मंसिर १५ गतेदेखि विभिन्न सहरमा ‘गोल्डेन ओक कमेडी यात्रा’ हुँदै
काठमाडौं । गोल्डेन ओकले थप सहरहरूमा ‘गोल्डेन ओक कमेडी यात्रा’ सञ्चालन गर्ने भएको छ । गोल्डेन ओकले गाइघाटमा मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते गोल्डेन ओक कमेडी यात्रा संचालन गर्ने भएको हो । गोल्डेन ओकले यसअघि बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा कमेडी यात्रा सम्पन्न गरिसकेको छ । यस कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरू जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाललगायतले सम्पूर्ण दर्शकहरूका लागि मनोरञ्जन र कमेडीको प्रस्तुति दिने आयोजकले जनाएको छ ।
वेस्टर्न युनियनको सुनपती अभियानमा रेविकाले पाइन् १० तोला सुन
काठमाडौं । वेस्टर्न युनियनको प्रतिनिधिद्वारा बम्पर विजेतलाई दस तोला सुन हस्तान्तरण गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा वेस्टर्न युनियनको प्रतिनिधि एटीटी रेमिटले श्रीमती रेविका सुनुवारलाई दस तोला सुन हस्तान्तरण गरेको छ । काठमाडौं बस्दै आएकी धरानकी रेविका सुनुवारले वेस्टर्न युनियनको सुनापती अभियानको बम्पर लक्की ड्रमा दश तोला सुन जितेकी हुन् । वेस्टर्न युनियनका प्रमुख एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको थियो ।
निक्षेपमा राखेको १० करोड झिकेर कर्मचारी पाल्ने अवस्थामा सिंहदरबार बैद्यखाना, चुलियो आर्थिक संकट
काठमाडौं । सिंहदरबार बैद्यखानाले झण्डै ४ सय वर्षको इतिहास बोकेको छ । नेपालका जिवित संस्थाहरुमध्ये लामो इतिहास बोकेको मध्येमा पर्छ वैद्यखाना । तर, पछिल्लो समयभने बैद्यखाना निकै ठूलो संकटको बीचबाट गुज्रिरहेको छ । सिंहदरबारको उत्तरी क्षेत्रमा रहेको नेपाल सरकारको स्वामित्वमा रहेको जमिन र भौतिक संरचनाको भोगचलन बैद्यखानाले गर्दै आएको छ । गठन आदेशमा सञ्चालन भएको बैद्यखानाको तालुकदार निकाय स्वास्थ्य मन्त्रालय हो । तर, पछिल्लो समयमा बैद्यखाना अभिभावक बिहिन जस्तै बनेको छ । विगतमा १ सय ६० प्रकारका औषधी उत्पादन गरेको यो संस्था पछिल्लो समयमा जम्मा ५ प्रकारका औषधीमा सीमित भएको छ । दैनिक १ लाख भन्दा धेरैको औषधी आफ्नै काउन्टरबाट बिक्री गर्दै आएको बैद्यखानाले यतिबेला दैनिक ५र६ हजारको मात्रै बिक्री गर्ने गरेको छ । वैद्यखानामा नेपाल सरकारका २ जना, समितिका ४२ जना र एक जना करार सेवामा काम गर्ने कर्मचारी छन् । पैसाको अभावको कारण उनीहरुले २ महिना यता तलब खाने विषय नै अनिश्चय बनेको छ । साथै कर्मचारीहरुले वर्षमा एकपटक नियमअनुसार पाउनुपर्ने पोषाक भत्ता समेत पाएका छैनन् । बैद्यखानाका निमित्त कार्यकारी निर्देशक डा. रामदेव यादवका अनुसार संस्थाको तर्फबाट अहिले मुद्दती निक्षेपमा १० करोड रुपैयाँ बैंक ब्यालेन्स रहेको छ भने १०/१२ लाख मात्रै चालू खर्च वापतको पैसा छ । वैद्यखानाले स्वास्थ्य मन्त्रालयसँग कर्मचारीको तलब भत्ताको लागि पैसा निकासा गर्न माग गरेको छ । तर, त्यसको अहिलेसम्म सुनुवाई भएको छैन् । मन्त्रालयले पैसा निकासाको पहल नगरेमा मुद्दती निक्षेपको पैसा निकालेर प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको डा. यादवले विकासन्युजसँग बताए । गत असारदेखि यता वैद्यखानाले ५ प्रकारका औषधी तयार गरेको छ । नियमअनुसार तयार गरिएको औषधी बिक्री गर्नका लागि मूल्यांकन समितिले त्यसको मूल्य निर्धारण गर्नुपर्छ । औषधी उत्पादन भएको ४ महिनापछि अर्थात गत सोमबार मात्रै मूल्यांकन समितिले औषधीको मूल्य निर्धारण गरेको डा. यादवले बताए । ‘मूल्यांकन समितिको बैठक बस्न नसक्दा उत्पादन भएको औषधीको मूल्य निर्धारण गर्ने र लेबलिङ गर्ने काममा ढिलाई भयो, बल्ल सोमबार त्यो काम सकिएको छ’, उनले भने । अब बैद्यखानाले थोरै मात्रामा उत्पादन भएको औषधीको लेबलिङ गर्ने कामलाई अगाडि बढाएको छ । त्यसको बिक्री पश्चात आर्जन हुने पैसाले पनि वैद्यखानालाई केही सहज हुनेछ । डा. यादवका अनुसार जडिबुटी खरिदको मूल्य बढेको कारणले गर्दा उत्पादित औषधीको मूल्य झण्डै १० प्रतिशत बढ्न पुगेको छ । तर, पैसाको अभावमा वैद्यखानाले चालु आर्थिक वर्षमा जडिबुटी खरिद प्रकृयाको प्रारम्भ नै गर्न सकेको छैन । गत असारमा झण्डै डेढ करोड बराबरको जडिबुटी खरिदको आह्वान गरेको टेण्डरमा अहिलेसम्म ५० लाख बराबरको पनि नआएको वैद्यखानाका उत्पादन अधिकृत डा.हरिदेव यादव बताउँछन् । आर्थिक वर्ष ०७४/७५ मा करिब साढे ५ करोडको व्यवसाय गरेको वैद्यखानाको त्यस यताको कारोबार निरन्तर ओरालो लागेको छ । समस्या के हो ? वैद्यखाना विकास समिति गठन आदेश २०७७ अनुसार सञ्चालनको अवस्थामा रहेको वैद्यखाना आफैमा स्वायत्त निकाय होइन । त्यसैले वैद्यखानाले सञ्चालन गर्ने मुख्य क्रियाकलापमा बोर्डको निर्णय हुन्छ भने नेतृत्वको विषयमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्ने काम गर्छ । तालुकदार निकायले वैद्यखाना सञ्चालनको विषयमा आवश्यक ध्यान नदिनु र वैद्यखाना आफैमा स्वायत्त नबन्ने विषय नै नीतिगत हिसाबले मुख्य समस्या बनेको बैद्यखानाका डा. हरिदेव यादव बताउँछन् । ‘वैद्यखाना सञ्चालनको लागि मुख्य रुपमा नीतिगत समस्या बनेको छ, न त मन्त्रालयले राम्रो सँग सञ्चालन गर्ने इच्छा देखाउँछ, न त स्वायत्त बनाउने विषयमा नै पहल गर्छ’, डा. यादवले भने । पछिल्लो समयमा धेरै सरकार मातहतमा रहेका संस्थाहरुको लागि समायानुकुल नीति बनाइएकोमा वैद्यखानाको विषयमा भने कुनै पहल नभएको उनको भनाइ छ । मन्त्रालयमा आउने मन्त्री र सचिवहरु वैद्यखानाको विषयमा जिम्मेवार नबनेको उनको आरोप छ । डा. यादव वैद्यखानामा स्थायी दरबन्दीमा कार्यरत ९० प्रतिशतभन्दा धेरै कर्मचारीको वृत्ति विकास नै भएको छैन, अर्थात अधिकांश कर्मचारीको लामो समयदेखि बढुवा नै भएको छैन । जसले गर्दा काम गर्ने सन्दर्भमा मनोविज्ञानमा प्रभाव पारेको छ । ‘मैले एमडी गरेर यहाँ जागिर खाएको १० वर्ष भन्दा धेरै भयो, अहिलेसम्म म अधिकृत सरह नै छु, जबकी राज्यकै अन्य निकायमा जागिर खाएको भए म कम्तिमा सहसचिव सरहको भैसकेको हुने थिएँ’, उनले भने, ‘यहाँ सबैको यस्तै समस्या छ, जसले गर्दा काम गर्ने मनोविज्ञानमा उत्साह छैन ।’ लामो इतिहास बोकेको वैद्यखानामा पछिल्लो समयमा उत्पादन र प्रशासनका लागि भवन नयाँ भवनहरु निर्माण भएका छन् । तर, औषधी उत्पादन गर्ने मेशिनरी सामग्री र विधि भने पुरानै रहेको छ । जसका कारणले आधुनिकता अनुसारको गुणस्तरीय उत्पादन र प्याकेजिङमा वैद्यखानाले आफूलाई स्तरोन्नती गर्न सकेको छैन । निमित्त कार्यकारी निर्देशक डा।यादवले वैद्यखानाको समयानुकुल विकासको लागि उत्पादन गर्ने मेशिनरी सामग्री र उत्पादन विधिमा स्तरोन्नती गर्न आवश्यक रहेको बताए । त्यस्तै, वैद्यखानासँग जडिबुटी उत्पादन गर्ने आफ्नै उत्पादन केन्द्रहरु नभएको अवस्था छ । जसकारणले गर्दा समयमा गुणस्तरीय जडिबुटी प्राप्त गर्ने कुरामा पनि समस्या हुने गरेको र नियमित उत्पादनको प्रकृया रोकिने गरेको अधिकृत डा. यादव बताउँछन् । ‘हामीले औषधी उत्पादनको लागि धेरै वर्ष अगाडि देखि अपनाउँदै आएको विधि र पुराना सामग्रीहरुलाई प्रयोग गरिरहेका छौं, भारतमा नै सञ्चालनमा रहेका उद्योगहरुलाई हेर्दा उनीहरुले आधुनिक मेसिनको प्रयोग गरेका छन्’, उनले भने, ‘अब हामीले त्यता पनि ध्यान दिनुपर्छ ।’ आफू निमित्त निर्देशकको जिम्मेवारीमा आएको केही समय मात्रै भएको र आगामी दिनमा वैद्यखानाको मेसिनरी स्तरोन्नती गर्ने विषयमा पनि अगाडि बढ्ने उनले बताए । उनका अनुसार वैद्यखानामा नयाँ प्रविधिको विकास गरेपछि श्रम लागत घट्ने, गुणस्तर बढ्ने र ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ । वैद्यखानाका कार्यरत कर्मचारीहरुका अनुसार वैद्यखानाको निरन्तर ओरालो लाग्नुको कारण तालुकदार निकायको अनावश्यक हस्तक्षेप पनि हो । पछिल्लो ५ वर्षमा वैद्यखानामा एक दर्जन नेतृत्व फेरिएका छन् । चालू आर्थिक वर्षको साउन महिना यता मात्रै ३ जना नेतृत्व परिवर्तन भएका छन् । यसैबाट पनि देख्न सकिन्छ की वैद्यखाना कसरी सञ्चालन भइरहेको छ । राजनीतिक क्षमता र आवश्यकताको आधारमा समझदारीपूर्वक टिकाउ निर्णय लिनेभन्दा पनि सरकारले राजनीतिक स्वार्थका आधारमा नियुक्ति गर्ने र अदालतमा मुद्दा पर्ने चक्रमा वैद्यखाना लामो समयदेखि फस्दै आएको छ । जसले गर्दा वैद्यखानामा योजना निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने विषय प्रभावकारी बन्न सकेको छैन । पछिल्लो समय वैद्यखानामा कार्यरत कर्मचारीहरुले आफ्नो भविष्य निरन्तर अन्यौलमा परेको देख्न थालेपछि आफूहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नै समायोजन गर्न सामूहिक रुपमा माग गरेर २ पटक सम्म अनुरोध गरेका छन् । यादवले गत साउन र भदौमा आफूहरुले समायोजनको सामूहिक निवेदन दिएको बताए । सम्भव छ वैद्यखानाको उपचार ? निमित्त कार्यकारी निर्देशकको भूमिकामा रहेका डा. यादव नरदेवी अस्पतालबाट झण्डै १ महिना अगाडि मात्रै वैद्यखानाको जिम्मेवारीमा आएका हुन् । अहिलेसम्मको अवस्थामा वैद्यखानामा काम गर्ने कर्मचारीको सेवा सुविधाको लागि मासिक रुपमा २० लाख भन्दा धेरै रकम खर्च हुने गर्छ । डा।यादवका अनुसार वैद्यखानालाई आत्मनिर्भर हुँदै नाफा आर्जनको स्तरमा विकास गर्न सकिने बताउँछन् । आफू नेतृत्वमा आएपछि त्यसको लागि आवश्यक गृहकार्यमा जुट्न लागेको उनको भनाइ छ । त्यस्तै, अधिकृत डा।हरिदेव यादवले वैद्यखानाले अहिलेकै अवस्थामा पनि वार्षिक रुपमा २५ करोड बराबरको औषधी उत्पादन गर्न सकिने बताउँछन् । कतिपय कर्मचारीहरुले राजनीतिक आस्थाका आधारमा अप्ठयारो परिस्थिति सिर्जना गर्ने गरिरहेकोमा पछिल्लो नेतृत्वले त्यसलाई हल गर्न लागेको डा. हरिदेवको भनाइ छ । नेपालमा आयुर्वेदको क्षेत्रमा भारतीय लगानीकर्ता रामदेवलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्ने गरिएको तर आफ्नै मुलुकमा गौरवको इतिहास बोकेको संस्थालाई होच्याएर टिप्पणी गर्ने गरिएको वैद्यखानाका कर्मचारीहरुको गुनासो छ । नयाँ व्यवस्था स्थापना भएको सन्दर्भमा वैद्यखानाहरुको उत्पादन केन्द्रहरु ७ वटै प्रदेशमा विस्तार गर्नुपर्ने र लगानीको व्यवस्था गरेमा वैद्यखानाको भविष्य राम्रो भएको अधिकृत डा।हरिदेवको भनाइ छ । वैद्यखानाको पछिल्लो अवस्थाको विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुरले बताए । आफै उत्पादन गरेर आत्मनिर्भर हुनुपर्ने र राज्यलाई पनि योगदान गर्नुपर्ने संस्थाको पछिल्लो अवस्था राम्रो नदेखिएकोमा यसको सुधार गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाई । ‘मन्त्रालय चिन्तित बनेको छ, केहीसमय अगाडि तत्कालको समस्याको समाधानको लागि मन्त्रालयले पैसा पनि पठाएको छ, गठन आदेशमा सञ्चालन भएको संस्थाको विषयमा नीतिगत समस्या समाधान कसरी गर्ने र कसरी सस्टेन बनाउने विषयमा आवश्यक कदम चाल्नुपर्छ’, उनले भने । वैद्यखानाका कर्मचारीहरुले समय–समयमा आफ्ना मागहरु राखेर ज्ञापन पत्र बुझाउने तर समस्याको समाधानको लागि सिरियसली विषय नराख्ने गरेकोले पनि समस्या लम्बिदै गएको उनको भनाइ छ । वैद्यखानाले हेल्थ प्लान सहित मन्त्रालयमा आफ्ना विषयवस्तुहरुलाई राख्न आवश्यक रहेको प्रवक्ता डा।सञ्जयकुमारले बताए ।
प्रभु बैंक र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यमबीच सम्झौता
काठमाडौं । प्रभु बैंक र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बिच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट प्रतिनिधि एग्नेस लुजले र बैंकका तर्फबाट कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई कोभिड १९ को महामारीपछि सुधार गर्दै दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहूँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ । उक्त लक्ष्य हासिल गर्न युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा प्रभु बैंकले कर्मचारीहरुको सिप, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरुको संचालन तथा नयाँ नयाँ विधि, प्रविधि, स्रोत तथा साधनहरुको प्रयोग गर्नेछ ।
निटफेस्टमा आज श्रीलंका र भारतका नाटक मञ्चन हुँदै
काठमाडौं । यही मङ्सिर ९ गतेदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ निटफेस्ट २०२२’ मा आज भारत र श्रीलङ्काका दुई नाटक, नाटकको पुस्तक विमोचन र साङ्गितिक प्रस्तुति हुँदैछ । इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को मञ्चन हुँदैछ । छायाँ नाटक र कचहरि नाटकको मिश्रितशैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाइएको छ । नाटकले आघातबारे अन्तक्र्रियामा आधारित अभ्यासको उपयोग गर्दै छाँया माध्यमद्वारा नाट्य थेरापीको प्रयाससमेत गर्दछ । श्रीलङ्काको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदैछ । ‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा होनहार केटा नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा केटाले तीन फरक कथा सुनाउँछन् । पात्रहरुले आफ्नो नियतिको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकहरुले यी तीनमध्ये श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ । ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ रु’ शीर्षकमा प्यानल डिसकसन समेत आज हुनेछ । त्यहाँ साहित्यकार नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रङ्गकर्मी विमल सुवेदी, दिया मास्केसँग र लेखक, पत्रकार बसन्त बस्नेतले वार्ता गर्नेछन् । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको महोत्सवमा छैटौँ दिनको अन्तिम कार्यक्रममा कलाकार हुम विसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको साङ्गितिक प्रस्तुति दिनेछन् । मङ्सिर १७ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् । महोत्सवमा १८ नाटकका २५ मञ्चन तथा, अन्तक्र्रिया कार्यक्रम, कार्यशाला, सेमिनार हुँदैछ ।
राष्ट्र बैंकको नीतिले बैंकहरुको नाफा १५ प्रतिशत घट्छ : पवन गोल्यान
काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्ने बताएका छन् । उनले नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरुको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको बताएका हुन् । उनले मौद्रिक नीतिको समीक्षा समग्र अर्थतन्त्रको समस्या भन्दापनि बैंकको नाफा कम गर्ने हिसाबले आएको बताए । राष्ट्र बैंक बैंक तथा वित्तिय संस्थाहरुको अभिभावक भएपनि बैंकहरुलाई नै धरासायी बनाउने गरी मौद्रिक नीति ल्याएको उनले आराेप लगाएका छन् । ‘सबै क्षेत्र बच्नसक्ने गरी मौद्रिक नीतिको समीक्षा हुनुपर्नेमा त्यस्तो भएको छैन, मौद्रिक नीतिको समीक्षाले बैंकहरुलाई मात्रै टार्गेट राखेकाे छ, यसले बैंकहरु धरासायी हुन्छ, बैंक तथा वित्तिय संस्थाहरु देशको आर्थिक मेरुदण्ड हुन्, बैंकहरु धरासाही हुँदा सबै क्षेत्र धरासायी हुन्छ,’ उनले भने । बैंकहरुले जोखिम मूल्याङ्कन गरेर लगानी लगाउने भएकाले स्पेडदर घट्दैमा कसैलाई राहत नहुने उनी बताउँछन् । स्पेडदर ०.४ प्रतिशत कम भएको फाइदा ठूला व्यवसायीहरुले मात्रै लिनसक्ने उनकाे भनाइ छ । यस्तै, उनले रेमिट्यान्स आएको बेला मात्रै निक्षेप बढ्ने तर ९ प्रतिशतबाट निक्षेपको ब्याज बढाएर १२ प्रतिशत पुर्याउँदासमेत निक्षेप बढ्न नसकेको बताएका छन् । ‘पौषसम्ममा ३ प्रतिशतसम्म ब्याजदर कम हुनुपर्छ, बैंकहरुको खराब कर्जा बढ्नसक्ने अवस्था देखिएको छ, पौष महिनामा बैंकको पैसा रिफाइनान्समार्फत ७० अर्ब रुपैयाँ बाहिर जान्छ त्यसपछि अझ बढी तरलताको समस्या बढ्ने देखिन्छ,’ उनले भने । गोल्यानले निजी क्षेत्रले बुझ्दै नबुझी बैंकको ब्याजर घटाउँ मात्रै भनेर गाली गरेर मात्रै समस्याको समाधान नहुने बताए । ब्याजदर लगायतका समस्या समाधान गर्न बैंक र निजी क्षेत्र मिल्न आवश्यक रहेको उनी बताउँछन् । उनले आवश्यक हुँदा ब्याजदर घटाउनु पर्छ र तरलता सहजता बनाउनुपर्छ भन्ने पक्षमा बैंकहरु रहेको बताएका छन् ।
सुर्खेतमा नेशनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । खत्रीले अभिकर्ता पेशालाई ब्यवसायिक बनाउदै उनीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको ब्यवसाय प्रबर्द्धन गर्दै लैजाने कार्यक्रम आयोजना गर्दै आएको बताए । साथै प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा ऎन २०७९ का आधारभुत बिषयबस्तुको बारेमा पनि संक्षिप्त्तरुपमा प्रकश पारेका थिए । कम्पनीका बजार ब्यस्थापन बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ प्रस्तुति कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कर्यक्रममा सुर्खेत शाखाबाट उत्कृष्ट ब्यबसाय गर्ने अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान गरेका थिए । सुर्खेत शाखा प्रमुख बल बहादुर सिजपतीको सभपतित्वमा सम्पन्न उक्त कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।
मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा : मन्त्री चौधरी
काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौंमा पानी वितरण सुरु गरिने बताएका हुन् । गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ । पानी सुरुङमा हालेको करिब १० देखि १२ दिनपछि काठमाडौं पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले जानकारी दिए । मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दिर्घकालीन रुपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको जानकारी दिए । उनले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरु गर्ने बताए । सुरुङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताए । उनले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरुङमा हाल्न सफल भएकामा खुसी पनि व्यक्त गरे । निरीक्षणका क्रममा खानेपानी सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले समयमै अर्थात् मङ्सिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले माथिको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रुपमा नै समस्या समाधान गरिने जनाउँदै त्यसका लागि पनि काम सुरु भइरहेको बताए । अहिलेसम्म सुरुङ निर्माण र अन्य संरचना निर्माण गरेर ३४ अर्ब खर्च गरेको सरकारले अब करिब ३१ करोड रुपैयाँ खर्च गर्ने हो भने बाह्रैमहिना पानी लैजान सकिने सचिव गेलालले बताए । निरीक्षणका क्रममा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले स्थानीयको समस्या समाधान गरेर पानी लैजाने विषयमा आयोजना सकारात्मक रहेको बताए । उनले हेलम्बु गाउँपालिकालगायत स्थानीय तहले राखेका माग र यहाँका समस्या समाधानका लागि आयोजनाले काम गरिरहेको जानकारी दिए । निर्देशक श्रेष्ठले बाढीले क्षति पुर्याएका संरचना पुनःनिर्माण, यहाँका सडक स्तरोन्नति लगायतका समस्या समधान गर्न स्थानीय प्रभावित र सरोकारवालासँग निरन्तर छलफल र परामर्श भइरहेको पनि बताए ।