नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । मंसिर १९ गतेको मन्त्रिस्तरिय निर्णय अनुसार अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकिएको हो । सरकारले उनलाई अर्को व्यवस्था नभएसम्मको लागि रिक्त रहेको अध्यक्ष पदको जिम्मेवारी दिएको हो । अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका अर्याल यसअघि कम्पनीको सञ्चालक सदस्य थिए । उनी अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव समेत हुन् । यसअघि कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे थिए । उनले आफ्नो कार्यकाल सकिनुअघि नै राजिनामा दिएपछि कम्पनीको अध्यक्ष पद रिक्त थियो । निवर्तमान अध्यक्ष घिमिरेले गत मंसिर ११ गते राजिनामा दिएका हुन् । कोरोना बीमाको दावी भुक्तानीको विषयमा भएको विवादका कारण घिमिरेले स्वच्छिक रुपमा अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।
मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी
काठमाडौं । राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ । आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो । आयोगमा साउनदेखि कात्तिकसम्म मानसिक हिंसासम्बन्धी तीन सय २५ (४२) प्रतिशत, आर्थिक हिंसासम्बन्धी दुई सय २४ (२९) प्रतिशत, शारीरिक हिंसासम्बन्धी एक सय ९८ (२६) प्रतिशत र यौनजन्य हिंसा २२ (९३ प्रतिशत) दर्ता भएका छन् । ‘केन्द्रमा मात्र सहज पहुँच हुनाले बागमती प्रदेशमा बढी उजुरी दर्ता भएको हुनसक्छ’, आयोग अध्यक्ष कमलाकुमारी पराजुलीले भनिन्, ‘आयोग ग्रामीण समुदायबाट पनि उजुरी दर्तामा होस् भनी सहज वातावरण सिर्जना गर्न पहल गरेका छौँ ।’ कार्यक्रममा चालु आवको चार महिनामा आयोगद्वारा भएका स्थलगत अनुगमन, सचेतनामूलक कार्यक्रम तथा प्रकाशन, दर्ता भएका उजुरीलगायतका गतिविधिबारे जानकारी दिइएको थियो । रासस
खाद्यपदार्थमा जोखिम न्यूनीकरण गर्न भण्डारमा प्रविधिको प्रयोग गर्नुपर्ने
मोरङ । खाद्यपदार्थको जोखिम न्यूनीकरण गर्न बाली भण्डारणमा प्रविधिको प्रयोग गर्न जोड दिइएको छ । राष्ट्रिय योजना आयोग र प्रदेश नं १ कृषि मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘प्रादेशिक खाद्यप्रणाली समीक्षा तथा योजना तर्जुमा गोष्ठी’का सहभागीहरुले बाली प्रशोधन, सञ्चय र बजार व्यवस्थापनका लागि प्रविधिको प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । घरेलुस्तरमा पोषण र सञ्चित तत्व नघटाउन पकाउने उपयुक्त विधि र भण्डारणका लागि तालिम प्रदान गर्नु आवश्यक रहेको उनीहरुको भनाइ छ । सहभागीले खाद्यान्नमा लाग्ने विभिन्न सङ्क्रमण न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै खाद्य तथा आहारको गुणस्तर अभिवृद्धि गराउन सहयोग पु¥याउनुपर्ने आवश्यकता औँल्याए । गोष्ठीमा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक महेश खरेलले ‘खाद्य प्रणाली रुपान्तरण प्रयास तथा भावीदिशा’ र कृषि मन्त्रालयका प्रशासन योजना तथा अनुगमन महाशाखाका प्रमुख पशुपति पोखरेलले ‘प्रदेश खाद्यप्रणाली संवाद पश्चात्का उप्लव्धि तथा भावि योजना’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कृषिमन्त्री झलकबहादुर मगरले गोष्ठी शुभारम्भ गर्दै मानव जीवनमा खाद्य पोषणले निकै महत्व राख्ने भएकाले यसलाई जोगाइराख्न जोड दिनुपर्ने बताए । उनले बालीमा विविधता तथा पहुँचका निम्ति बागबानी, फलफूल, तरकारी, दलहन, कुखुरा, माछापालनजस्ता खाद्य पदार्थलाई आयआर्जनको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । कृषि सचिव मेघनाथ तिम्सिनाले खाद्य प्रणालीले हाम्रो जीवनका साथै आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा समेत प्रभाव पार्ने उल्लेख गरे । उनले उत्पादन र उपादकत्व बढाइ उत्पादन लागत घटाउन सके कृषिबाट सबैक्षेत्र लाभान्वित हुने धारणा व्यक्त गरे । गोष्ठीमा सहभागी समूहका तर्फबाट डा दिपा दिवालीबाट ‘सबैका लागि स्वच्छ तथा पोषणयुक्त खाद्य पहुँचको सुनिश्चिता’, सार्थक घिमिरेबाट ‘दीगो खालको उपभोगको पद्दतीमा रुपान्तरण’, गङ्गाराम यादवबाट ‘प्रकृतिमा सकारात्मक परिवर्तन ल्याउने खालको उत्पादन प्रणाली’, ‘शीतल भट्टराईबाट समन्यायिक खालको जीविकोपार्जनको अवस्थामा बढोत्तरी’, डा पशुपति ढुङ्गानाबाट ‘जोखिम तथा विभिन्न विपत्ति विरुद्ध उत्थानशील खालको खाद्य प्रणाली निर्माण’ र शङ्कर बारकोटीबाट ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐनमा भएका प्रावधान र खाद्य प्रणाली रुपान्तरणमा भूमिका’बारे प्रस्तुत विषयमा छलफलमा गरिएको थियो । गोष्ठीमा कृषिसँग सरोकार राख्ने करिब ५० अधिकारीको सहभागिता थियो । रासस
चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन्। केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरे। तथ्याङ्क अनुसार आज विहान काठमाडौँ उपत्यकाको तापक्रम ७.६ डिग्रीमा झरेको छ। चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ। जाडो बढेसँगै तराईका कतिपय जिल्लामा हुस्सुसमेत लाग्न थालेको छ। यस्तै घरबाहिर खुला स्थानमा धेरै समय नबस्न, तातो खानेकुरा तातोपानी पिउन समेत आग्रह गरिएको छ। हिटर वा आगो ताप्दा गिजर प्रयोग गर्दा कोठामा राम्रोसँग हावा आवतजावतको व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ। ‘हावा आउजाउको व्यवस्था नहुँदा कतिपय अवस्थामा निस्सासिएर दुर्घटना हुनेपर्ने जस्ता घटना अवस्था आउने गरेको पाइन्छ,’ उनले भने, ‘त्यसैले हिटर गिजर प्रयोग गर्दा हावा आवतजावत हुने ठाउँ रहेको हुनुपर्दछ।’ चिसोले गर्दा मुटु रोग, हृदयघात, फोक्सोमा समस्या श्वासप्रश्वास, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, रुघाखोकी, ज्वरो जस्ता रोगका समस्या देखिन सक्दछ। त्यसैगरी दूषित खाना र पानीबाट अधिकांश रोग सर्ने भएकोले खानेकुरामा ध्यान दिनसमेत मन्त्रालयको आग्रह छ। खानेकुरा र खानेपानी सफा भाँडामा ढाकेर राख्न, खाना बनाउनुअघि र खानुअघि साबुन पानीले राम्रोसँग हात पनि मन्त्रालयले आग्रह गरेको छ।
मूल्यवृद्धिसँगै १२.३९ प्रतिशतले बढ्यो तलब
काठमाडौं । २०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ८.०८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको चार महिने तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनामा ६.०४ प्रतिशत रहेको यस्तो मुद्रास्फीति बढेर ८.०८ प्रतिशतमा पुगेको हो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप-समूहको मूल्य सूचकाङ्क १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदाथको ८.८४ प्रतिशतले बढेको छ । गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप-समूहको मूल्य सूचकाङ्क १७.७१ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले बढेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ कात्तिक महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.१४ प्रतिशत, ५.४२ प्रतिशत, ७.१४ प्रतिशत र ५.०० प्रतिशत मुद्रास्फीति रहेको थियो । थोक मुद्रास्फीति २०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १०.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.६८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ५.६२ प्रतिशत, १३.४९ प्रतिशत र ४.६९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ११.८९ प्रतिशत रहेको छ । १२.३९ प्रतिशतले बढ्यो तलब २०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ११.४७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ५.०३ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ११.१९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति २०७९ कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । सन् २०२२ नोभेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ५.८८ प्रतिशत रहेको छ ।
चार महिनामा ४ खर्ब ७७ अर्ब बढीको व्यापार घाटा, चीनतर्फको निर्यात घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको चार महिना (गत साउनदेखि कात्तिक मसान्तसम्म) स्वदेशी वस्तुको निर्यातमा ३३.३ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक अनुसार नेपालले ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको हो । बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अबधिमा १०४.३ प्रतिशतले निर्यातमा वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२.३ प्रतिशत र ३४.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.४ प्रतिशतले वद्धि उल्लेख गरिएको छ । ४ महिनाको अबधिमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, चिया, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७९/८० को चार महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई ५३२ अर्ब ६९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, २०.९ प्रतिशत र २०.१ प्रतिशतले कमी आएको जनाईएको छ । उक्त अबधिमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, सुन, हवाइजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, एम.एस.विलेट, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ जलेश्वर बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७९/८० को चार महिनामा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई ४७७ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ५६.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७१ अर्ब ४० करोड रुपैयाँ बराबरको भएको थियो ।
बारामा चार लाख बढी मूल्य पर्ने डिपट्युवेलका ट्रान्सफर्मर चोरी
बारा । बारा र पर्सा जिल्लामा भूमिगत सिँचाइका लागि विभिन्न स्थानमा जडान भएका डिपट्युवेलबाट ट्रान्सफर्मर चोरी भएको पाइएको छ । ट्रान्सफर्मर चोरीका कारण दुवै जिल्लामा भूमिगत सिँचाइको काम प्रभावित भएको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनको कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । मधेश प्रदेश सरकारको मातहतमा रहेको कार्यालयका अनुसार पर्सा जिल्लामा तीन वटा र बारा जिल्लामा तीन वटा ट्रान्सफर्मर चोरी भएका छन् । चोरी भएका ट्रान्सफर्मरबारे पर्सा र बाराका प्रहरी प्रशासनलाई जानकारी दिएको कार्यालय प्रमुख अरविन्दकुमार मिश्राले जानकारी दिए । चोरी भएका छ वटा ट्रान्सफर्मरको मूल्य ३० लाख रुपैयाँ रहेको उनको भनाइ छ । कार्यालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २८ र ३१, कोन्दियाको वडा नं ३२ को सोलखपुर र बारा जिल्लाको पर्सोनी गाउँपालिका वडा नं ७ प्रस्टोका, महागढी माई नगरपालिकाको तेलकूवा र हर्नेया नजिक इनर्वामालमा जडान भएका डिपट्यूवेलबाट ट्रान्सफर्मर चोरी भएको प्रमुख मिश्राले जानकारी दिए । उनका अनुसार विगत दुई महिनाको अवधिमा ६ वटै ट्रान्सफर्मर चोरी भएको हो । ट्रान्सफर्मर चोरी भएपछि किसान समस्यामा परेको मिश्राको भनाइ छ । पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले चोरी भएको ट्रान्सफर्मर विषयमा छानबिन तथा पत्ता लगाउनका लागि सम्बन्धित प्रहरी चौकीमा निर्देशन दिइएको बताए । ट्रान्सफर्मरभित्र ५० हजार रुपैयाँ पर्ने तेल र चार लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने तामाको तार जडान गरिएको हुन्छ ।
वैदेशिक रोजगारबाट फर्केहरूका तथ्याङ्क सङकलन सुरु
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाहरुको तथ्याङ्क सङकलन सुरु गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्रै रोजागरी उपलब्ध गराउन नगरपालिकाले तथ्याङ्क सङकलनको कार्य अगाडि बढाएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले स्थानीय तहको सहकार्यमा त्यस व्यक्तिलाई पुनः एकीकरणका कार्यक्रम सञ्चालनका लागि नगरपालिकाका १२ वटै वडामा तथ्याङ्क सङ्कलन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले जानकारी दिए । वैदेशिक रोजगार बोर्डको सचिवालयबाट स्वीकृत पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ बमोजिम कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ । कार्यक्रम स्थानीय तहको माग, आवश्यकता बमोजिम स्थानीय तहमार्फत् सञ्चालन हुने उनको भनाइ छ । स्वदेशभित्रै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारी माथिको परनिर्भरतालाई क्रमशः कम गर्दै लैजाने उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन हुन लागेको छ । ‘नगरपालिकाका सबै वडामा यसबारे पत्राचार गरी सकेका छौँ’, उनले भने, ‘वडा कार्यालयमार्फत् सात दिनभित्र तथ्याङ्क सङ्कलनपछि वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले इच्छाएका कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइनेछ ।’ नगरपालिकाका अधिकांश युवाहरु रोजगारीका लागि भारतलगायत खाडीमुलुकमा जाने गरेका छन् । विदेशमा सिकेको सीपको सदुपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्नका लागि कार्यक्रमले सघाउने नगर प्रमुख रणबहादुर महराको भनाइ छ ।