विकासन्युज

सिन्धु विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा सुपरभाइजरदेखि सिनियर अफिसर, चार्टर्ड एकाउन्टेड र रिलेसनशिप म्यानेजरमा सिनियर असिस्टेन्टदेखि जुनियर अफिसरका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले मंसिर २९ गतेभित्र बैंकको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

भारतले हटायो चामल निर्यातमा लगाएको प्रतिबन्ध

नयाँदिल्ली । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो । सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । वैदेशिक व्यापार नियमन एवम् प्रवद्र्धनमा संलग्न उक्त निकायले त्यसबेला स्वदेशी आपूर्ति बढाउन उसिना चामलबाहेक गैर–बासमती जातका चामलमा २० प्रतिशत निर्यात शुल्कसमेत लगाएको थियो । चामलको सम्भावित अभाव हुने डर हटेपछि प्रतिबन्ध हटाइएको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रतिनिधि सभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रिय सभाका यथावत : संसद सचिवालय

काठमाडौं । संघीय संसदको एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल शुरु हुने तरखरमा छ । मंसिर ४ गते भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी नै छ । अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ । निर्वाचन परिणामलाई नियाल्दा कुनैपनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन । नेपाली काँग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरुको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ । मत परिणाम अन्तिम चरणमा पुगेसँगै आम मानिसमा संघीय संसदमा दर्ता भएका विधेयकहरु अब के होलान् ? भन्ने चासो र चिन्ता छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही भने विचाराधिन अवस्थामा रहेको बताए । उनले प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरु निस्क्रिय भइसकेको बताए । उनले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधिन रहेका विधेयकहरु भने अधिवेशन शुरु भएपछि सोही अवस्थाबाट शुरु हुने बताए । राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधिन रहेका विधेयकहरु १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधिन रहेका बाहेकका विधेयकहरु भने निस्क्रिय भइसकेको जानकारी दिए । उनले यदी सरकारले तिनै विधेयकहरु ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनु पर्ने र ति विधेयकहरुको पुनः नयाँ प्रक्रिया (जिरोबाट) शुरु हुने बताए । उनले भने, ‘संघीय संसदको एक कार्यकाल पूरा भएको छ । यो चरणमा संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भएका छन् । प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरु निस्क्रिय हुने भन्ने व्यवस्था छ । तर राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधिन रहेका विधेयकहरु १२ वटा छन् । ति विधेयकहरु विचाराधिन अवस्थामा नै छन् । अधिवेशन शुरु भएपछि जुन अवस्थामा रहेका छन्, त्यही अवस्थाबाट शुरु हुन्छन् । जिरोबाट शुरु हुन्छ । राष्ट्रिय सभाबाट आएका राष्ट्रिय सभाबाट नै अघि बढ्छन्, प्रतिनिधि सभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्छन् ।’ सहायक प्रवक्ता धमलाले विधेयकहरु राष्ट्रिय सभाबाट आए राष्ट्रिय सभाबाट नै अघि बढ्ने र प्रतिनिधि सभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्ने प्रावधान रहेको पनि बताए ।

सहकारीहरूको मोबाइल बैंकिङ एप मार्फत स्मार्ट क्युआरमा भुक्तानी गर्न सकिने

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिजद्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबली मार्फत भुक्तानी गर्न सकिने भएको छ । इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । एम डबली एप हाल १७० भन्दा धेरै सहकारीमा संचालनमा छ । हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जानकारी दिए । हालसम्म बैंक तथा वालेटहरु मात्र आवद्ध रही आएकोमा सहकारीका सदस्यहरुले पनि यो सुविधा लिन सक्ने कुराले आफुहरु उत्साहित भएको स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए ।  

१३ करोड ८१ लाख लगानीमा सुनथराली विमानस्थल कालोपत्र गर्न सुरु

  कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरुआत गरिएको छ । कालोपत्रको काम आगामी माघ मसान्तमा सक्ने लक्ष्य राखिएको छ । सो विमानस्थल विसं २०४२ बाट निर्माण गर्न थालिएको थियो । आगामी माघ मसान्तभित्र धावनमार्ग कालोपत्रको काम सक्ने लक्ष्य राखिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए । ‘३७ वर्ष पुरानो विमानस्थलको टावर, भवन निर्माण भएपछि अब विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने काम सुरु भइरहेको निर्माण छ’, उनले भने, ‘लामो समयदेखि काम नहुँदा अन्योलमा रहेको विमानस्थलले पछिल्लो समय गति लिन थालेको छ ।’ विगतको सशस्त्र द्वन्द्व, कोभिडलगायतका कारणले विमानस्थलको काम ढिलाइ भएको नरहरिनाथ –१ कोटवाडाका स्थानीय बलिराज विष्टले बताए । ‘कालोपत्रको काम सुरु भएपछि अब विमान चढ्न पाउने धोका पूरा होला जस्तो भएको छ’, उनले भने, ‘विमानस्थलको लामो सयमदेखि निर्माणमा ढिलाइ भइरहेको छ ।’ धावनमार्ग छ सय ९० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहने चालु आर्थिक वर्षमा विमानस्थल पूर्ण रुपमा निर्माण काम सक्ने गरी काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिए । ‘यो विमानस्थलको धावनमार्ग कालोपत्र, नाला निर्माणको काम भइरहेको छ’, उनले भने, ‘रिपिटर टावर निर्माण भइसकेको र उपकरण जडानको काम बाँकी रहेको छ । चालु आर्थिक वर्षमा नै पूर्ण रुपमा विमानस्थल सञ्चालनमा आउने छ ।’ विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने काम गौरी पार्वती/श्याम एन्ड शङ्कर जेभीले ठेक्का लिएको र गौरी पार्वती श्याम एन्ड शङ्कर जेभीले नाला, माटो काट्ने कामको ठेक्का लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलको धावनमार्ग निर्माण, नाला काट्ने, माटो सम्याउनका लागि १३ करोड ८१ लाख रुपैयाँ निर्माण कम्पनीले ठेक्का लिएको प्राधिकरणले जनाएको छ ।

सिभिल इन्जिनियर कुमार लामिछानेको गाई-भैँसीपालनबाट मासिक १० लाख आम्दानी

काठमाडौं । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छ रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक १० लाख रुपैयााँ आम्दानी गर्दै आएका छन् । पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी गाई र भैँसीपालन गर्दै आएका छन् । लामिछानेले १५ करोड रुपैयाँ लगानीमा सुरुको समयमा ३० भैँसीबाट आफ्नो व्यवसाय सुरुआत गरेका हुन् । अहिले उनको गोठमा एक सय ५० भैँसी र ७० गाई छन् । बीचको समयमा उहाँले तीन सयसम्म भैँसीपालन गरे पनि अहिले धेरै भैँसी बिक्रीवितरण गरेर गाईसमेत पालन सुरु गरेका छन् । विसं २०७२ देखि सिभिल इन्जिनियर पेसा अँगालेका लामिछानेकी श्रीमती सङ्गीता पनि इन्जिनियर नै छिन् । ‘सुरुमा म इन्जिनियर भएका कारण कन्स्ट्रक्सनको काम मात्र गर्थें, विगत तीन वर्षदेखि इन्जिनियर पेसासँगै भैँसी र गाईपालन व्यवसाय सुरु गरेको हुँ, यस व्यवसायबाट राम्रै आम्दानी भएको छ’, लामिछाने भन्छन् । उनको गोठबाट हाल दैनिक एक हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमध्ये पाँच सय लिटर काठमाडौंका विभिन्न दूध डेरीमा पठाउने र बाँकी पाँच सय लिटर दूध व्यक्तिको घर–घरमा पु¥याउने गरेको उनले सुनाए । लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर एक सय ५० रुपैयाँ र गाईको दूधको मूल्य प्रतिलिटर एक सय १० रहेको छ । उनको फार्ममा हाल २० कर्मचारी कार्यरत छन् । दूध बिक्रीबाट मासिक ३० देखि ३५ लाख रुपैयाँ आम्दानी हुँदै आए पनि खर्च कटाएर १० लाख रुपैयाँ बचत हुने गरेको उनले बताए । गाई र भैँसीलाई उनीहरुले पराल र दाना खुवाउँदै आएका छन् । गाई र भैँसीको मलसमेत उनले बिक्री गर्छन् । लामिछानेले काठमाडौँमा गाईपालन र भैँसीपालनबाट राम्रो आम्दानी गर्न थालेपछि गृहजिल्ला गोरखामा समेत उक्त फार्मको शाखा विस्तार गरेका छन् । उनले गोरखाको सिरानचोक–७ खहरेमा ५० भैँसी र ५० बाख्रापालन गरेका छन् । यस्तै सोही ठाउँमा दुई सय रोपनी क्षेत्रफलमा तरकारी खेतीसमेत गरिएको छ । गोरखामा भने चारजनालाई रोजगारी दिएको उनले बताए ।

उद्योगीले छुट पाएपछि स्पञ्ज आइरनको आयात बढ्यो, मर्कामा एमएस बिलेटका व्यापारी

काठमाडौं । सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिँदा आयातसँगै राजश्व संकलनमा बृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/०८० को चार महिना (गत साउनदेखि कात्तिक मसान्तसम्म) को तथ्यांक अनुसार स्पञ्ज आइरनको आयातमा बृद्धि भएको हो । सरकारले आर्थिक विधेयक २०७९ मार्फत फलामे डण्डीको कच्चा पदार्थ स्पञ्ज आईरनको आयातमा भन्सार महशुल १ प्रतिशत मात्र कायम गरी अन्तशुल्क पूर्ण छुट गरेको छ । न्यून भन्सार महसुल तथा अन्तशुल्कमा पूर्ण छुट पाएका उद्योगीहरुले चार महिनामा साढे १२ अर्ब बढीको स्पञ्ज आइरन आयात भएको हो । उक्त अबधिमा भारतबाट १२ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ बराबरको २० करोड २८ लाख १८ हजार ८३३ किलो स्पञ्ज आइरनको आयात भएको छ । उक्त आयातबाट सरकारले १ अर्ब ७४ करोड १४ लाख ८१ हजार रुपैयाँ रावश्व संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अबधिमा न्यून आयात भएको स्पञ्ज आइरन चालू आर्थिक वर्ष लागेसँगै बृद्धि हुन थालेको छ । गत आर्थिक वर्ष ५ अर्ब ४८ करोड ६२ लाख ९६ हजार रुपैयाँ १० करोड १९ लाख ३७ हजार किलो आइरन आयात भएको थियो । उक्त आयातबाट सरकारले ८१ करोड ७२ लाख १९ हजार रुपैयाँ बराबर राजश्व संकलन गरेको थियो । स्पञ्ज आईरन उद्योगको अन्तशुल्कमा छुट तथा भन्सार दर १ प्रतिशत कायम गर्दा सरकारले एमएस बिलेट आयातमा ४।७५ प्रतिशत भन्सार दर कायम गरी भन्सार विन्दुमै प्रति मेट्रिक टन ३५०० रुपैयाँ अन्तशुल्कलाई बनाएको छ । यसअघि भन्सार दर ४।७५ प्रतिशत र अन्तशुल्क प्रति मेट्रिक टन २५०० रुपैयाँ रहेकोमा आगामी आर्थिक वर्षको बजेटमा अन्तशुल्कमा प्रतिमेट्रिक टन १ हजार रुपैयाँले बृृद्धि गरी ३५०० रुपैयाँ बनाईएको हो । घट्यो एमएस बिलेट आयात गत आर्थिक वर्षको तुलनामा चालु आवमा भन्सार महसुल सँगै अन्तशुल्कमा बृद्धि भएपछि एमएस बिलेट आयात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्यांक अनुसार गत आवको तुलनामा एमएस बिलेट आयातमा कमी आएको पाइएको हो । चार महिनाको अबधिमा ९ करोड ३१ लाख ९७ हजार किलो बराबरको ७ अर्ब ६८ करोड १६ लाख १७ हजार रुपैयाँ बराबरको मात्रै बिलेट आयात भएको हो । उक्त आयात हुँदा सरकारले १ अर्ब ७५ करोड ११ लाख बढी राजश्व संकलन भएको छ । गत आर्थिक वर्षको चार महिनाको अबधिमा ४२ करोड ५० लाख १६ हजार किलो बराबरको ३५ अर्ब ९ करोड ६७ लाख बढीको बिलेट आयात भएको थियो । उक्त आयातबाट सरकारले ६ अर्ब ७८ करोड ८९ लाख बराबर राजश्व संकलन गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले  गत आर्थिक वर्ष प्रतिस्थापन विधेयक र चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै एमएस बिलेटमा लाग्दै आएको अन्तशुल्क बढाएका थिए । प्रतिस्थापन विधेयक ल्याउनु अघि आयत हुने बिलेटमा प्रति मेट्रिक टक १ हजार ६५० रुपैयाँ अन्तशुल्क लाग्दै आएकोमा उनले त्यसमा वृद्धि गरी प्रति मेट्रिक टक २ हजार ५०० रुपैयाँ अन्तशुल्क लगाएका थिए । उनले गत आर्थिक बर्षको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै कच्चा पदार्थ ९स्पञ्ज आइरन० आयातमा भन्सार दर तथा अन्तशुल्क शूल्य गर्ने व्यवस्था गरेका थिए । नयाँ अर्थमन्त्रीको पर्खाइमा बिलेट उद्योगी दुई कार्यकालसम्म स्पञ्ज आइरन उद्योगलाई छुट दिएका अर्थमन्त्रीको बिदाईमा एमएस बिलेट उद्योगीहरु रहेका छन् । जनादर्न शर्माले एकै प्रकृतिका उद्यागमा एकलाई छुट दिएर अर्को उद्योगलाई मर्का पारेको भन्दै बिलेट उद्योगीहरु नयाँ अर्थमन्त्रीका पखाईमा बसेको जनाएका छन् । नेपाल स्टिल रोलिङ मिल्स एसोसिएशन अर्थमन्त्री जनादर्न शर्माको बिदाईसँगै उद्योगीको मर्का बुझिदिने नयाँ अर्थमन्त्रीको पखाईमा बसेको जनाएको छ । ‘जनादर्न शर्माले हामी उद्योगीको समस्या बुझेनन्, एकै प्रकृतिका उद्योगलाई फरक÷फरक नीति ल्याएर हाम्रो व्यवसाय नै चौपट बनाए’, एक उद्योगीले भने, ‘अर्थ नबुझेका मन्त्री हुँदा हामीलाई समस्या भएको थियो, अब आउने नयाँ अर्थमन्त्री उद्योगीका समस्या बुझने खालको हुनुपर्छ, हामी जनादर्न शर्माको बिदाई पर्खिरहेका छौँ ।’

विद्युत् अवरुद्ध हुदाँ सोलुखुम्बुका एक हजार परिवार बिजुलीबिहीन

सोलुखुम्बु । सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् । जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य छन् । महाकुलुङ गाउँपालिका–५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजनाको मेसिनमा खराबी आएसँगै सो क्षेत्र बिजुलीबिहीन छ । महाकुलुङको वडा नं ४ र ५ तथा सोताङ गाउँपालिकाको ५ नाम्लुङ क्षेत्रमा बुदुमखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो । एक सय किलोवाट क्षमताको उक्त योजना अवरुद्ध भएसँगै सो क्षेत्रका बासिन्दा टुकीको भरमा बस्न बाध्य छन् । बिजुली नहुँदा सबैभन्दा बढी मारमा विद्यार्थी छन् । उनीहरुलाई पढ्न समस्या भएको छ । रेडियो तथा मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवाबाट समेत बञ्चित भएको स्थानीय मनुहाङ किराँतीले बताए । मेसिनको टर्वाइन पुल्लीमा खराबी आएको छ । विद्युत् सेवा पुनः सञ्चालन गर्न पहल भइरहेको विद्युत् उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणकुमार राईले बताए । ‘बिग्रिएको मेसिन मर्मत गर्न काठमाडौं पठाएका छौँ, ढिलोमा एक साताभित्र सेवा पुनः सञ्चालन हुन्छ’, उनले भने ।