म्यादी प्रहरीको आ–आफ्नै अनुभव : छोटो समयको रोजगारीबाट सन्तुष्टि
काठमाडौं । नयाँबानेश्वरको व्यस्त चोकमा म्यादी प्रहरीको जिम्मेवारीमा खटिएकी सरिता भुजेल सडकमा सवारी साधनको अत्यधिक चाप हुँदा आकासे पुलको प्रयोग गर्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सहयोग गर्छन् । उनको आजभोलिको दैनिकी म्यादी प्रहरीको पोशाकमा हातमा लठ्ठी समातेर नयाँबानेश्वर चोकमा ट्राफिक व्यवस्थापन गर्न र नजिकै रहेको आकासे पुल चढ्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सघाउने गर्दा बित्ने गरेको छ । दोलखा स्थायी घरभएकी भुजेल श्रीमान्सँग काठमाडौं बस्दै आएकी छिन् । तीन सन्तानको शिक्षाका लागि आफू दोलखाबाट काठमाडौं आएर बसेको उन बताउँछिन् । ‘श्रीमान्को आम्दानीले मात्र पुग्दैन । बेरोजगार बस्न मन लाग्दैन तर काम पाउन सीप छैन’, उनले भनिन्, ‘म्यादी प्रहरीको भर्ना खुल्यो, बालबच्चा हेरचाहको जिम्मा श्रीमान्लाई सुम्पेर म्यादीको काममा आउने गरेकी छु ।’ अहिले छोटो समयका लागि भए पनि म्यादी प्रहरीको रोजगारीबाट पाउने पारिश्रमिकले सन्तुष्टि मिलेको उनी बताउँछिन् । ‘घरमा यतिकै बस्नुभन्दा यहाँ काममा खटिँदा रमाइलो पनि हुने र आम्दानी पनि हुने यसैमा खुसी छु’, उनले भनिन् । म्यादी प्रहरीका रुपमा सडकमा रहँदा कतिपयले आफूहरुको अनुरोधलाई बेवास्ता गर्दा असहज लाग्ने गरेको उनी बताउँछिन् । मङ्सिर ४ गते हुने निर्वाचन सकिएसँगै म्यादी प्रहरीको ४० दिनको जिम्मेवारी पनि सकिन्छ । सरितासँग रोजगारीको अन्य कुनै विकल्प नभएको सुनाउँदै भन्छिन्, ‘निर्वाचनपछि त्यही पुरानो दैनिकीमा फर्किन्छु ।’ नयाँबानेश्वरको व्यस्त चोकमा सडक पार गर्न आकासे पुल छ । तर कतिपय पैदलयात्रु गुडिरहेका सवारीको भीडमै सडक वारपार गर्छन् । नीलो पोसाकमा लट्ठी हातमा लिएर डिउटीमा खटिएका म्यादी प्रहरीको समूहले सिठ्ठी फुक्छन् । तर पनि पैदल यात्रु उनीहरुले फुकेको सिठ्ठीको आवाजलाई कुनै वास्तै गर्दैनन् । ‘हामी म्यादी प्रहरीलाई पैदल यात्री र सवारी चालकले पनि अटेर गर्छन् । हामीले भन्दा उनीहरु पैदलयात्रु र सवारी चालक हाँस्छन्, मान्दैनन्’, २१ वर्षिय म्यादी प्रहरी शङ्कर बोहराले आफ्नो काम गर्दाको अनुभव सुनाउँदै भने । नयाँबानेश्वर चोकमा खटिएका अर्का म्यादी प्रहरी मनोज कुँवरले सँगैको साथी बोहराको भनाइमा सहमति जनाउँदै थपे, ‘कतिले त म्यादी भनेर गिज्याउँछन् ।’ उनीहरु दुवैजना बैतडीका स्थानीय बासिन्दा छन् । काठमान्डौँ बसेर अध्ययनरत दुवै विद्यार्थी छन् । अध्ययनका र रोजगारीका सिलसिलामा काठमाडौं छिरेका दुवैजना सँगै डेरामा बस्छन् । मनोज शिक्षण पेसाभन्दा म्यादी प्रहरीमा धेरै पारिश्रमिक पाउने भएपछि भर्ना भएको बताउँछन् । शङ्कर भने यसअघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् । मनोज र शङ्कर दुवैजना म्यादी प्रहरीको जिम्मेवारी सकिएपछि वैदेशिक रोजगारीमा जाने सोच बनाएको बताउँछन् । “नेपाल प्रहरीमा भर्ती हुने इच्छाले म्यादीसम्म डो¥यायो । तर अब प्रहरीमा भर्ती हुन उमेरले नमिल्ने भएकाले विदेश जाने सोचमा छु,” शङ्करले भने । काठमाडौंको सामान्य घर भाडा तिर्नसमेत धौ धौ हुने भएकाले निर्वाचनलगत्तै जुन देश जाँदा कम लगानी लाग्छ त्यहीँ जाने सोचमा रहेको मनोजले बताए । काठमाडौंमा नियमित खटाइएका ट्राफिक प्रहरी निर्वाचनका कारण बाह्य जिल्लामा थप मद्दतका लागि पठाइएका अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापनको समेत सहयोगका लागि परिचालन गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए । अहिले काठमाडौंमा करिब चार सय ट्राफिक प्रहरी खटिएका र बाँकी म्यादी प्रहरीहरुको सहयोगमा सवारी व्यवस्थापनको काम भइरहेको उनले बताए । देशभर निर्वाचन सुरक्षाका लागि एक लाख १५ हजार म्यादी प्रहरी खटिइएका छन् । ८४ हजार तीन सय ६८ पुरुष छन् भने ३० हजार ६ सय ३२ महिला रहेका छन् । काठमाडौँमा अहिले तीन हजार दुई सय ७८ म्यादी प्रहरी छन् । आवश्यतानुसार मतदानस्थल, मोबाइल र रिजर्भमा समेत परिचालन गरिनेछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचलाई शान्तिपूर्ण, भयरहित, स्वतन्त्ररुपमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान संयुक्त रुपमा परिचालन गरिएको छ । नेपाल प्रहरीअन्तर्गत म्यादी प्रहरीको परिचालन गरिएको हो । म्यादी प्रहरीहरु मतदानस्थलको सुरक्षा, मतदान बक्सको सुरक्षा र नेपाल प्रहरीले गर्ने दैनिक कार्य गस्ती, निगरानी, सूचना सङ्कलन, घटनास्थलको सुरक्षा र ट्राफिक व्यवस्थापनको जिम्मेवारीमा खटिरहेका छन । म्यादी प्रहरीलाई नेपाल प्रहरी जवानसरह आधारभूत तलब मासिक २२ हजार ६ सय ८० रुपैयाँ हुनेछ । बढीमा ४० दिनसम्मका लागि जम्मा ३० हजार दुई सय ४० रुपैयाँ हुनेछ । साथमा खाद्यान्नबापत सात हजार दुई सय र पोसाक तथा अन्य सामानका लागि ६ हजार रुपैयाँ सरकारले उपलब्ध गराएको छ । म्यादी प्रहरीका लागि बीमाको व्यवस्थासमेत गरिएको छ । प्रहरी प्रवक्ता राईले म्यादी प्रहरीलाई मतदानका दिन अधिकांश बुथमा खटाइने बताए । प्रहरी जवानमा भर्ना खुल्दा नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना भएको अनुभवलाई प्राथमिकतामा राख्ने गरेको छ ।
नेप्सेमा सूचीकृत कम्पनीको संख्या बढ्दो, तीन महिनामै थपिए पौने ८१ अर्बको धितोपत्र
काठमाडौं । पछिल्लो समय नेप्सेमा सूचीकृत कम्पनीको संख्या बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार गत २०७८ असोजमा २२२ वटा सूचीकृत भएकोमा २०७९ असोजमा बढेर २४२ वटा कम्पनी नेप्सेमा सूचीकृत भएका हुन् । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २२२ रहेको थियो । २०७८ असोज मसान्तमा २६५७ रहेको नेप्से सूचकाङ्क २०७९ असोज मसान्तमा १८५८.३ कायम भएको छ । २०७९ असोज मसान्तमा धितोपत्र बजार पँुजीकरण २६ खर्ब ७२ अर्ब ७९ करोड रहेको छ । २०७८ असोज मसान्तमा बजार पुँजीकरण ३७ खर्ब १९ अर्ब ७२ करोड रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.५ प्रतिशत, लगानी कम्पनीको ६.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ । नेप्सेमा २०७९ असोजसम्ममा सूचीकृत ६ अर्ब ८२ करोड कित्ता सेयरको चुक्ता मूल्य ६ खर्ब ७२ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९÷८० को तीन महिनामा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २५ अर्ब ४४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ९ अर्ब २९ करोड रुपैयाँ बराबरको बोनस शेयर, ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको साधारण शेयर, ३ अर्ब २७ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र १ अर्ब २१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ८० अर्ब ७८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब २४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब १५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ९ अर्ब ३९ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
भोलि मध्यरातसम्म मात्रै चुनाव प्रचारप्रसार गर्न पाइने
काठमाडाैं । बिहीबार मध्यरातसम्म मात्रै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले चुनाव प्रचार गर्न पाउने भएका छन् । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । यसका साथै मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ ।
निर्यात घटेर पौने ४२ अर्बमा सीमित, ४ खर्ब पुग्यो
काठमाडौं । आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु निर्यात ३५.७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांक अनुसार निर्यात ३५.७ प्रतिशतले घटेर ४१ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०९.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.० प्रतिशत र ३५.० प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, तयारी पोशाक, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । यस्तै, आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले कमी आई ४ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १६.७ प्रतिशत र १९.२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, कोइला लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, कच्चा सोयाविन तेल, एम.एस. तार, छड, बार, क्वाइल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सुख्खा बन्दरगाह, जलेश्वर, तातोपानी बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । यस्तै, आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु व्यापार घाटा १३.१ प्रतिशतले कमी आई रु.३५९ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५८.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.६ प्रतिशत रहेको थियो । ज्ञघ। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.३४ अर्ब ५९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.५४ अर्ब १७ करोड बराबरको भएको थियो ।
व्यापारी भन्छन् : जाडोको कपडाको व्यापार पुरै घट्यो, सामान आयात गर्न पनि समस्या भयो
काठमाडौं । जाडो बढेपनि बजारमा न्यानो कपडाहरुको व्यापार बढ्न नसकेको व्यापारीहरुले बताएका छन् । काठमाडौंको मुख्य व्यापारीक केन्द्र न्युरोड तथा असनका व्यापारीहरुले गत वर्षको भन्दा यो वर्षको तुलनामा जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशत कम भएको गुनासो गरेका हुन् । विगतका वर्षहरुमा जाडो महिना लागेसँगै बजारमा न्यानो कपडा किन्न मानिसहरुको भीड लाग्ने गरेपनि यो वर्ष सुनसान रहेको न्युरोडमा व्यापार गरिरहेका राजकुमार अधिकारीले बताए । ‘पछिल्लो समय बैंकको ब्याजदर उच्च वृद्धि तथा चिनियाँ नाका खोल्ने र बन्द गर्ने काम भइरहेकाले साना व्यापारीहरु मर्कामा परेका छन्, व्यापारीहरुले बजारमा न्यानो कपडाको अभाव नभएको तर ग्राहकले रिटेलमा किन्ने मूल्य होलसेल मूल्य पर्ने गरी मूल्य वृद्धि भएको छ,’ उनले भने । काठमाडौं न्युरोड रञ्जना मलका कपडा होलसेल व्यापारी नवराज तिमिल्सिनाले गत वर्षको भन्दा यस वर्ष शुरुवाती चरणमा न्यानो व्यापारमा ३० प्रतिशतले कमी आएको बताए । ‘न्यानो कपडा तथा अन्य फेन्सी कपडाहरु चीनबाट आउने भएकाले सामान आयात गर्न समस्या रहेको छ, चीन जानको लागि पनि भिसाको समस्या भएकाले फोटोको आधारमा अडर गर्दा सामान अर्कै आउने गरेको छ,’ उनले भने । अर्को, व्यापारी विवेक श्रेष्ठले चिनियाँ नाकामा कहिले खुल्ने र कहिले बन्द हुने समस्याले सामान अर्डर गरेको ९ महिनासम्म पनि सामान काठमाडौं आइनपुग्ने ठूलो समस्या रहेको बताए । ‘सामान अर्डर गरेको ९ महिनासम्म सामान नआउँदा साना व्यापारीहरु ठूलो मर्कामा पर्ने गरेका छन्, सरकारले साना व्यापारीहरुलाई पनि गरिखाने वातावरण सहज बनाउनको लागि चिनियाँ नाका सहज बनाइ दिनुपर्छ,’ उनले भने । उनले बैंकहरुमा ब्याजदर वृद्धि हुने, भन्सार दरमा वृद्धि हुने, सामान आउन समय लाग्ने भएर व्यापार नहुने तर घरभाडा बढी रहने समस्याले साना व्यापारीहरु पीडित रहेको बताए । व्यापारीहरुले ग्राहकहरुले खोजे जस्तो न्यानो कपडा आयात गर्नको लागि मुख्य समस्या हुँदा व्यापारमा समेत असर परेको गुनासो गरेका छन् । उनीहरुले सामानहरुको मूल्य वृद्धि भएर आएकाले पनि व्यापार गर्न कठिन भएको व्यापारीको भनाइ छ ।
मूल्यवृद्धि ८.५० प्रतिशत पुग्यो, काठमाडौं उपत्यकामा दोब्बरले बढ्यो
काठमाडौं । २०७९ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असोज मसान्तमा ४.२४ प्रतिशत रहेको मुद्रास्फीति २०७९ असोजसम्म ८.५० प्रतिशत पुगेको हो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ । गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ७.६८ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ असोज महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मुद्रास्फीति रहेको थियो । थोक मुद्रास्फीति २०७९ असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.७३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.२४ प्रतिशत, १७.१३ प्रतिशत र ६.०० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.२७ प्रतिशत रहेको छ ।
विदेशी मुद्राको सञ्चिती बढ्यो, रेमिट्यान्समा पनि सुधार
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकmे सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चिती २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०.६ प्रतिशतले कमी आई ९ अर्ब ४८ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ असोज मसान्तमा ९.३ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ । यस्तै, समीक्षा अवधिमा रेमिट्यान्समा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १,४७,९३२ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७,८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई ३ खर्ब १० अर्ब ४३ करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो ।
जयनगर–कुर्था रेल मार्गमा ४ दिन सेवा बन्द हुने
जनकपुरम । धाजयनगर–कुर्था रेल्वे मार्गमा बिहीबारदेखि चार दिन रेल सेवा बन्द हुने भएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी मङ्सिर १ गते बिहीबारदेखि मङ्सिर ४ गते आइतबारसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनि लिमिटेडले जनाएको छ । निर्वाचनलाई लक्षित गरी ७२ घण्टा अघिदेखि भारतीय सिमानाका बन्द हुने भएकाले रेल सेवासमेत बन्द गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए । मङ्सिर ५ गते सोमबारदेखि रेल सेवा नियमित रुपमा सञ्चालन हुने उनले बताए । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ साल चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले पनि मङ्सिर १ देखि ५ गतेसम्म शान्तिसुरक्षाबाहेक सबै सेवा बन्द रहने जनाएको छ । धनुषाका सहायक प्रजिअ अनुज भण्डारीले सूचना जारी गरी कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिनुपर्ने भएकाले शान्तिसुरक्षाबाहेक सबै सेवा बन्द गरिने जानकारी दिए ।