
काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएकी छिन् ।
बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काठमाडौंमा आयोजना गरेको प्रगति समीक्षा तथा सहकारी सुशासन बुलेटिन विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।
उनले सहकारीमा भएको समस्या भन्दा बढी समस्या जस्तो बनाएर सहकारीका समस्याहरुको प्रचार गरिएको बताइन् । ‘समस्यामा आएका सहकारी औंलामा गन्न सकिन्छ, राम्रा कामहरुको प्रचार हुन नसक्नु दुखद् हो, राम्रा सहकारी खोज्न विदेश जानुपर्दैन, नेपालभित्र नै राम्रा सहकारी छन्, महिलाहरुले सञ्चालन गरेको सहकारीहरु अझ उत्कृष्ट रहेका छन्,’ उनले भनिन् ।
यस्तै, मन्त्री श्रेष्ठले सहकारी सम्बन्धी ऐनहरु छरिएर रहेका कारण कतिपय अवस्थामा बाझिएको बताइन् । ‘कसैले आफ्नो स्वार्थसिद्धिका लागि ऐनहरुको निर्माण गरेको पाइएको छ, सरकारमुखी र जनमुखी ऐनहरु निर्माण गर्न आवश्यक छ,’ उनले भनिन् ।
मन्त्री श्रेष्ठले केही सहकारीका व्यवस्थापकका कारण नागरिकलाई समस्या र राज्य पनि ठगिने अवस्था रहेको बताइन् । उनले सहकारीलाई सिद्धान्तअनुसार सञ्चालन गरी अघि बढ्न निर्देशन दिइन् ।