मोरङ ४ बाट माओवादीका अमनलाल मोदी निर्वाचित
मोरङ । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा माओवादीका अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद ढकाल २४ हजार चार सय ६३ मत प्राप्त गरेका हुन् । त्यसैगरी गत आइबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार मोरङ ४ (२) बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जीवन घिमिरे नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए । रासस
हराएको बुद्धको मूर्ति ४८ वर्ष पछि भेटियो
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ । हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताएका छन् । बहिटोलबाट हराएको उक्त बुद्धमूर्ति आगामी बुधबार बाजागाजासहित स्थानियवासी र नगरपालिकाको संयुक्त पहलमा सोही स्थानमा प्रतिस्थापन गरिने बनेपा नगरपालिकाका नगर पमुख शान्तिरत्न शाक्यले बताए । प्रतिस्थापन गर्नुअघि मूर्तिलाई नाला तीनदोबाटोदेखि टेलिकम हुँदै नगर परिक्रमा गराउने कार्यक्रम तय भएको उनले बताए । मन्दिरबाटै चोरी भएको बुद्धको मूर्ति केही समय अघि नै काठमाडौंस्थित राष्ट्रिय सङ्ग्रहालय छाउनीमा रहेको सूचना पाए पनि अहिले ल्याउने तयारी थालिएको भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताए । पुरातत्व विभागको सक्रियतामा मन्दिरको पुनः निर्माणपछि मात्र पूर्ण सुरक्षा र व्यवस्थापनका साथ मूर्तिको प्रतिस्थापन गर्न लागिएको उनको भनाइ छ । मूर्ति हराउनु पूर्व मन्दिरको अवस्था र व्यवस्थापन प्रभावकारी नभएकाले मूर्ति हराएको स्थानीयवासीको भनाइ छ । पुरातत्व विभागले एक करोड रुपैयाँको लगानीमा मन्दिरको पुनः निर्माण गरेको छ । आगामी दिनमा मूर्ति र मन्दिरको सुरक्षाका लागि सीसी क्यामरा, मजबुत संरचनालगायतको व्यवस्थापन गरिएको श्रेष्ठले बताए ।
सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेत विजयी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी भएका छन् । उनले नेकपा एमाले का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन् । बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गरेका हुन् । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याएका जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए । सिन्धुपाल्चोक–२ मा कांग्रेसले पहिलोपटक जीत निकालेको हो । तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए । सिन्धुपाल्चोक–२ को प्रदेशसभा १ मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा ९२० मा कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित भएका छन् । रासस
फिफा विश्वकप फुटबल : ब्राजिलले सर्बियालाइ हरायो
काठमाडौं । पाँचपटकको विश्वकप च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा सर्बियालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान भएको खेलमा सर्बियालाई २–० गोलअन्तरले हराउँदै ब्राजिलले विजयी सुरुआत गरेको हो । ब्राजिलको जितमा दुवै गोल रिचार्लिसनले गरे । उनले खेलको ६२औँ मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३औँ मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए । जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै तीन अङ्क जोडेको छ । कतार विश्वकपमा आज चार खेल हुँदै कतार विश्वकपमा आज चार खेल हुँदैछ । समूह चरणअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । कतार र सेनेगलबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । त्यस्तै चौथो खेलमा समूह ‘बी’ मा रहेको इङ्ग्ल्याण्डले अमेरिकाको सामना गर्नेछ । उक्त खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
सर्लाही क्षेत्र नं ३ बाट एमालेका हरिप्रसाद उप्रेती विजयी
सर्लाही । सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई सात सय ७० मतान्तरले पराजित गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ । उप्रेतीले ३२ हजार नौ सय ३८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले ३२ हजार एक सय ६८ मत पाएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार जनमत पार्टीका उम्मेदवार त्रिभुवन सिंहले पाँच हजार पाँच सय १९ मत ल्याएका छन् । उप्रेती विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अब जिल्लाको निर्वाचन क्षेत्र नं २ प्रदेशसभा २ र प्रतिनिधिसभा–२ को मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । रासस
डोल्पा प्रदेश २ मा माओवादीका वीरबहादुर शाही निर्वाचित
डोल्पा । डोल्पा प्रदेश ९२०मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका वीरबहादुर शाही निर्वाचित भएका छन् । शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित भएका डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । उनले नेकपा एमालेका धनचन्द्र बैजीलाई सात सय मतले पछि पार्दै जित हासिल गरेका हुन् । शाहीका निकटतम् प्रतिद्वन्द्वी बैजीले चार हजार पाँच सय ९५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए । डोल्पा प्रदेश ९१० मा भने एमालेका शेरबहादुर बुढा दुई हजार दुई सय ७८ मतान्तरमा चार हजार सात ४३ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी नेपाल कांगे्रसका दीपेन्द्रबहादुर शाहीले दुई हजार चार सय ६५ मत ल्याएका थिए । रासस
कैलाली–२ (१) मा कांग्रेसका कमलबहादुर शाह विजयी
कैलाली । कैलाली निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका कमलबहादुर शाह विजयी भएका छन् । उनले १० हजार चार सय ३३ मतका साथ विजयी प्राप्त गरेकाे निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रतनबहादुर थापाले आठ हजार सात सय ७५ मत प्राप्त गरे । नेकपा ९एमाले०का कमलाकुमारी ओलीले आठ हजार ८२ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमोदसिंह राठौर ठकुरीले दुई हजार एक सय ३६ मत प्राप्त गरेका छन् । कुल ३१ हजार आठ सय २६ मत खसेको प्रदेशसभामा एक हजार सात सय ७८ मत बदर भएको निर्वाचन अधिकृत जोशीले बताएका छन् । रासस
यो जित अग्रगामी जनताको हो : अर्थमन्त्री शर्मा
रुकुम । रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अर्थमन्त्री जनार्दन शर्माले आफ्नो जितलाई अग्रगामी जनताको जितका रूपमा लिएका छन् । निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यवाद दिदै उनले निर्वाचनमा आफुले गरेका प्रतिबद्धतालाई आम जनसमुदाय र पार्टीसमेतको सहकार्यमा कार्यान्वयन गर्ने जनाएका छन् । नेकपा माओवादी केन्द्रका नेता अर्थमन्त्री शर्माले उत्पादन, रोजगार, समृद्धि, सामाजिक, सांस्कृतिक रुपान्तरण अभियानमार्फत रुकुम जिल्लालाई समृद्ध र समुन्नत बनाउन साझा प्रयास हुने बताएका छन् । यसका साथै रुकुमेली जनताको अपेक्षाका साथै राष्ट्रिय आवश्यकता र कार्यभार पूरा गर्न इमानदारीपूर्वक प्रयास गर्ने उनले उल्लेख गरेका छन् । निर्वाचनमा अमूल्य दिने मतदाता, पार्टी, निर्वाचन सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेल्ने प्रमुख निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा प्रमुखसहित समस्त राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी, देश–विदेशमा रहनुहुने शुभचिन्तकलाई उनले धन्यवाद तथा आभार प्रकट गरेका छन् । यसका साथै प्रतिस्पर्धामा सहभागी विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारका साथै गठबन्धन नेता–कार्यकर्ता सबैलाई धन्यवाद दिएका छन् ।