भ्रष्टाचारको आरोप लागेको व्यक्ति पनि बैंकको सीईओ र संस्थापक बन्न नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र संस्थापकको नियुक्तीमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकको सीईओ तथा संस्थापक नियुक्तका लागि टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति हुनु पर्ने व्यवस्था छ । यसअघि भ्रष्टाचारको आरोप लागेको व्यक्तिका विषयमा राष्ट्र बैंकले बोलेको थिएन । तर, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ शंसोधन गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो यस्तै, प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भई सकेको व्यक्ति पनि सीईओ बन्न पाउनेछ । प्र्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाई पाएको ५ वर्ष व्यतीत भई नसकेको व्यक्ति भने सीईओ तथा संस्थापक बन्न पाउने छैन ।
टिसिएलले नेपालमा भित्र्यायाे गुगल टिभी
काठमाडाैं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । यस टिभीमा प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगईकन होम स्क्रीनबाट नै सेलेक्ट गरेर हेर्न सक्नेछन् । गुगल टिभीको प्रारम्भिक सेटअप पछि, प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन । होम स्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरूको स्लाइडहरु हुन्छन् जुन प्राथमिकताहरूको आधारमा देखाइने कम्पनीले बताएकाे छ । गुगल टिभीमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरु छन जसले गर्दा प्रयोगकर्ताहरुले टि.भी चलाउँदा ज्यादै नै सहज र सजिलो महसुस गर्दछन । यो बाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्नको लागि क्रोमकास्ट र ब्युल्ट ईन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको छ । गुगल टिभीले नयाँ संस्करणहरुलाई पनि अटोमेटीकल्ली अपडेट गर्दछ । हालै टिसिएलले कुल ३ प्रकारका गुगल टेलिभिजन बजारमा ल्याएको छ । नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।
‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु
काठमाडौं । फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए । ‘डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ’, प्रस्तुतकर्ता थापाले भने । फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीले दिए । उनी दुई फिल्ममा श्रीमान् तथा श्रीमतीको भूमिकामा छन् । एस।जी। फिल्म्स र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गर्दै छन् । निर्देशक थापाको निर्देशनमा तयार हुने फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतका कलाकारको अभिनय रहनेछ । यसमा राजेश श्रेष्ठको छायाङ्कन, उत्तम न्यौपानेको ध्वनि, राजनराज सिवाकोटीको सङ्गीत रहनेछ । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । ‘प्रसाद’ हिट भएपछि यसको सिक्वेलका रूपमा ‘प्रसाद २’ को निर्माण हुन लागेको हो । लेखक पौडेलले फिल्मको कथा अभिनेता कार्की र अभिनेत्री अधिकारीमा केन्द्रीत रहने बताए । ‘दुईको प्रेम र त्यसले निम्त्याउने सङ्घर्षलाई फिल्ममा देखाइनेछ’, लेखक पौडेलले भने ।
पर्वतमा खेल मैदानको अभाव
पर्वत। पर्वतको खेल क्षेत्र प्रवद्र्धन गर्न खेल मैदानको अभाव भएको छ । खेलाडीहरुका अनुसार पछिल्लो समय मैदान नहुँदा जिल्लाको खेलक्षेत्र समेत ओझेलमा परेको छ । ‘२० वर्ष अघि बडगाउँचौरमा धौलागिरिस्तरीय खेल हप्तैपिच्छे जस्तो हुने गथ्र्यो’, पूर्वफुटबल खेलाडी राजन गुरुङले भने, ‘अहिले टोलस्तरीय खेलसमेत हुन छाडिसकेको अवस्था छ । मापदण्डअनुसारको खेल मैदान नहुँदा एन्फाले दिने विभिन्न सेवासुविधाबाट फुटबल खेलाडी वञ्चितीमा पर्दै आएका छन् ।’ अहिले सशस्त्र प्रहरीको ब्यारेक रहेको ८४ रोपनीको बडगाउँ खेल मैदानमा फुटबल, भलिबल, ह्याण्डबल, टेबल टेनिस, तेक्वान्दो, कराँते, हाइजम्प, लङजम्प, दौडलगायत खेलका खेलाडी दिनरात खेल मैदानमा भेटिन्थे । ‘विसं २०५४ तिर हुनुपर्छ, यही बडगाउँ चौरमा पहिलो पटक अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता भएको थियो, मैले गोल्ड मेडल जितेको थिएँ ।”’४५ वर्षका खेलाडी नरेश श्रेष्ठले भने, ‘अन्य जिल्ला पुग्दा पर्वतको खेलाडी भनेपछि बेग्लै सम्मानले हेर्ने गरिन्थ्यो । अहिले खेलाडी पाउनै मुस्लि देखिएको छ ।’ अर्का कराँते प्रशिक्षक तथा कराँते महासङ्घ पर्वतका संयोजक राम श्रेष्ठले द्वन्द्वकालीन अवस्था र खेल मैदानको अभावले गर्दा पर्वत खेलकुदमा २० वर्ष पछाडि परेको बताए । ‘सदरमुकाम कुश्मा खेलाडीको केन्द्र जस्तै थियो, फरक खेलका खेलाडी जम्काभेट हुन्थ्यो’, उनले पुरानो दिन सम्झँदै भने, ‘हामीले पनि बडगाउँ खेल मैदानमा कराँते सिकेका हौँ, त्योबेला बेग्लै जोश थियो, राष्ट्रका लागि खेल्नुपर्छ भन्ने हुटहुटी थियो । पछिल्ला दिनमा खेलाडीको खेलप्रति खासै उत्साह र चासो देख्दिन ।’ सशस्त्रको छेउमै खेलकुदलाई भनेर जग्गा छुट्याइएको भए पनि त्यो पर्याप्त नभएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले बताए । उनका अनुसार खेलकुदलाई भनेर दिइएको जग्गा पनि विभिन्न सङ्घसंस्थाको नाममा रहेको छ । ‘हाम्रो खेल मैदान सानो र बर्खामा हिलाम्मे हुँदा खेलकुद प्रतियोगिता गर्न समस्या हुने भएकाले केही महिनाअघिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सशस्त्र प्रहरीको गण भित्रै सम्पन्न गर्यौँ’, अध्यक्ष गुरुङले भने, ‘जग्गा पनि हाम्रो नाममा छैन भोलि निकलेर जा भन्यो भने हट्नुपर्ने अवस्था छ ।’ पर्वतको खेल क्षेत्र सुस्ताउँदा युवा लागुऔषधको कूलततर्फ फसिरहेको स्थानीय युवा नरेन्द्र केसीले बताए । ‘कुश्माका युवा पनि लागुऔषधमा फसिरहेका छन्, उनीहरुलाई खेलकुदमा जोड्न सकिएको छैन’, उनले भने, ‘खेलकुदले नै युवालाई सही बाटो हिँड्न सघाउने भएको हुँदा अब राज्यले सशस्त्रलाई दिएको खेल मैदान फिर्ता गर्नुपर्छ । युवाले आफ्नै खेल मैदानमा खेल खेल्न पाउनुपर्छ ।’ खेल मैदानको अभावमा धेरै युवा कोठाभित्रै मोबाइलमा गेम खेलेर बस्ने अवस्था रहेको क्रिकेट खेलाडी सुरेन श्रेष्ठले बताए । उनले भने, ‘खेल मैदान त छ, तर सानो । सेभेन ए साइड फुटबल खेल्न पनि नमिल्ने खालको । क्रिकेट खेल्नका लागि छिमेकी जिल्ला बागलुङ जानुपर्छ ।’ उनले सशस्त्र बसेको खेलकुद मैदानमा आफूहरुलाई जतिबेला पनि निर्धक्कले खेल्न दिने वातावरण मिलाइदिन माग गरे । सो खेल मैदान २०६१ सालमा आफूहरुले खेलकुद विकास समितिमार्फत रु २५ लाखमा खरिद गरेको सशस्त्र प्रहरीको भनाइ छ । ‘मन्त्रिपरिषद्को निर्णय भएर जग्गा हाम्रो नाममा आएको हो’, सशस्त्र प्रहरी बल चण्डिका गण पर्वतका गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र बमले भने, ‘खेल खेल्नका लागि हामीले रोकेका छैनौँ, अनुशासित भएर खेल खेल्दा हुन्छ । विगतमा पनि विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न दिएका थियौँ, रोकावट गरेका छैनौँ ।’ रासस
राम्रा सहकारी खोज्न विदेश जानुपर्दैन, नेपालभित्र नै छन् : मन्त्री श्रेष्ठ
काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएकी छिन् । बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काठमाडौंमा आयोजना गरेको प्रगति समीक्षा तथा सहकारी सुशासन बुलेटिन विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । उनले सहकारीमा भएको समस्या भन्दा बढी समस्या जस्तो बनाएर सहकारीका समस्याहरुको प्रचार गरिएको बताइन् । ‘समस्यामा आएका सहकारी औंलामा गन्न सकिन्छ, राम्रा कामहरुको प्रचार हुन नसक्नु दुखद् हो, राम्रा सहकारी खोज्न विदेश जानुपर्दैन, नेपालभित्र नै राम्रा सहकारी छन्, महिलाहरुले सञ्चालन गरेको सहकारीहरु अझ उत्कृष्ट रहेका छन्,’ उनले भनिन् । यस्तै, मन्त्री श्रेष्ठले सहकारी सम्बन्धी ऐनहरु छरिएर रहेका कारण कतिपय अवस्थामा बाझिएको बताइन् । ‘कसैले आफ्नो स्वार्थसिद्धिका लागि ऐनहरुको निर्माण गरेको पाइएको छ, सरकारमुखी र जनमुखी ऐनहरु निर्माण गर्न आवश्यक छ,’ उनले भनिन् । मन्त्री श्रेष्ठले केही सहकारीका व्यवस्थापकका कारण नागरिकलाई समस्या र राज्य पनि ठगिने अवस्था रहेको बताइन् । उनले सहकारीलाई सिद्धान्तअनुसार सञ्चालन गरी अघि बढ्न निर्देशन दिइन् ।
स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौंको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू ठूलो भर्याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश ०२ (०१८ प ४९४० नंको मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक सिन्धुलीका लामाको आज बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । दुर्घटनामा सङ्लग्न पर्यटक बसलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रवक्ता भट्टले बताए ।
सोलुखुम्बुवासीलाई सुधारिएको फलामे चुलो
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका २३ घरधुरीलाई सुधारिएको फलामको चुलो वितरण गरिएको छ । पिके फाउण्डेशनका सचिव बुद्धसिङ तामाङ र समाजसेवी सुकमान तामाङले बुधबार त्यहाँका २३ घरधुरीलाई एक/एक थान फलामे चुलो वितरण गरेका हुन् । फलामे चुलोमा दाउराको खपत कम हुनाका साथै धुवाँको मात्रा कम हुने वडाअध्यक्ष पासाङ कट्वालले बताए । यस्ता चुलोको प्रयोगले वनजङ्गल संरक्षण र वायु प्रदूषण नियन्त्रणमा समेत टेवा पुग्ने उनको भनाइ थियो । सुधारिएको फलामे चुलोलाई ढुङ्गा माटोबाट बनेको चुलो जस्तो लिपपोत गर्न नपर्ने भएकाले गृहिणीहरुलाई सहज भएको छ । फलामे चुलो पाएसँगै केरुङवासीले खुसी व्यक्त गरेका थिए ।
चर्को ब्याजदरको विरुद्ध बुटवलमा पनि विरोध प्रदर्शन
काठमाडौं । नाडाको लुम्बिनी प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य लुम्बिनी अटोमोवाइल्स एशोसिएशन नेपालले पनि बुटवलको बसपार्कमा शान्तिपूर्ण विरोध कार्यक्रमको गरेको छ । नाडाले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत एशोसिएशनले पनि प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको हो । एशोसिएशनका अध्यक्ष गणेश भट्टराईले सरकारले कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयात खुला गरे पनि बैंकहरुको उच्च ब्याजदरका कारण सवारी साधनहरुको बिक्री वितरण हुने वातावरण बन्न नसकेको बताए । उनले यसकाे साथै व्यापार गर्नु अझै थुप्रै जटिलताहरु रहेको बताए । यस अघि उक्त एशोसिएशनका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंक भैरहवामा ज्ञापनपत्र समेत बुझाएका थिए ।