विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा
काठमाडौं । इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३(० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले ३(० ले जित्यो । इङ्ग्ल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।
नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । आइतबार साँझ बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । स्रोतका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब नाघ्नेछ । बीमा प्राधिकरणले तोकेको २ अर्ब ५ करोड रुपैयाँ पूँजी पुर्याउन कम्पनीलाई ५० करोड रुपैयाँ आवश्यक पर्नेछ । हाल प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बराबर हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई १५.५ प्रतिशत बोनस सेयर र ०.८२ प्रतिशत नगद गरी कूल १६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रभु बैंकले १४ जिल्लाका २९ ठाउँको घरजग्गा बेच्दै
काठमाडौं । प्रभ बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न १४ जिल्लाका २९ स्थानमा रहेका घरजग्गा बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने जनाएको छ । बैंकले गैर बैंकिङ्ग सम्पत्ति (घरजग्गाहरु) जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने जनाएको छ । उक्त घरजग्गा खरिद गर्न ईच्छुक व्यक्ति तथा संस्थाहरुले कबुल रकमको १० प्रतिशत रकम धरौटी राखि सूचना प्रकाशित भएको मितिले ७ दिन अर्थात् मंसिर २५ गतेभित्र बैंकको प्रधान कार्यालय काठमाण्डौमा बोलपत्र पेश गर्न सक्नेछन् । प्राप्त हुन आएका बोलपत्रहरु मंसिर २६ गते खोलिने छ । बैंकले मालपोत कार्यालय सुनसरी, मालपोत कार्यालय काभ्रे, मालपोत कार्यालय धादिङ, मालपोत कार्यालय ललितपुर, मालपोत कार्यालय हरिवन सर्लाही, मालपोत कार्यालय विराटनगर मोरङ्ग, मालपोत कार्यालय कावासोती नवलपरासी, मालपोत कार्यालय भैरहवा रुपन्देही, मालपोत कार्यालय वालिङ स्याङ्जा, मालपोत कार्यालय सिन्धुपाल्चोक, मालपोत कार्यालय भद्रपुर झापा, मालपोत कार्यालय टोखा सरस्वती काठमाण्डौमा, मालपोत कार्यालय चितवन, मालपोत कार्यालय दोलखा र मालपोत कार्यालय कलंकीमा दर्ता भएका घरजग्गा बिक्री गर्ने भएको हो । बैंकको ब्यापार व्यवसाय पनि खुम्चिएको बेला प्रभु बैंकले आफ्नो गैर–बैंकिङ सम्पत्ति बिक्री गरेर बैंकलाई दिगो बनाउन खोजिरहेको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले प्रोभिजनमा कडाइ गर्दा र गैर–बैंकिङ सम्पत्तिलाई बिक्री गर्न बैंकहरुलाई सर्कुलर नै जारी गरेको छ । सोही अनुसार बैंकले गैर–बैंकिङ सम्पत्ति बिक्री गर्न लागेको हो । बैंकले यति ठूलो घरजग्गा बिक्री गरेपछि बैंकको नाफा बढ्ने देखिन्छ ।
प्रतिकित्ता १८० मा एनएमबि बैंकको साढे ४४ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको सेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्ने भएको हो । बैंकले मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । बैंकको संस्थापक समूहतर्फको ४४ हजार ७६१ कित्ता सेयर संस्थापक समूहमा नै रहने गरी लिलाम बढाबढद्वारा बिक्री गर्न बैकको संचालक समितिको निर्णय भएको हो । उक्त सेयर लिलाम बढाबढको माध्यमबाट विद्यमान संस्थापक तथा अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिनेछ । उक्त सेयरहरू खरीद गर्न ईच्छुक संस्थापक सेयरधनी, व्यक्ति तथा संगठित संस्थाले पुस ४ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आइपुग्ने गरी आफूले चाहेको मूल्य तोकी आवेदन दिनुपर्नेछ । बैंकको उक्त सेयर बिक्रीको लागि प्रस्ताव गरिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
नबिल फ्लेक्सी क्याप फण्डका इकाई बाँडफाँट
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी म्युचुअल फण्ड नबिल फ्लेक्सी क्याप फण्डका इकाई बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले कात्तिक २३ गतेदेखि मंसिर ७ गतेसम्म प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ७ करोड ५० लाख इकाई बिक्री खुला गरेको थियो । जसमध्ये १ करोड १२ लाख ५० हजार वा कुल निष्काशन गरिने इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धकका लागि १४ प्रतिशत अर्थात् १ करोड ५ लाख इकाई र योजना व्यवस्थापकका लागि १ प्रतिशत अर्थात् लाख ५० हजार इकाई छुट्याइएको थियो । बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गरिएको थियो । उक्त फण्डमा परेकोे इकाई मंसिर १८ गतेको दिन बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
राधी विद्युतको सेयर बाँडफाँट, कट अफ प्राइस १९५ रुपैयाँ
काठमाडौं । राधी विद्युत कम्पनीको अवितरित हकप्रद सेयर बाँडफाँट गरिएको छ । कम्पनीले कात्तिक २९ गतेदेखि मंसिर ८ गतेसम्म सर्वसाधारण समूह तर्फको १३ लाख ५२७ कित्ता अवितरित हकप्रद सेयर शिलबन्दी बोलपत्रद्धारा खरिद आह्वान गरेको थियो । उक्त अवधिमा परेको आवेदन मंसिर १४ गतेका दिन खोली मंसिर १६ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँट गरेको कम्पनीले जनाएको छ । बाँडफाँटमा नपरेको सेयर वापतको रकम फिर्ता भुक्तानी मंसिर २० गतेदेखि आवेदकहरुले आवेदन फाराममा उल्लेख गरेको बैंक र वित्तीय संस्थाको खातामा आईपीएसमार्फत रकमान्तर गरिने कम्पनीले बताएको छ । साथै आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गरि रकम जम्मा नभएको खण्डमा मुक्तिनाथ क्यापिटलमा सम्पर्क राख्न हुन कम्पनीले आग्रह गरेको छ । बाँडफाटको अन्तिम मूल्य (कट अफ प्राइस) १९५ रुपैयाँ रहेको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको कम्पनीले बताएको छ । बाँडफाँटको विवरण बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेभसाइटमा हेर्न सकिनेछ ।
कामना सेवा विकास बैंकद्वारा तिलोत्तमामा २६ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
काठमाडौं । कामना सेवा विकास बैंकले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा आइतबारबाट रुपन्देही जिल्लाको तिलोत्तमा नपा. वडा नं. ०३ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचन र वडा नं। ०३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले संयुक्त रुपमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । तिलोत्तमा न .पा. वडा नं ०३ स्थित न्यू पाल्पाली जनरल स्टोर्स (प्रो. मुना घिमिरे) शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त भएकाे छ । शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।
नेपालको अर्थतन्त्रका चुनौतीका बारेमा सिबिफिन र आईएमएफबीच छलफल
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग भेटघाट तथा छलफल गरेको छ । उक्त छलफलमा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, व्याजदर, लगानी योग्य रकमको अभावलगायतका विषयले बैंक तथा वित्तीय संस्थाहरूमा चुनौती सृजना हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न आइएमअफका प्रतिनिधिसमक्ष आग्रह गरेका छन् । सिबिफिनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसँगको छलफल बैठकमा आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले अहिले नेपालको मात्र नभई विश्व अर्थतन्त्रको अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै संयुक्त राज्य अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्तिको अवस्था खल्बलिदा ब्याजदर समेत उच्च भइ मुद्रास्फिति बढेको बताएमि छिन् । वर्तमान विषम परिस्थितिलाई सहज बनाउनका लागि सबै देशहरुले आफ्नो मौद्रिक नीतिमार्फत सावधानीपूर्वक परिस्थितिसँग सामना गर्न तयार हुनुपर्ने उनले बताइन् । नेपालको अर्थतन्त्र विश्वका दुई ठूला अर्थतन्त्र र बजार भएका भारत र चीनको वीचमा रहेकोले नेपालले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व वृद्धि, आन्तरिक उपयोगमा प्रोत्साहन र विशिष्ट विशेषता भएका मौलिक उत्पादनहरुको निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने उनको सुझाव छ । त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले बैंक तथा वित्तीय संस्थाहरुको नन–फण्डेड आम्दानी कम हुँदै गएको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो उत्पादन र लगानीका क्षेत्रहरु आफै पहिचान गरी अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले कम उत्पादनमुलक क्षेत्रमा अत्यधिक लगानी भएको कारण पनि नेपालको उत्पादन प्रणाली र कृषि क्षेत्र कमजोर रहेको टिप्पणी गर्दै, त्यसको प्रत्यक्ष असर आयातमा परेको बताए । उत्पादनमुलक क्षेत्रमा लगानी विस्तारसहित उत्पादकत्व अभिवृद्धि, नेपाली उत्पादनहरुको उपभोगलाई प्रोत्साहन र मौलिक उत्पादनहरुको निर्यात प्रवद्र्धनमा जोड दिने खालका नीतिगत सुधार गर्न सकेमा मात्र आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा बदल्दै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सहयोग पुग्ने बताए । सिविफिनका उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले नेपालको आर्थिक एवं वित्तीय क्षेत्र सुधार र स्थायित्वका विविध क्षेत्रहरुमा आइएमएफ र सिबिफिनवीच पारस्पारिक सहयोग र सहकार्य अत्यावश्यक रहेको बताएका छन् ।