‘खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगानी गरिबीको रेखामुनि छन्’
काबुल । खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगान जनता गरिबीको रेखामुनि बाँचिरहेका एक सर्वेक्षणले देखाएको छ । तालिबानले गत वर्ष देशको शासनसत्ता कब्जा गरेपछि अर्थतन्त्रमा गम्भीर चुनौती उत्पन्न भई खाद्यान्न अभाव बढेको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन आईओएम द्वारा युरोपेली सङ्घसँगको साझेदारी र समन्वयमा जारी गरिएको सर्वेक्षणअनुसार अफगानिस्तानको ९७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि धकेलिएको छ । बिजुली कटौतीका कारण देशका प्रमुख सहरको अर्थतन्त्रमा प्रभाव परेको, विद्युत् अभावमा धेरै कारखाना बन्द भएका तथा रोजगारीका सीमित अवसरमा पनि प्रभाव परेको छ । खडेरी र कमजोर शासनको परिणाम स्वरूप अफगानिस्तानको आधा भन्दा बढी जनसङ्ख्याले गम्भीर खाद्यान्न अभावको झेलिरहेको छ । सर्वेक्षणले गरिबीका कारण अफगानीको जीविकोपार्जनमा नकारात्मक असर परेको, ग्रामीण क्षेत्रका धेरै मानिसलाई उनीहरूको स्रोत विविधीकरणमा पर्याप्त उपलव्ध नभएको तथा करिब ६० प्रतिशत जनसङ्ख्या जलवायु आघातबाट पीडित भएका देखाएको छ । यसैबीच, विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले पनि अफगानिस्तानको आर्थिक सङ्कटलाई लिएर गम्भी। चिन्ता व्यक्त गरेको छ । व्याप्त आर्थिक सङ्कटले देशभरका परिवार र समुदायको जीविकोपार्जनमा समस्या भएको उसले बताएको छ । डब्ल्युएफपीले साना उद्यममा असर परेको, निजी कम्पनीले बिक्रीमा भएको कमी, उत्पादन र उपभोक्ता मागमा आएको विशाल गिरावटका कारण आधाभन्दा बढी कर्मचारी कटौती गरिएको जनाएको छ । लाखौँ अफगानी भोकमरीको चपेटामा पर्नसक्ने जनाउँदै उक्त संस्थाले मानवीय सङ्कटबाट अफगानिस्तानलाई जोगाउन अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।
प्रिमियर इन्स्योरेन्सले दिन थाल्यो कोरोना बीमाको पैसा, ८७० जनाले पाउने
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले पनि कोरोना बीमाको दावी भुक्तानी दिन शुरु गरेको छ । इन्स्योरेन्सले मंसिर १४ गते बुधबारदेखि दैनिक एक सय जना बीमितलाई कोरोना बीमाको रकम फर्छौट गर्न थालेको हो । कम्पनीले जारी गरेको सूचनाअनुसार कम्पनीले क्रमसंख्या अनुसार विभिन्न मितिमा बीमितहरुलाई भुक्तानी गर्ने छ । मंसिर १४ गतेदेखि भुक्तानी दिन थालेको कम्पनीले आगामी मंसिर २५ गतेसम्म कूल ८७० जना बीमितलाई भुक्तानी दिने भएको छ । इन्स्योरेन्सले नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार सर्वसाधारण (व्यक्तिगत) तर्फका बीमितहरुलाई पहिलो प्राथमिकतामा राखेर दावी भुक्तानी गर्न लागेको हो । त्यस्तै, यस बाहेकका दावीकर्ताहरुको हकमा सरकार र बीमा प्राधिकरणको निर्णय अनुसार क्रमशः भुक्तानी गरिने कम्पनीले जानकारी गराएको छ । क-कसले पाउँछन् ? नामसहितको सूची हेर्नको लागि यसमा क्लिक गर्नुहोला ।
नेपाल इको प्यानलको नयाँ डिलरशिप दाङमा
काठमाडौं । नेपाल इको प्यानलको नयाँं डिलरशिप दाङमा पनि थपिएको छ । न्यु मनकामना टेडर्स घोराही, दाङले डिलरशिपको जिम्मा पाएको हो । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले नयाँं डिलरशिप न्यु मनकामना ट्रेडर्स घोराही दाङका प्रोपाइटर दुर्गा रेग्मीलाई डिलरशिप प्रमाणपत्र वितरण गरे । न्यु मनकामना टेडर्स घोराही दाङले यसअघि विदेशबाट आयातित इको प्यानलहरुको डिलरशिप राखेर विक्रीवितरण गर्दै आएको थियो । आयातित इको प्यानलकै हाराहारी मूल्यमा नेपाल इको प्यानल आएकाले नेपाली प्यानलको पनि विक्रीवितरण सुरु गरेको उनले बताए । आयातित इको प्यानलहरुको जोडाईमा च्यानलको प्रयोग हुने तर नेपाल इको प्यानलको जोडाईमा आफनै एडिसिभ सिमेन्ट प्रयोग हुने भएकाले हेर्दा यो आकर्षक देखिने र मजबुद पनि हुने हुनाले यसको माग उच्च रहने विश्वास उनले व्यक्त गरे । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशनको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री हो । हलुका, भूकम्पप्रतिरोधीलगायतका विशेषता कारण यो प्यानलको माग देशभरि रहँंदै आएको छ । यही मागलाई ध्यानमा राखी कम्पनीले दाङमा पनि थप डिलरशिप दिएको जनाएको छ । यसको मुख्य कार्यालय भने भक्तपुरको सल्लाघारीमा रहेको छ । कारखाना भने भक्तपुरकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।
भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने
भरतपुर । भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धीत धनीले नहटाए आफैले हटाउने जनाएको छ । संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असूल गर्ने सूचनामा उल्लेख छ । महानगरले सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण भएका भवन, टहरा र संरचना, सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, पर्खाल एवं अन्य सरंचरना, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टहरालगायतका अन्य संरचना, सडकमा फुटपाथबाट सवारी साधन उक्लिन बाटो अवरुद्ध हुने गरी ढलाइ गरी बनाइएका स्थायी र्याम्प, नक्शापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी अन्य प्रयोजनः पसल, गोदाम, रेन्टुरेन्ट आदि प्रयोग भइरहेका बेसमेन्ट हटाउने सूचनामा उल्लेख छ ।
नागरिक उन्मुक्ति पार्टी : डेब्युमै चार सिट जित
महेन्द्रनगर । दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रुपमा प्रस्तुत भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको उक्त दलले यहाँ पाँच वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँच वटा सिटमा विजय हाँसिल गरेको छ । गत पुसमा निलम्बित पूर्वसांसद रेमश चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा उक्त राजनीतिक दल दर्ता गराएको छोटो समयमै पार्टीले निर्वाचनमा थारु बाहुल्यता रहेको क्षेत्रमा आफ्नो पक्षमा नतिजा ल्याउन सफल भएको हो । ढकीया चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेकोे उक्त दलले यहाँका प्रदेशसभाका धेरैजसो निर्वाचन क्षेत्रमा आफ्नो उपस्थिति देखाएको थियो । कैलालीमा मात्रै नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ८७ हजार १२ मत र प्रतिनिधिसभा सदस्यतर्फ ८१ हजार छ सय २८ मत प्राप्त गरेको धनगढीस्थित सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत राजेश चौधरीले बताए । उनका अनुसार समानुपातिकतर्फको नतिजा अझै आउने क्रममा छ । पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेको कैलालीमा तीन लाख ३७ हजार तीन सय ७३ मत खसेको थियो । जिल्लाको प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र १, २ र ३ जितेको उक्त पार्टीले सुदूरपश्चिममा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ र २ समेत आफ्नो प्रभाव देखाएको छ । कैलाली निर्वाचन क्षेत्र नं १ मा पार्टी अध्यक्षसमेत रहेकी उम्मेदवार रञ्जिताले प्रतिनिधिसभा सदस्यमा जित्दा सोही क्षेत्रमा रहेको प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ क मा कैलाश चौधरी र क्षेत्र नं २ ख मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका छन् । त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी निर्वाचित भएका छन् भने सो क्षेत्रको प्रदेशसभा सदस्यका लागि क्षेत्र नं २९ख० मा सोही पार्टीका रामेश्वर चौधरी निर्वाचित भएका छन् । त्यस्तै कैलाली निर्वाचन क्षेत्र नं ३ मा पनि उन्मुिक्त पार्टीले नै कब्जा जमायो । यहाँ प्रतिनिधिसभातर्फ गङ्गा चौधरी निर्वाचित भए भने प्रदेशसभातर्फ क्षेत्र नं १ क मा घनश्याम चौधरी र २ ख मा खुसीराम चौधरी विजयी भए । पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा ठूलो दल नेकपा एमालेको जीत शून्य हुँदा सत्ता गठबन्धनबाट कांग्रेसका दुई उम्मेदवार यहाँ निर्वाचित भए । निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित उन्मुक्ति पार्टीका उम्मेदवार गङ्गा चौधरीले आफ्नो पार्टीले गरेको अपेक्षा अनुसार नै नतिजा आएको बताइन् । ‘नयाँ पार्टी भए पनि हाम्रो ४५ जिल्लामा उम्मेदवारी थियो,’ उनले भनिन्–’जसमध्ये कैलालीमा तीन र बर्दियामा एक गरी चार सिट जित्न सफल भयौँ ।’ उनले प्रदेशसभातर्फ कैलालीमा पाँच र बर्दियामा दुई गरी सात क्षेत्रमा जितेको बताइन् । ‘अब पार्टी सङ्गठन विस्तार र संरचना निर्माणमा पनि हामी जोड दिँदै जान्छौँ’, निर्वाचित सदस्य चौधरीले भने, ‘डेब्युमै नतिजा राम्रो आउँदा हामी उत्साहित छौँ ।’ गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा नागरिक उन्मुिक्त पार्टी दोस्रो ठूलो दल बनेको थियो । यहाँका १३ वटा पालिकामध्ये स्थानीय तहको निर्वाचनमा उक्त पार्टीले चार वटा पालिकामा जितेको थियो । कञ्चनपुरमा प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ क मा पल्टु राना र २ खमा काली चौधरी उम्मेदवार थिए । यहाँ काली चौधरीले भने पाँच हजार पाँच सय १७ मत ल्याएका थिए । यहाँको निर्वाचन क्षेत्र नंं २ क मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गीता चौधरीले पाँच हजार एक सय ५३ मत ल्याइन् ।
नेपाल इन्स्योरेन्सले चार दिनभित्र ३४५ बीमितलाई कोरोनाको पैसा दिने (नामावलीसहित)
काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले आज बुधबारदेखि कोरोना बीमाको दावी भुक्तानी गर्न शुरु गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै मंसिर १४ गतेदेखि भुक्तानी दिन थालेको जानकारी गराएको हो । उक्त सूचनाअनुसार कम्पनीले मंसिर १४ गतेदेखि १८ गतेसम्ममा ३४५ जना बीमितलाई कारोना बीमाको पैसा दिने भएको छ । इन्स्योरेन्सले एकल र पारिवारिक बीमालेख धारक दावीकर्ताहरुमध्ये दावी भुक्तानी पाउन बाँकी बीमितहरुमध्ये हाललाई ३४५ जनालाई कोरोना बीमाको रकम वितरण गर्दै छ । जसको नामावली समेत कम्पनीले आफ्नो वेवसाइटमा सार्वजनिक गरेको छ । त्यस्तै, यो बाहेक भुक्तानी हुन बाँकी रहेका अन्य भुक्तानी भने नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्णय बमोजिम हुने कम्पनीले जानकारी गराएको छ । यस्तो छ कम्पनीले सार्वजनिक गरेको दावीकर्ताहरुको विवरण [pdf id=368656]
शाखारहित बैंकिङ कारोबार कसरी गर्ने ?
काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शाखारहित बैंकिङमार्फत कारोबार गर्दा सर्वसाधारणलाई सजगत अपनाउन आग्रह गरेको छ । विभागले एक सूचना जारी गर्दै शाखारहित बैंकिङमार्फत कारोबार गरिसकेपछि विभिन्न कुरामा ध्यान दिन आग्रह गरेको हो । विभागले शाखारहित बैंकिङमार्फत कारोबार गर्दा ध्यानदिनु पर्ने ५ बुँदाहरु सार्वजनिक गरेको छ । पछिल्लो समय शाखारहित बैंकिङमा देखिएको केही समस्यालाई ध्यानमा राख्दै विभागले उक्त सूचना जारी गरेको हो । राष्ट्र बैंकबाट अनुमति पत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउन सक्ने व्यवस्था छ । यस्ता छन् कारोबार गर्दा ध्यान दिनु पर्ने विषय १. बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत् मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्दछ । २. सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् मात्र गर्नुपर्दछ । ३. कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोबार बमोजिम भए नभएको यकिन गर्नुपर्दछ । साथै, विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनी) मार्फत् पनि आफूले गरेका कारोबारको यकिन गर्न सकिन्छ । ४. शाखारहित बैंकिङ्ग कारोबारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोबार गरे बमोजिमको भए/नभएको बेला बेलामा बैंक खातामार्फत् समेत यकिन गर्नुपर्दछ । व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए/नभएको तुरुन्त यकिन गर्नुपर्दछ । ५. सेवा सञ्चालनका सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा यस बैंकको फोन नं. ४४१५१५८ वा गुनासो सुनुवाइ गर्ने पोर्टल gunasao.nrb.org.np मार्फत् जानकारी गराउनु पर्दछ ।
१२ ठेकेदार कम्पनी कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयलले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध समेत लगाएको हो । कार्यालयका अनुसार होमनाथ गौतम मुख्य सञ्चालक रहेको भारत–सप्तकोसी जेभी काठमाडौँलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । सडक डिभिजन कार्यालय बुटवलले यो ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो । रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको काममा ढिलाइ गर्ने हाइग्रिवा/सिद्धि साँई प्रकाश जेभीलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीका सञ्चालक देपेन्द्रबहादुर शाही र नरेन्द्र प्रधान रहेका छन् । त्यस्तै, हेटौँडा महानगरपालिकाको सिफारिसमा भरतपुर चितवनको हाइवे कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखिएको छ । नारायण सुवेदी मुख्य सञ्चालक भएको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । शहीद गङ्गालाल हृदय केन्द्र बाँसबारीको सिफारिसमा काठमाडौँको विधि बिल्डर्स प्रालि पनि कालोसूचीमा परेको छ । विप्लव पोख्रेल सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । खलङ्गा जाजरकोटको साइबाबा एन्ड तारा कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेको छ । सञ्जयाकुमारी राना शाह सञ्चालक रहेको यो कम्पनीलाई कालोसूचीमा राख्न टोखा नगरपालिकाले सिफारिस गरेको थियो । त्यस्तै, नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा जुम्लाको अनुकूल निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीको सञ्चालक तिलबहादुर भण्डारी रहेका छन् । काठमाडौंको नयाँ बानेश्वरमा कार्यालय रहेको पाँचखाल कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न पर्यटन विकास आयोजना हेटौँडाले सिफारिस गरेको थियो । प्रेमप्रसाद अधिकारी सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । गुर्भाकोट नगरपालिका–४ सुर्खेतमा रहेको प्रभु निर्माण सेवालाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । रेशमबहादुर शाह सञ्चालक रहेको यो कम्पनीलाई कालोसूचीमा राख्न खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले सिफारिस गरेको थियो । उत्तरगया गाउँपालिका, रसुवाको सिफारिसमा सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीका सञ्चालक सिद्धिबाबु रेग्मी रहेका छन् । कपिलवस्तु नगरपालिकाको सिफारिसमा रुपन्देहीको एसएसके निर्माण सेवा प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीका सञ्चालक सफीउर्रहमान अन्सारी रहेका छन् । त्यसैगरी, कृषि विकास निर्देशनालय डोटीको सिफारिसमा कैलालीको सुर्मादेवी कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीको मुख्य सञ्चालक मीनाकुमारी शर्मा कोइराला छिन् । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहको सिफारिसमा नीलगिरि÷नेसनल÷क्यानोन जेभीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । नीलगिरि निर्माण सेवा प्रालिका सञ्चालक युवराज डाँगी, नेसनल डेभलपमेन्ट सेवा प्रालिका सञ्चालक धनकुमार थापा र क्यानोन कन्स्ट्रक्सन प्रालिका सञ्चालक गौरव पुडासैनी रहेका छन् । यी तीनवटै कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन् । कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउनेछैनन् ।