विकासन्युज

बंगालीले नबिल बैंक छोड्ने, साढे ७ अर्बको डिलमा चौधरी सफलता नजिक

काठमाडौं । नबिल बैंकले संस्थापक सेयरधनी इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी बैंक)ले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको हो । सोही अनुसार बैंकले उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीलाई आह्वान गरेको छ । आइएफआईसीले १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्री गरेर नविलबाट बाहिरिने निर्णय गरेको हो । आइएफआईसी बंगलादेशको सरकारी बैंक हो । यसले नेपाल बंगलादेश बैंकमा लगानी गरेको थियो । नेपाल बंगलादेश बैंक गत असारमा नविलमा बिलय भएकाे हाे । आइएफआईसीले सेयर बिक्री गर्न प्रस्ताव गरेकोले नबिल बैंकको सञ्चालक समितिले रितपूर्वक बिक्री र खरिद प्रकिया अघि बढाउने निर्णय गरेको छ । उक्त सेयर खरिद गर्नको लागि बैंकका संस्थापक सेयरधनीहरूलाई नै प्राथमिकता दिएको हुँदा इच्छुक तथा योग्य संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शिलबन्दी निवेदन दिनुपर्ने बैंकले एक सूचना मार्फत जनाएकाे छ । यदि उक्त मितिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न निवेदन पर्न नआए अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रकिया अगाडि बढाइने बैंकले जनाएको छ । उक्त सेयर किनबेचमा ७ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको करोबार हुने अनुमान गरिएकाे छ । बुधबार नेप्सेमा नविल बैंकको साधारण सेयर प्रतिकित्ता ८८२ रुपैयाँमा कारोबार भएको छ । संस्थापक सेयर ४७४ रुपैयाँमा किनबेच भएको छ । ठूलो कारोबार हुने भएकोले १ करोड ७७ लाख ३६ हजार कित्ता सेयरको लागि यति धेरै मूल्य हाल्दैनन् । साधारण सेयरको भन्दा आधा मूल्य तिर्ने हो भने पनि प्रतिकित्ता ४४० रुपैयाँ पर्छ । त्यसमा १५ रूपैयाँ घटेर ४२५ रुपैयाँको दरले किनबेच भयो भने पनि उक्त सेयर कारोबारमा ७ अर्ब ५३ करोड रुपैयाँको कारोबार हुनेछ । उक्त सेयर नबिल बैंकका मुख्य लगानीकर्ता विनोद चौधरीले किन्ने सम्भावना प्रवल छ । ‘विनोद चौधरी, उनको परिवार सदस्य वा उनको कम्पनीले यो सेयर किन्न सम्मावना बढी छ । हामी प्रक्रिया पुरा गर्ने मात्र हो’ नबिल बैंकका एक सञ्चालकले विकासन्युजसँग भने । गत वर्ष साविक नेपाल बङ्गलादेश (एनबि) बैंक हुँदा आइएफआईसी बैंकले उक्त सेयर बिक्रीमा राखेको थियो । त्यतिबेला पनि चाैधरीले किन्न प्रयास गरेकाे थिए । तर सफल भएनन् । मर्ज पूर्व नबिल बैंकमा चौधरीको ५५ प्रतिशतभन्दा बढी सेयर थियाे । बैंक सम्बद्ध स्राेतका अनुसार मर्जपछि चाैधरी ग्रुपकाे हिस्सा करिव ४५ प्रतिशत थियाे । आइएफआईसीको सेयर किन्न चौधरीलाई सफलता मिल्यो भने पुनः नविलका चौधरी ग्रुपको सेयर हिस्सा ५२ प्रतिशत भन्दा बढी हुनेछ । अहिले नविलमा आइएफआईसीको सेयर हिस्सा ७.७ प्रतिशत रहेको छ । यसपटक भने बंगालीको सेयर किन्न चौधरीलाई सजिलो छ । उनी सोही बैंकका संस्थापक मात्र भएन, बैंक सञ्चालक समितिमा पनि उनको पक्षमा स्पष्ट बहुमत रहेको छ । आइएफआईसीले सेयर बिक्री गर्न प्रस्ताव गरेपछि यसअघि  संस्थापक समूहका लक्ष्मी बहादुर श्रेष्ठ र जीत बहादुर श्रेष्ठले उक्त सेयर खरिद गर्ने प्रयास गरेका थिए । तर, राष्ट्र बैंकले मापदण्ड नपुगेको भन्दै रोकेको थियो । पुनः आइएफआईसी बैंकले संस्थापक सेयरधनीहरुबाट रितपूर्वक निवेदन नपरेको भन्दै जोकोही व्यक्ति तथा संस्थालाई बिक्री गर्न राखेको थियो । उक्त सेयर खरिद गर्न उद्योगी व्यवसायीहरुको ठूलै हानाथाप पनि भयो । उद्योगी व्यवसायीहरु विनोद चौधरी, शेखर गोल्छा, पशुपति मुरारका, मोतिलाल दुगड लगायतले उक्त सेयर खरिद गर्न चासो राखेका थिए । बोलकबोलमा जसको मूल्य बढी हुन्छ उसैलाई नै सेयर बिक्री गरिन्छ । जसमा सनराइज बैंकका अध्यक्ष मोसतलाल दुगडले गरेको बोलकबोलमा सबैभन्दा बढी मूल्य थियो । उक्त खरिद प्रक्रियाकाे विवाद अदालतमा चलिरहदा नेपाल बङ्गलादेश बैंक नविलमा हुन पुगेकाे थियाे ।

आदर्श लघुवित्तको सेयर फुकुवा, प्रतिकित्ता ३१८.७० मा कारोबार हुने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर फुकुवा गरेको छ । डिपोक्स लघुवित्त वित्तीय संस्थासँग मर्जर सम्झौता गरेका कारण रोक्का रहेको सेयर कारोबार फुकुवा भएको हो । लघुवित्तले मंसिर ११ गते पत्र पठाउदै कारोबार खुला गर्न नेप्सेलाई आग्रह गरेको थियो । सोही अनुसार नेप्सले आधारभुत सेयरधनी बाहेकका सेयरधनीहरुको कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर सम्बन्धी प्रकृयामा रही सेयर कारोबार रोक्का रहेको लघुवित्तको सेयर कारोबार फुकुवा भएको नेप्सेले बताएको छ । आज बिहीबारदेखि लघुवित्तको सेयर कारोबार हुनेछ । नेप्सेमा लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३१८.७० रुपैयाँ रहेको छ । यहि मूल्यका आधारमा बिहीबारदेखि सेयर कारोबार खुल्नेछ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई एक्वायर गत असोज १४ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । एक्वायरको प्रकृया सुरु गरेसँगै नेप्सेले असोज २३ गतेदेखि आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरेको थियो । हाल डिप्रोक्सको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ र आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी छ ।

युनाईटेड इदीको १०.५२६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीलेले सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (मंसिर १५ गते) अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल ायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते, बुधबार आभ्या क्लब, धारीपाटन, पोखरामा बिहान ११ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सेञ्चुरी बैंकको लाभांश घोषणा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर १४ गते बसेकोे बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १९८.८९ रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२ औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ । सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकबीच साउन १५ गते संस्था प्राप्ति सम्बन्धी सहमती भएको थियो । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरी पौष मसान्त भित्र एकिकृत कारोबार गर्ने गरी प्रक्रिया अगाडी बढेको सेञ्चुरी बैंकले जनाएको छ ।

एक हजारका ४३ करोड थान नोट छाप्न एक करोड ११ लाख खर्च लाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो । राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ । एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ । यसका लागि उसले एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलर (बुधबारको विदेशी विनिमय दरअनुसार रु एक अर्ब ४५ करोड ८६ लाख २० हजार) बराबर कबोलेको थियो । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बोलकबोल प्रतिस्पर्धाबाट कम्पनी छनोटका लागि ठेक्का प्रस्ताव आह्वान गरेको थियो । त्यसमा ब्राजिल, चीन र फ्रान्सका कम्पनीले पनि प्रस्ताव हालेका थिए तर आर्थिक र प्राविधिकरूपमा उपयुक्त रहेको भन्दै भारतीय कम्पनी छनोटमा परेको हो ।

उद्योगी र व्यवसायीको समस्या समाधान गर्न मौद्रिक नीतिको समीक्षा चुक्यो : परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योगी र व्यवसायीहरुको समस्या समाधान गर्न मौद्रिक नीतिको त्रैमासिक समीक्षा चुकेको बताएको छ । परिसंघले बुधबार विज्ञप्ती जारी गर्दै मौद्रिक नीतिको समीक्षामा भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने, परिलक्षित कर्जा प्रवाहलाई सहयोग पुर्याउने र तत्काल ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गरिनेछ भन्ने उल्लेख भए पनि ठोस कदमको अभावमा उद्योगी र व्यवसायीहरुको समस्या समाधान गर्न चुकेको बताएको हो । परिसंघले प्रथम त्रैमासमा अघिल्लो त्रैमासको तुलनामा मुल्य अभिबृद्धि कर, अन्त शुल्क तथा भन्सार राजश्वमा आएको कमीले अर्थतन्त्रमा २२ प्रतिशत योगदान रहेको, १७ लाख जनालाई रोजगारी दिईरहेको घरेलु तथा साना उद्योगहरु सबै भन्दा बढी प्रभावित भएको बताएको छ । कर्जाको ब्याज तथा किस्ता भुक्तानी गर्न नसक्ने अवस्थामा आफुहरु पुगेको उनीहरुले बताएका छन् । ‘कर्जाको ब्याज तथा किस्ता भुक्तानी गर्न नसक्ने अवस्थामा घरेलु तथा साना उद्योगहरु छन्, यस समस्याले ऋण नउठ्ने र बैंकको एनपीएल समेत बढ्ने देखिएको छ, यस्तो समस्याको समाधान गर्न त्यस क्षेत्रमा गएको कर्जाको बैंकको तजविजीमा एक पटकका लागि पुनर्संरचना, पुनर्तालिकिरण र पुनर्कर्जाको सुविधा दिन आवश्यक छ,’विज्ञप्तीमा भनिएको छ । यस्तै, परिसंघले हाल मुलुकको अर्थतन्त्रमा आर्थिक गतिविधि सुस्त हुनुमा पुँजी बजार तथा घर जग्गा कारोबारमा आएको मन्दी पनि एक कारण रहेको बताउँदै हाउजिङ्ग र कर्मशियल कम्पलेक्स निर्माणमा जाने कर्जालाई केही खुकुलो गर्न परिसंघ अनुरोध गरेका छ । संघले पुँजी बजारलाई हौसला पुग्ने नीति अबलम्बन गर्न सुझाव दिएको छ । कर्जाको ब्याज तथा किस्ता भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका उद्योगी व्यवसायीहरुको मनोबल खस्केको समयमा केन्द्रीय बैंकले जारी गरेको चालु पुँजी कर्जा सम्बन्धि मार्गनिर्देशनले उद्योगी व्यवसायीहरुलाई थप मार पारेको बताउँदै परिसंघले निर्देशनमा पुराना ग्राहकका लागि आवश्यक सुधारसहित न्यूनतम २ वर्ष पछि मात्र लागु गर्न आग्रह गरेको छ ।

सगरमाथा इन्स्योरेन्सले चार दिने बीमा अभिकर्ता तालिम दिने, कति लाग्छ शुल्क ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चार दिने बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि २४ गतेसम्म बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्न लागेको हो । उक्त तालिम कम्पनीको जनकपुर शाखा कार्यालयमा दैनिक ७ घण्टा अर्थात बिहान १० बजेदेखि ५ बजेसम्म हुने छ । साथै, जुमबाट पनि तालिम सञ्चालन गरिने इन्स्योरेन्सले जनाएको छ । यससँगै बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिहरु उक्त तालिममा सहभागि हुन पाउने छन् । जसको लागि उनीहरुले कम्पनीको कार्यालयमा निवेदन पेश गर्नुपर्ने छ । बीमा अभिकर्ताको बन्नको चाहने इच्छुक व्यक्तिले न्यूनतम एसएलसी उत्तीर्ण वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनु पर्ने छ । कम्पनीका अनुसार नीजले निवेदन दिँदा विभिन्न कागजातहरु पेश गर्नुपर्ने छ । उनीहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, पासपोर्ट साईजको ३ प्रति फोटो लगायतका कागजात कम्पनीमा पेश गर्नुपर्ने छ । त्यस्तै, उक्त तालिमको शुल्क एक हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी, संस्थागत बीमा अभिकर्ताको तालिम लिन चाहने संस्थाले निवेदन पत्र साथ विभिन्न कागजातहरु पेश गर्नुपर्ने छ । सहभागि संचालक पदमा बहाल रहेको कुन मिति देखि कुन मितिसम्म बहालमा रहेको) प्रमाण खुल्ने आधिकारीक पत्र, बीमा अभिकर्ताको तालिममा सहभागि हुने सम्वन्धि संचालक समितिको निर्णयको माईनुट उतार, कम्पनीको प्रमाण पत्र तथा नियमावली, कम्पनी दर्ता प्रमाण पत्र, भ्याट प्यान दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनुपर्ने छ । त्यसैगरी, निवेदन दिएको अघिल्लो आर्थिक वर्ष सम्मको कर चुक्ताको प्रमाण पत्र र लेखा परिक्षण भएको वित्तीय विवरण, सहभागि संचालकको न्यूनतम एस. एल. सी. उत्तिर्ण गरेको शैक्षिक योग्यता र नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि बुझाउनु पर्ने कम्पनीले जनाएको छ । संस्थागत बीमा अभिकर्ताको तालिममा सहभागि हुन पनि एक हजार रुपैयाँ शुल्क तोकिएको छ । कम्पनीका अनुसार उक्त तालिममा ३० जनालाई मात्रै समावेस गरिने छ । सो भन्दा बढीको निवेदन परेमा पहिलो दर्ता हुन आएको निवेदनलाई नै प्राथमिकतामा राखिने समते कम्पनीले जानकारी गराएको छ । तालिममा सहभागी हुन इच्छुकले कम्पनीले उपलब्ध गराएको नम्बर (मुकेश दासः ९८४४३१४०००) मा सम्पर्क गर्न सक्नेछन् ।

यी हुन् निकटतम प्रतिस्पर्धी भई पराजित हुने महिला उम्मेदवार, अधिकांश पूर्वसासंद

काठमाडौं । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका एक सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । ती मध्ये नौ महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा (एमाले)बाट बारा–३ बाट ज्वालाकुमारी साह, धनुषा–३ बाट जुलीकुमारी महतो, सुनसरी–३ बाट भगवती चौधरी र कास्की–२ बाट विद्या भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् । यसैगरी, तेह्रथुम–१ बाट नेपाली कांग्रेसकी सीता गुरुङ, दाङ–२ बाट नेकपा (माओवादी केन्द्र)की रेखा शर्मा, कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ, ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की र सोही पार्टीकी सोबिता गौतम काठमाडौं–२ बाट निर्वाचित भएकी छिन् । प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा निकटतम प्रतिस्पर्धीका रूपमा पराजित हुनेमा १५ महिला उम्मेदवार रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा एक, कर्णाली प्रदेशमा एक, लुम्बिनी प्रदेशमा पाँच, गण्डकीमा एक, बागमती प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा तीन निकटतम प्रतिस्पर्धी महिला उम्मेदवार बनेका छन् । पराजित हुने अधिकांश पूर्वसासंद छन् । प्रदेश १ मोरङ निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसकी सुजाता कोइराला एमालेका ऋषिकेश पोखरेलसँग एक हजार दुई सय आठ मतले पराजित भइन् । उनले ३१ हजार नौ सय ४० मत प्राप्त गरिन् । सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ जनता समाजवादी पार्टीका अशोक राईको निकटतम प्रतिस्पर्धी बनिन् । मतगणनाका क्रममा केही समय अग्रता लिनुभएकी तामाङ अन्तिम मतपरिणाममा भने चार सय ५३ मतान्तरले राईसँग पराजित भइन् । उनले १६ हजार छ सय छ मत ल्याएकी हुन् । एमालेकी मञ्जुकुमारी चौधरी उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्कासँग पराजित भएकी छिन् । डा खड्कासँग दुई हजार तीन सय ७९ मतान्तरले चौधरी पराजित भएकी थिइन् । मधेश प्रदेश सिरहा–२ मा जनता समाजवादी पार्टी (जसपा) का राजकिशोर यादवसँग कांग्रेसकी चित्रलेखा यादव एक हजार एक सय ५० मतान्तरले पराजित भइन् । चित्रलेखाले २३ हजार २८ मत प्राप्त गरिन् । कर्णाली प्रदेश जुम्ला–१ मा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीको निकटतम प्रतिस्पर्धी बनिन् । उहाँले ११ हजार नौ सय ५९ मत प्राप्त गर्नुभएको थियो भने शाहीले २२ हजार आठसय १९ मत प्राप्त गरेकी थिइन् । लुम्बिनी प्रदेश दाङ–१ मा एमालेकी शान्ता चौधरी नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीको निकटतम प्रतिस्पर्धी बनिन् । शान्ता मेटमणिसँग पाँच हजार ८३ मतान्तरले पराजित हुनुभयो । शान्ताले २१ हजार चार सय ९३ मत प्राप्त गरेकी थिइन् । दाङ–३ मा एमालेकी कोमल वली कांग्रेसका दीपक गिरीको निकटतम प्रतिस्पर्धी बनिन् । गिरी ३६ हजार नौ सय ११ मतसहित निर्वाचित भइन् । गिरीसँग सात हजार आठ सय १९ मतले वली पराजित भइन् । प्यूठान–१ मा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल एमालेका सूर्यबहादुर थापा क्षेत्रीसँग पराजित भइन् । थापा ४१ हजार एक सय १८ मत ल्याई निर्वाचित हुँदा पाँच हजार तीन सय चार मतान्तरले पौडेल पराजित भइन् । पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गरेकी थिइन् । अर्घाखाची–१ मा कांग्रेसकी पुष्पा भुसाल (गौतम) एक हजार सात सय ३० मतले एमालेका टोपबहादुर रायमाझीसँग पराजित भइन् । भुसालले ४० हजार नौ सय ४५ मत प्राप्त गरेकी थिइन् । गुल्मी–२ मा नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्री एमालेका गोकर्णराज विष्टसँग दुई हजार ३५ मतान्तरले पराजित भइन् । झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गरिन् । गण्डकी प्रदेश बागलुङ–२ मा एमालेकी मञ्जु शर्मा चार हजार छ सय एक मतान्तरले माओवादी केन्द्रका देवेन्द्र पौडेलसँग पराजित भइन् । शर्मा २० हजार एक सय ९३ मत प्राप्त गरी पौडेलको निकटतम प्रतिस्पर्धी बनिन् । बागमती प्रदेश मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना) दुई हजार तीन सय ८६ मतान्तरले राप्रपाका सिंहसँग पराजित भइन् । सुदूरपश्चिम प्रदेश कञ्चनपुर–१ मा एमालेका तारा लामा तामाङ निर्वाचित भइन् । उहाँको निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी बीना मगर थिइन् । पाँच हजार पाँच सय ४३ मतान्तरले पराजित भएकी मगरले १९ हजार चार सय मत प्राप्त गरिन् । कन्चनपुर–३ मा कांग्रेसका रमेश लेखकसँग एमालेकी निरुदेवी पाल १२ हजार ९० मतान्तरले पराजित भइन् । डोटी–१ मा एमालेकी गौरीकुमारी ओली, एकीकृत समाजवादीका प्रेमबहादुर आलेसँग चार हजार दुई सय छ मतान्तरले पराजित भइन् । ‘आन्तरिक सङ्गठन बलियो भएन’ एमालेकी गौरीकुमारी ओली भन्छिन्, ‘मैले जति मत पाएकी छु त्यो जनताले स्वःस्फूर्त दिएको मत हो । म उहाँहरूको मनमा बस्न सफल भएको छु ।’ सोही पार्टीकी कमल वली मतदाता शिक्षाका अभावमा बदरमतको कारण पनि आफ्नो मत काटिएको बताउँछिन् । पराजित भएपछि निर्वाचन समीक्षा गर्दै एमालेकी पाल भन्छिन्, ‘मेरो हारको मुख्य चुनौती गठबन्धन बन्योे ।’ गठबन्धनका तर्फबाट कांग्रेसकी पराजित कोइराला भन्छिन्, ‘गठबन्धन भित्रबाटै सहयोग भएन, आन्तरिक सङ्गठनहरू बलियो भएन, मलाई गठबन्धनका सबै दलबाट भोट प्राप्त भएन.’ सोही पार्टीकी यादवले भनिन्, ‘गठबन्धनभित्रका साथीहरूबाट नै मत पाइनँ । हामीले सुरुमा आकलन गरेको गठबन्धनको मतले मेरो जित सुनिश्चित थियो । मैले उहाँहरूलाई विश्वास गरेँ । अन्तिममा भित्रबाटै धोका भयो ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका तामाङले निर्वाचनमा पहिलोपटक उम्मेदवार हुँदा जनताले विश्वास गरेर आफूलाई दिएको मत महत्वपूर्ण रहेको बताइन् ।