‘राष्ट्र बैंकले पेलेको पेलै छ, बैंकहरुको भविष्य राम्रो छैन’
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले राष्ट्र बैंकले बैंकहरुको नियमनमा कडाइ गरेको धारणा राखेका छन् । बैंकको ३६औं वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो समय राष्ट्र बैंक कडाइका साथ उत्रिएको धारणा राखेका हुन् । उनले राष्ट्र बैंकले हरेक नीति नियम तथा व्यवस्थाहरु कडाइका साथ लागू गर्न बाध्य पारिरहेको बताए । यसले बैंकहरुको भविष्यमै प्रश्न खडा भएको उनको भनाइ छ । ‘पछिल्लो समय रास्ट्र बैंकले पेलेको पेलै छ, अर्कोतिर उद्योगी व्यवसायीहरु पनि आन्दोलित छन्, यसले बैंकको भविश्यमाथि नै प्रश्न उठाएको छ, बैंकहरुको भविष्य राम्रो छैन,’ उनले कार्यक्रममा भने । यस्तै, उनले मेगा बैंकसँग मर्जरपछि बैंक झन दरिलो र बलियो बन्ने धारणा राखे । उनले आगामी वर्षहरुमा बैंकले संभाव्यताको अध्ययन गरी संभावना भएको स्थानहरुमा बैंकको सेवा विस्तार गर्ने, बैकिङ्ग क्षेत्र तथा व्यापारिक जगतको आवश्यकता अनुसार नयाँ नयाँ उत्पादन तथा सेवाहरुको शुरुवात गर्ने धारणा राखे । उनले नयाँ प्रविधिमा आधारित सर्वसुलभ सेवा विस्तार गर्ने, आवश्यकता अनुसार पूँजी थप गर्न क्रणपत्र जारी गर्ने जानकारी दिए । आफ्नो पूँजी, ग्राहक संख्या तथा शाखा संञ्जाललाई मजबूत बनाउन उपयुक्त बैंक तथा वित्तिय संस्थालाई गाभ्ने/प्राप्ती गर्नका निम्ती मर्जर सम्बन्धी अध्ययन कार्य जारी राख्ने पनि बताए । बढ्दो घरबहाललाई ध्यानमा राखेर उपयुक्त स्थानमा बैंकको शाखा संचालन गर्नको लागी बैंकको आफ्नै घर/जग्गा खरिद गर्दै जाने, विकास रणनीति र गुणस्तरीय सेवाहरुको अनुसरण गर्दै मुलुककै शीर्ष बैंकका रुपमा आफूलाई स्थापित गर्न बैंक निरन्तर रुपमा प्रयासरत र प्रतिबद्ध रहने उनको भनाइ छ ।
कुन आधारमा बढाइयो पेट्रोलियम ढुवानी व्यवसायीको भाडा ?
काठमाडौं । नेपाल आयल निगमले पुस २ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको भाडा बढायो । निगम व्यवस्थापनको उक्त निर्णयको अहिले चौतर्फी आलोचना भइरहेको छ । बढाइएको ढुवानी भाडाले उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थपिने भएपछि सामाजिक सञ्जालमा निगमको विरोध भइरहेको छ । उपभोक्ता अधिकारकर्मी पनि निगमको यो निर्णय सही नभएको बनाइरहेका छन् । साविकको ढुवानी भाडादरमा औसत करिब आठ प्रतिशत बढाइएको छ । करारमा सञ्चालित पेट्रोलियम ढुवानी व्यवसायीको भाडादर वैज्ञानिक र समायानुकूल बनाउनका समायोजन गरिएको निगमको दाबी छ । अर्कोतर्फ ढुवानी व्यवसायी निगमले अहिले बढाएको भाडादर पनि कम रहेकाले अझै बढाउन दबाब दिइरहेका छन् । यसरी निगम, ढुवानी व्यवसायी र उपभोक्ताका आआफ्नै दाबी अहिले आइरहेका छन् । तर ढुवानी भाडा बढाउन माग गर्दै विगत लामो समयदेखि व्यवसायी बारम्बार आन्दोलित हुने गरेको पृष्ठभूमिमा निगम व्यवस्थापनले यस्तो निर्णय गरेको हो । विसं २०७५ यता ढुवानी भाडा समायोजन नभएको भन्दै व्यवसायी बेलाबेला आन्दोलित हुने गरेका थिए । पछिल्लोपटक गत भदौ अन्तिम सातादेखि उनीहरुले पेट्रोलियम ढुवानीमै अवरोध गरे । चाडबाड नजिकिएका बेला उनीहरु भारतमा ‘प्रोडक्ट डेलिभरी अर्डर’ (पिडीओ) उठाउन गएनन् । पेट्रोलियम पदार्थको आन्तरिक ढुवानीमा पनि अवरोध भयो । व्यवसायी आन्दोलित भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको रोहबरमा नेपाल आयल निगम र ढुवानी व्यवसायीबीच गत भदौ २९ गते तीन बुँदे सहमति भयो । जसमा ‘ढुवानी भाडा समायोजनसम्बन्धी प्रतिवेदन’ असोज ७ गतेभित्र लागू गर्ने र व्यवसायीले पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध नगर्ने गरी सहमति भयो । पेट्रोलियम व्यवसायीको ढुवानी भाडाबारे अध्ययन गर्न २०७८ मङ्सिर २४ गते गठन गरिएको समितिको प्रतिवेदन लागू गर्न निगम सञ्चालक समितिलाई व्यवसायीको चर्को दबाब थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव उर्मिला केसीको संयोजकत्वमा गठित ‘नेपाल आयल निगम लिमिटेडबाट करारमा सञ्चालित ट्याङ्कर/ट्रकको ढुवानी भाडा अध्ययन गर्न गठित कमिटी’को प्रतिवेदन लागू गरिनुपर्ने उनीहरुको माग थियो । यातायात व्यवस्था विभाग, काठमाडौँ विश्वविद्यालय, नेपाल आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका प्रतिनिधिसमेत रहेको यो समितिको प्रतिवेदन आएपछि आयल निगमले त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट समीक्षा प्रतिवेदन तयार पारिएको निगमका प्रवक्ता विनीतमणि उपाध्याय बताउँछन् । ‘मन्त्रालयका उपसचिवको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनमाथि त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानबाट समीक्षा प्रतिवेदन तयार पारेर त्यसैका आधारमा निगम व्यवस्थापनले ढुवानी भाडा बढाउने निर्णय गरेको हो’, प्रवक्ता उपाध्यायले भने । ढुवानी भाडा बढाउन निर्णय सञ्चालक समितिबाट पहिल्यै भए पनि निर्वाचन आचारसंहिताका कारण पुस २ गतेदेखि लागू भएको पनि उनको भनाइ छ । त्यसो भए, निगमले कुनकुन विषयलाई हेरेर ढुवानी भाडा बढाएको हो त ? ‘ट्याङ्कर चालकको तलब, नेपाल र भारतमा तिर्नुपर्ने सवारी कर तथा सडक दस्तुरलगायत अन्य कर, ब्लुबुक नवीकरण, रुट पर्मिट, फिटनेस चार्जलगायत शुल्क हेरिएको छ । त्यस्तै क्यालिब्रेसन चार्ज, ह्रासकट्टी, बीमा, सवारी मर्मतसम्भार, इन्धन खपत, लगानीको प्रतिफललगायत शीर्षक पनि छन्’, प्रवक्ता उपाध्यायले भने । यी विभिन्न शीर्षकमा विगत पाँच वर्षयता भएको वृद्धिलाई हेरेर प्रतिवेदन तयार पारिएको र सोही प्रतिवेदनको सुझावका आधारमा ढुवानी भाडा वृद्धिको निर्णय निगम व्यवस्थापनबाट भएको उनको भनाइ छ । स्वतन्त्ररुपमा सम्बन्धित निकायबाट अध्ययन प्रतिवेदन तयार पारी सोही आधारमा ढुवानी भाडा बढाउने निर्णय भएको निगमको दाबी रहे पनि उपभोक्ता अधिकारकर्मी भने उक्त प्रतिवेदनको निष्पक्षतामाथि नै प्रश्न उठाइरहेका छन् । ‘ढुवानी व्यवसायीकै मान्छे राखेर बनाइएको प्रतिवेदनको आधिकारिकता कति भन्ने मुख्य प्रश्न हो । जुन प्रतिवेदनका आधारमा ढुवानी मूल्य बढाइयो त्यो नै हचुवा छ’, उपभोक्ताहित संरक्षण मञ्च, नेपालका अध्यक्ष ज्योति बानियाँले भने । दक्षिण एसियामै नेपालको पेट्रोलियम ढुवानी भाडादर सबैभन्दा उच्च बनाउनेगरी निगमले गरेको निर्णय अनुचित रहेको उनको भनाइ छ । यो निर्णयले उपभोक्तालाई मात्र नभई निगमलाईसमेत आर्थिक भार थपेको तर केहि सीमिति ढुवानी व्यवसायी लाभान्वित भएको पनि बानियाँको जिकिर छ । साविकको ढुवानी भाडादरमा अहिले औसत आठ प्रतिशतले बढाएर लागु गरिए पनि व्यवसायी भने बढेको भाडादर पनि अपुग रहेको बताइरहेका छन् । नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्व अर्याल अहिले समायोजन गरिसके पछिको ढुवानी भाडादर पनि अवैज्ञानिक रहेको दाबी गर्छन् । ‘अध्ययन प्रतिवेदनअनुसार ढुवानी भाडा लागू गरिएन । डेढ वर्ष पहिलेको प्रतिवेदन अहिले कार्यान्वयन ल्याइयो । त्यसमा पनि हुबहु नभई घटाएर भाडादर कायम गरियो’, अर्यालले भने । कर, श्रमिको ज्याला, सवारी साधनका पाटपुर्जा, इन्धन मूल्यलगायत विभिन्न शीर्षकमा मूल्य बढेको तुलनामा अहिले गरिरहेको भाडा समायोजन पनि न्यून रहेको उनको भनाइ छ । यसअघि निगमले रक्सोलदेखि सिनामङ्गलसम्मको रुटलाई आधार मानेर भाडा निर्धारण गरेकोमा अहिले विभिन्न ३६ वटा रुटका लागि फरकफरक भाडा तोकेर थप वैज्ञानिक बनाइएको निगमको भनाइ छ । हाल नेपाल आयल निगमसँग रहेका एक हजार आठ सय ६९ वटा ट्याङ्क तथा ट्रकमध्ये एक सय ८७ वटा १२ किलोलिटर, एक हजार छ सय ५० वटा २० किलोलिटर तथा ३२ वटा ट्याङ्क ट्रकहरु २० किलोलिटर क्षमताका रहेका छन् । भाडा निर्धारण गर्दा २० किलोलिटर क्षमता भएका ट्याङ्क तथा ट्रकलाई आधार लिइएको निगमले जनाएको छ । त्यसैगरी सार्वजनिक सवारीसाधनको भाडा निर्धारणसम्बन्धी यातायात व्यवस्था विभागको प्रावधान, सरकारले तोकेका सवारीसाधनको करको दर तथा अन्य दस्तुर, श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सरकारी निर्णय र हाल कायम रहेका सबै रुटको दूरी यकिन गरी भारतको सडक खण्डमासमेत लाग्ने टोल ट्याक्सलगायत अन्य खर्चको विश्लेषण गरी भाडादर निर्धारण गरिएको निगमको तर्क छ । निगमले अहिले लागू गरेको पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको भाडादर प्रतिकिलोलिटर बरौनीदेखि जनकपुरसम्म तीन हजार दुई सय ५७, अमलेखगञ्जसम्म रु तीन हजार सात सय ७६, विराटनगरसम्म तीन हजार पाँच सय ५७, पोखरासम्म छ हजार ७४, थानकोटसम्म छ हजार छ सय ३० र सिनामङ्गलसम्म छ हजार छ सय ९० रहेको छ ।
बारपाक सुलिकोटमा ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया
गोरखा । बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। बारपाक सुलिकोट गाउँपालिकाको समन्वय तथा नेपाल नेत्रहीन सङ्घ, नेपाल नेत्र ज्योती सङ्घ र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा १५ दिनसम्म चलेको निःशुल्क आँखा शिविरका क्रममा मोतियाबिन्दु भएका बिरामीको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिए। उनीहरुको ताकुमाझ लाकुरीबोट स्वास्थ्यचौकीमा निःशुल्क शल्यक्रिया गरिएको हो। शिविरबाट पालिकाभित्रका छ सयभन्दा बढी आँखाका बिरामीले निःशुल्क सेवा लिएका भट्टले बताए। ‘गाउँपालिकाभित्र रहेका आठ वडामध्ये वडा नम्बर १ र २ मा मोतियाबिन्दु पहिचान भएका ४३ जनाको शल्यक्रिया गर्न बाँकी छ’, भट्टले भने। उनीहरुको यही पुस ११, १२ र १३ गते शल्यक्रिया गरिने भएको छ । शिविरमा आँखा परीक्षणका क्रममा समस्या देखिएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।
गम्भीर मोडमा क्रिप्टोकरेन्सी
काठमाडौं । सन् २०२२ क्रिप्टोकरेन्सीको दुनियाँले खुसी भएर फर्किएर हेर्न सक्ने वर्ष बन्न सकेन । दुर्घटना, संक्रमण र पतन यति द्रुत गतिमा विकास भयो की वर्षको अन्त्यतिर आइपुग्दा लगानीकर्ताहरु क्रिप्टोकरेन्सीको अस्तित्वको प्रश्न सोध्ने ठाउँमा आइपुग्ने अवस्था बन्यो । सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइन आफूले बनाएको ६९ हजार डलर बराबरको मूल्य क्यापबाट गत नोभेम्बरसम्म आउँदा तिन चौथाई भन्दा धेरै गिरावट भयो । २२ हजार टोकन र क्वाइनको मूल्य नोभेम्बर २०२१ देखि अहिलेसम्म आउँदा ३ ट्रिलियन डलरको उचाइबाट एक तिहाइ भन्दा धेरै कममा झर्न पुगेको छ भने धेरैको अवस्था गतिशुन्य अवस्थामा पुगेको छ । सन् २०२२ मा प्रवेश गर्दैगर्दा बिट्क्वाइनले आफूलाई संस्थागत गर्दै क्रिप्टोको क्षेत्रको मुख्य मुलप्रवाहको रुपमा स्थापित गर्ने प्रयास गरेको थियो । विश्वमा मुद्रास्फिति भइरहेको बेलामा विश्वको प्रसिद्ध कम्पनी टेस्लाको मालिक एलन मस्क लगायत केही प्रतिष्ठित पुँजीपतिहरुले बिटक्वाइनलाई समर्थन गरेका थिए, जुन विषय बिटक्वाइनको लागि निकै सकारात्मक बनेको थियो । गत महिनामा क्रिप्टोकरेन्सीको क्षेत्रमा एउटा गम्भिर दुर्घटनाको रुपमा बैंकम्यान फ्रायडको एफटिएक्स एक्सचेन्जको अवसान देखिन पुग्यो । क्रिप्टोकरेन्सीमा ठूलो दुर्घटना भएसँगै सन् २०१७ तिर जस्तै यतिबेला सो क्षेत्रमा फेरिउछालको भविष्यवाणी गर्ने मानिसहरु अत्यन्तै कम देखिएका छन् । सन् २०२२ सँगै धेरै मानिसहरु क्रिप्टोकरेन्सीबाट टाढिदै छन भने धेरै देशका मुद्रा नियामकहरुले पनि क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिवन्ध लगाएका छन् । युरोपियन केन्द्रीय बैंकले गत महिना बिट्क्वाइनमा देखिएको बाउन्सलाई ‘अप्रासंगिकताको बाटो अघि कृत्रिम रुपमा प्रेरित गरिएको अन्तिम हाफ हो’ भनेको छ । जसलाई सो क्षेत्रका लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएका छन् । तर, क्रिप्टो इकोसिस्टममा अर्बौं डलरको अतिक्रमण र हेराफेरी भइरहेको छ । एउटै समयमा बिकेन्द्रीकृत वित्त प्रणाली र निजी क्रिप्टो मुद्रा परम्परागत बैंकिङ प्रणालीको छायाँमा रहेर काम गर्न र विकास हुन सम्भव हुने विषय अब भ्रमपूर्ण बनेको छ । खुद्रा तथा संस्थागत लगानीकर्ताहरुले क्रिप्टोका अपरेटरहरुसँग विश्वास गर्न छाडेका छन् । कतिपय नीति निर्माता र क्रिप्टोका लगानीकर्ताहरुले अमेरिकी सेक्युरीटी अफ एक्सचेन्ज कमिसनलाई नियामक भूमिकाको लागि अनुरोध गरेका छन् । सन् २०२३ मा के होला ? कतिपय अमेरिकी रणनीतिकारले क्रिप्टोकरेन्सी र कैंयन प्रकारका टोकनहरु पनि सम्पत्तीको पोर्टफोलियोमा रहन सक्ने बताएका छन् । लगानीकर्ताहरुले ब्रोकर एक्सचेन्जहरुसँग सुरक्षित हुन आवश्यक पर्ने नियमहरु र पुँजी पर्याप्तताको माग गरेका छन् । त्यसको लागि वर्षौं समय नलागेर केही महिनामा सुधार हुने अपेक्षा पनि केही विश्लेषकहरुले गरेका छन् । तर, पुँजी क्षेत्रका केही म्यानेजरहरुले आगामी १०/१५ वर्षको दौरानमा डिजिटल सम्पत्ती नै मुख्य सम्पत्तीको रुपमा स्थापित हुने अपेक्षा गरेका छन् । तर, सोही सन्दर्भमा आगामी वर्षमा परम्परागत वित्तीय दुनियाँले क्रिप्टोको अस्वस्थ अवस्थालाई हेर्दै ब्लकचेनमा आधारित पुँजीलाई विभिन्न बन्ड र टोकन जारी गर्न सक्नेछन् भने कतिपय केन्द्रीय बैंकहरुले डिजिटल मुद्राको भूमिकालाई पनि कम गर्न सक्नेछन् । विश्वको भौतिकवादी दुनियाँको अनिवार्यतामा स्वतन्त्र अवधारणा सहितको क्रिप्टोकरेन्सी व्यवस्थापन गर्ने विषय जहिल्यैपनि जोखिमपूर्ण हुने हुँदा राज्यको अर्थव्यवस्था र निजी लगानी क्षेत्रको रुपमा स्थायी भइरहने विषयमा धेरैको असहमति भएको देखिन्छ । तर, आर्थिक क्षेत्र निरपेक्ष रुपमा सञ्चालन भइरहँदैन, त्यहाँ सँधै वैकल्पिक सम्भावनाहरु पनि रहिरहन्छन भन्नेहरुले भने यसलाई निरन्तरता दिने नियमित प्रयास गरिरहने छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा ।
एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट हुने
काठमाडौं । एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा दश प्रतिशत अतिरिक्त छुट हुने भएको छ । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर) ले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) संग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको हो । यस छुट अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरि स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम ३ सयसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने छन् । कम्पनिका अनुसार यो योजना पुस २० गतेसम्म रहने छ भने छुट अवधिभर हरेक ग्राहकले ९ सयसम्म छुट लिन सक्ने छन् । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) को सम्पूर्ण शाखाहरुमा क्यु आर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् । यस अफर अन्तर्गत एक्सप्रेस सुपरमार्केर्टको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिने कम्पनिले जनाएकाे छ ।
हुस्सुका कारण बिहानैदेखि आन्तरिक उडान प्रभावित
काठमाडौं । बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित बनेका छन् । बिहानैदेखि लागेको हुस्सु र बाक्लो कुहिरोका कारण तराईका अधिकाशं विमानस्थलमा हुने उडान तथा अवतरण प्रभावित बनेकोे हो । काठमाडौं, बिराटनगर, भैरहवा, जनकपुर, पोखरा, सिमरा, नेपालगन्ज लगायतका शहरमा बिहानैदेखि हवाई उडानहरु प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहानै देखि उडान प्रभावित हुँदा दिनभरको उडानमा असर पर्ने कार्यालयले जनाएको छ । आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले बिहानैदेखि उडान प्रभावित बनेको भन्दै उडान डिले हुन सक्ने भन्दै सूचना जारी गरेका छन् ।
एसवाई बजार एपमार्फत् अब अनलाइनबाटै किन्न सकिन्छ घर
काठमाडौं । अब अनलाइनबाटै घर किन्न पाउने भएका छन् । एसवाई बजार एपमार्फत् अनलाइनबाटै घर किन्न सकिनेछ । एसवाई बजारले कोरियन प्रविधिको विभिन्न डिजाइनका घर किन्ने सुविधा ल्याएसँगै अब अनलाइनबाटै घर किन्न सक्ने भएका हुन् । नेपालमा स्थापित हुँदै गइरहेको कोरियन प्रविधिको एसवाई प्यानल विश्वको उत्कृष्ट भवन निर्माण सामग्री उत्पादन गर्ने कोरियन कम्पनी हो । भूकम्प प्रतिरोधी तथा अन्य बिभिन्न भवनको लागि प्रयोग गर्ने प्यानलहरु सस्तो, बलियो र अत्याधिक इन्सुलेसनयुक्त हुन्छ । ‘यो घर हामीले हाम्रो आफ्नै फ्याक्ट्रीमा निर्माण गर्छौ’ एसवाई नेपालका महाप्रबन्धक शशी साहले भने, ‘अनलाइनबाट अर्डर आएपछि हामी रेडिमेड घर लगेर दिन्छौँ ।’ उनका अनुसार कन्टेनर हाउस, एक तला, दुई तला घर अनलाइनबाट किन्न सकिनेछ । यो प्रविधि कोरिया, युरोप लगायत पश्चिमी राष्ट्रहरुमा अत्याधिक प्रयोग भएको छ । भुकम्प प्रतिरोधी, सस्तो, कम तौल लगायत निर्माण तथा ब्यबस्थापनमा सजिलो रहेको यस प्यानलबाट निर्मित घरले तातो ,चिसो तापक्रमको असरबाट छुटकारा दिनुका साथै यो घर विभिन्न रङ, साइज तथा आकर्षक डिजाइनमा उपलब्ध हुने कम्पनीका महाप्रबन्धक शशी साहले जानकारी दिए । यो घर एसवाई बजारकाे वेबसाइटमा गएर किन्न सकिनेछ ।
भरतपुरमा ट्राफिक व्यवस्थापनका लागि आजदेखि हर्न निषेध
चितवन । चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको समेत व्यवस्थापन गर्ने भएको छ । बढ्दो शहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको छ । एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न विभिन्न निर्णय गरी आजदेखि कार्यान्वनमा ल्याउने समझदारीसहित निर्णय गरेको थियो । उक्त निर्णयअनुसार पूर्वबाट काठमाडौँ–पोखरा जाने यात्रुबाहक बस, मिनी बस, माइक्रोलगायतका भाडाका सवारी साधनका यात्रु चढाउने तथा झार्ने कार्य केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनुपर्नेछ । पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुबाहक सवारी साधनका यात्रु चढाउने तथा झार्ने काम केन्द्रीय बसपार्कमा गरी चौबिसकोठी, लाइन्सचोक हुँदै पुलचोकबाट बाहिरिने व्यवस्था गरिएको छ । पश्चिम जाने यात्रुबाहक सवारी साधनले केन्द्रीय बर्सपार्कबाट यात्रु चढाउने तथा झार्ने गरी जानुपर्ने नियम बनाइएको छ । यस्तै भरतपुर महानगरपालिका क्षेत्रको रिङरोडमा चल्ने सवारी साधनको पार्किङ स्थल नारायणगढ बसपार्क हुनेछ । भरतपुरबाट टाँडी, पर्सा, भण्डरा, लोथरसम्म जाने यात्रुबाहक बसका लागि पार्किङ केन्द्रीय बसपार्कमा गर्नुपर्ने व्यवस्था मिलाइएको छ । नारायणगढ बजारको पुलचोकबाट पोखरा बसपार्कतर्फ जाने ट्रक र लामो दूरीका बस प्रवेशमा निषेध गरिएको छ । सोहीअनुसार काठमाडौँ पोखराबाट पूर्व वा पश्चिमतर्फ जाने यात्रुबाहक सवारी साधन ट्रक, लहरी, टिपरजस्ता मालबाहक सवारी साधनलाई आँपटारीबाट नारायणघाट बजारतर्फ जान निषेध गरिएको छ । महानगरको गोन्द्राङदेखि पुलचोक आँपटारीसम्मको बजार क्षेत्रमा हर्न बजाउन निषेध गरिएको छ । यस्तै नारायणगढ तथा भरतपुरमा रहेका राजमार्गको पेटी तथा सडकको दाँयाबायाँ भागमा निजी तथा भाडाका सवारी साधनलाई पार्किङमा निषेध गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको परिकल्पनाअनुसार सवारी साधनलाई व्यवस्थापन गर्न लागिएको बताइन् । बाहिर छरिएर राखिने सवारी साधनका कारण शहरको सुन्दरतामा ह्रास आएको र आवागमनसमेत प्रभावित भएका कारण बजार र पार्किङ व्यवस्थापनको काम गर्न लागिएको उनले जानकारी दिइन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले आजदेखि ट्राफिक व्यवस्थापनको काम परिवर्तन हुने र दुई बसपार्क पूर्णरुपमा सञ्चालनमा आउने बताए । उनले पटक–पटक यातायात व्यवसायीसँग छलफल गरेर निर्णय कार्यान्वयन गर्न लागिएको बताए । रासस