विकासन्युज

मधेस प्रदेशका ९८० युवालाई सीप र रोजागारमूलक तालिम

धनुषा । कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमले प्रदेशमा कृषि, निर्माण र पर्यटन क्षेत्रमा एक सय ६० घण्टाको रोजगारमूलक तालिम दिइएको हो । सो कार्यक्रमको प्रगति र समीक्षाबारे स्थानीय पालिका प्रमुखसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेशका नौ सय ८० मध्ये नौ सय ६७ जनाले पूर्णरूपमा तालिम लिएको युएनडीपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा. मुकुन्दमणि खनालले बताए । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद सुवेदीले एक सय ६० घण्टाको तालिम लिएका युवा स्वरोजगार हुन थालेकाले तालिम प्रभावकारी भएको बताए । सरकारसँग मिलेर  बेरोजगार युवालाई प्रोत्साहन हुनेगरी अनुदान, सहुलियत दरमा कर्जा प्रवाहलगायत प्राविधिक सेवा दिनुपर्ने आवश्यकता भएको उनले बताए । मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले युवालाई स्वदेशमै सीप सिकाउन सके रोजगारमूलक व्यापार व्यवसायमा वृद्धि हुने विश्वास व्यक्त गरे । कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साल, पूर्वशिक्षा सचिव डा. रामहरि लामिछाने, सीटीइभीटी मधेस प्रदेश प्रमुख नागेन्द्र साह, कार्यक्रमका मधेस प्रदेश संयोजक दीपक साहशङ्करले कार्यक्रमका विविध पक्षमाथि चर्चा गरेका थिए । रासस

चिया बेचेर मासिक ६० हजार बचत गर्दै विपना

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । विपनाले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार कमाउँदै आएकी छिन्।बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन् । बजारमा चियाको मूल्य  २५ भए पनि विपनाले एक कप चिया २० का दरले बेच्ने गरेकी छिन् । ‘चिया बेचेर दैनिक तीन हजारका दरले मासिक ९० हजार कमाइ हुन्छ’, उनी भन्छिन्, ‘घरखर्च सबै कटाएर ६० हजार बचत गर्दै आएकी छु ।’ विपनाले दैनिक चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ तीन हजार भएको बताइन्। माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि विपना पढ्नका लागि तम्घास आएकी हुन्। उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट प्लस टु सक्काइन् । त्यसपछि फुर्सदमा भएको समयमा उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । त्यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने कल्पना गरिन् । मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर सुरुआत गररिन् । तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छिन् । अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको विपनाले बताइन् । ‘अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ’, उनी भन्छिन्, ‘मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन ।’, तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने विपनाको भनाइ छ । उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन् । विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिनिछन् । उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताइन् । लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ । विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छिन्।

नेपाल इन्भेष्टमेन्ट बैंकले स्कारपिओ र टिप्पर बेचेर रकम असुल्दै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकले ऋण कर्जाको धितो सवारी साधन सम्पतिहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हो । उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म वा कम्पनीले पौष १७ गतेभित्र बोलपत्र आवेदन दिनुपर्नेछ । राम कृष्ण अधिकारीको नाममा मालपोत कार्यालय चन्द्रनिगाहपुर, रौतहटमा दर्ता कायम रहेको वडा नं. ८ स्थित कित्ता नम्बर २११ को जम्मा क्षेत्रफल ०–८–० विगाह जग्गा र सोहिमो जग्गामा बनेका घरहरु समेत बिक्री गरिनेछ । यस्तै, सवारी धनी नेपाल इन्भेष्टमेण्ट बैंक रहेको ऋणी पुरुषोत्तम अधिकारीको बा १७ च ५६३८ नम्बरको महिन्द्रा एण्ड महिन्द्रा मोडलको महिन्द्रा पिकअप स्कारपिओ गाडी र ना ७ ख २१४१ नम्बरको टाटा एचसीवी टिप्पर बिक्री गर्ने भएको हो । साथै व्यक्तिगत जमानी दिएका र धितो सुरक्षण दिएकाले लिलाम बिक्री हुने समय अगावै आफूले कबूल गरेको रकम ऋणीलाई तिर्न लगाउनुहुन वा आफैले तिरी आफ्नो दायित्व पुरा गर्नुहुन बैंकले अनुरोध गरेको छ । उक्त सम्पतिहरु के कति रकममा किन्ने हो प्रष्ट खुलाई आवेदन पेश गर्नु पर्नेछ । बोलपत्र साथ आफूले कबुल गरेको रकमको कम्तिमा १० प्रतिशत रकम धरौटी जम्मा गर्नुपर्नेछ । सिलवन्दी बोलपत्रहरु पौष १८ गते वा उक्त दिन विदा परे भोलिपल्ट दिनको ३ बजे खोलिनेछ ।

बोटलर्स नेपाल तराई र बालाजुले पुस २७ मा डाके साधारणसभा, यस्ता छन् एजेण्डा

काठमाडौं । बोटलर्स नेपाल अन्तर्गतका दुबै कम्पनीले वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएका छन् । बोटलर्स नेपाल तराईको ३६ औं र बालाजुले ४४ औं वार्षिक साधारण सभा होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा गर्ने भएका हुन् । बोटलर्स नेपाल बालाजुको सभाले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रवितेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै बोटलर्स नेपाल तराईको पनि सञ्चालक समितिले प्रस्ताव गरेको ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । दुवै कम्पनीको सभाले संचालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले पुस १९ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

शाइन रेसुङ्गाको साधारण सभा पुस २५ गते, १४ प्रतिशत लाभांश पारित गर्ने

। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते बिहान ११ बजे ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल मणिग्राम रुपन्देहीमा वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने, सञ्चालक नियुक्ती अनुमोदन गर्नेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ५ अर्ब ५१ करोड ९ लाख रुपैयाँको १३.३० प्रतिशत अर्थात् ५० करोड २८ लाख ७४ हजार १९८ रुपैयाँ बोनस सेयर र ०.७० प्रतिशत अर्थात् २ करोड ६४ लाख ६७ हजार ६३ रुपैयाँ नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले बोनस सेयर वितरणपश्चात् चुक्ता पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने, वैदेशिक भ्रमण भत्ता तथा सुविधाहरु निर्धारण गरी नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय सम्बन्धी व्यवस्था प्रबन्धपत्र तथा नियमावलीमा थप गर्नेछ । यस्तै, सभाले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति र समाहित गर्न उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमती पत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्गन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन, संशोधन तथा सच्याउनका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्नेछ । बैंकले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १२ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेन्जमा पुस ११ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

लाभांश प्रस्ताव पारित गर्न नेपाल हाइड्रोले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल हाइड्रो डभलोपरले आफ्नो वार्षिक साधारण सभो बोलाएको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारणसभा पुस २९ गते बिहान ११ बजे नक्साल काठमाडौंमा बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँको ५ प्रतिशत अर्थात् १ करोड ५९ लाख ९६ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.२६३२ प्रतिशत अर्थात् ८ लाख ४१ हजार ९२१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने, ४ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । यस्तै, बोनस सेयर निष्काशन प्रयोजनका लागि कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने तथा सोही अनुरुप प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेन्जमा पुस ७ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले सभामा भाग लिन, मतदान गर्न र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

एनआरएन नेपालको लाभांश घोषणा

काठमाण्डौं । एन.आर.एन. नेपाल डेभलपमेन्ट फन्डले आफ्नो वार्षक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभा पुस २६ गते कम्पनीको रजिष्टर्ड कार्यलय बालुवाटार, काठमाण्डौंमा साँझ ५ बजे बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७७/७८ र २०७०/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण सहितको लेखापरीक्षण प्रतिवेदन, संचालक समितिद्वारा नियुक्त गरिएको लेखापरीक्षकको नियुक्ती अनुमोदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालकहरुको नियुक्तिका लागि निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको जम्मा ३ प्रतिशत अर्थात् २३ लाख ९९ हजार ५ सय रुपैयाँ बराबरको (कर सहित) लाभांश वितरण गर्ने छ । यस्तै, आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ र २०७०/०७९ को सचालकहरुको बैठक तथा अन्य सुविधा भत्ता खर्च अनुमोदन गर्ने र संचालकहरुको बैठक, भ्रमण भत्ता तथा अन्य सुविधा तथा खर्च निर्धारण गर्नेछ ।

सानिमा बैंकको १०.९८ प्रतिशत लाभांश आज पारित हुँदै

काठमाडौं । सानिमा बैंकको वार्षिक साधारण सभा आज हुने भएको छ । बैंकको १८औँ वार्षिक साधारण सभा आज पौष ३ गते, आम्रपाली बैक्ङ्क्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुने भएको हो । बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा÷नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरण, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।