काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा कार्यरत क्याबिन क्रु (एयर होस्टेस) को आन्दोलनका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।
निगममा १५ वर्षदेखि करारमा सेवा गर्दै आएका दुई जना विमान परिचालिकाको करार नवीकरण रोकिएको भन्दै क्याबिन क्रुले हड्तालका कारण बुधबार र बिहीबारका उडानहरु प्रभावित बनेका हुन ।
अपरेशन विभागले एकैपटक ४ जनाको तीन वर्ष र तीन जनाको दुई वर्षको करार नवीकरण गर्दा २ जनाको नवीकरण रोकेको थियो । अपरेशन विभागले एयर होस्टेस शन्तमाया जुहार्चन, सुस्मा तामाङ, पूर्णकला गुरुङ र जुनु सिरालको तीन वर्र्षकोे करार सेवा नवीकरण गरेको थियो भने ३ जनाको दुई वर्षको नवीकरण गरेको हो ।
७ जना एयर होस्टेसको नवीकरण गरेर बाँकी २ जनाको नवीकरण नगरेपछि एयरहोस्टेसहर आन्दोलीत बनेका छन् । निगम व्यवस्थापनले आरती महर्जन, इस्मीता गुभाजुको नवीकरण नगरेपछि उनीहरु अहिले आन्दोलीत बनेका छन् ।
एयर होस्टेसको आन्दोेलनका कारण बुधबार दिल्ली, मलेसिया र दुबइर्का उडान प्रभावित बनेका थिए भने बिहीबार बिहानैदेखि उडानहरु रोकिएका छन् । विमान परिचालिकाकोे आन्दोलनकै कारण बुधबार दिउँसो १ः४५ बजेको दिल्ली उडान प्रभावित बनेको थियो भने बिहीबारका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् ।
एयर होस्टेसको आन्दोलनका कारण बिहीबार दिल्ली र रियादका दुबै उडान नै अन्योल बनेको निगमका एक क्यापटेनले जानकारी दिए । ‘एयर होस्टेसहरु करार नवीकरणमा भेदभाव गरिएको भन्दै आन्दोलीत बन्नुभएको छ, उहाँहरुको आन्दोलनका कारण उडानहरु डिले भएका छन्, हामी उडानमा स्याण्ड बाइ छौँ, अहिले डिले भन्दै रोकिएको छ’, उनले भने ।
निगमले गर्दा देशकै बदनाम भयो
नेपाल वायुसेवा निगमका कारण देशकै बदनाम भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । निगमले विभिन्न बाहान बनाउँदै उडान डिले गर्दा देशकै बदनाम भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमप्रसाद ठाकुरले जानकारी दिए ।
निगमका दुई थान न्यारोवडी र दुई थान वाईडबडी जहाज र आन्तरिक उडानमा रहेका दुईवटा टुइनअटर विमानका लागि १ सय ५८ जना क्याबिन क्रु रहेका छन् । जसमा १ सय ६ जना महिला तथा ५२ जना पुरुस एयरहोस्टस कार्यरत रहेका छन् । १५८ जना एयरहोस्टेसमध्ये ५ जना मात्रै स्थायी हुन ।
एयर होस्टेसमाथि हातपात
निगममा कार्यरत एयर होस्टेसमाथि बिहीबार हातपात भएको छ । बिहीबार दिउँसो निगमको मानव संशाधन विभागमा क्याबिन क्रु संघ र कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरुबीचकोे वार्तामा ट्रेड युनियनका नेताले एयर होस्टेसलाई हातपात गरेका हुन् ।
दुई पक्षबीच भएको वार्तामा बिना जानकारी भित्र परेर युनियनका नेताले हातपात गरेपछि प्रहरीले युनियनका नेतालाई नियन्त्रणमा लिएको छ । न्युरोडमा रहेको जनसेवा प्रहरी वृत्तका प्रमुख डिएसपी शालिग्राम शर्मासहितको प्रहरी टोली निगममा पुगेको छ ।
संघले ट्रेड युनियनका नेताले पुरुष परिचारकलाई हातपात गरेको, कागजात खोसेको, अश्लिल गालीगलौज गरेको भनेका छन् । घाइते भएकी परिचारिका पूजा सहनीले पुरुष कर्मचारीले हातपात गर्दा आफ्नो बायाँ कान रगताम्य भएको बताइन् ।