ।हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट संचालनमा आउन लागेको हो ।
‘घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा मतदान गर्नुहोस्’
चितवन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्ने बताएका छन् । गोरखापत्र संस्थानले आज यहाँ आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उनले सांसदको भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासनका आधारमा मतदान गर्न नहुने बताएका हुन् । निर्वाचन प्रक्रियामा अझै रुपान्तरण हुन बाँकी रहेको उल्लेख गदैै उनले भने, ‘निर्वाचनलाई राष्ट्रिय एकताको सूत्रमा पाँच वर्ष मुलुकलाई कता लाने हो भन्ने सन्देश प्रवाह गर्ने काम पत्रकारको हो ।’ थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार सङ्कलन र सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे । ‘हामी सबैले आफ्नो इमान्दारिता कायम गरौँ, निर्वाचन आचारसंहिताको कहीँकतै उल्लङ्घन नहोस्, उल्लङ्घनका समाचार बाहिर आउन्, नागरिकलाई शान्त दिमागले मतदानको वातावरण र कर्तव्यबोध गराउने खालका समाचार प्रवाह होस्’, प्रमुख आयुक्त थपलियाले भने, ‘पत्रकारहरूले आचारसंहिताको कति पालना गरेका छन्, त्यसको लेखाजोखा होस्, सबै दल र उम्मेदवारलाई समान पहुँच र स्थान दिइएको छ कि छैन भन्ने विषयलाई पनि आत्मसाथ गर्नुहोला ।’ उनले मतदानका दिन र मतगणनाको समाचार प्रवाह गर्दा प्रवद्र्धनात्मक तथा मतदातालाई तथ्य जाँचसहित सही सूचना दिनुपर्नेमा जोड दिनुभयो । प्रमुख आयुक्त थपलियाले आयोगले दिएको निर्देशनबमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैङ्गिक तथा अपाङ्गतामैत्री मतदान केन्द्र बनाउन निर्देशन एवं सुरक्षा प्रबन्धका विषयमा सुक्ष्मरूपमा रिपोर्टिङ हुनुपर्ने बताए । उनले निर्वाचन तयारीको लगभग अन्तिम चरणमा कर्मचारीको व्यवस्थापन गरेर मतपेटिकासहित मतदानस्थलतर्फ जाने प्रक्रिया भइरहेकाले मङ्सिर १ गते साँझसम्ममा सबै कर्मचारी र सामग्री मतदानस्थलमा पुगे÷नपुगेको विषयमा रिपोर्टिङ हुनुपर्ने तथा पत्रकारले चाहेको सूचना उपलब्ध गराउन आयोग तत्पर रहेको स्पष्ट गरे । कार्यक्रममा गोरखापत्र संस्थाका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले सानो गलत सूचनाले निर्वाचन आयोगको संवेदनशील प्रक्रिया र मतदाताको मनोविज्ञान दिग्भ्रमित पार्न सक्ने भएकाले समाचार सम्प्रेषण गर्दा संवेदनशील हुनुपर्ने बताए । सो अवसरमा चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लामा निर्वाचनका तयारी, आचारसंहिताको पालनालगायतका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र राज्यको मिडिया भएकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्ने दायित्व आफ्नो पनि रहेको बताए । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका गोरखापत्र संस्थानका समाचारदाता सहभागी एकदिने अनुशिक्षण कार्यक्रममा ६० जनाको सहभागिता रहेको छ । संस्थानले अन्य प्रदेशमा यही खालको अनुशिक्षण सम्पन्न गरिसकेको छ । रासस