विकासन्युज

कर्मचारी नहुँदा नागरिकता एवं राहदानी वितरण स्थगित

रसुवा । कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ । प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरणलगायतका सबै सेवा आजदेखि आगामी मङ्सिर ४ गतेसम्म बन्द भएको जनाएको छ । निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न स्थानीय प्रशासन अह्रोरात्र तल्लीन रहेको र निर्वाचन कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभर मदिरा बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । जिल्लाको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवं नेपाली सेना विष्णुु दल गणले गस्ती कार्यलाई निरन्तरता दिइरहेका छन् । लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ विष्णुदल गणले निकुञ्ज क्षेत्रमा गर्नुपर्ने आफ्नो जिम्मेवारीका साथसाथै स्थानीय प्रशासनको आदेशमा विविध सुरक्षा सेवासमेत प्रदान गर्दै आएको छ ।आसन्न निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको प्रशासनले जनाएको छ । जिल्लाका ५२ मतदान केन्द्र रहेका छन् ।

चुनावी नारामा सीमित धनकुटा विमानस्थल

धनकुटा । धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सिएका छैनन् । तत्कालीन समयमा डाँडामा बसेको हेलिकोप्टरबाट मानिस ओर्लेर विमानस्थल बनाउन भन्दै दूरबीनले हेरेको घटना सम्झँदै उनी भन्छन्, ‘म करिब पाँच–सात वर्षको थिएँ । माथि डाँडामा हेलिकोप्टर आयो, मानिस ओर्लेर विमानस्थल बनाउन भनेर दूरबीनले हेरेँ ।’ तत्कालीन समयदेखि साविक बेलहारा गाविस हाल धनकुटा नगरपालिका वडा नं ९ को बेलहारा डाँडामा विमानस्थल बन्ने कुरा आजसम्म पनि चर्चामा नै छ । सर्वेक्षण भएको ६० वर्ष पुग्न लाग्दा पनि विमानस्थल नबन्दा अब भने विमानस्थल बन्ने कुरामा ढकाललाई पटक्कै विश्वास छैन । ‘खै अब बन्दैन होला केटाकेटीदेखि सुनेको, मर्नेबेला भइसक्यो’, उनले भने । विसं २०२२ मा पहिलोपटक विमानस्थल निर्माण गर्न लागि सर्वेक्षण गरिएको जनाइएको छ । उक्त स्थानमा विभिन्न कारण देखाएर विमानस्थल बन्न सकेको थिएन । पछिल्लो समयमा सो स्थानमा विमानस्थल निर्माण गर्नका लागि विसं २०५० देखि साविक जिल्ला विकास समितिले जिल्ला परिषद्बाट पहिलो नम्बरको आयोजनमा राखेर मन्त्रालयमा १८ वर्षसम्म निरन्तर माग गरेको थियो । नेपाल नागरिक उड्डयान प्रधिकरणले विसं २०६८ मा धनकुटाको विभिन्न तीन स्थानमा गरेको सर्वेक्षणपछि बेलहारा विमानस्थल निर्माणका लागि उत्कृष्ट देखाएको थियो । तर अहिलेसम्म काम अगाडि बढेको छैन । मन्त्रिपरिषदको बैठकले समेत बेलहारामा विमानस्थल बनाउने निर्णय गरेको थियो । विसं २०७१ मा इञ्जीनियर मणिगोविन्द श्रेष्ठको नेतृत्वमा आएको टोलीले गरेको विस्तृत सर्वेक्षणअनुसार बेलहारामा एक हजार तीन सयदेखि एक हजार पाँच सय मिटरसम्मको धावनमार्ग निर्माणका लागि सर्वेक्षण गरिएको थियो । त्यसताका धनकुटाको बेलहारामा विमानस्थल बन्ने कुरा पक्का जस्तै भएको थियो । विमानस्थल बन्ने कुरा चियागफ र दलका नेताको चुनावी नारामा मात्रै सीमित भएको जनाइएको छ । बेलहारा बाघखोरका ३० वर्षीया चन्द बस्नेत भन्छन्, ‘अरु बेला सुनसान हुन्छ, चुनाव आएपछि मात्र हल्ला हुन्छ’, उनले भने ।पछिल्लो समयमा पहल गर्ने मान्छे नहुँदा विमानस्थलको विषय त्यसै सेलाएर गएको वडाध्यक्ष टङक राईले बताए । यस स्थानमा बन्ने धावनमार्ग हिउँद र बर्खा दुवै मौसममा उडान भर्न सकिने र हावाको गतिको रोकावटबिना दुवै तर्फबाट उडान भर्न सकिने विशेषताको प्रतिवेदनमा उल्लेख छ ।बेलहरामा निर्माण हुने विमानस्थल विराटनगरबाट २२, तुम्लिङटारबाट २४ र भोजपुर विमानस्थलबाट १७ दशमलव ७४ नटिकल माइल टाढा रहेको छ । तात्कालीन अवस्थामा गरिएको सर्वेक्षणअनुसार विमानस्थल निर्माण गर्दा विस्थापित ४७ घरपरिवारको मुआब्जाबाहेक १७ करोड रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ । रासस

झापाको कपडा पसलमा आगलागी हुँदा एक करोडको क्षति

झापा । झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो । राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा पसलमा आगलागी हुँदा एक करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । बिर्तामोड नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।

ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्छ : ओनसरी घर्ती

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताएकी छन् । नेतृ घर्तीले ओली प्रधानमन्त्री हुँदा दुई-दुई पटक संसद् विघटन गरेकाले जनताले त्यसको दण्ड आसन्न निर्वाचनबाट दिनुपर्ने बताएकी हुन् । उनले कम्युनिष्ट पार्टीलाई फेरि फुटाउन र दुई तिहाई बहुमतको नजिक पुगेको आफ्नै सरकारको संसद्‍लाई दुई पटक विघटन गरेर मृत्यु शय्यामा पुर्‍याउनका लागि पुनः बहुमत चाहिएको हो ? भन्दै प्रश्न गरिन् । पूर्वसभामुखसमेत रहेकी घर्तीले पछिल्लो समयमा एमाले अध्यक्ष ओलीको तानाशाही प्रवृत्ति र कुकर्मको आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताइन् । उनले अध्यक्ष ओलीले राष्ट्रियता एजेण्डा कुनै पनि नबोकेको दाबी गरिन् । उनले हुँदा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई मध्यरातमा बालुवाटार छिराएको आरोप पनि लगाइन् । सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर प्रमुख गोयललाई मध्यरातमा बालुवाटार बोलाएर विभिन्न सहमति गरेको आरोप लगाउँदै मध्यरातमा सामन्त गोयललाई बोलाएर गरिएको सहमति के हो भन्दै प्रश्नसमेत गरिन् । उनले प्रधानमन्त्री रहँदा ओलीले पाठ्यक्रममा चुच्चे नक्सा छाप्न नदिएको आरोपसमेत लगाइन् । उनले देशको पक्षमा र राष्ट्रको हित विपरित काम गर्ने ओली कसरी देशभक्त ? भन्दै प्रश्नसमेत गरिन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधि सभा उम्मेदवारसमेत रहेकी उनले एमाले अध्यक्ष ओलीले जनतामाझ बहुमत माग्नुका कारण नरहेको जिकिरसमेत गरिन् । नेतृ घर्तीले राज्यको समृद्धिका लागि गठबन्धनले सहमति, सहकार्य र एकताको राजनीति गर्न जरुरी रहेको पनि बताइन् ।

नुवाकोटमा आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ । घटनालगत्तै उनी फरार रहेको पाएपछि काठामाडौंतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको छ । बीस वर्षीया सम्झना पाण्डे खतिवडा र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पु¥याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।

‘मेमोरी किङ’ को सुनौला सपना

काठमाडौं । ‘मेमोरी किङ’ का नामले विश्वमा परिचित अर्पण शर्मा कट्टेललाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ । विद्यमान शिक्षा प्रणालीले बालबालिकालाई पढ्न असाध्यै कठिनाइ भएको र परीक्षामा पास गर्नका लागि मात्र उनीहरुलाई पढाउने खालको शिक्षा प्रणालीमा परिर्वतन ल्याउनमा आफू लाग्ने योजना उनको छ । ‘नेपालको शिक्षा प्रणालीमा परिर्वतन गर्न मन छ, रटेर अध्ययन गर्ने विधि परिवर्तन मेरो नेतृत्वमा गर्न मन छ’, दुईपटक स्मरणशक्तिको माध्यमबाट विश्व रेकर्ड राख्न सफल शर्माले आफ्नो भावी योजना सुनाउँदै भने, ‘शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ, मेरो सपना छ, म पूरा गरेरै छाड्छु ।’ उनलाई हिजो पढेर आज बिर्सने शिक्षा प्रणालीमा परिर्वतन गर्न मन छ । आफूले लिएका कक्षाहरूमा पनि विद्यार्थीलाई प्रभावकारी तरिकाले पढाउन नसकिएको अनुभव भएपछि उनले पाँच सय विद्यार्थीबाट अहिले एकपटकमा एक सय जनामात्र विद्यार्थीलाई कक्षा लिन थालेका छन् । ‘मलाई पनि थाहा भएन, अहिले मैले एक सय जना मात्र राखेर पढाइरहेको छु’, उनले आफ्नो आगामी योजना सुनाउँदै भने, ‘मङ्सिर महिनादेखि एउटा कक्षामा ८० जना मात्र राखेर कक्षा सञ्चालन गर्ने तयारी गरेको छु, त्यो सिकाइ प्रभावकारी हुने रै’छ ।’ उनको कक्षा लिन मासिक एक हजारदेखि एक हजार पाँच सयसम्मले नाम दर्ता गर्ने गर्दछन् । तर इच्छुक धेरै हुँँदा कक्षा लिनका लागि समयको प्रतिक्षा गर्नुपर्ने हुन्छ । एकपटक कक्षा सञ्चालन गर्दा १० दिनको हुन्छ । ‘धेरैजसो अधिकृत र उपसचिवमा नाम निकाल्ने तयारीका मानिस आउँछन्”’ उनले आफ्नो कक्षा लिन आउने विद्यार्थीका बारेमा सुनाउँदै भने, ‘उपत्यकाबाट छोरी र उपत्यका बाहिरबाट छोरा धेरै आउने गरेका छन् ।’ उनको कक्षामा ७ कक्षाभन्दा माथिका विद्यार्थीलाई मात्र आउन मिल्छ । कक्षा लिएर गएको विद्यार्थीले पठाएको सन्देश देखाउँदै उनले भने, ‘म सफल भएँ भनेर म्यासेज पठाउँछन्, मलाई असाध्यै खुसी लाग्छ, अझ राम्रो गर्न प्रोत्साहन मिल्छ ।’ उनले आएका सन्देशलाई सुरक्षित राखेका छन् । झापाको भद्रपुर–८ मा विसं २०४६ माघ २३ गते मोहनप्रसाद कट्टेल र आमा खीना शर्माको तेस्रो सन्तानका रूपमा जन्मिएका शर्माले झापाकै एसएस निकेतनमा एसएलसी पास, एम्ब्रेल कलेजबाट व्यवस्थापनमा स्नातक गरेका छन् । उनले पनि जीवनमा स्मरणशक्तिकै प्रयोग गरेर विश्व रेकर्ड राख्न सक्छु भन्ने कल्पना जीवनमा गरेका थिएनन् । सानैदेखि धार्मिक परिवारमा जन्मिएका शर्मालाई पूजापाठ गर्दा ध्यान गर्ने बानी परेको थियो । तर स्मरणशक्ति बढाउन ध्यानले मद्दत गर्छ भन्ने चाहिँ थाहा थिएन । ‘मैले दशजोड दुई पढ्दा एउटा दुई मिनेटको भिडियो हेरेको थिएँ, स्मरणशक्ति बढाउनेसम्बन्धी थियो’, उनले त्यो भिडियो स्मरण गर्दै सुनाए, ‘दशवटा रटेर गर्ने र दशवटा टेक्निक लगाएर याद गर्ने थियो, मैले त्यो रटेर गर्ने तरिका र टेक्निक लगाएर गर्ने दुवै गरेँ, तर टेक्निक लगाएर याद गरेको धेरै लामो समयसम्म याद आइरहयो ।’ उनले त्यसपछि १५, २०, ३० हुँदै याद गर्दै गए । उनले यस्तो सम्भव छ भनेर अध्ययन गर्दा १८औँ शताब्दीदेखि नै राजा–महाराजाका बौद्धिक सल्लाहकारले यस्तो टेक्निक प्रयोग गरेको अध्ययनमा पाए । ‘धेरै वर्ष पहिला अहिलेजस्तो प्रविधिको जमाना थिएन’, उनले थपे, ‘लेख्ने मात्र जमाना थियो, जसले प्रयोग गरे, त्यो व्यक्तिमा मात्र रह्यो ।’ प्रत्येक व्यक्ति जन्मँदा स्मरणशक्ति ९९ प्रतिशतको उस्तै हुने तर एक प्रतिशतको मात्र जन्मजात नै स्मरणशक्ति लिएर जन्मने उनको अनुभव छ । स्मरणशक्तिबाट यसरी विश्व रेकर्ड साथीहरूसँग व्यवस्थापन विषयमा अध्ययन गर्दैगर्दा साथीहरूबीच स्मरणशक्तिको प्रतिस्पर्धा गर्ने कुरा चल्यो । पहिलोपटक ३०–३० वटा शब्द याद गर्ने सहमति भयो । ‘मैले सबैभन्दा छिटो याद गरेँ तर, साथीहरूलाई धेरै समय लाग्यो’, उनले विगत स्मरण गर्दै भने, ‘यो तरिकाले विश्व रेकर्ड राख्न सकिन्छ भनेर साथीहरूले भने, हेर्दै जाँदा एक मिनेटमा २२ वटाको रेकर्ड थियो, मलाई अहिले नै सक्छु जस्तो भयो, अनि प्रक्रिया अगाडि बढाइयो ।’ प्रक्रिया अगाडि बढाउँदा केही समय लाग्यो । शर्माले पहिलोपटक गिनिजबुक अफ वल्र्ड रेकर्डको सेप्टेम्बर २६, २०१५ मा एक मिनटमा ४२ वस्तुको क्रम स्मरण गरी स्मरणशक्तिमा विश्व कीर्तिमान कामय गरेका थिए । दोस्रोपटक जुन ३, २०२२ मा एक मिनटमा ८३ वस्तुको क्रम स्मरण गरी स्मरणशक्तिमा विश्व कीर्तिमान कायम गरेका हुन् । झापाको भद्रपुर सानोगाउँमा जन्मिएका सामान्य परिवारमा हुर्किएका शर्मालाई जीवनमा यति राम्रा मोड आउँलान् भन्ने लागेको थिएन । विश्व कीर्तिमान र सम्मान अद्भुत स्मरणशक्ति भएका शर्माले गिनिजबुक अफ वल्र्ड रेकर्डमा कीर्तिमान कायम गरेपछि नेपाली छोरो विश्व चर्चित भए । नेपालीले दिमागले यस्तो कीर्तिमान कायम गर्नु वास्तवमा नेपाल र नेपालीका लागि खुसीको विषय हो । यो समाचारपछि राष्ट्रिय–अन्तराष्ट्रियरूपमा शर्मा सम्मानित भए । आफ्नो अद्भुत स्मरणशक्तिको प्रयोगकै कारण उनले धेरै पुरस्कार प्राप्त गरेका छन् । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा पुरस्कार–२०७२, नेपाल जेसिस वर्ष, २०७६ को उत्कृष्ट युवा पुरस्कार, स्वर्ण पदकद्वारा पुरस्कृत भएका थिए । त्यस्तै युवा प्रतिभा सम्मान, २०७८ प्राप्त गरेका थिए । हिमालय इन्टरनेशनल अवार्ड, २०७८, विश्व कीर्तिमानी युवा प्रतिभा तथा समाजसेवी सम्मान–२०७८, युवा प्रतिभा सम्मान–२०७८, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाद्वारा वर्ष उत्कृष्ट प्रतिभा–२०७४ प्राप्त गरेका छन् । उनको जीवनी र सफलताको कथालाई अष्ट्रेलियाको एक प्रतिष्ठित विश्वविद्यालयले साउथेन क्रस युनिभर्सिटीले सन् २०२० जुनमा आफ्नो ब्लगमा पनि सम्मानजनक स्थान दिएर लेखेको थियो ।

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

भक्तपुर । भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । मोटरसाइकलमा सवार झापा घर भई हाल मध्यपुरथिमि –३ बस्ने २३ वर्षीय अनिल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । प्रहरीले दुर्घटना भएका दुवै सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

सोल्टी होटलको तीन महिनाको नाफा ११.२० करोड, कुल आम्दानी २३४.१५ प्रतिशत बढ्यो

काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ११ लाख रुपैयाँ नोक्सानमा थियो । असोज मसान्तसम्म सोल्टीको व्यवसायबाट कुल आम्दानी २३४.१५ प्रतिशत बढेर ४१ करोड ३२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा २ करोड ३६ लाख रुपैयाँ कुल आम्दानी भन्दा धेरै हो । कम्पनीको आम्दानीमा वृद्धि भएपछि खुद नाफा बढेको हो । कम्पनीको सञ्चालन नाफा १२ करोड ६६ लाख रुपैयाँ गरेको छ । गत वर्ष २ करोड १ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । कम्पनीको चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ र जगेडा कोष ९९ करोड ८७ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ २१ रुपैयाँ ८५ पैसा छ ।