डेभिज फल्स अवलोकन गर्ने पर्यटक बढे, वार्षिक दुई करोड आम्दानी
पोखरा । हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो फेवातालको निकासको रुपमा रहेको पाताले छाँगो । पोखरा–१७ को छोरेपाटनमा रहेको यस छाँगोले पर्यटकलाई सधै लोभ्याइरहेको छ । जमिनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना बर्खायाममा ठूलो र आकर्षक देखिन्छ । पर्यटकलाई लोभ्याउने पाताले छाँगोलाई ‘डेभिज फल्स’ भनेरसमेत चिनिन्छ । कोभिडका कारण दुई वर्षदेखि छाँगो अवलोकन गर्नेको कमी आएपनि दसैँपछि पर्यटकको सङख्या ह्वात्तै बढेको छ । अहिले अधिकांश भारतीय पर्यटक र शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू बढी हुने गरेको जानकारी पातले छाँगोस्थित टिकट काउन्टरका प्रमुख सुरेन्द्र सापकोटाले दिए । सबै देशका गरी यतिबेला दैनिक तीनदेखि तीन हजार पाँच सयको सङ्ख्यामा छाँगो अवलोकन गर्न आउने पर्यटकको तथ्याङ्क पनि सापकोटाले दिए । दशैं अघि दैनिक हजारको सङ्ख्यामा अवलोकन गर्न पर्यटक आउथे । सोमबार दिउँसो पातले छाँगो अवलोकन गर्न पुगेकी भारत विहार प्रदेश निवासी पुनम कुमारीले भने, ‘पातले छाँगो निकै सुन्दर लाग्यो, यहाँका फेवा ताल, गुप्तेश्वर र महेन्द्र गुफा, म्युजियम लगायत अन्य ठाउँ सुन्दर छन् ।’ स्पेनबाट आएका दुई पर्यटक पातले छाँगो अवलोकनपछि भन्दै थिए, यस्ता प्राकृतिक झरनाले हाम्रो मन निकै लोभ्यायो । सहर नजिकै फेवाताल, डेभिज फल्स, बेगनास, माछापुच्छ्रे हिमाल जस्ता प्राकृतिक सम्पदा देख्न पाउँदा आनन्दित भएको उनीहरु बताउँछन् । पातले छाँगो अवलोकन गरेबापत प्रवेश शुल्कबाट वार्षिक दुई करोड रुपैयाँ बढी आम्दानी हुन्छ । छाँगो सञ्चालन र संरक्षणको जिम्मा स्थानीय छोरेपाटन माविले लिएको छ । उक्त शुल्कबापत हुने आम्दानी निजी स्रोतबाट राखिएका ७० शिक्षकको तलब र छाँगोमा परिचालित कर्मचारीको तलबका साथै बाँकी रकम त्यहीको संरचना निर्माणमा खर्च गर्ने गरेको उक्त विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले बताए । प्रधानाध्यापक शर्माका अनुसार विद्यालयमा दुई हजार तीन सय विद्यार्थी छन् । त्यहाँ सरकारीस्तरबाट २५ शिक्षक दरबन्दी छन् । निजीस्तरबाट ७० शिक्षक तथा कर्मचारी रहेका हुँदा शुल्कबाट उठेको रकम अधिकांश तलब भत्तामा नै खर्च हुने गर्छ । २०३५ सालदेखि विद्यालयले पाताले छाँगो अवलोकन गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउँदै आएको हो । आम्दानीको ४० प्रतिशत पाताले छाँगो व्यवस्थापन र बाँकी ६० प्रतिशत विद्यालयको शैक्षिक भौतिक विकासका लागि खर्च गरिने जानकारी शर्माले दिए । यहाँको पर्यटकहरु सेल्फी खिच्दै छाँगोबाट आइरहेको पानीको शीतलतामा रमाइरहेको यहाँ पुग्ने जोकोहीले सजिलै हेर्न सकिन्छ । डेभी नाम गरेकी एक स्विस पर्यटक सन् १९६१ यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो । पाँच सय मिटर भूमिगत जल प्रवाह र सय फिट गहिराइ रहेको छाँगोमा निरन्तर जल प्रवाह भइरहन्छ भने जेठदेखि असोज महिना छाँगो हेर्न आकर्षक मानिन्छ । छाँगो वरिपरिका फूलका बगैँचा, परम्परागत घर, हिमालका कृत्तिम दृश्य, बुद्धका मूर्ति र विभिन्न जनजातिका पोसाकसहितका तस्बिर खिच्ने ठाउँहरुले पनि पर्यटकलाई लोभ्याएको पाइन्छ । करिब १२ रोपनी क्षेत्रफलमा रहेको यस पर्यटकीयस्थलमा आन्तरिक र भारतीय पर्यटकको चाप हुने गरेको छ । अवलोकनका लागि टिकट दर प्रतिविद्यार्थी २० रुपैयाँ, नेपाली ४० रुपैयाँ र विदेशीलाई ८० रुपैयाँ र तेस्रो मुलुकका विदेशीका लागि रु सय तोकिएको छ ।
निर्बु बराहलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल, ४० लाखमा मन्दिर पुनर्निर्माण
दमौली । चारैतिर जङ्गलले घेरिएको ठाउँ । जङ्गलको खोँचमा आकर्षक मन्दिर । मन्दिरको आडैमा पोखरी, पोखरीमा खेलिरहेका माछा । दमौलीबाट आठ किलोमिटर दूरीको व्यास नगरपालिका–११ निर्बुस्थित निर्बु बराहलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय लागेका छन् । यस क्षेत्रको प्रचारसहित पर्यटक भित्र्याउन स्थानीय सक्रिय भएको निर्बु बराह मन्दिर संरक्षण समितिका अध्यक्ष तुलसीराम भण्डारीले जानकारी दिए । ‘पौराणिक महत्वको यस ठाउँ पहिला उराठलाग्दो थियो, स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि यस ठाउँले गति लिन थाल्यो ।’ पहिला जीर्ण र सानो रहेकामा हाल मन्दिर पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । ‘विसं १९४६ मा धर्मराज अधिकारीले दिएको घण्ट फेला परेको छ, यो पुरानै मन्दिर हो’, भण्डारीले भने । विगतमा यस ठाउँका केही संरचना चोरी भएको बताइन्छ । ‘घण्टहरु लथालिङ्ग थिए, स्थानीय पूर्णबहादुर गुरुङको सक्रियतामा मन्दिर बनाएपछि अलि व्यवस्थित भयो’, भण्डारी सम्झिन्छन्, ‘अहिले स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा मन्दिर पुनर्निर्माण गरेका छौँ ।’ मन्दिर संरक्षण समितिका सचिव गुप्तमान गुरुङका अनुसार करिब ४० लाख रुपैयाँमा मन्दिर पुनर्निर्माण गरिएको छ । पुर्ननिर्माणलाई सङ्घीय सरकारबाट सात लाख ५५ हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट १५ लाख ७२ हजार रुपैयाँ, व्यास नगरपालिकाबाट छ लाख ९५ हजार रुपैयाँ सहयोग भयो । स्थानीयकै सक्रियतामा ११ लाख ३० हजार रुपैयाँ चन्दा सङ्कलन गरियो । उनका अनुसार प्रवेशद्वार, कम्पाउन्ड निर्माण गर्न बाँकी छ । ‘यसका लागि तीन वटै तहका सरकारबाट बजेटको अपेक्षा गरेका छौँ,’ गुरुङ भन्छन् । समितिका पूर्वाध्यक्ष सोमबहादुर गुरुङ यस ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्ने सोच राखिएको बताउँछन् । मन्दिरका पुजारी बलवीर थापाका अनुसार मनले चिताएको कुरा पूरा गर्ने विश्वासका साथ यहाँ भक्तजन पूजाआजालाई आउछन् । यहाँ पञ्चबलि दिन जिल्लाभित्र र बाहिरबाट भक्तजन आउछन् । मन्दिरमा दसैँ, पुस १५ मा भक्तजनको बढी भीडभाड हुन्छ । काठमाडौं, पोखरा, चितवनलगायत ठाउँबाट भक्तजन पञ्चबलि दिन आउने गरेको मन्दिर संरक्षण समितिका उपाध्यक्ष उदयचन्द्र पौडेलले जानकारी दिए । निर्बु बराह सामुदायिक वनभित्र रहेको मन्दिर आसपास पहिरा जान सक्ने सम्भावना भएकाले पर्खाल लगाइएको छ । मन्दिर नगरपालिकाको धार्मिक पर्यटकीयस्थल भएकाले नगरपालिकाका तर्फबाट सक्दो सहयोग गने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । रासस
नेपाल एसबीआई बैंकको अध्यक्षमा जयती बन्सल
काठमाडौं । नेपाल एसबीआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त भएकी छिन् । मंसिर २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक बन्सललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो । बैंकको संस्थापक सेयरधनी स्टेट बैंक अफ इण्डिया (एस.बी.आई.) ले बन्सललाई मनोनित गराएर पठाएको हो । यसअघि उक्त पदमा सोही बैंकको तर्फबाट राजिब अरोराले प्रतिनिधित्व गर्दै आएका थिए ।
गीतसंगीत र चलचित्र क्षेत्रमा ठगि गर्ने गिरोह सक्रिय छन् : गीतकार अनु शाह
काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र निर्मात्री अनुराधा शाह नेपाली गीतसंगीत र साहित्यकी धरोहर हुन् । बिद्यालय जीवन देखिनै राष्ट्रिय नाँच घरमा नाटक प्रस्तुत गर्ने, रेडियो नेपाल र रंगमन्चमा अभिनय गर्न सुरु गरेकी शाह कुनै समय एक कुशल मोडल र पत्रकारको रुपमा समेत देखापरेकी थिइन् । काठमाडौं सितापाईलामा स्वर्गिय पिता लालबिक्रम शाह र माता दया देबि शाहकी प्रथम सन्तानको रुपमा जन्मिएकी अनु शाह उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेकी थिइन् । उनले अमेरीकाको नर्थ वेस्टर्न बिश्वबिध्यालय बाट बाल मनोबिज्ञानमा स्नातकोत्तर गरेकी छिन् । सानै देखि कला क्षेत्रमा प्रवेश गरेकी प्रख्यात गीतकार साहित्यकार अनु शाहको दुइ सय भन्दा बेसी गीतहरु रेकर्ड भईसकेका छन् भने दुइ दर्जन गीतका म्यूजिक भिडियो समेत आफैले निर्माण गरिसकेकी छिन् । बहुप्रतिभाशाली लोकप्रिय गीतकार अनु शाहले लेखन संगै अभिनय र निर्माण पक्षमा समेत उत्तिकै ससक्त भएर नेपाली कला साहित्य क्षेत्रमा योगदान पुर्याउदै आएकी छिन् । चलचित्र भिमदत्तमा सह-निर्मात्री रहेकी उनले ‘सुक्का मानो’ र ‘उफ्फ यो मन’ नामका चलचित्र निर्माण गरेकी छिन जुन अहिले प्रदर्शनको पर्खाईमा छन् । साहित्यकार शाहले नेपाली भाषा साहित्यमा मात्र नभै हिन्दी, अंग्रेजी, नोवारी र मैथली भाषामा पनि थुप्रै गीत र कबिता लेखेकी छिन् । ‘कम टेक माई ह्याण्ड, ह्वोईन आईएम फिलिंग डाउन…’ गायिका शितल मोक्तानले गाएको निकै चर्चित अंग्रेजी गीत हो । गीतकार संघको आजिबन सदस्य रहेकी शाह राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ-संस्थाहरु अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र ज्योती साहित्य प्रतिष्ठानमा लाईफटाईम मेम्बर हुन् भने रेडियो हिमालयनको गार्जेन मेम्बर हुन् । कला साहित्य विधामा उल्लेखीय योगदान पुर्याउदै आएकी अनुराधा शाहले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा अवार्डहरु हासिल गरिसकेकी छिन् । सामाजिक कार्यमा समेत उत्तिकै रुचि राख्ने उनले नेपालका धेरै संघ संस्थामा आश्रित अनाथ असहाय, दुखि पिडित बेसहाराहरुलाइ बिदेशमा रहेर पनि सहयोग गर्दै आएकी छिन् । प्रबास रहेपनि संधै नेपाललाई माया गर्ने अनु शाह कला साहित्यकी मुर्धन्य व्यक्तित्व हुन् । पेशाले शिक्षिकाको रुपमा कार्यरत गीतकार अनु शाह ब्यस्त समयको बाबजुद पनि नेपाली गीतसंगीत र कला साहित्यमा दरिलो खम्बा बनेर नेपाली सांगीतिक आकाशमा नक्षत्रको रुपमा स्थापित भएकी छिन् । उनको लेखन शैली उनको शब्द चयन देखि उनको प्रस्तुति समेत उत्कृष्ट रहेको यस क्षेत्रका जानकारहरु बताउँछन् । समग्र नेपाली मनोरंजन क्षेत्रमा करडौ लगानी गरेकी गीतकार तथा निर्मात्री अनु शाहलाइ केहि संगीतकार, चलचित्र निर्माता, निर्देशक देखि अन्य केहि व्यक्तिहरुले ठगि गरेको बताउछिन् । उनि भन्छिन सुरुमा मिठो र राम्रो राम्रो कुरा गरि बिश्वास दिलाएर काम र पैसा लिन्छन पछि कुनै काम समयमा गर्दैनन् त्यसैले नेपालमा पैसा लगानी गर्नु भन्दा पहिले सोच्नु पर्ने रहेछ। बिश्वासको आधारमा लगानी गरेर आफु डुबेको उनि दुखेसो पोख्छिन्। थुप्रै कामहरु रोकिरहेको छ, गित संगीत र रचनाहरु हराईरहेका छन्, चलचित्र तयार भएर पनि प्रदर्शन गर्न दिएका छैनन्, विभिन्न बहानाबाजीमा झुलाइरहेका छन् । केहि संगीतकार र चलचित्रकर्मीहरुले ठगि गरेको उनको आरोप छ । त्यसैले त्यस्ता ठगि गर्ने गिरोहहरुलाई अब कानुनि प्रक्रियामा लैजाने र मिडिया मार्फत उक्त ठग्ने व्यक्ति र काम पुरा नगर्नेहरुको नाम सार्बजनिक गर्ने तयारीमा रहेको उनले बताइन्। हामी दु:ख गरि पैसा जम्मा गरेर नेपालमा लगानी गर्छौ तर त्यसको उचित मुल्यांकन र सदुपयोग नहुँदा म जस्ता बिदेशमा बसेर लगानी गर्ने हजारौं श्रष्टाहरुले पिडा भोग्नु परेको बताउछिन् । नेपाल आउँदा र अमेरिका रहंदा समेत सधै गित संगीत, चलचित्र र साहित्यमा लगानी गर्ने बहुप्रतिभाशाली व्यक्तित्व अनु शाहको केहि साहित्यिक पुस्तक, म्यूजिक भिडियो र चलचित्र आउन लागेको उनले जानकारी गराईन् ।
बागलुङको खिउ बराह ताल १० लाखमा ताल मर्मत गरिने
बागलुङ । बागलुङको ताराखोला गाउँपालिका ३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ । तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल ओझेलमा परेको हो । पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको भए पनि पूर्वाधार निर्माण र प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्थानीय कृष्ण अठारे मगरको भनाइ छ । ‘तालसम्म पुग्नका लागि सडकको पहुँच वा पदमार्ग निर्माण हुन सकेको छैन’, उनले भने, ‘तालसम्म पहुँचका लागि पूर्वाधार निर्माण हुने हो भने पर्यटकीय गतिविधि बढ्ने थियो ।’ स्थानीय नीरज बगालेले यतिबेला आफूहरु यतिबेला ताल संरक्षण र प्रचारप्रसारमा जुटेको बताए । उनले स्थानीयहरु ताल छेउछाउ कहिलेकाहीँ वनभोजका लागि जाने गरे पनि बाहिरबाट आउने पर्यटकहरु नभएको बताए । गाउँपालिकाले गत आर्थिक वर्षमा ताल संरक्षणका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने यसवर्ष प्रदेश सरकारले सहयोग गरेको उनले जानकारी दिए । ‘स्थानीय, प्रदेश र सङ्घबाट आवश्यक बजेट विनियोजन गरी ताल संरक्षण र संरचना निर्माणमा लाग्ने हो भने पर्यटकको सङ्ख्या बढाउन सकिन्छ’, उनले भने । ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पनि यसका लागि पहल सुरु गरेको छ । यसवर्ष प्रदेश सरकारले विनियोजन गरेको १० लाख रुपैयाँ बजेटबाट ताल मर्मत सम्भार गरिने ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यक्रम अधिकृत रणबहादुर विकले जानकारी दिए । ‘बागलुङका तीन वटा ताल यसवर्ष संरक्षण र मर्मत सम्भार हुँदैछन्’, उनले भने, ‘ताराखोलाको खिउ बराह, ढोरपाटनको रुद्र र तामानखोलाको बराह तालमा काम भइरहेको छ ।’ ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले ताराखोला गाउँपालिकामा भएका तालतलैया र धार्मिकस्थलको प्रवद्र्धनका लागि नीति बनाएर अघि बढाउने बताए । ‘हाम्रो पालिका अन्तर्गत धेरै पर्यटकीयस्थल छन्, केही स्थलमा पूर्वाधार निर्माण भइसकेका छन् भने अझै केहीमा काम हुन बाँकी छ, खिउ बराह तालको विकासलाई मुख्य प्राथमितामा राखेर काम गर्नेछौँ,’ उनले भने । उनले पर्यटन क्षेत्रको विकास गरी स्थानीयको आयआर्जन बढाउने र जीवनस्तरमा उकास्ने गरी योजना बनाएको दाबी गरे । खिउ बराह तालबाट धौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायत दर्जनौँ हिमश्रुङ्खलासँगै बागलुङका विभिन्न स्थान र म्याग्दी, गल्मी, अर्घाखाँची लगायतका जिल्ला देख्न सकिन्छ । रासस
विजय र नयाँ सारथी लघुवित्त मर्ज हुने, चार सेयरधनीको सेयर कारोबार रोक्का
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । जसको लागि दुई संस्थाबीच मंसिर २६ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससँगै उक्त मर्जर प्रकृया सम्पन्न नभएसम्म यी कम्पनीको आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का हुने भएको छ । हाल विजय लघुवित्त वित्तीय संस्थाको आधारभूत सेयरधनीमा वित्तीय संस्थासहित ४ वटाको सेयर लगानी छ । आधारभूत सेयरधनीमध्ये गुडविल फाइनान्सको २१.४३ प्रतिशत अर्थात ६ लाख ८५ हजार ७१४ कित्ता, बसन्त राज लम्सालको १.९७ प्रतिशत अर्थात ६२ हजार ९७० कित्ता, सगेन्द्र तिवारीको १.४३ प्रतिशत अर्थात ४५ हजार ७१४ कित्ता र विश्वनाथ पौड्यालको १.०७ प्रतिशत अर्थात ३४ हजार २८५ कित्ता सेयर लगानी रहेको छ ।
एसियाली विकास बैंकको सहुलियत ऋणमा स्तरोन्नति हुँदै महेन्द्रनगर बजार क्षेत्रका सडक
कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आसपासका सडक स्तरोन्नतिको काम भइरहेको छ । एसियाली विकास बैंकको सहुलियत ऋणमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा स्तरीय सडक निर्माणको काम भइरहेको हो । आयोजनाअन्तर्गत पहिलो चरणमा करिब एक अर्बको ठेक्का भएको छ । महेन्द्रनगर र आसपास क्षेत्रको १४ किलोमिटर सडक स्तरोन्नतिको कामले तीव्रता पाएको भीमदत्त नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले बताए । ‘सडक १५/१६ मिटर चौडाइमा विस्तार गरिँदैछ, बजार र आसपासको क्षेत्रमा काम चलिरहेको छ,’ उनले भने । महेन्द्रनगरदेखि एयरपोर्ट रोड, महेन्द्रनगर बजार क्षेत्रलगायत सडक स्तरोन्नतिको कामले तीव्र पाएको छ । सरकारी निकाय र निर्माण कम्पनीबीच समन्वय नहुँदा बजार क्षेत्र निर्माणको कामले अस्तव्यस्त भएको छ । ‘सडक हिलाम्य छन्, बजारका सबै सडक एकै पटक भत्काइएको छ, विद्युत् र टेलिफोनका पोल सडकमै छन्,’ स्थानीय करवीर धामीले भने, ‘दैनिक आवातजावत हुने बजार क्षेत्रमा अस्तव्यस्त तरिकाले सडक निर्माण गर्दा आवातजावतमा समस्या भएको छ ।’ बजार क्षेत्रमा व्यवस्थित तरिकाले विकास निर्माणको काम गर्दा सास्ती भइरहेको कर्णप्रसाद भट्टले बताए । ‘विकास निर्माणको काम हुनु राम्रो हो, तर एकै पटक सबै सडक भत्काउँदा हिँड्डुलमा समस्या भइरहेको छ,’ उनले भने, ‘एउटा गल्लीको काम सकेर अर्कोमा पालैपालो काम गर्नुपर्थ्यो, तर अस्तव्यस्त तरिकाले काम भइरहेको छ ।’ सडक स्तरोन्नतिको काम हुँदा खानेपानीका पाइप, विद्युत् र टेलिफोनका पोल भित्री गल्लीमा सर्नुपर्ने भए पनि केही समस्या आएको इन्जिनियर सिंहले बताए ।
नागरिकलाई सुलभ सेवा दिन कार्यालय पुनःस्थापना माग
खजुरा । बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाउँपालिकाले पहल सुरु गरेको छ । नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँके समक्ष अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले संघीयताको मर्म र भावनाअनुसार एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीतिअनुसार गाउँपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले बताए । उनले भने, ‘नरैनापुर गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज छ’, ‘नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावनाअनुसार स्थानीयस्तरमै सेवाको आवश्यकता छ’, उनले भने, ‘इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने अन्य पूर्वाधार भवनको व्यवस्था गाउँपालिकाले गर्नेछ ।’ ‘नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम जानुपर्ने बाध्यताको अझै अन्त्य भएन, गाउँ–गाउँमा सिंहदरबार नाममा मात्र सीमित बन्यो’, उनले भने । प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन, मालपोत र नापी कार्यालय जरुरी रहेको नरैनापुर-५ का अध्यक्ष कृष्णचन्द्र मार्यले बताए । वडानं १ का अध्यक्ष इसाक जोलहाले कार्यालय स्थापना भए सदरमुकामबाट ५५ किमीको दूरीमा रहेको सुइया र आसपासका सर्वसाधारण लाभान्वित हुनेछन् । सशस्त्र द्वन्द्वका बेला विस्थापित इलाका प्रशासन कार्यालय बीचमा केही समयका लागि स्थापना भए पनि पछि पुनः सदरमुकाममै विस्थापित भएको थियो । नागरिकताका लागि अझै पनि त्यहाँका नागरिकले दुई दिनसम्म नेपालगञ्ज बस्नुपर्ने बाध्यता रहेको छ । स्थानीय तहको स्थापनासँगै अहिले सडक, बिजुलीलगायतको व्यवस्था भइसक्दा समेत यी कार्यालय स्थापना नहुनुमा स्थानीयवासीले दुःख व्यक्त गरेका छन् । रासस