काठमाडौं । नागरिक लगानी कोषको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७.९९ प्रतिशत बढेर २३ करोड २७ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ७२ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको ब्याज आम्दानी ७३.४१ प्रतिशत बढेर १० करोड १२ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ८३ लाख ७५ हजार खुद ब्याज आम्दानी गरेका थिए ।
असोज मसान्तसम्म कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेर २९ करोड ३९ लाख २७ हजार रुपैयाँ, कम्पनीको कुल आम्दानी १७.९५ प्रतिशत बढेर ४० करोड ६ लाख ७६ हजार रुपैयाँ र कुल खर्च १७.८० प्रतिशत बढेर ९ करोड ३ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३० प्रतिशत बढेर ४ अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ । कम्पनीको सेयर प्रिमियम ७७.५६ प्रतिशत घटेर २८ करोड ३८ लाख रुपैयाँमा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ २३ पैसा घटेर २१ रुपैयाँ ९० पैसामा सिमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८२.७३ गुणा रहेको छ ।