काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकmे सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चिती २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो ।
अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०.६ प्रतिशतले कमी आई ९ अर्ब ४८ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ असोज मसान्तमा ९.३ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।
यस्तै, समीक्षा अवधिमा रेमिट्यान्समा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ ।
अघिल्लोवर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १,४७,९३२ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७,८६१ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई ३ खर्ब १० अर्ब ४३ करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो ।