विकासन्युज

गुल्मी–२ मा पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धा पेचिलो बन्दै

रेसुङ्गा (गुल्मी) ।  गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई लाख २३ हजार छ सय १५ मतदातामध्ये यहाँ सो क्षेत्रमा एक लाख चार हजार तीन सय २७ रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिइन् । क्षेत्र नं २ प्रदेशसभा (१) मा ५१ हजार नौ सय चार छन् र (२) मा ५२ हजार चार सय २३ छन् । गत स्थानीय तहको निर्वाचनबाट तीन स्थानीय तहमा नेपाली कांग्रेस र दुई स्थानीय तहमा नेकपा (माओवादी केन्द्र ) र एक स्थानीय तहमा नेकपा (एमाले)ले नेतृत्व गरेको छ । रेसुङ्गाको प्रमुख र उपप्रमुख, इस्माको अध्यक्ष र उपाध्यक्ष, मदानेको अध्यक्ष र मालिकाको उपाध्यक्ष कांग्रेसले जितेको छ । मालिका र धुर्कोटको अध्यक्ष माओवादी जितेको छ । मुसीकोटको प्रमुख र उपप्रमुख, मदानेको उपाध्यक्ष र धुर्कोटको उपाध्यक्ष एमालेले जितेको थियो । यहाँ कूल ४३ वडा छन् । कांग्रेसले २५, एमालेले १७ र माओवादीले एक जितेको थियो । सत्तारुढ गठबन्धनका २६ र एमालेका १७ छन् । यहाँ गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेससहितको गठबन्धनको ३२ हजार दुई सय २७ मत छ । एमालेसहितको गठबन्धनको ३१ हजार तीन सय ६२ छ । एमाले गठबन्धनभन्दा कांग्रेस गठबन्धन नौ सय २५ मतले अगाडि छ । यहाँ मुख्य नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्री र एमालेका गोकर्ण विष्टबीच प्रतिस्पर्धा हुँदैछ । वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसकेमा कांग्रेससहितको सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जीत निकाल्न सहज छ । उनलाई वडाध्यक्षमा सत्तारुढ गठबन्धनका दलले पाएको मत सुरक्षित राख्न निकै चुनौती छ । एमालेसँगको असन्तुष्ट समूहलाई आफूतिर तान्नसक्ने पनि झाँक्रीलाई अवसर छ । कांग्रेसका तल्लो तहका मतदाताले पनि आफ्नो चुनाव चिह्नलाई भुलेर गठबन्धनको भूमिका निर्वाह गरेमा झाँक्रीले यस क्षेत्रमा एमालेको विरासत तोड्न सक्नेछिन् । विष्टलाई एमालेले वडाध्यक्षमा पाएको मत सुरक्षित राख्दै गठबन्धनका भएका दलको मत तान्न आवश्यक छ । जुन सम्भव नहुन पनि सक्छ । अघिल्लो सङ्घीय निर्वाचनमा माओवादीको साथ पाएर निकै सहज जीत निकालेकी उनलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ । एमालेबाट छुट्टिएर समाजवादीमा गई उम्मेदवार बन्नुभएकी झाँक्रीलाई एमालेको मत जाने वा नजाने भन्नेमा पनि भर पर्दछ । पहिलेका सहयात्री झाँक्री र विष्ट अहिलेका मुख्य प्रतिस्पर्धी हुँदा मतदाताले कसलाई बढी रूचाउलान् भन्ने निकै कौतुहलताका साथ हेरिएको छ । झाँक्री र विष्टको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । यस क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेसहितको गठबनधनको १६ हजार ६७ मत छ । एमालेसहितको गठबन्धनको १५ हजार आठ सय ८२ छ । जहाँ एमालेभन्दा कांग्रेससहितको गठबन्धन एक सय ८५ अगाडि छ । यहाँ सत्तारुढ गठबन्धनबाट कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र एमालेका डिल्लीराज भुसालबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ मुसीकोट, इस्मा र रेसुङ्गाका ६ वडा पर्दछन् । यहाँ २१ वडा छन् । कांग्रेसले १२ र एमालेले नौ वडा जितेको छ । यहाँ कांग्रेसका श्रेष्ठ उम्मेदवार रहेकोले कांग्रेसले वडाध्यक्षमा पाएको मत बचाउनसके मात्र जीत सहज छ । यो सानो प्रयासले हुँदैन । एमालेका भुसाललाई आफ्नो दलले वडाध्यक्षमा पाएको मत सुरक्षित गर्दै सत्तारुढ गठबन्धनको मतसमेत तान्न आवश्यक छ । जुन त्यति सहज छैन । यहाँ श्रेष्ठ र भुसालबीचको प्रतिस्पर्धा निकै चाखलाग्दो हुनेछ । अघिल्लो पटक रेसुङ्गाको प्रमुखमा उनै भुसालसँग हार बेहोर्नुभएका श्रेष्ठ अहिले त्यसको बदला लिने दाउमा छन् । भुसाल अघिल्लो जीतलाई आत्मबलका रूपमा लिएका छन् । यस क्षेत्रको प्रदेशसभा (ख) मा कांग्रससहितको गठबन्धनको १६ हजार दुई सय २० मत छ । एमालेसहितको गठबन्धनको १५ हजार आठ सय ४० छ । एमालेसहितको गठबन्धनभन्दा कांग्रेससहितको गठबन्धन तीन सय ८० ले अगाडि छ । यहाँ सत्तारुढ गठबन्धनबाट माओवादीका बुद्धि जिसी र एमाले गठबन्धनबाट दिनेश पन्थीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ मालिका, मदाने र धुर्कोट पर्दछन् । यहाँ २२ वडा छन् । कांग्रेसका १३, एमालेका आठ र माओवादीको एक वडा छ । कांग्रससहितको गठबन्धनका १४ र एमालेसहितको गठबन्धनका आठ वडाध्यक्ष छन् । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत कायम रहेमा जिसीलाई जीत निकाल्न सहज छ । धुर्कोटमा एमालेसँगको गठबन्धनले नदेखिएको मत पनि अहिले माओवादीमै आउँछ । तसर्थ पनि सत्तारुढ गठबन्धनका जिसीलाई जीत निकाल्न निकै सहज छ । नेकपा एमालेका पन्थीलाई वडाध्यक्षमा पाएको मत सुरक्षित गरेर सत्तारुढ दलमा गएको मतसमेत तान्न आवश्यक छ । पन्थीलाई चुनौती बन्नसक्छ । खानेपानी माग्छन् जनता यस क्षेत्र नागरिकले अझै पनि घरमै खानेपानीको माग गरिरहेका छन् । मदाने–६ की पवित्रा विकले आफूहरू एक घण्टा टाढाबाट पानी बोकेर खानुपर्ने अवस्था रहेको गुनासो गरेकी छिन् । ‘बिहानै ५ बजे उठेर एक घण्टा टाढा थाम्कामा पानी बोक्न जाने मेरो दैनिकी हो’, उनले भने । उनीसँगै थाम्काका छ घरपरिवारमा यो समस्या छ । यस क्षेत्रमा अझै खानेपानी, सडक र स्वास्थ्य लगायतको निकै समस्या छ । यस क्षेत्रका नागरिकले आफूहरूलाई मत राख्नका लागि कसैले नसिकाएको गुनासो गरेका छन् । ‘मलाई मत बदर हुन्छ कि भन्ने चिन्ता छ’, मदानेका दुर्गाबहादुर कुँवरले भने, ‘मत कसरी राख्नेसम्बन्धी कसैले शिक्षा दिएन, सिकाए हुन्थ्यो,’। सोही स्थानका २० वर्षीय निरज नेपालीले पनि आफू पहिलोपटक मतदान गर्न लागेको भन्दै केही जानकारी नभएको गुनासो गरे । उनले गाउँगाउँमा मतदाता शिक्षाको अभाव भएकाले मतदाता शिक्षा आवश्यक रहेको बताए । निर्वाचन कार्यालयले तयारी अन्तिम चरणमा पु¥याएको छ । यहाँ एक लाख १५ हजार मतपत्र आइपुगेको छ । (१) मा ५९ हजार र (२) मा ६० हजार मतपत्र आएको सूचना अधिकारी मेघलाल पाण्डेले बताउनुभयो । यहाँ एक सय २८ मतदान केन्द्र र ६१ मतदानस्थल छन् । (१) मा ६२ र २९ छन् । (२) मा ६६ र ३२ छन् । निर्वाचन कार्यालयले वडावडामा स्वयंसेविकामार्फत मतदाता शिक्षा दिइरहेको दाबी गरेको छ । साथै निर्वाचन अनुगमन अधिकृत छविन्द्र बेल्वासेले यहाँ आचारसंहितासम्बन्धी अनुगमन भइरहेको बताएका छन् ।

सितापाइलामा खुल्यो सानिमा बैंकको नयाँ शाखा

काठमाडौं ।  सानिमा बैंकले काठमाडौंको सितापाइलामा पनि सेवा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले कार्तिक २५ गते  संयुक्त रुपमा गरेका हुन् । सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनुका साथै, अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्धारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्धभावका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकका देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२२ वटा एटीएम संचालनमा रहेका छन् ।

खुकुरी रमको उत्पादक दि नेपाल डिस्टीलरिजले पायो आइएसओ प्रमाणपत्र

काठमाडाैं । प्रतिष्ठित ब्राण्ड ‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१:२०१५’ प्रमाणपत्र पाएको छ । कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय, डीएनभी (युकेएएस) बाट यो प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको हो । यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल रहेको कम्पनीले जनाएको छ । ‘आइएसओ ९००:२०१५ प्रमाणपत्र’लाई कम्पनीको जीवनमा एउटा कोशेढुंगाको रुपमा चित्रित गर्दै ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभास लामिछानेले भने,‘प्रतिष्ठित आइएसओ ९००१ः२०१५ को प्रमाणपत्र पाएकोमा हामीलाई गौरव महसुस भएको छ । आगामी दिनमा समेत हामी उत्पादनहरूको गुणस्तर र आन्तरिक कार्य प्रणालीलाई समेत अझ आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।’ कम्पनीबाट प्रतिष्ठित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ट्रिपल एक्स रम’, ‘खुकुरी स्पाइस्ड रम’, ‘खुकुरी ह्वाइट रम’ र ‘खुकुरी कोरोनेसन रम’ उत्पादन हुँदै आएको छ । यी उत्पादन विश्व बजारमा निर्यात पनि हुँदै आएका छन् । हालै कम्पनीले रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गर्दै नयाँ ब्राण्ड ‘न्यूड भोड्का’ बजारमा ल्याएको छ । सन् १९५९ मा स्थापना भएको दि नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो ।

प्रभु बैंकका भिसा कार्ड भएकाले १८० देशबाट सजिलै खातामा पैसा पाउन सक्ने

काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा ईन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ । यस सेवा मार्फत् विदेशबाट यस बैंकको भिसा डेबिट कार्डका ग्राहकहरुलाई बिना झण्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको छ । यस सेवा अन्तर्गत् भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटिएम मार्फत् यस बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नं‍म्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरुलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने भएको छ ।  

गोर्खाज फाइनान्सको पोखरा शाखा उद्घाटन

काठमाडौं । गोर्खाज फाइनान्सले आफ्नो पोखरा स्थानान्तरित शाखा शुक्रबार एक कार्यक्रमबीच समुद्घाटन गरेको छ । वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संयुक्त रुपमा शाखा उद्घाटन गरेका छन् । शाखा उद्घाटन समारोहमा मन्तव्य राख्दै वक्ताहरुले वित्तीय संस्थाले पु¥याएको सेवा प्रशंसा गर्दै आगामी दिनमा समेत अझ सशत्त रुपमा अगाडि बढ्न सुझाव दिए । वित्तीय संस्थाले आफ्नो देशभर रहेका २७ वटा शाखाहरुबाट स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

विदेशी एपको अगाडी किन टिकेनन् नेपाली डिजिटल प्लेटफर्म ?

काठमाडौं । ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा निक्कै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकहरूले मनोरञ्जनको विकल्पका रुपमा डिजिटल प्लेटफर्म रोजे । अन्तराष्ट्रिय रुपमा बजार राम्रो बनाई सकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभ लगायतका ओटीटी प्लेटफर्म दर्शकका प्रिय बने । नेपाली समेत उल्लेखित ओटीटीका प्लेटफर्म तर्फ आकर्षित हुँदा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिक रुपमा खर्च गर्न मिल्ने गरी कार्ड उपलब्ध गराएपछि पनि विदेशी एपमै दर्शक बढेका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात बन्द नै भयो । सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा फिल्म हेर्ने बाँकीको विकास गरिरहेको बताए । ‘युट्युबबाट दर्शकलाई एपमा फिल्म हेर्ने बानी बसाउन केही समय निःशुल्क फिल्म समेत उपलब्ध गराएका थियौं । सन् २०१६ मै डिजिटल भविष्य देखेर खोलिएको सिनेमाघरमा दुई वर्ष पश्चात म संचालकको रुपमा जोडिए’, अभिनेता लामिछाने भन्नुहुन्छ,’नयाँ फिल्म र ओर्जिनल कन्टेनले दर्शक तान्नेमा विश्वत छौँ । हामीले त्यसको तयारी समेत थालिरहेका छौँ ।’ उनले गत लकडाउनमा पुरानै फिल्ममा समेत दर्शक बढेको बताए । आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओम अग्रवालले भने पाइरेसीको समस्याले ओटीटीमा जोखिम देख्छन् । आफ्नै ओएसआर प्ले नामक एपको तयारी गरिरहेका अग्रवालले सुरक्षाको चुनौती रहेको बताए । ‘पाइरेसी गर्नेलाई कडा कारवाही नहुँदा समस्या देखिएको हो । युट्युबमा फ्रीमा फिल्म हेरिरहेका दर्शकलाई नयाँ फिल्म मार्फत आकर्षित नगरेका होइनौ तर लकडाउनले केही असर ग¥यो’, संचालक अग्रवालले भने । आइफ्लिक्स बन्द भएपछि उहाँ सहितको टिमले ओएसआर डिजिटल टिम भिडियो पसल मार्फत फिल्म दर्शक माँझ पु¥याईरेहेको छ । अभिनेता लामिछानेले आफ्नो एपमा चार तहको सुरक्षा रहेको जानकारी दिए । ‘सिनेमाघरबाट पाइरेसी गर्नेलाई सहजै समात्न सकिन्छ । हामीले केही समय अगाडी एक जनालाई सजाय समेत दिलाएका थियौँ । पाइरेसी सम्बन्धि शिक्षाको कमिले नै यस्तो भइरहेको छ’,अभिनेता लामिछानेले भने,’अहिले ओटीटीले मुनाफा दिन थालेपछि विस्तारै निर्माताहरू आकर्षित भइरहेका छन् । हामीले गत दसैँमा प्रदर्शन गरेको दुई फिल्मले राम्रो मुनाफा दिएको छ ।’ उनले एपमा ‘कबड्डी ४ : द फाइनल म्याच’ रिलिज गरेका छन् । यसले नयाँ दर्शक थपिने र पुरानो फिल्म समेत हेरिने विश्वास उनको छ । ‘अहिले हाम्रो मुनाफा भनेकै दर्शक हुन् । सिनेमाघर चार लाख पटक डाउनलोड भइसकेको छ । उहाँहरूमा नेपाली ओटीटीमा फिल्म हेर्ने बानी बिकसित भएमा आउँदो दिनमा हामीले सफलता पाउनेछौँ’, अभिनेता लामिछानेले भने । निर्देशक रामबाबु गुरुङले आफ्नो फिल्म युट्युब अगाडी एपमा दिनुको कारण दर्शक विकास र बजारको सम्भावना रहेको बताए । ‘हामी कहाँ भएको ओटीटीमा दर्शकलाई आकर्षित गर्न प्रदर्शन गर्दैछौँ । यसले आउँदा दिन सहज हुनेमा विश्वत छु’, निर्देशक गुरुङले भने । डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्ड पनि तयार रहेको सदस्य फडिन्द्र कटवालले बताए । ‘सञ्चार मन्त्रालयले यसका लागि बजेट समेत विनियोजन गरिसकेको छ । कार्यविधि तयार गरेर ओटीटीलाई सघाउने हाम्रो योजना छ’, सदस्य कटवालले भने । उनकै संयोजकत्वमा बोर्डले ओटीटीलाई नियमन गर्ने र संचालन गर्ने कार्यविधि तयार गर्दैछ । नेपालमा सञ्चालनमा आएकाओटीटी भनिने डिजिटल प्लेटफर्मले नयाँ कन्टेन ल्याउन नसक्दा दर्शक विदेशी प्लेटफर्ममै रमाईरहेका छन् । ठुलोपर्दामै देखिने कलाकारलाई लिएर कन्टेन बनाएर ओटीटीमा ल्याउने तयारीमा रहेता पनि यसले पूर्णता पाउन सकेको छैन । रासस

बर्दियामा भारतीय जङ्गली हात्तीको आतङ्क

बर्दिया । बर्दियाको मधुवन नगरपालिकाको वडा नं २ धनैरामा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । भारतीय सीमावर्तीे जङ्गलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा, खेतमा काटेर राखेको धान, बालीमा क्षति गर्ने गरेको मधुवन–२ धनैराका स्थानीय भुपाल न्यौपानेले बताए । उनले भने, ‘भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँजसो आउने जङ्गली हात्तीले केराखेतमा आतङ्क मच्चाएपछि काँचै केरा कम दाममा बेच्नुपरेको छ ।’ भारतीय सीमावर्तीबाट आउने जङ्गली हात्तीले बर्सेनि चार–पाँच घर भत्काउने, आक्रमण गरी घाइते बनाउने र दर्जनौँ बिघा खेती खाइदिने गरेको छ । एकातिर कुलो पानीको समस्या अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको न्यौपानेले बताए । यस क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गमा भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरी र बर्दिया राष्ट्रिय निकुन्जबाट बाघ, हात्ती आहार विहारका लागि ओहोर–दोहोर गरिरहेका हुन्छन् । गत आवमा दुई जना हात्तीको आक्रमणबाट मृत्यु भएको थियो भने यस आवको हालसम्म एक जना हात्तीको आक्रमणबाट मृत्यु भइसकेको छ ।

बैंकले ऋण नदिँदा निर्माण क्षेत्रमा मन्दी, सिमेन्ट उद्योगमा वित्तीय संकट

काठमाडौं । हिउँद लागेको छ । यस यामलाई विकास निर्माणका समयका रुपमा पनि लिइन्छ । विकास निर्माणको समय सुरु भए पनि सिमेन्ट तथा छडको माग भने न्यून भएको पाइएको छ । पछिल्लो केही समययता सिमेन्ट तथा रडको खपत न्यून रहेको व्यवसायीहरुले बताएका छन् । नेपाल राष्ट्र बैंकले गरेको कडाइ तथा देशमा तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले घर तथा आवास निर्माणका लागि सहजरुपमा ऋण नदिँदा सिमेन्ट तथा रडको माग नभएको व्यवसायीको भनाइ छ । बजारमा निर्माण सामग्रीको माग न्यून हुँदा मूल्यसमेत घट्न थालेको निर्माण सामग्री व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । बैंकले ऋण नदिँदा तथा तरलता अभावका कारण निर्माण क्षेत्रमा मन्दी आएको उनको भनाइ छ । उनका अनुसार दसैंयता सिमेन्ट प्रतिबोरामा ५० र छड प्रतिकेजी सातदेखि नौसम्म सस्तो भएको छ । तरलता अभावकै कारण घर बनाउने घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य घटेको व्यवसायीको भनाइ छ । क्षमताभन्दा आधा उद्योग सञ्चालन तरलता अभावका कारण पछिल्लो समय बजारमा माग घट्दा अधिकांश सिमेन्ट उद्योगले उत्पादन कटौती गर्न थालेका छन् । निर्माणजन्य गतिविधि न्यून हुँदा खपत हुन नसकेको तथा खपत नहुँदा अहिले सिमेन्टमा उद्योग वित्तीय सङ्कट देखिन थालेको सिमेन्ट उद्योगीले बताउन थालेका छन् । बजारमा सिमेन्टको मागमा उच्च गिरावट आएपछि हाल सञ्चालनमा रहेका अधिकांश सिमेन्ट उद्योगले क्षमताभन्दा न्यूनमात्रामा सिमेन्ट उत्पादन गर्दै आएका छन् । नेपाल सिमेन्ट उत्पादक सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेले सिमेन्टको माग न्यून हुँदा क्षमताअनुसार उत्पादन नभएको बताए । निर्माणको समय सुरु भए तापनि बजारमा चहलपहल नहुँदा न्यूनमात्रामा सिमेन्ट खपत हुन थालेको उनको भनाइ छ । उनले पछिल्लो केही दिनयता धेरै सिमेन्ट उद्योगले १५ देखि एक महिनाको समय राख्दै उद्योगले न्यूनमात्रामा न्यून उत्पादन गर्न थालेका छन् । गत भदौमा मात्र गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर प्रमाण चिह्न (एनएस) पाएको हुवासिन सिमेन्टले सीमितमात्रामा मात्रै उत्पादन गरिरहेको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार सिमेन्टको माग कम हुँदा केही समयका लागि उत्पादन कटौती सीमित गरिएको छ । सिमेन्ट उत्पादकका अनुसार एक दर्जन हाराहारीमा उद्योग बन्द छन् । बजारमा सिमेन्टको बिक्रीवितरण भइरहेको भए पनि उद्योगमा उत्पादन भने कटौती गरिएको र सटडाउनकै अवस्थामा छभन्दा पनि फरक नपर्ने उनको भनाइ छ । उत्पादन लागतभन्दा कम मूल्यमा ठूलो रकम नोक्सानी व्यहोरेर सिमेन्ट बिक्री गरिएको कम्पनीको दाबी छ । ‘हामीले उद्योग स्थापना गरेसँगै विभिन्न खालको समस्या बेहोर्नुपरेको थियो, अहिले बजारमा आर्थिक मन्दी आउँदा ठूलो रकम नोक्सानी खाएर भए पनि सिमेन्ट बिक्री सुरु गरेका थियौँ’, उनले भने, ‘बजारमा सिमेन्टको माग नहुँदा सञ्चालन खर्चमा मात्र वृद्धि भयो । सञ्चालन खर्च र धेरै मौज्दातका कारण केही समय न्यून उत्पादन गर्नुपरेको छ ।’ रासस