विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, उडान प्रभावित हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ । विमानस्थलमा जडान गरिएको उपकरण परीक्षणका क्रममा विमानस्थलमा क्लालिब्रेसन फ्लाइट हुँदा बिहीबारको उडान प्रभावित हुने भएको हो । विमानस्थल कार्यालयले बिहीबार बिहान ९ बजेदेखि नोटाम जारी गरेको गर्दै उडान प्रभावित हुने जनाएको छ । विमानस्थलका उपकरण परिक्षण गर्न थाई एयरले क्लालिब्रेसन फ्लाइट गर्न लागेको विमानस्थलका महाप्रवन्धक प्रेम ठाकुरले बताए । उनले उपकरण परीक्षण गर्न ६ घण्टाजतिसमय लाग्ने भन्दै उडान डिले हुने जानकारी गराए । उनले बिहान ९ बजेदेखि नै क्लालिब्रेसन उडान गर्ने तयारी गरिए पनि भिजिबिलिटी कम हुँदा क्यालिब्रेसन उडान सुचारु हुन सकेको छैन् । विमानस्थल कार्यालयले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मका लागि नोटाम जारी गरेको छ । क्लालिब्रेसनसँगै नियमित उडान बीचमा हुने ठाकुरले जानकारी दिए । बिहीबार अन्तर्राष्ट्रिय तर्फ ८० उडान तथा अवतरण र आन्तरिक तर्फ ३ सय उडान तालिका रहेको जनाईएको छ ।
दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्दै नेपाल एयरलाइन्स
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । निगमले आगामी पुस ४ गतेदेखि ती दुई गन्तव्यमा उडान सञ्चालन गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले उडान अनुमति दिएको जनाइएको छ । निगमका प्रवक्ता अर्चना खड्काले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने उडान तालिका स्वीकृत भएको जानकारी दिए । उनका अनुसार साताको दुई दिन आइतबार र मङ्गलबार काठमाडौं–दोहा–भैरहवा–काठमाडौं र साताको एक दिन क्वालालम्पुरदेखि भैरहवा उडान गरेर उक्त जहाज काठमाडौं आउनेछ । यसैबीच निगमको भारतको नयाँदिल्ली गन्तव्यमा साताको १४ उडान हुने भएको छ । यसअघि कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुनःस्वीकृत भएको निगमले जनाएको छ । निगमले काठमाडौं–दिल्ली गन्तव्यमा अव दैनिक दुई उडान गर्नेछ । पछिल्लो एक महिनादेखि निगमले उक्त गन्तव्यमा साताको १० उडान गर्दै आएको थियो । तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडान गर्नुपर्ने क्यानको बाध्यकारी निर्णपछि निगमको दिल्ली उडान कटौती भएको थियो ।
आईसीएफसी फाइनान्सको लाभांश घोषणा
काठमाडौं । आईसीएफसी फाइनान्सले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्स कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक हो : नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताएका हुन् । ‘गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ ।’ उनले भने, ‘म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।’ पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले बताए । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ । ‘सबै साथी खुला नै छन्, सभापति र अरु साथीहरु पनि खुला छन् । तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो ।’ उनले भने, ‘पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरुपमा नै लिएका छन् । सल्लाह गरौला भनेका छन् । सल्लाह हुन्छ ।’ टिकट वितरण गर्दा गठबन्धन दलहरुबीच तालमेल नमिलेका कारण निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नु परेको उनले बताए । युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने नेता पौडेलले बताए । फरक शक्तिको आगमनलाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ । उनले भने, ‘नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले लिएको छु ।’
दोलखाको १० मतदान केन्द्रमा मतदान सुरू
दोलखा । दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो । त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदान सुरू भएको छ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।
विश्वकप फुटबल प्रतियोगिता : अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा
काठमाडौं । अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलअन्तरले हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । खेलको ३९औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर खेलको ४६औँ मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६७औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्न सफल भयो । अर्जेन्टिनाले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोड्यो । पोल्याण्ड पनि समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो । त्यसैगरी गए राति कतारको लुसाइल रङ्गशालामा सम्पन्न खेलमा मेक्सिकोले साउदी अरबलाई २–१ गोल अन्तरले पराजित ग¥यो । खेलको ४७औँ मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ५२औँ मिनेटमा लुइस चाभेजले गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा साउदी अरबका सलिम अल्दावसरीले सान्त्वना गोल गरे । समूह ‘सी’ बाट साउदी अरब र मेक्सिको समूह चरणबाट बाहिरिएका छन् । चार अङ्क जोडेको मेक्सिको तेस्रो स्थानमा रह्यो भने तीन अङ्क जोडेको साउदी अरबले अन्तिम स्थानमा रहँदै विश्वकपको यात्रा टुङ्गायो ।
नबिल बैंकले काठमाडौं महानगरपालिका २० मा रहेको जग्गा बिक्री गर्दै
फाइल फाेटाे काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानको घररजग्गा बिक्री गर्ने भएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा २० मा रहेका दुइ वटा घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले काठमाडौं महानगरपालिका २० (साविक वडा नम्बर ३१) नम्बर वडामा रहेका कित्ता नम्बर १५०६ र १५०९ का क्रमशः ६३.५८ वर्गमिटर र ५८६.२४ वर्गमिटर क्षेत्रफलमा रहेको घरजग्गा बिक्री गर्ने जनाएको छ । उक्त घर–जग्गा खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले आफूले लिन चाहेको मूल्य उल्लेख गरी सूचना प्रकाशन भएको १५ दिन अर्थात् मंसिर २९ गतेभित्र प्रशासन विभाग, घण्टाघर, काठमाडौंमा शीलबन्दी बोलपत्र पेश गर्न बैंकले भनेको छ । प्राप्त भएका बोलपत्र पौष १ गते शुक्रबार ११ बजे बालपत्र दाताको रोहबरमा खोलिने बैंकले जनाएको छ । आफूले कबोल गरेको रकमको कम्तिमा १० प्रतिशत रकम धरौटी वापत नबिल बैंकको शाखामा जम्मा गरी सक्कल भौचरसमेत बोलपत्रमा समावेश गर्नुपर्नेछ ।
हिमालयन एभरेष्टले १ हजार ७ सयलाई कोरोना बीमा दाबी भुक्तानी गर्ने
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कोरोना बीमा दाबी भुक्तानी सुरु गरेको छ । अर्थ मन्त्रालय र बीमा प्राधिकरणको निर्देशन बमोजिम पहिलो दावी गर्नेलाई पहिलो प्राथमिकतामा राख्दै कोरोना बीमा भुक्तानी गर्ने इन्स्योरेन्स कम्पनीले जनाएको छ । साविक एभरेष्ट इन्स्योरेन्सबाट ३ हजार १५६ र हिमालयन जनरल इन्स्योरेन्सबाट ३ हजार २९६ कोरोना कोरोना बीमा दाबी गरेर भुक्तानी पाउन बाँकी रहेका थिए । हाललाई भुक्तानी पाउन बाँकी एकल र पारिवारिक बीमालेख धारक दावीकर्ताहरु मध्ये एभरेष्ट इन्स्योरेन्सबाट ५५८ र हिमालयन जनरल इन्स्योरेन्सबाट १ हजार १४३ गरी कूल १ हजार ७०१ दाबीकर्तालाई मंसिर १३ देखि भुक्तानी गर्न सुरु गरिएको जनाएको छ । राष्ट्र सेवक कर्मचारी र संघ संस्थाले बीमा शुल्क तिरेर कोरोना बीमा गर्नेहरुलाई दोश्रो प्राथमिकतामा राखेको एभरेष्ट इन्स्योरेन्सले बताएको छ । बाँकी दाबीको भुक्तानीका लागि पुनः जानकारी गराईने कम्पनीले जनाएको छ ।