खाद्य संस्थानले धान नकिन्दा किसानलाई समस्या
बर्दिया । राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्दा हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नु पर्ने अवस्था आएको छ । गेरुवा गाउँपालिका– ४ गिदरपुरकी भूमिसरा चलाउनेलाई हिउँदे बाली लगाउन भ्याइनभ्याइ छ । हिउँदे बाली लगाउन अहिले मल र बीउको जोहो गर्न पनि धान बेच्न परेको उनको भनाइ छ । सरकारले धानको समर्थन मूल्य निर्धारण गरेपनि केन्द्रीय कार्यालयबाट आवश्यक बजेट र निर्देशन नआएको र आफू त्यसको पर्खाइमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुर केन्द्र प्रमुख धर्मराज पन्तले बताए । उनले भने, ‘यस वर्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ माथिको निर्देशन आउनासाथ धान खरिद प्रक्रिया अघि बढाउन छौँ ।’ एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय गुलरिया बर्दियाको तथ्याङ्क अनुसार यसवर्ष ५० हजार दुई सय ५० हेक्टर जमिनमा धान खेती गरिएको र विगतका वर्ष भन्दा बर्दियामा यस पटक धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । पश्चिम नेपालमा धेरै धान उत्पादन हुनेमा राजापुर नगरपालिका र गेरुवा गाउँपालिका पर्दछ ।
थापाथलीका सुकुम्वासीले घेरे महानगरपालिका
काठमाडौं । काठमाडौं थापाथलीस्थित वागमती नदी किनारका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् । धेरै संख्यामा जम्मा भएका सुकुम्वासीहरुले आफूहरुलाई सुकुम्वासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा बिरोध प्रदर्शन गरेका हुन् । महानगरपालिकाले सोमवार सुकुम्वासी बस्ती हटाउनका लागि डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । महानगरपालिकाको कदमप्रति सुकुम्वासीहरुले प्रतिरोध गर्दा केही महानगर प्रहरीहरु घाइतेसमेत भएका थिए । नाराबाजीसहित महानगरपालिका पुगेका सुकुम्वासीहरुले महानगरपालिकाका प्रमुख बालेन्द्र साह बिरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सुकुम्वासी एक हौँ, बालेन साह होसियार, सूचना आतंक बन्द गर लगायतका नाराबाजी गरेका थिए । ‘भूमिहिन, सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबरजस्ती हटाउनका लागि प्रकाशित सूचनाको बिरुद्ध बृहत खबरदारी र्याली’ नाम दिइएको बिरोध प्रदर्शनमा निधारमा कालोपट्टी बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए । सुकुम्वासी संवद्ध दुई दर्जनभन्दा बढी संघ, संगठन र मोर्चाहरुको नाममा बिरोध प्रदर्शन भएको थियो ।
राष्ट्र बैंकको कारवाहीमा परे ९ बैंक, ब्याज बढाउनेदेखि अनावश्यक सुविधा लिए
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरित काम गर्ने ९ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको नियमहरु उल्लंघन गर्ने ९ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको हो । राष्ट्र बैंकले बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक गरी ९ वटा वाणिज्य बैंकलाई कारावाही गरेको हो । राष्ट्र बैंकले निर्धारण गरेको नियम अनुसार विपन्न वर्ग क्षेत्र कर्जा लगानी नगरेको भन्दै बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ११ लाख ८५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लघंन गरेको भन्दै कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिवाना गरिएको छ । आधार दर भन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दै सनराइज र मेगा बैंकका सीईओलाई सचेत गराइएको छ । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा दिएको भन्दै सनराइज बैंकको सञ्चालक समितिलाई सचेत गराइएको छ । मेगा बैंकले विगतमा लगानी भएका कर्जा असुल नगरी पटक–पटक नवीकरण गरेको भन्दै बैंकका सीईओ र प्रमुख कर्जा अधिकृतलाई सचेत गराइएको छ । राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको भन्दै बैंक अफ काठमाडौं लिमिटेड, प्रभु बैंक, कुमारी बैंक र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ । एक पटक लगानी भएको कर्जामा प्रिमियम दर वृद्धि गरेको भन्दै हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल बैंक र मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराइएको छ । [pdf id=368345]
बागबजारमा धमाधम चिट काट्दै ट्राफिक प्रहरी (फोटोफिचर)
काठमाडौं । काठमाडौंको बागबजारमा जथाभावी पार्किङ गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गर्न थालेको छ । काठमाडौं महानगरपालिकाले केही दिनदेखि नियम विपरितका पार्किङहरु खाली गराउन थालेपछि ट्राफिक प्रहरीले पनि यस क्षेत्रको धमाधम चिट काट्न थालेको हो । जथाभावी पार्किङको कारण बागबजार क्षेत्र अव्यवस्थित छ ।
देशभर चिसो बढ्दै
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम विन्टर सिजन सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालमा तत्कालै अन्य किसिमको मौसमी प्रणाली विकसित हुने देखिएको छैन । यद्यपि, ‘पोष्ट’ मनसुनको अन्त्यमा आइसकेको र ‘विन्टर’ पनि सुुरु हुनेक्रममा रहेकाले चिसो क्रमशः बढ्नेछ । ‘चिसो बढिरहेको छ, पहाडी र हिमाली भेगमा आंशिक बदलीको सम्भावना छ, तर वर्षा या हिमपातको सम्भावना छैन’, मौसमविद् श्रेष्ठले भने । नेपालमा सामान्यतयाः डिसेम्बर १ देखि फेब्रुअरी अन्तिमसम्मको अवधिलाई जाडो मौसम मानिन्छ । काठमाडौ उपत्यकामा बिहानीपख हल्का हुस्सु/कुहिरो लाग्ने गरेकाले पछिल्ला दिनमा बढी चिसो महशुस गरिएको छ । बिहान केही समय कुहिरो लागे पनि एक देखि दुई घण्टामा उक्त कुहिरो हटेर पारिलो घाम लाग्ने गरेको छ । दिनभर घाम लाग्ने र रातमा आकाश खुला हुने भएकाले पनि चिसो बढिरहेको मौसमविदको भनाइ छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै तराई भू–भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध गरेको छ । आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहनेछ । राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा आंशिक बदली तथा बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । भोलि मङ्सिर १४ गते पनि देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
बागलुङ र म्याग्दी जोड्ने झोलुङ्गे पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटियो
बागलुङ । बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका–४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका १ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ । झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिने क्रम जारी छ । बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुङ्गे पुल थपिएको एक वर्षभित्रै बागलुङ नगरपालिका–४ कुडुँले फेदीबाट म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर जोड्नेगरी झुलुङ्गे पुल निर्माण सुरु भएको थियो । कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल निर्माण सम्पन्न भइसकेर हस्तान्तरणको मात्रै काम बाँकी रहेको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । ‘बागलुङ र म्याग्दी जिल्ला जोड्ने झोलुङ्गे पुलको निर्माण सकिएको छ’, खड्काले भने ‘पुल हस्तान्तरणको प्रक्रियामा पुगेका छौँ, पुल निर्माण सम्झौता अनुसारको सबै काम सम्पन्न गरेका छौँ ।’ सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजन काठमाडौंले म्याग्दीको बेनी नगरपालिका(१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुँले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गत असोजमा शिलान्यास गरिएको थियो । कुडुँलेदेखि रत्नेचौर जोड्ने उक्त झोलुङ्गे पुल तीन करोड ५० लाख रुपैयाँमा निर्माण गरिएको छ । उक्त पुल निर्माणसँगै एक घण्टाको बाटो पाँच मिनेटमा छोट्टिएको बागलुङ नगरपालिका(४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले जानकारी दिए । पुल बनेपछि रत्नेचौरमा उत्पादन हुने तरकारी र दुध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने क्षत्रीको भनाइ छ । गत असार मसान्तभित्र काम सक्ने गरी गत वर्षको असोजमा पुल शिलान्यास गरिएको थियो । पुल निर्माण गर्नका लागि बागलुङतर्फ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटा लगायतले करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका थिए । म्याग्दी जिल्लाको रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार र व्यापार व्यवसाय लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहजता थपेको छ । बागलुङ बजार र रत्नेचौरलाई पर्यटनसँग जोडेर विकास गर्न पुलले सहयोग गर्ने स्थानीयवासीको भनाइ छ । बेनीको रत्नेचौर र बागलुङको कुडुँले फाँटमा तोरी फुल्ने सिजनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेकोमा यसवर्ष पुल निर्माणसँगै पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको स्थानीयवासी टेकबहादुर रावलले जानकारी दिए । पुल निर्माणसँगै बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम सङ्ग्रहालय अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । रत्नेचौर, ज्यामरुककोट लगायतका स्थानीय बासिन्दा प्रशासनिक कामका लागि मात्रै बेनी जाने र अन्य आर्थिक कारोबारका लागि बागलुङ आउने भएकाले सहज हुने भएको छ ।
प्रदेशसभाको समानुपातिकमा एमाले अगाडि
काठमाडौं । प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ । बिहान ११ः३० बजेसम्म प्रदेश नं १ मा १७ लाख १५ हजार पाँच सय सात, मधेसमा १८ लाख ४१ हजार चार सय ६१, बागमतीमा १६ लाख ८२ हजार चार सय ४४, गण्डकीमा नौ लाख १८ हजार आठ सय ३९, लुम्बिनीमा १८ लाख ८७ हजार ७८, कर्णालीमा पाँच लाख ७७ हजार आठ सय २९ र सुदूरपश्चिम प्रदेशमा सात लाख ७८ हजार तीन सय चार मत गणना भएको छ । प्रदेश नं १ मा एमालेले पाँच लाख ९९ हजार नौ सय ५९, कांग्रेसले पाँच लाख तीन हजार एक सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८२ हजार नौ सय नौ र नेकपा माओवादी केन्द्रले एक लाख ६८ हजार सात सय ३४ मत ल्याएको छ । मधेस प्रदेशमा कांग्रेसले सबैभन्दा बढी तीन लाख ५७ हजार नौ सय २२, एमालेले तीन लाख २१ हजार दुई सय १०, जनमत पार्टीले दुई लाख ६६ हजार आठ सय ३२, जनता समाजवादी पार्टीले दुई लाख ६२ हजार सात सय ४४ र माओवादी केन्द्रले एक लाख ६७ हजार ६७ मत ल्याएको छ । बागमती प्रदेशमा एमालेले पाँच लाख दुई हजार नौ सय २३, कांग्रेसले चार लाख २७ हजार दुई सय ३९, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ५७ हजार आठ सय ५७ र माओवादी केन्द्रले दुई लाख ३६ हजार पाँच सय ५९ मत प्राप्त गरेको छ । गण्डकी प्रदेशमा एमालेले तीन लाख ४० हजार पाँच सय ३३, कांग्रेसले तीन लाख १७ हजार पाँच सय ९६ र माओवादी केन्द्रले एक लाख १५ हजार तीन सय ६६ मत पाएको छ । लुम्बिनी प्रदेशमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेको छ । कर्णाली प्रदेशमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६, माओवादी केन्द्रले एक लाख ३७ हजार छ सय ३९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ३३ हजार पाँच सय २०, कांग्रेसले दुई लाख २६ हजार एक सय ७० र माओवादी केन्द्रले एक लाख १३ हजार आठ सय ६३ मत पाएको आयोगले जनाएको छ । प्रतिनिधिसभाको समानुपातितर्फ पनि एमालेको अग्रता देखिएको छ । हालसम्म ९६ लाख ७० हजार आठ सय ३३ मत गणना गर्दा एमालेले सबैभन्दा धेरै २६ लाख सात हजार चार सय ७२ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ७० हजार दुई सय ३४, माओवादी केन्द्रले ११ लाख नौ हजार सात सय ७९, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४, राप्रपाले पाँच लाख ५४ हजार सात सय ५७, जनता समाजवादी पार्टीले तीन लाख ६७ हजार सात सय ७३ र जनमत पार्टीले तीन लाख १६ लाख छ सय ५३ मत प्राप्त गरेका छन् ।
नेको इन्स्योरेन्सले १५ सय बढी बीमितलाई कोरोनाको पैसा दिने, दैनिक सय जनाले पाउने
काठमाडौं । नेको इन्स्योरेन्सले एकैदिन एक सय जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी गर्ने भएको छ । इन्स्योरेन्सले व्यक्तिगत बीमितहरुमध्ये मंगलबार मात्र क्रम संख्या १ देखि १०० सम्मका बीमितलाई दावी भुक्तानी गर्ने भएको हो । कम्पनीले मंसिर १३ गतेदेखि पुस १ गतेसम्ममा कूल १५ सय ५ जना बीमितलाई कोरोना बीमाको पैसा वितरण गर्न लागेको छ । कम्पनीका अनुसार मंसिर १३ गतेदेखि मंसिर २९ गतेसम्म दैनिक एक सय जनाले र पुस १ गते १०५ जनाले कोरोना बीमाको पैसा पाउने भएका छन् । इन्स्योरेन्सले नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीमा कोरोना बीमा गरी बीमा दावी गरी दावी भुक्तानी लिन बाँकी भएका बीमितहरुमध्ये ब्यक्तिगत रुपमा बीमाशुल्क तिरेर बीमा गर्ने बीमितहरुलाई पीसीआर पोजेटिभ भई बीमा दावी गर्ने मध्ये पहिला दावी गर्नेलाई पहिलो प्राथमिकता दिई क्रमशः भुक्तानी गर्ने छ । कम्पनीले बीमितहरुलाई क्रम संख्या अनुसार दावी भुक्तानी दिने भएको छ । हालको व्यवस्था अनुसार कोरोना बीमाको पैसा पाउन योग्य ब्यक्तिहरुको नामावली कम्पनीले वेबसाइट र कम्पनीको सूचना पाटीबाट जानकारी गराएको छ । बीमितहरुले क्रम संख्याअनुसार तोकिएको मितिमा आफ्नो दावी वापतको रकम पाउने छन् । बीमितहरुले काठमाडौं उपत्यकाको हकमा कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौंबाट भुक्तानी लिन सक्नेछन् । त्यस्तै, उपत्यका बाहिरको हकमा आफूले बीमा गरेको यस कम्पनीको सम्बन्धित शाखाहरुमा आफ्नो आधिकारीक परिचयपत्र सहित भुक्तानी लिन सक्ने कम्पनीले जानकारी गराएको छ । कसले कहिले पाउँछन् ?