
स्याङ्जा । स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी भएका छन्। भर्खरै सम्पन्न मतगणनाबाट प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए। उनले ३१ हजार चार सय ६६ मत प्राप्त गरेका छन् । उनीसँग प्रतिस्पर्धामा रहेकी एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरेकी छन् । यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गरेका छन्। स्याङ्जा–२ (२) मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई विजयी भएका छन् । भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गरेका छन् । भट्टराई एक हजार सात सय ८६ मतान्तर सहित विजयी भएका हुन् ।