विकासन्युज

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद बढी

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत अर्थात् १६ करोड ४ लाख ३५ हजार ३३१ रुपैयाँ बोनस सेयर र ६.४७ प्रतिशत अर्थात् २५ करोड ९५ लाख ४ हजार १४७ रुपैयाँ नगद गरी कूल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारि गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

कांग्रेसका दर्जन केन्द्रीय ससदस्यले मागे केन्द्रीय कार्यसमिति बैठक

ललितपुर। नेपाली कांग्रेसका एक दर्जन केन्द्रीय सदस्यले पार्टीको सुदृढीकरणका लागि सशक्त अभियान अघि बढाउने विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । ललितपुरको एक होटलमा आयोजित बैठकमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानु बास्तोला, सरस्वती अर्याल, अब्दुल मियाँ लगायतका नेताहरूले तत्काल केन्द्रीय कार्यसमिति बैठकको माग गरेका हुन् । संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग गर्न बैठकले निष्कर्ष निकालेको नेता विश्वकर्माले बताएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिना भइसक्दा पनि कांग्रेसले चुनावी समीक्षा समेत गरेको छैन । केन्द्रीय सदस्यहरूले संस्थापन पक्षभित्र केही नेताहरूको एकाधिकार चलेको बताउँदै चिन्ता व्यक्त गरेका थिए । संस्थापक पक्षभित्र भइरहेको पक्षपाती व्यवहारबारे सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले ध्यानाकर्षण गराउने भएका छन् । केन्द्रीय समितिमा मोर्चाबन्दी गरेर दबाब बढाउने उनीहरूको तयारी छ । विश्वकर्माले छलफललाई आगामी दिनमा अगाडि बढाउने बताए ।

म अहिल्यै मन्त्री बन्दिनँ, पार्टीमा गर्नुपर्ने काम धेरै छन् : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्ने गरेपनि आफूमा मन्त्री बन्ने कुनै आकंक्षा नरहेको स्पष्ट पारेका हुन्। उनले पार्टीमा रहेर गर्नुपर्ने कामहरु धेरै रहेकाले मन्त्री बन्न अरुलाई सहयोग गर्ने बताए। महामन्त्री शर्माले सरकारमा मन्त्री बन्ने भन्दा पनि दूर दराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्नेकुरा आफ्नो पहिलो प्राथमिकतामा रहेको स्पष्ट पारे। उनले कुनैबेला एक्लै दुई तिहाई ल्याएको काँग्रेस अहिले मिलेर चुनाव लड्दासमेत ५७ सिटमा सिमति भएको भन्दै चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला नभएको बताए। उनले आफूले अहिले जिम्मेवार भएर मन्त्रीहरुको आकंक्षा राख्ने नेताहरु उपयुक्त छनोट गर्ने कुरामा ध्यान दिने बताए। महामन्त्री शर्माले यतिबेला सरकार कस्तो बन्ने सन्दर्भमा धारणा राख्न लाग्नुपर्ने बेला रहेको पनि बताए। उनले भने, ‘सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्छन्, अनौठो कुरा होइन। अरु साथीहरुले राखिरहँदा त्यसमा म कुनै आलोचना गर्न पनिचाहन्। तर विश्वप्रकाश शर्माले के बिर्सिनु हुँदैन भन्दा १ वर्ष मात्रै पुगेको छ, महामन्त्री भएको। अहिले मैले पार्टीमा  गर्नुपर्ने धेरै कामहरु बाँकी छन्। दूर दराजका साथीहरुको भावना बमोजिम काम गर्न बाँकी छ। सबै साथीले सरकारमा जानुपर्छ भन्ने होइन।’ महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय भन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए। उनले अहिले बन्ने प्रधानमन्त्री दुई वर्षलाई मात्रै भएको भन्दै उनले गठबन्धनलाई सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु नहुने बताए। उनले राष्ट्रपति भवनमा व्यक्ति नभइ प्रवृत्ति लिएर जाने भएकाले पनि तेस्रो राष्ट्रपति बन्दै गर्दा समुदायको हिसावले पनि फरक प्रश्तुती हुन सक्नुपर्ने बताए।  महामन्त्री शर्माले काँग्रेसले, गठबन्धनका दलहरु र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने राष्ट्रपति अहिलेको आवश्यक्ता भएको बताए। महामन्त्री शर्माले राष्ट्रपति पदको चयन गर्दैगर्दा प्रधानमन्त्रीको कुरालाई प्रथम र अन्तिम नमानिकन राष्ट्रपतिको विषयलाई गम्भीरतापूर्वक लिएर संविधानको रक्षा र पालना गर्न आवश्यक रहेको बताए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि संविधानलाई उल्लंघन गर्दा सर्वोच्च अदालतबाट आदेश आउनुपरेको भन्दै अब सो स्थिति सिर्जना हुन नदिने पनि बताए।

एक अर्ब ५६ करोड लागतमा काभ्रेपलाञ्चोकका तेत्तीस सय घरमा विद्युत पुर्याइँदै

काभ्रेपलाञ्चोक । जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रका महाभारत र खानीखोला गाउँपालिकाको तीन हजार तीन सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन् । यसका लागि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाटै दुई गाउँपालिकाको बासिन्दालाई बिजुली पुर्याउन धामाधम काम भइरहेको छ । दुई गाउँपालिकाका स्थानीयलाई बिजुलीको उज्यालो दिलाउन तत्कालीन सरकारले एक अर्ब ५६ करोड रुपैयाँ रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु गरिएको थियो । तत्कालीन अवस्थामा जिल्लास्थित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचितलाई सम्मानार्थ महाभारतको बनखुमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधिले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतालाई दुई गाउँपालिकामा बिजुलीको मागपत्र पेस गरेका थिए । सोही मागका आधारमा सरकारद्वारा विद्युतीकरणको रकम विनियोजन गरिएको थियो । रकम अपुग भएका कारण आयोजना सम्पन्न गर्न थप ३० करोड रुपैयाँ माग गरी विद्युतीकरणको कामलाई अन्तिम चरणमा पुर्याइएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार महाभारत गाउँपालिकाको वडा नं ३ फोक्सिङटार, ४ र ५ स्थित बुढाखानीका सबै घरमा बिजुलीबत्ती बल्ने गरी सबै काम हालै सम्पन्न भएको छ । गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदानसमेत उपलब्ध गराएको जिम्बाले बताए । उनका अनुसार हाल तीनवटा वडाका लागि एक हजार तीन सय घरधुरीका लागि मिटर पुर्याइएको छ भने हाल घर–घरमा वायरिङको कार्य भइरहेको छ । हाल शाखा लाइन विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । महाभारत गाउँपालिकामा तीन हजार तीन सय घरधुरी छन् । सबै घरमा बिजुली, खानेपानी पुर्याउने गरी कार्य भइरहेको गाउँपालिका प्रमुख जिम्बाले बताए । यस प्रसारण लाइनबाट खानीखोलाको दुईवटा वडाका बासिन्दा लाभान्वित हुने जनाइएको छ । महाभारत गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता कान्छामान जिम्बाका अनुसार यही वर्षभित्र सबै घरमा बिजुली बत्ती बालिसक्ने गरी कामलाई तीव्रता दिइएको छ । केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग, कलकारखाना सञ्चालन गर्न सकिएको थिएन । यसअघि लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट घरमा बत्ती बाल्दै आइएको थियो । रासस

गगनकुमार थापाले बूढानीलकण्ठको हिकभिजन टावरको उद्घाटन गरे

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका–२ स्थित भङ्गालमा हिकभिजनको अत्याधुनिक भवन शुभारम्भ गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं ४ का नवनिर्वाचित सांसद गगनकुमार थापाले नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गरेका थिए । कार्यक्रममा बुढानिलकण्ठ नगर प्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, बुढानिलकण्ठ – २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ एवं वडासदस्य समेतको उपस्थिति रहेको थियो । सो अवसरमा उनीहरुले भवनमा रहेका हिकभिजनका उत्पादन प्रदर्शनीको अवलोकन एवं जानकारी समेत लिएका थिए । उनीहरुलाई म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका सञ्चालक मनिकुमार तामाङ, प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारी, सञ्चालकद्वय शिवप्रसाद ढुङ्गाना, कमल तामाङले हिकभिजनका उत्पादनका बारेमा जानकारी गराएका थिए । सो अवसरमा म्याक्सिमा मल्टिनेशनल ट्रेडिङका अध्यक्ष तामाङले आम नागरिकको सुरक्षासंग सम्बन्धित उपकरण स्वदेशमा उच्च क्षमतामा जडान हुन सुरुआत भैसकेको र भविष्यमा नयाँ नयाँ आधुनिक उपकरण स्वदेशमा भित्र्याउँदै सुरक्षित राष्ट्र निर्माणमा योगदान दिने बताए । उनले भने ‘कम्पनीले विगत एक दशकदेखि सुरक्षा उपकरणसंग सम्बन्धित उपकरण उपकरण स्वदेशमा भित्र्याउँदै आएको छ । दशरथ रंगशाला,धरहरा, गोदावरी सिटी हल, नेपाल राष्ट्र बैंक,भैसेपाटीस्थित सांसद आवास लगायतमा कम्पनीले सिसिटिभी लगायतका अन्य उपकरण उपलब्ध गराउँदै आएको छ ।’ म्याक्सिमा मल्टिनेशनल ट्रेडिङका प्रबन्ध निर्देशक अधिकारीले विगत दशकदेखि नेपालभरी आफ्नो बिक्रेता मार्फत हिक भिजनका उत्पादन बिक्री बितरण गर्दै आइरहेको बताए । उनले भने ‘कम्पनी हिकभिजनका लागि नेपालको आधिकारीक विक्रेता हो । गत वर्ष मात्रै हिकभिजन चीनको तथ्यांकमा नेपालका लागि सर्बााधिक विक्रेताका रुपमा रहेको जानकारी दिएको छ ।’ हिकभिजनले सिसिटिभी , एक्सेस कन्ट्रोल, मनिटर , हाजिरी मेसिन, भिडियो डोरफोन, ठूला लिड बोर्डस, पार्किङ सोलुसन, चेक प्वाइन्ट, ट्राफिक राडार क्यामेरा, स्मार्ट सिटी, स्मार्ट होम फायर एलराम, रुम व्यारियर जस्ता उपकरण उत्पादन गर्दै बिक्रीवितरण गर्दै आएको छ ।

माग बढेसँगै बजारमा बढ्न थाल्यो अण्डाको मूल्य

चितवन । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को  तीन सय ६० रुपैयाँ तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको छ । यसअघि अण्डाको मूल्य प्रतिक्रेट तीन सय रुपैयाँमा बिक्री हुँदैआएको थियो । सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट चार सय ३५ रुपैयाँ पर्न आउँछ । उनले भने, ‘पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो ३० रुपैयाँ हुँदा अण्डा प्रतिक्रेट तीन सय रुपैयाँमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो  ६५ रुपैयाँ पर्दा अण्डाको मूल्य उस्तै छ ।’ औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उनको भनाइ छ । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट चार सय पाँच रुपैयाँ पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा १६ रुपैयाँ रहेको थियो । नेपालमा अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन लागिपरेको पोख्रेलले बताए । हालै मात्र देशभरका धेरै कुखुरापालक व्यवसायी सङ्गठित भएर अघि बढेका छन् । पोख्रेलले लागत मूल्यसम्म पाउन सके पनि कृषकहरू बच्न सक्ने बताए ।  हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदैआएको छ । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् । बिचौलियाको चलखेललाई रोकेर कृषकको हितमा सरकार लाग्नुपर्ने व्यवसायीको भनाइ छ । रासस

न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । विभागले प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहने तथा तराईका केही  भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव एक डिग्री र सबैभन्दा धेरै धरानको अधिकतम तापक्रम २४ दशमलव दुई  डिग्री सेल्सियस रहेको छ । रासस

टरिगाउँ विमानस्थलबाट अब हप्तामा पाँच दिन उडान हुने

दाङ । जिल्लाको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो । पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उनले बताए । हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको उनले बताए । ‘यसअघि इन्धन डिपोबाट इन्धन हाल्न सुरु भएको थिएन, अब यहीबाट इन्धन हाल्न थालिएको छ’, उनले भने, ‘त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको छ ।’ यात्रुको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्ने गरी तयारी गरेको उनको भनाई छ । साथै निजी हवाई सेवासँग पनि समन्वय गर्ने गरी तयारी रहेको उनको भनाइ छ । ‘नियमित भएमा हामीले निजी क्षेत्रका जहाज ल्याउने गरिरहेका छौँ’, उनले भने, ‘त्यसमा यात्रुको माग कस्तो आउँछ, त्यसमा भर पर्छ ।’ केही दिनअघिदेखि विमानस्थलमा निर्माण भएको इन्धन डिपोबाट इन्धन भर्न थालिएको हो । अहिले नेपाल वायुसेवा निगमको १९ सिटे ट्वीनअटर जहाजले सेवा दिइरहेको छ । कुनै समय दैनिक दुईवटासम्म उडान भर्ने गरिएको भए पनि पछिल्लो समय हवाई सेवा घटेर तीन दिनमात्रै भएको थियो । यसले गर्दा यस क्षेत्रबाट हवाई सेवाका लागि भैरहवा र नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । अब यसलाई अन्त्य गर्न थप दुई दिन हवाई सेवा थपिएको छ । यो सँगै अब पाँच दिन हवाई उडान भइरहेको छ । विमानस्थलको धावनमार्ग विस्तारका लागि प्रक्रिया अगाडि बढेको छ । अहिलेको धावनमार्ग सात सय ५० मिटर लम्बाइ रहेको भन्दै यसलाई बढाउनका लागि इञ्जीनियरको टोली आएको उपप्रमुख चौधरीले बताए। ‘इञ्जीनियर आएर डिपिआरका लागि सबै हेरेर गइसकेको छ’, उनले भने। विमानस्थल विस्तारका लागि पहल गर्न तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति गठन गरेको छ । सोही समितिले अहिले आफ्ना गतिविधि अगाडि बढाएको छ ।