स्याङ्जाको एउटै गाउँबाट एक करोडको सुन्तला बिक्री
स्याङ्जा । स्याङ्जाको एउटै गाउँबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा नं ४ सुन्तलाबारीबाट यसवर्षमात्रै एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष खेमराज गुरुङले बताए । ‘अहिले ठूला बगैँचाको सुन्तला ठेक्कामार्फत् एक करोडको बिक्री भइसकेको छ’, उनले भने, ‘अब साना बगैँचाका करिब सात लाख रुपैयाँ बराबरका सुन्तला बिक्री हुन बाँकी छ ।’ यहाँ उत्पादन भएका सुन्तला पोखरा, बुटवल, मुग्लिनलगायतका ठाउँबाट ठेकेदार आइ बोट वा बगैँचा नै खरिद गर्छन् । तौल गरी बेच्दा प्रतिकेजी ६ देखि ७० रुपैयाँ मात्रै पर्ने भएकाले किसानले बोट नै ठेक्का दिने गरेका छन् । ‘गतवर्ष कति मूल्य थियो र अहिले कस्तो फलेको छ भन्ने आधारमा मूल्याङ्कन गर्छौ’, उनले भने, ‘अन्दाजी ४०र५० हजार फाइदा हुने गरी ठेक्का दिइने भएकाले बजार खोज्नुपर्दैन, ढुवानी तथा टिप्नका लागि कामदार पनि चाहिन्न ।’ गाउँमा रहेका २२ घरले न्यूनतम एक लाख ५० हजारदेखि बढीमा १३ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गरेको उनको भनाइ छ । सुन्तला बिक्रीबाट पाँच लाखभन्दा बढी आम्दानी गर्ने घरधुरीको सङ्ख्या धेरै छ । गतवर्ष यस गाउँबाट ८७ लाख ७४ हजार रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो । यसवर्ष सुन्तला गतवर्षको तुलनामा धेरै र बाक्लो फलेकाले आम्दानी पनि बढेको उनले बताए । गत वर्ष एघार हजार सुन्तलाका बोट रहेपनि यस वर्ष तीन हजार तीन सय सुन्तलाका नयाँ बोट थपिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनले यस गाउँलाई पनि समेटेपछि बगैँचा विस्तार गरिएको हो । ‘यहाँ उत्पादन भएको सुन्तला सबै बिक्री हुँदैनन्’ उनले भने, ‘गाउँमा होमस्टे सञ्चालनमा रहेकाले यहाँ आउने पाहुना तथा आफन्तलाई कोसेलीस्वरुप सुन्तला दिने गरिएको छ ।’ यो गाउँको नाम पनि सुन्तालासँगै जाडिएको छ । अन्य समयको तुलनामा यस समयमा होमस्टेमा आउने पाहुनाको सङ्ख्यामा बढी हुनेगरेको छ ।
खाना पकाउनका लागि गाउँघरमा अझै गुइँठाकै भर
खजुरा । ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ । खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा–कण्डा इन्धनका रूपमा प्रयोग गरिरहेको बाँके डुडुवा गाउँपालिका–१ की लक्ष्मी कोरी बताउँछिन् । ‘ग्यास किन्न सक्ने अवस्था छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो’, उनले भनिन्, ‘घरमा गाई भैँसी पालेकी छु, त्यसैको गोबरले गुइँठा बनाउन सजिलो भएको छ, अनि खाना पनि त्यसैबाट बनाउँछु, अर्को विकल्प छैन ।’ डुडुवा–१ कि निर्मला कोरीको अवस्था पनि उस्तै छ । ‘आफूसँग भएको जमिनमा रुख बिरुवा छैन, नजिकै जङ्गल पनि छैन, हामी त बाढी प्रभावित क्षेत्रमा बसेका छौँ, अहिले नदीमा बाढीले बगाएर ल्याएको काठ दाउरा सङ्कलन गर्न सक्दैनौँ, त्यसैले हाम्रा लागि गुइँठा नै खाना पकाउने विकल्प हो ।’ गाउँमा प्रायः पशुपालन गर्ने भएकाले घरपिच्छे महिला गुइँठा बनाउने गर्दछन् । परापूर्वकालदेखि चलिआएको परम्पराका कारणले पनि गुइँठा बनाउने चलन अझै कायम छ । गुइँठाले स्वास्थ्यमा असर गर्नेबारे अलि सचेत हुन थालेको परिवारले ग्यासको व्यवस्था गरे पनि गुइँठाको प्रयोग फिट्टिकै नछोडेको डुडुवा–४ का शिक्षक चन्दा मिश्र बताउँछन् । उनका अनुसार गुइँठाको प्रयोगले चुलोको खाना अलि स्वादिलो भएको सोचका कारण पनि गाउँघरमा यसको प्रयोग गरिन्छ, । चिसोको समयमा आगो ताप्नलाई पनि यसको प्रयोग बढी गरिन्छ । अहिले पछिल्लो समय यसबारे मानिस सचेत बन्न थालेको उनको भनाइ छ । गुइँठा गाई, गोरु तथा भैँसीको गोबरमा भुस, पराल मिलाएर बनाइन्छ । यसरी बनाइएको गुइँठालाई घाममा सुकाएर बाल्नयोग्य बनाइन्छ । स्वास्थ्यका दृष्टिले गुइँठा बाल्नु राम्रो मानिन्न । आगो छिटो नसल्कने, आगो सल्के पनि धुवाँ बढी फाल्नेलगायतका कारणले यसले स्वास्थ्यमा गम्भीर असर पार्छ । जसकारण श्वासप्रश्वास, क्षयरोग र मोतियाबिन्दुजस्ता दीर्घकालीन रोग लाग्ने जोखिम बढ्ने नेपालगन्ज मेडिकल कलेजका विशेषज्ञ डा विनोद कर्ण बताउँछन् । दाउराका रूपमा गोबरको अत्यधिक प्रयोग भएकाले कृषि उत्पादनमा ह्रास हुँदै गएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गोबरको प्रयोग इन्धनका रूपमा हुन थालेपछि किसानले रासायनिक मल प्रयोग गर्न थालेका छन् जसका कारण तत्काल उब्जनी बढ्ने भए पनि माटोको उर्बराशक्ति ह्रास हुँदै गएको छ । बाँकेको नरैनापुर गाउँपलिकाले परम्परागत चुलोको अन्त्य गर्नका लागि गत वर्ष प्रत्येक घरमा ग्यास चुलो र सिलिण्डर अनुदानमा वितरण गरेको थियो । पहिलो चरणअन्तर्गत एक हजार परिवारलाई ग्यास सिलिण्डर र चुलो अनुदानमा वितरण गरिएको गाउँपलिकाका अध्यक्ष इश्त्यिाक अहमद शाहले बताए । उनले भने, ‘गाउँघरमा परम्परागत चुलोको प्रयोग बढी छ, यसले आगलागीका घटना बढेका छन्, त्यसैले ग्यासको प्रयोग गरिएपछि आगलागीका घटनामा कमी आउँछ र स्वास्थ्यलाई पनि असर गर्दैन ।’ भेरी ग्याससँग सहकार्य गरी घरघरमा ग्यास सिलिण्डर वितरण गरिएको थियो । नरैनापुर क्षेत्रमा वर्षेनी रुपमा आगलागीका घटना हुने गरेको नेपाल रेडक्रस सोसाइटीका अधिकृत प्रह्लाद विश्वकर्मा बताउँछन् । उनका अनुसार नरैनापुरमा अधिकांश घर फुसको भएकाले र परम्परागत चुलोमा खाना पकाउनले आगो लाग्ने जोखिम बढेको छ । नरैनापुरवासीलाई ग्यासतर्फ आकर्षण गर्न पालिकाले निःशुल्क ग्यास वितरण गरे पनि सिलिण्डरमा रहेको ग्यासलाई प्रयोग गरी पछि त्यसमा आर्थिक समस्याका कारण पैसाको अभावमा ग्यास भर्न नसकिएर सयाैँ ग्यास सिलिण्डर थन्किएको अवस्था छ । त्यस क्षेत्रका परिवारमा आर्थिक अभावमा विकल्पको रुपमा अझै पनि गुइँठा र दाउराको प्रयोगको विकल्प नभएको नरैनापुरका स्वास्थ्यकर्मी तारा शर्मा बताउँछन् । उनले भने,‘यहाँ यस्तो परिवार छन्, जसलाई दैनिक मजदुरी गरेपछि साँझ बिहानको छाक टर्छ, त्यस्ता परिवारले ग्यास कसरी व्यवस्थापन गर्न सक्छन्, तिनीहरुलाई परिवारको खाना लाउनै समस्या छ ।’ सो क्षेत्रमा यस्ता परिवारको सङ्ख्या बढी रहेको छ । ‘अनुदानमा ग्यास सिलिन्डर प्राप्त गर्ने नरैनापुरका स्थानीय केहीले बेचिसके त केहीले आफ्ना छोरी तथा नातागोतलाई दिए’, उनले भने, ‘सिलिन्डर पाए पनि महँगाइले गरिब र किसानका लागि ग्यासको मूल्य छोइनसक्नुभएको छ ।’ नरैनापुर मात्र होइन, नेपालगन्ज नगरसँग जोडिएका थुप्रै गाउँहरुमा गरिबीका कारणले उनीहरु अझै पनि गुइँठा र दाउरा नै प्रयोग गर्ने गरेको पाइन्छ । परम्परागत चुलोको अन्त्य गर्न स्थानीय सरकारले त्यसको विकल्पमा ठोस कार्यक्रम बनाउनुपर्ने गैरसकारी संस्था महासङ्घ बाँकेका सदस्य सूर्यलाल यादव बताउँछन् । उनले भने,‘परम्परागत चुलोको अन्त्य गर्नका लागि बिना खचिलो दीर्घकालीन कार्यक्रम लागू गर्नुपर्दछ, अलि वैज्ञानिक विधिको प्रयोगले यसको विकल्प तयार गर्नुपर्दछ, यो समस्या जिल्लाभरि नै छ, शिक्षित तथा अशिक्षित दुवै परिवारले यसको प्रयोग गरिरहेका छन्, त्यसैले सचेतनाका कार्यक्रम र यसको विकल्पमा ठोस योजना स्थानीय सरकारले बनाउनुपर्ने देखिन्छ ।’ रासस
नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ । बिहीबार सम्पन्न बैंकको ३६ औं वार्षिक साधारणसभाले प्रस्तावित ११ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै बैंकका सेयरधनीलले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ । ४ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १९ अर्ब नाघेको छ । यस्तै, इन्भेष्टमेन्ट बैंक मेगा बैंकसँगको मर्जर प्रकृयालाई अन्तिम रुप दिने चरणमा छ । जसको लागि बैंकको सभाले आगामी पुस २७ गतेभित्र एकीकृत कारोबार गर्ने तयारी भइरहेको समेत जानकारी गराएको छ ।
काठमाडौं उपत्यकासहित तराईका जिल्लामा बाक्लो हुस्सु
काठमाडौं । आज बिहानदेखि काठमाडौं उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न भू-भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । धेरै स्थानमा लागेको कुहिरो तथा हुस्सु मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचर विमानस्थलले जनाएको छ । हुस्सु र कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार पश्चिम तराईका जिल्ला कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम यसैगरी मध्य तराईका जिल्लामा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा तथा पूर्व तराईका जिल्ला सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापामा बिहानैदेखिको हुस्सुका कारण हिँडडुल गर्न नै समस्या भएको छ । अहिले नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भएको छ । काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान र अवतरण प्रभावित भएको छ । उडान अवतरण बन्द हुँदा हवाईयात्रा गर्ने यात्रुलाई असहज भएको विमानस्थलका प्रवक्त टेकनाथ सिटौलाले जानकारी दिए । अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका विभिन्न भू-भागमा हुस्सुरकुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । यसैगरी आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ । आउँदो २४ घण्टामा तराईका केही भू-भागमा बिहानीपख हुस्सु, कुहिरो लाग्ने र देशका प्रायजसो भू–भागमा तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको विभागले जनाएको छ ।
पर्यटन प्रवर्द्धनमा कालिकादेखि विध्ववासिनीसम्म साइकलयात्रा
पोखरा। पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली सुरु भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्याली को आयोजना गरिएको हो । साइकल र्यालीको गण्डकी प्रदेशका पर्यटन, उद्योगा, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ कालिका मन्दिरमा उद्घाटन गरे । उनले पर्यावरणको रक्षा र पर्यटन प्रबद्र्धनका लागि र्यालीको महत्वपूर्ण सन्देश रहेको बताए । साइकल र्यालीले वातावरण संरक्षणमा चेतनामूलक सन्देश प्रवाह गर्दै बागलुङ र पोखरालाई पर्यटनका माध्यमबाट नजिक बनाउने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए । पोखरामा हुँदै गरेको मेयरकप साइकल दौड प्रतियोगिताका अवसरमा पोखरा आउने पर्यटकलाई बागलुङसम्म आउने वातावरण बनाउन र्यालीका लागि अनुरोध गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । ‘साइकल र्यालीको बागलुङमा मिलेर व्यवस्थापन गरेका र्छौं’, बागलुङ नगरपालिकाका कार्यबाहक नगर प्रमुख कोपिलामणि शर्माले भने, ‘पोखरा आउने पर्यटकलाई बागलुङमा पनि घुम्ने ठाउँछन् भन्ने सन्देश र्यालीले दिनेछ ।’ साइकल र्यालीमा काठमाडौँ, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँलगायतका जिल्लाबाट दुई सय जना यात्रीको सहभागिता छ । पोखरादेखि सिधैँ मुस्ताङ जाने पर्यटकले यसपछि बागलुङको बाटो रोज्न सक्ने विश्वास लिइएको छ । विदेशी साइकल पर्यटक तथा अन्तरिक पर्यटनलाई आमन्त्रण गर्दै ‘थोपा थोपा इन्धन बचाउ’ भन्ने नाराका साथ पोखरामा आयोजना गरिएको प्रतियोगिताको सन्देश बागलुङबाट दिइएको हो । साइकल र्याली बागलुङ कालिकाबाट सुरु भइ पर्वतको कुश्मा बजार हुँदै पोखराको विन्धवासिनी मन्दिर पुगेर समापन हुनेछ । रासस
कुहिरो र हुस्सु हटेपछि उडान नियमित
काठमाडौं । बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही समय उडान तथा अवतरण बन्द भए पनि अहिले उडान तथा अवतरण पुनः सुरु भएको हो । कुहिरो र हुस्सु हटेपछि अहिले विमानस्थलमा जहाज उडान तथा अवतरण भइरहेका उनले बताए । मौसम खुलेपछि मात्रै उडान अवतरण सुरु भएको विमानस्थलले जनाएको छ । कुहिरो र हुस्सुका कारण केही विमान होल्डमा रहेकाले अहिले मौसम खुलेपछि उडान अवतरणमा केही ढिलाइ हुनसक्ने विमानस्थलले जनाएको छ ।
सांसदको शपथ दिउँसो १ बजे हुने
काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ । शपथग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित उपस्थित हुन सङ्घीय संसद् सचिवालयले आग्रह गरेको छ । राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित भइदिनसमेत सचिवालयले आग्रह गरेको छ । प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ ।
पुस १३ गतेदेखि पोखरा सडक महोत्सव हुँदै
काठमाडौं । अँग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा २४ औैं पोखरा सडक महोत्सव हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले विगतका वर्षहरुको जस्तै यो वर्ष पनि पोखराको पर्यटन प्रवद्र्धनका लागि महोत्सव गर्न लागेको हो । पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा वाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा गन्तव्यको रुपमा पर्यटन प्रवद्र्धन उद्देश्यले पुस १३ गतेदेखि १७ गतेसम्म पोखरा लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव गर्न लागिएको बताए । उनले सडकमा नै खाऔं सडकमा नै रमाउँ भन्ने उद्देश्यले महोत्सव हरेक वर्ष भइरहेको बताए । अध्यक्ष भट्टराईले पोखरा सडक महोत्सवमा साँस्कृतिक कार्यक्रम,मौलिक भेषभुषा प्रदर्शन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन,दोहोरी गीत प्रतियोगिता,झाँक्री प्रदर्शन,रात्रीकालिन कन्सर्ट,बोट रेस र पोखराका प्रमुख गन्तव्य सहितको डमुमेन्ट्री प्रदर्शन गर्ने बताए । उनले पोखरा सडक महोत्सव पाँच दिनसम्म हुने जानकारी दिए । उनले पोखरा सडक महोत्सवले कोरोना महामारीको कारण सिथिल बनेको पर्यटन क्षेत्र अब पर्यटनमैत्री बन्ने विश्वास रहेको बताए । उनले महोत्सवले पोखरा लेकसाइडको मात्रै नभएर समग्र पोखराको पर्यटन प्रवद्र्धनमा जोड दिए । त्यस्तै,रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) का केन्द्रिय अध्यक्ष अरनिको राजभण्डारीले पछिल्लो समय देखिएको व्यापारी मन्दीलाई महोत्सवले सहयोग पुर्याउने बताए । उनले सडक महोत्सवले स्थानीय उत्पादनलाई बजार प्रवद्र्धन गर्ने बताए । उनले व्यापार र पर्यटन प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रलाई सहयोग गर्न जरुरी रहेको बताए । उनले हरेक क्षेत्रमा निजी क्षेत्र अगाडि आएको देश नै विकसित हुने भन्दै यस्ता सडक महोत्सव नेपालका सबै स्थानमा गर्न सरकारले सहयोग गर्न आवश्यक रहेको बताए ।