काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई मर्जर गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ ।
दुवै बैंक मर्जरको अन्तिम स्वीकृतिका लागि गत साता नेपाल राष्ट्र बैंक पुगेका थिए । सोही अनुसार राष्ट्र बैंकले दुवै बैंकलाई मर्जर गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।
एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते प्रारम्भिक मर्जर सम्झौता भएको थियो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
यी दुवै बैंक मर्जर भएपश्चात् चुक्ता पूँजी २६ अर्वभन्दा बढी हुनेछ भने शाखा संख्या ३५५, एटीएम संख्या २४४, एक्स्टेन्सन काउन्टर ५१ वटा हुने बताइएको छ । बैंकको निक्षेप ३ खर्ब १ अर्व भन्दा बढी र कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ । दुवै बैंकले पुसको १७ गतेभित्रै एकीकृत कारोबार गर्ने गरी काम गरिरहेका छन् ।
मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ ।