विकासन्युज

समृद्धि फाइनान्सका ग्राहकलाई ई-साइकल किन्दा १५ हजारसम्म छुट

काठमाडौं । समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ । यो सम्झौता पश्चात समृद्धि फाइनान्सका ग्राहकले ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट १५ हजारसम्म छुट पाउनेछन् । उक्त सम्झौता पत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टु जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत विकाश भण्डारीले हस्ताक्षर गरेका छन् । समृद्धि फाइनान्सका ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिंङ, र क्युआर कोर्ड मार्फत लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट १५ हजार छुट हुने यस संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले बताए ।

निगमका क्याबिन क्रुको हड्ताल, उडान प्रभावित हुँदा यात्रुलाई सास्ती

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा कार्यरत क्याबिन क्रु (एयर होस्टेस) को आन्दोलनका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । निगममा १५ वर्षदेखि करारमा सेवा गर्दै आएका दुई जना विमान परिचालिकाको करार नवीकरण रोकिएको भन्दै क्याबिन क्रुले हड्तालका कारण बुधबार र बिहीबारका उडानहरु प्रभावित बनेका हुन । अपरेशन विभागले एकैपटक ४ जनाको तीन वर्ष र तीन जनाको दुई वर्षको करार नवीकरण गर्दा २ जनाको नवीकरण रोकेको थियो । अपरेशन विभागले एयर होस्टेस शन्तमाया जुहार्चन, सुस्मा तामाङ, पूर्णकला गुरुङ र जुनु सिरालको तीन वर्र्षकोे करार सेवा नवीकरण गरेको थियो भने ३ जनाको दुई वर्षको नवीकरण गरेको हो । ७ जना एयर होस्टेसको नवीकरण गरेर बाँकी २ जनाको नवीकरण नगरेपछि एयरहोस्टेसहर आन्दोलीत बनेका छन् । निगम व्यवस्थापनले आरती महर्जन, इस्मीता गुभाजुको नवीकरण नगरेपछि उनीहरु अहिले आन्दोलीत बनेका छन् । एयर होस्टेसको आन्दोेलनका कारण बुधबार दिल्ली, मलेसिया र दुबइर्का उडान प्रभावित बनेका थिए भने बिहीबार बिहानैदेखि उडानहरु रोकिएका छन् । विमान परिचालिकाकोे आन्दोलनकै कारण बुधबार दिउँसो १ः४५ बजेको दिल्ली उडान प्रभावित बनेको थियो भने बिहीबारका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् । एयर होस्टेसको आन्दोलनका कारण बिहीबार दिल्ली र रियादका दुबै उडान नै अन्योल बनेको निगमका एक क्यापटेनले जानकारी दिए । ‘एयर होस्टेसहरु करार नवीकरणमा भेदभाव गरिएको भन्दै आन्दोलीत बन्नुभएको छ, उहाँहरुको आन्दोलनका कारण उडानहरु डिले भएका छन्, हामी उडानमा स्याण्ड बाइ छौँ, अहिले डिले भन्दै रोकिएको छ’, उनले भने । निगमले गर्दा देशकै बदनाम भयो नेपाल वायुसेवा निगमका कारण देशकै बदनाम भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । निगमले विभिन्न बाहान बनाउँदै उडान डिले गर्दा देशकै बदनाम भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमप्रसाद ठाकुरले जानकारी दिए । निगमका दुई थान न्यारोवडी र दुई थान वाईडबडी जहाज र आन्तरिक उडानमा रहेका दुईवटा टुइनअटर विमानका लागि १ सय ५८ जना क्याबिन क्रु रहेका छन् । जसमा १ सय ६ जना महिला तथा ५२ जना पुरुस एयरहोस्टस कार्यरत रहेका छन् । १५८ जना एयरहोस्टेसमध्ये ५ जना मात्रै स्थायी हुन । एयर होस्टेसमाथि हातपात निगममा कार्यरत एयर होस्टेसमाथि बिहीबार हातपात भएको छ । बिहीबार दिउँसो निगमको मानव संशाधन विभागमा क्याबिन क्रु संघ र कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरुबीचकोे वार्तामा ट्रेड युनियनका नेताले एयर होस्टेसलाई हातपात गरेका हुन् । दुई पक्षबीच भएको वार्तामा बिना जानकारी भित्र परेर युनियनका नेताले हातपात गरेपछि प्रहरीले युनियनका नेतालाई नियन्त्रणमा लिएको छ । न्युरोडमा रहेको जनसेवा प्रहरी वृत्तका प्रमुख डिएसपी शालिग्राम शर्मासहितको प्रहरी टोली निगममा पुगेको छ । संघले ट्रेड युनियनका नेताले पुरुष परिचारकलाई हातपात गरेको, कागजात खोसेको, अश्लिल गालीगलौज गरेको भनेका छन् । घाइते भएकी परिचारिका पूजा सहनीले पुरुष कर्मचारीले हातपात गर्दा आफ्नो बायाँ कान रगताम्य भएको बताइन् ।

उपराष्ट्रपति पुनलाई निर्वाचन प्रतिवेदन उपलब्ध

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनलाई निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराएको छ । उपराष्ट्रपति पुनलाई उहाँको कार्यालय लैनचौरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन उपलब्ध गराउनुभएको हो । सो अवसरमा उपराष्ट्रपति पुनले निर्वाचन एक चुनौतीपूर्ण कार्य हुँदाहुँदै पनि विगतका निर्वाचनको तुलनामा बढी व्यवस्थित, स्वच्छ, निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न भएको र यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र आयोगको प्रतिष्ठा बढेको बताए । उपराष्ट्रपति पुनले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गरी समयमै अन्तिम परिणाम घोषणा गरेकोमा आयोगलाई धन्यवाद दिए । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको सारसंक्षेप, अशल अभ्यास एवं चुनौतीबारे अवगत गराएका थिए । निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल उपस्थित थिए । रासस

संसदमा अपाङ्गता भएका व्यक्ति मात्र ३ जना

काठमाडौं । मुलुकका लागि कानुन निर्माण गर्ने संसदमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका विषयमा प्रमुख राजनीतिक दलनै सकारात्मक हुन नसकेको देखिएको छ । हाल देशका सङ्घीय तथा प्रादेशिक विधायिकामा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वको सङ्ख्या हेर्दा यस्तो अवस्था देखिएको हो । विसं २०६८ सालको जनगणनाअनुसार मुलुकमा एक दशमलव ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । तर सङ्घीय संसदका दुवै सदनमा ३३४ र सात प्रदेशसभामा ५५० गरी कुल ८८४ जना सांसदमध्ये अपाङ्गता भएका व्यक्तिको सङ्ख्या भने जम्मा तीन मात्रै छ । जुन ज्यादै न्यून भएको नेपाल अपाङ्गता महिला सङ्घका अध्यक्ष टीका दाहालको भनाइ छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा नेकपा एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट कालुराम राई छन् भने राष्ट्रियसभामा प्रकाश पन्त छन् । साथै प्रदेशसभामा बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी घिमिरेले प्रतिनिधित्व गरिरहेकी छिन् । घिमिरे पनि समानुपातिकमा निर्वाचन प्रणालीमार्फत् निर्वाचित भएकी थिइन् । ‘अपाङ्गता भएका व्यक्तिलाई प्रत्यक्षतर्फ टिकट दिने विषयम राजनीतिक दल कठोर देखिए भने आरक्षणमा सूचीमा खस–आर्य, आदिवासी/जनजाती, मधेशी, दलित, थारु र मुस्लिम समुदायको प्रतिनिधित्व भए पनि अपाङ्गता भएका व्यक्तिलाई समावेश गरिएको छैन’, अध्यक्ष दाहालले भने । संविधान संशोधन गरेर भए पनि अपाङ्गता भएका व्यक्तिको संसद्मा अनिवार्य उपस्थितिको सुनिश्चितता किटान नै गर्नुपर्ने उनको भनाइ छ । निर्वाचको समयमा दलले सार्वजनिक गरेका घोषणापत्रमा सङ्घ, प्रदेश र स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिको समानुपातिकका साथै अन्य अधिकार सुनिश्चित गर्ने दाबी गरे पनि अपाङ्गता भएका व्यक्तिलाई अवसर नदिएको दाहालले आरोप लगाए । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवदत्त आचार्यले संसद्मा अपाङ्गता भएका व्यक्तिको सहभागिता नहुनु राजनीतिक दलहरुको उदासिनता र गैरजिम्मेवारी भएको जिकिर गर्छन् । सरकारले अपाङ्गता भएका व्यक्तिको हक अधिकार संरक्षण गर्ने प्रतिबद्धतासहित अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि २००६ लाई अनुमोदन गरेपनि त्यसको कार्यान्वयनको पाटो फितलो देखिएको बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घ नेपालका अध्यक्ष राजु बस्नेतको भनाइ छ । राष्ट्रिय बहिरा महासङ्घ नेपालका अध्यक्ष केपी अधिकारीले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा समान सहभागिताका लागि नीति बनाएरै कार्यान्वयन गर्नुपर्ने बताए । संविधानको धारा ८४ ३ मा राजनीतिक दलले उम्मेदवारी दिँदा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वको हुने व्यवस्था गर्नुपर्ने उल्लेख छ भने धारा ८६ मा राष्ट्रियसभाको गठन र सदस्यको पदावधि र धारा एक सय ७६ मा प्रदेशसभा गठनमा अपाङ्गता भएका व्यक्तिको सहभागिताबारे उल्लेख गरिएको छ । रासस

निगममा एयर होस्टेसमाथि हातपात, युनियनका नेता प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत एयर होस्टेसमाथि हातपात भएको छ । बिहीबार दिउँसो निगमको मानव संशाधन विभागमा क्याबिन क्रु संघ र कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरुबीचकोे वार्तामा ट्रेड युनियनका नेताले एयर होस्टेसलाई हातपात गरेका हुन् । दुई पक्षबीच भएको वार्तामा बिना जानकारी भित्र परेर युनियनका नेताले हातपात गरेपछि प्रहरीले युनियनका नेतालाई नियन्त्रणमा लिएको छ । न्युरोडमा रहेको जनसेवा प्रहरी वृत्तका प्रमुख डिएसपी शालिग्राम शर्मासहितको प्रहरी टोली निगममा पुगेको छ । संघले ट्रेड युनियनका नेताले पुरुष परिचारकलाई हातपात गरेको, कागजात खोसेको, अश्लिल गालीगलौज गरेको भनेका छन् । घाइते भएकी परिचारिका पूजा सहनीले पुरुष कर्मचारीले हातपात गर्दा आफ्नो बायाँ कान रगताम्य भएको बताइन् ।

ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

ताइवान । ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ। बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५।९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन् । ‘ताइवानमा भूकम्पको धक्का धेरै कम महशुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले पत्रकारहरूलाई जानकारी दिएका छन् ।’ अहिलेसम्म आठ वटा पराकम्पन गएको छ र हामीले आगामी तीन दिनमा थप परकम्प आउने अनुमान गरेका छौ ताइपेईमा चाङले बताएका छन् । ताइवानको सबवे र रेलवे अधिकारीहरूले दुबै रेलहरू कम गतिमा चलिरहेको तर सेवाहरू रोकिएको छैन। दुई टेक्टोनिक प्लेटको जंक्शननजिकै रहेको टापुको कारण ताइवानमा नियमित भूकम्प जान्छ । कतिपय ६.० म्याग्निच्युडको वा सोभन्दा बढीको भूकम्प घातक साबित हुन सक्छ, यद्यपि धेरै भूकम्प कहाँ र कति गहिराइमा आउँछ भन्ने कुरामा भर पर्छ । गत सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । यसमा परी एक व्यक्तिको ज्यान गएको र केही भवनहरु ढलेका थिए । रासस

सात वर्षपछि उच्च अदालत भवनको पुनःनिर्माण सुरु

बागलुङ । विसं २०७२ को विनासकारी भूकम्पले क्षति पुर्याएको उच्च अदालत पोखरा बागलुङ इजलासको भवन सात वर्षपछि पुनःनिर्माण थालिएको हो । तीस महिनाभित्र सो अदालतको मुख्य भवन तथा आवास निर्माण सक्नेगरी ५७ करोड ४२ लाख रुपैयाँमा श्यामसुन्दर पशुपति जेभी काठमाडौँले ठेक्कामार्फत काम सुरु गरिएको छ । अहिले उच्च अदालतको पुरानो भवन भत्काउने कार्यले तीव्रता पाएको छ । चिरा परेको भवन प्राविधिक दृष्टिले निकै खतरापूर्ण भए पनि सात वर्षदेखि जोखिम मोलेरै न्याय सम्पादन भइरहेको थियो । अहिले उच्च अदालत पोखरा बागलुङ इजालसले एक हप्तादेखि जिल्ला अदालत बागलुङबाट न्यायसम्पादन गरिरहेको छ । अहिले धमाधम भवन भत्काउने काम भइरहेको छ भने उच्च अदालतको सेवा जिल्ला अदालतको भवनबाट दिइएको उच्च अदालत पोखरा बागलुङ इजलासका रजिस्टार नेत्रप्रसाद भुसालले जानकारी दिए । ‘अदालतको भवन निर्माणका लागि भूकम्पपछि नै पहल भइरहेको थियो, ठूलो लागत भएकाले भवन निर्माणमा बजेट आएको थिएन, अहिले ठेक्कामार्फत भवन निर्माणका लागि पुरानो भवन भत्काउने काम भइरहेको छ’, उनले भने, ‘न्यायसम्पादनलाई एक दिन नोरोकी जिल्ला अदालतको भवनको छतमा ट्रष्ट राखेर अस्थायीरुपमा सेवा दिन थालेका छौँ, तीन वर्षमा उच्च अदालत पोखरा बागलुङ इजलासले नयाँ भवन पाउनेमा आशावादी छौँ ।’ उच्च अदालत पोखरा बागलुङ इजलास भएको सात रोपनी जग्गामा ५७ करोड लागतमा सुविधा सम्पन्न भवन उच्च अदालतको भवन र सामूहिक आवास, अथिति गृहलगायतका संरचना एकैसाथ निर्माण गर्नका लागि ठेक्कामार्फत काम थालिएको रजिस्टार भुसालले बताए । प्राविधिकरुपमा बस्नै नमिल्ने अदालतको भवनलाई मर्मतपश्चात् अहिलेसम्म सेवा दिँदै आइएको थियो । जिल्ला अदालतको दुई तलाबाट अहिले उच्च अदालतको सेवा दिन थालिएको उनको भनाइ छ । नयाँ निर्माण हुने अदालतको भवन प्रविधिमैत्री, अपाङ्गता मैत्री, भूकम्प प्रतिरोधी बागलुङ बजारमा निर्माण भइरहेका अन्य भवनभन्दा ठूलो र आधुनिक भएको भवन निर्माणको प्राविधिक सहयोगी सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘अन्डरग्राउण्ड’सहित साढे छ तलाको उक्त अदालतको भवनमा विद्युतीय लिफ्टकोसमेत व्यवस्था रहेको छ । अदालतको भवन श्यामसुन्दर पशुपति जेभी काठमाडौँले निर्माण थालेको हो । ५७ करोड रुपैयाँ लागतमा निर्माण हुन थालेको उच्च अदालतमा छ वटा इजलास कक्ष हुनेछन् । ३० महिनाभित्र भवन निर्माण सक्नेगरी पुनःनिर्माण थालिएको छ । रासस

समयमै पारिश्रमिक दिन बीमा सर्भेयरको माग, भन्छन् : हामीलाई सकारात्मक दृष्टिकोणले हेरियोस्

काठमाडौं । बीमा सर्भेयरहरुले बीमा कम्पनीहरुले समयमै पारिश्रमिक नदिएको गुनासो गरेका छन् । नेपाल बीमा प्राधिकरणको बीरगञ्जस्थित प्रदेश कार्यालयको आयोजनामा बीरगञ्जमा बीमा सर्भेयरहरूसँग अन्तरक्रिया कार्यक्रम बोल्दै सर्भेयरहरुले उक्त गुनासो व्यक्त गरेका हुन् । कार्यक्रममा सहभागी बीमा सर्भेयरहरुले बीमा कम्पनीहरुले बीमा गराउँदा बीमितलाई बीमालेखका बारेमा राम्रोसँग जानकारी दिनुपर्ने, सर्भेयरलाई क्षेत्र छुट्याएर काम दिने व्यवस्था गर्नुपर्ने, बीमितलाई समयमै बीमा दाबी भुक्तानी गर्नुपर्ने, क्षति भएको जानकारी पाउनासाथ सर्भेयरलाई खटाउनुपर्ने, सर्भेयरले दिएको अनलाइन रिपोर्टलाई मान्यता दिनुपर्ने, सर्भेयरका लागि तालिमको व्यवस्था गर्नुपर्ने र सर्भेयरलाई समयमा नै पारिश्रमिक दिनुपर्ने लगायतका धारणा राखेका थिए । बीमा सर्भेयर सुनिल जोशीले सर्भेयर पेशालाई मर्यादित र व्यवस्थित तुल्याउनका लागि बीमकले सर्भेयरप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने तथा समयमानै सर्भेयरलाई पारश्रमिक दिनुपर्ने बताए । बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेले बीमक, बीमा सर्भेयर र बीमितबीचको सुमधुर सम्बन्धबाट नै बीमाप्रतिको विश्वास बढ्दै जाने विचार राखे । नेपाल बीमा प्राधिकरणको बीरगञ्ज प्रदेश कार्यालयकी प्रमुख कुसुम शर्माले बीमा सर्भेयरले आफ्नो पेशालाई मर्यादित र व्यवस्थित बनाउँदै लैजानुपर्ने र क्षति मूल्याङ्कन प्रतिवेदन समयमा नै उपलब्ध गराउनुपर्ने बताइन् । सो कार्यक्रम बीमा सर्भेयरको कामलाई छिटोछरितो बनाउने तथा सर्भेयरका समस्याहरुका बारेमा छलफल गरी समाधानका उपाय पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक कालीकान्त झा र बीमा सर्भेयरहरुको सहभागिता रहेको थियो ।