विकासन्युज

आम्दानीको स्रोत बन्यो पोखराको पानी, तीन करोडको व्यापार

गण्डकी । जंगलको बीच भागबाट निस्किएको महभिरको पानी फुर्केटारी सामुदायिक वनको आम्दानी बनेको छ। समूहको सक्रियतामा स्थापना गरी सञ्चालनमा आएको फुर्केटारी एक्युपेयर प्रशोधित पानी बजारमा बिक्री गरेर समूहले आम्दानीको स्रोतका रुपमा उपयोग गरेको हो। पोखरा महानगरपालिका–२५ हेम्जास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहले साढे दुई वर्षअघि सुरु गरेको महभिरखोला प्राकृतिक खानेपानी प्रालिमार्फत खेर गएको पानीलाई समूहको पहलमा आम्दानीको स्रोतमा परिणत गरेको हो। खानेपानीको प्रयोजनका लागि झण्डै २० वर्ष अघि चार किलोमिटरको दूरीबाट दुई इञ्चको पाइपमार्फत बस्तीमा ल्याएको पानी जंगलमा हरियाली बढेसँगै पानीको स्रोत वृद्धि भएपछि समूहको पहलमा विकल्पको रुपमा पानी उद्योग सुरु गरिएको फुर्केटारी एक्युफेयर प्रालिका कोषाध्यक्ष कमलमणि त्रिपाठीले जानकारी दिए। प्राकृतिक स्रोतको पानी शुद्ध र स्वादिलो भएको कारण बजारमा माग बढ्दै गएको उल्लेख गर्दै उनले भने, ‘अहिले उद्योगको पानी पोखरा बजारसहित म्याग्दी, पर्वत, बागलुङ तनहुँलगायतका जिल्लाका उपभोक्ताबीच पुर्‍याउन सफल भएको छ।’ दुई करोड ४० लाख रुपैयाँको लागतमा स्थापना गरी सञ्चालनमा ल्याएको उक्त उद्योगबाट प्रतिघण्टा तीन हजार लिटर पानी शुद्धीकरण गर्ने क्षमता रहेको उल्लेख गर्दै उनले हालसम्म पानी बिक्रीबाट तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको बताए। आर्थिक वर्ष २०७९/८० को चार महिनामा ३७ लाख ५९ हजार छ सय मूल्य बराबरको पानी बजारमा बिक्री गरिएको छ। त्रिपाठी भन्छन्, ‘२०७७ वैशाखदेखि सञ्चालनमा आएको उक्त उद्योगबाट आव २०७७/७८ मा एक करोड २६ लाख २९ हजार आम्दानी भएको थियो।’ फुर्केटारी सामुदायिक वन समूहका अध्यक्ष एवं व्यावसायिक पानी उद्योग सञ्चालक समितिका सल्लाहकार उमानाथ त्रिपाठीका अनुसार वन समूहको ५० हजार र ५९ उपभोक्ताबाट २५ हजारदेखि पाँच लाखसम्मको शेयर लगानीमा उद्योग सञ्चालन गरिएको हो। पानीको मुहान संरक्षणका लागि विगतमा जिविसबाट तीन लाख, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको तीन लाख, हरियो वन कार्यक्रमबाट एक लाख ८० हजार र भूसंरक्षण कार्यालयबाट ५० हजार सहयोग प्राप्त भएको र बाँकी रकम उपभोक्ताबाट संकलन गरिएको उनले बताए। बजार क्षेत्रका उपभोक्तामा बोतल र जारको पानी उपयोग गर्ने बानी परिसकेको वर्तमान अवस्थामा वन समूहले उत्पादन गरेको मूलको पानीले बजार पाएको छ। त्रिपाठीले भने, ‘प्रालिले २० लिटरको जार, एक र आधा लिटरको बोतलको पानी बजारमा बिक्री गर्दै आएको छ।’ प्रालिले जारको पानी ५०, एक लिटरको बोतल प्रतिकाटुन (१२वटा) एक सय ६५ र आधार लिटरको प्रतिकाटुन (२०वटा) बोतल दुई ६० मा बिक्री गर्दै आएको छ। उद्योगमा हाल १८ जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेको वन समूहका सचिव रमा त्रिपाठीले जानकारी दिए। उक्त मूलको पानीबाट उपभोक्ताका समूहले एक घर एक धारा जाडन गरी खानेपानीको सुविधालाई निरन्तरता दिँदै आएको छ। कूल २८ हेक्टर क्षेत्रफलमा पैmलिएको वन क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यका साथ पानी व्यवस्थापन, घुम्ती कोष परिचालन, वन गोडमेल, वेमौसमी तरकारी खेती, खानेपानी तथा मुहान संरक्षण र डिप बोरिङ सञ्चालन उपसमिति निर्माण गरिएको छ। वनको संरक्षण, सम्वर्द्धन र विकास गर्दै आएका सामुदायिक वन उपभोक्ता समूहले काठको विकल्पको रुपमा वन क्षेत्रभित्र रहेका प्राकृति स्रोतको सम्भाव्यता अध्ययनका आधारमा उद्यम सञ्चालन गरी थप आयआर्जन उन्मुख हुँदै गएको छ। तरकारी खेतीमा प्रयोग भएको पानी जार र बोतलमा राखेर बजारमा बिक्री गर्न सुरु गरेपछि सो वन समूहको सक्रियतामा सिँचाइका लागि डिप बोरिङको व्यवस्था गरिएको छ। कूल ६५ लाखको लागतमा चार इञ्चको बोरिङमार्फत निकालिएको पानीबाट उपभोक्ताको १६६ रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ। हेमजा विशेष गरी आलुखेतीका लागि परिचित छ। सामुदायिक वनको संरक्षणसँगै उत्पादिन वन पैदावार र प्राकृतिक स्रोतको उपयोगमा कतिपय कानुनी अड्चनका कारण सदुपयोग हुन नसकेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका सचिव ठाकुर भण्डारीले जानकारी दिए। सामुदायिक वनलाई मुलुकको समृद्धिसँग जोडिने खालका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले जमिन, जङ्गल र जलस्रोतलाई भरपुर उपयोग गर्दै प्रथम रोजगारीका रुपमा विकास गर्नुपर्नेमा जोड दिए। प्राकृतिक स्रोत साधनको विविधतापूर्ण प्रयोगसँगै उपभोक्ता एवं मुलुकका लागि सामुदायिक वन वरदान सावित बन्दै गएको छ। मुलुकमा यतिखेर २२ हजारभन्दा बढी सामुदायिक वन समूह क्रियाशील रहेको उनको भनाइ छ।

राजेशबाबु श्रेष्ठको नेतृत्वमा नेपाल शारीरिक सुगठन तथा फिट्नेश महासंघको तदर्थ समिति गठन

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिट्नेश महासंघको तदर्थ समिति गठन भएको छ ।राजेशबाबु श्रेष्ठको नेतृत्वमा तदर्थ समिति गठन भएको हो । मनकामना केबलकारसँगै चितवन कोइ कन्स्ट्रक्सनमा आवद्ध श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन् । राष्ट्रिय खेलकुद परिषदले नेपलिज फेडेरेशन अफः विडविल्डिङ एण्ड फिटनेस संघको दर्ता खारेज गरी नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा नारायण प्रधान, दिनेश कुमार राजभण्डारी, दिनेश अमात्य, बिजय लाल कायस्थ, रण बहादुर थेबे नियुक्त भएका छन् भने महासचिवमा अजय बज्राचार्य, सचिव राजन श्रेष्ठ, कोषाध्यक्षमा राजेश उपाध्याय नियुक्त भएका छन् । यस्तै, सदस्यमा रुपेन्द्र गुरुङ्ग, पवन डंगोल, दिनेश श्रेष्ठ, चन्द्र बहादुर मगर, नविन मान उदास, रेणुका श्रेष्ठ, भारती घले, बाबुकाजी मानन्धर, सितु प्रसाद श्रेष्ठ, रत्न लाल मानन्धर, नरेश मल्ल, निर्मला मर्हजन, केशव नागा, रोशन मर्हजन, बलराम सुवेदी, वकिलमान उदास, सुजन लामा र विनिता राई चुनिएका छन् ।

रात्रिबस नयाँ बसपार्कमा मात्रै पार्किङ गर्न पाइने

काठमाडौं  काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ। ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरि मुलुकको सङ्घीय राजधानी काठमाडौंबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रिबस जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक जामसमेत हुने भएकाले अबदेखि नयाँ बसपार्कबाट मात्र पार्किङ गर्नुपर्ने व्यवस्था गरिएको बताए। ‘ललितपुरको ग्वार्कोमा बन्न लागेको फ्लाई ओभर निर्माणसँगै रात्रिबस चक्रपथ वरपर सञ्चालन हुँदा सवारी साधनको जाम बढेकाले नयाँ बसपार्कबाट मात्र संचालन गर्नुपर्ने व्यवस्था मिलाएका हौं,’ प्रवक्ता भट्टले भने। यसअघि रात्रिबस उपत्यकाको चाबहिल, गौशाला, कोटेश्वर, कलंकी, गोङ्गबु, माछापोखरी लगायतका क्षेत्रमा पार्किङ गरिँदै थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नागरिकलाई सहज ढङ्गले सेवा संचालन गर्ने गरि यातायात क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताए। ‘रात्रिबसलाई नयाँ बसपार्कबाट संचालन गर्नेबारे यातायात व्यवसायीलाई कुनै आपत्ती छैन। रातको समयमा व्यवस्थितरुपमा चढाउने र झार्ने गर्नसके यात्रुलाई समेत सहज हुन्छ’, उनले भने। अध्यक्ष स्वाँरले कार्यालयको समयबाहेकका अन्य समयमा चक्रपथ वरपर सहज ढङ्गले चढाउने र झार्ने गरेर बसपार्कभित्र आएर बस्ने वातावरण निर्माण गर्नुपर्ने बताए। उनले ट्राफिक जरिवना रकम पाँच सयबाट बढाएर एक हजार पाँच सय बनाएको भन्दै आपत्ति पनि जनाएका छन्। यातायात क्षेत्रलाई व्यवस्थितरुपमा संचालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने उनको भनाइ थियो। वि सं २०५६ मा काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबिच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर काठमाडौं महानगरपालिका-२६ गोङ्गबुमा १६१ रोपनी क्षेत्रफलमा संचालनमा ल्याइएको नयाँ बसपार्कमा दुई हजारभन्दा बढी सवारी साधन अटाउँछन्। उक्त बसपार्कबाट हाल देशभर ६० भन्दा बढी जिल्लामा सवारी साधन आवतजावत हुँदै आएका छन्।

नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

कावासोती । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दैआएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रध्यानाध्यपक भोजराज दाहालले बताए । ‘विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए, एकैपल्ट यतिधेरै जुम्ल्याहा विद्यार्थी पढ्न आएका यसपटक नै हो, यो आफैँमा दुर्लभ संयोग हो’, दाहालले भने, ‘एउटै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हामीसँग हुँदा गर्व लागेको छ ।’ जुम्ल्याहा जन्म आफैँमा दुर्लभ जन्म भएको बताउँदै प्रिन्सिपल दाहालले जुम्ल्याहा विद्यार्थीको आफ्नो विद्यालयको गौरव भएको बताउँछन् । ‘एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा हुनु हाम्रा लागि दुर्लभ मात्रै होइन ऐतिहासिक पनि हो, हामी यी नानी बाबुको अध्ययन अध्यापनमा कुनै कमी हुन नदिने गरेर लागेका छौँ’, दाहालले भने । जुम्ल्याहा विद्यार्थी अध्यापन गराउँदै आउनुभएका शिक्षकसँग पनि फरक खालको अनुभव रहेको छ । जुम्ल्याहा विद्यार्थी एउटै कक्षामा रहेकाले ऊनीहरुमा सहकार्य प्रतिस्पर्धाको भावाना रहेको विद्यालयका सामाजिक शिक्षक ईश्वर पौडेल बताउँछन् । विद्यार्थीलाई अध्यापन गराउने क्रममा शिक्षक अनुहारमा एकरुपता भएकाले कहिलेकाहीँ झुक्किने गरे पनि जुम्ल्याहा जोडीसँग व्यवहार गर्न सजिलो हुने पौडेल बताउँछन् । तेह्र जोडी जुम्ल्याहा विद्यार्थी अरु विद्यार्थीजस्तै पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहने गरेका उनले बताए । विद्यालयको कक्षा १० मा पढ्ने जुम्ल्याहा दाजुबहिनी निहाल क्षेत्री र निहारिका क्षेत्री दुवैले जुम्ल्याहा भएर जन्मिन पाएकोमा गर्व लागेको बताए । एउटै कक्षाको पढाइ भएकाले घरमा अध्ययन गर्न सजिलो भएको भन्दै उनीहरु घरमा अभिभावकको माया बराबर पाउने गरेको बताउँछन् । उनीहरु जस्तै विद्यालयकै कक्षा ८ मा पढ्ने रीतिका सापकोटा र रिया सापकोटा दिदी बहिनी छन्। दिदी बहिनी त्यसै माथि एउटै कक्षामा अध्ययन गर्ने भएकाले कहिलेकाहीँ साथीहरु र शिक्षक शिक्षिकासमेत झुक्किने गरेको अनुभव उनीहरु सँग छ । जुम्ल्याहा सन्तान जन्मिँदा सुरुका केही वर्ष हुर्काउन बढाउन सम्स्या भएको भए पनि दुवै सन्तानले सँगसँगै प्रगति गरेको देख्दा भने फरक खालको खुसी महसुस हुने गरेको कावासोती–२ का जुम्ल्याहा सन्तानका पिता रिसिकान्त सापकोटा बताउँछन् । जुम्ल्याहा सन्तानलाई आमाको दूध, पोषणलगायतका कुराहरु आवश्यक मात्रमा पु¥याएर सुरु सुरुमा हुर्काउन गाह्रो भए पनि हुर्किदै गएपछि धेरै कुराहरु मेल खाने भएकाले उनीहरुलाई बुझ्न झनै सजिलो हुने सापकोटा बताउँछन् । ‘सँगै पढ्ने, सँगै खेल्ने, एकअर्काको भावना अरु बच्चाहरुले भन्दा छिट्टै बुझ्ने भएकाले पनि रमाइलो लाग्छ’, उनले भने । विसं २०४६ मा स्थापना भएको उक्त विद्यालयले आफ्नो ३३औँ वार्षिकोत्सवमा मङ्गलबार जुम्ल्याहा सन्तान र उनीहरुका अभिभावकलाई सम्मान गरेको छ ।

मानव बेचबिखनमा चिनियाँ नागरिक, १० जना फसाएपछि परे फन्दामा

काठमाडौं । प्रविधिको दुरुपयोग गरी बैंकिङ प्रणाली ह्याक गर्नेदेखि विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर मानिस ठगी गर्ने गैरकानूनी कार्यमा संलग्न रहेका धेरै चिनियाँ नागरिकलाई यसअघि प्रहरीले पक्राउ गरी कानूनी दायरामा ल्याएको थियो । चिनियाँ नागरिक आर्थिक अपराधमा मात्रै नभई मानव बेचबिखन जस्तो जघन्य अपराधमा समेत संलग्न भएको पाइएको छ । पछिल्लो घटनाले भने मानव बेचबिखनमा पनि चिनियाँ नागरिक सक्रिय हुन थालेको पाइएको हो । मानव बेचविखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार मानिसलाई धेरै तलब (डलरमा) प्राप्त हुने लोभ देखाएर एजेण्टमार्फत सम्पर्कमा आएका युवालाई विदेश पुर्याउने र गैरकानूनी गतिविधिमा लगाउने कार्यमा चिनियाँ नागरिक पनि संलग्न रहेको फेला परेको हो । यसरी दुई चिनियाँ नागरिकले १० जना नेपाली युवालाई लोभमा फसाएर बिक्री गरेको खुलेको र उनीहरूले अझै धेरै नेपाली युवालाई विदेशमा पठाएको आशङ्कामा अनुसन्धान जारी रहेको ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । उनका अनुसार काठमाडौँ जिल्ला अदालतको आदेशले यसरी मानव बेचबिखनमा संलग्न अभियुक्त चिनियाँ नागरिकद्वय छोवाङ रुङ र चेन याङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । उक्त कार्यमा सहयोगीको भूमिकामा रहेका केही नेपालीलाई अनुसन्धानको दायरामा ल्याइएको पनि उनले बताए । उनीहरू व्यापारिक भिसा लिएर विगत पाँच वर्षदेखि नेपाल बस्दै आएका थिए । आरोपी रुङ भने आइटी इञ्जिनियरसमेत हुन् । उनले नेपाली महिलासँग विवाह गरेर नेपाल बस्दै आएको खुलेको छ । उनीहरूले नेपाली एजेन्टसमेतको प्रयोग गरी मानिसलाई यहाँबाट भारत हुँदै थाइल्याण्ड पुर्याएर त्यहाँबाट गाडीमा लाओस पठाई मानव बेचबिखन गरेको ब्युरोको दाबी छ । उनीहरूले सुरुमा लाओसको सेल्स मार्केटिङमा एक हजारदेखि एक हजार ५०० डलरसम्म मासिक पारिश्रमिक पाउने लोभ देखाएर नेपालबाट मानिस लाओस पठाउँदै आएका थिए । लाओस पुर्याएर आइटी कम्पनीमा राखी त्यहाँबाट नक्कली सामाजिक सञ्जाल खोल्न लगाई विट क्वाइनमा लगानी गराउन सामाजिक सञ्जालबाट विभिन्न देशमा मानिससँग सम्पर्क गर्न लगाई कानूनविपरीतका कार्यमा संलग्न गराइएको पीडितहरूले बताएका छन् । ती चिनियाँ नागरिकले सुरुमा पीडितबाट जनही रु तीन लाख ९० हजार लिएको पाइएको र त्यहाँ पुगेपछि गरेको कामको पारिश्रमिक पनि नदिएको फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए । उनीहरूमार्फत बेचबिखनमा परेका धेरै नेपाली अझै पनि लाओसमा रहेको र उद्धार पर्खिरहेको पनि पीडितले बताएका छन् । सो विषयमा अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ । यसरी बेचबिखनमा परेका भनेर तीन महिला र सात पुरुषले छुट्टाछुट्टैरूपमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । यसरी भएको थियो घटना चिनियाँ र अङ्ग्रेजी भाषासमेत जानेका युवालाई उनीहरूले पहिलो प्राथमिकतामा राखेर यसरी विदेश पठाउने गरेका थिए । सोही क्रममा डलरमा तलब पाउने लोभमा काठमाडौँमा कक्षा १२ सकेका केही युवा चिनियाँ नागरिकको सम्पर्कमा आएका थिए । सुरुमा ती विद्यार्थीलाई अन्तर्वार्ता नै लिएर उनीहरूले आकर्षक तलब पाउने प्रलोभनमा गत भदौ १७ गते सडकमार्गबाट भारत अनि थाइल्याण्ड हुँदै लाओस पुर्याइएका थिए । बीचमा फरकफरक व्यक्ति जोडिएर उनीहरूलाई लाओस पुर्याएको पीडितहरूले बताएका छन् । त्यसपछि भनेको कम्पनीमा काम नलगाई पीडितलाई गैरकानूनी काममा लगाइएको थियो । दुई महिना काम गरेपछि आफन्तको सहयोगमा उनीहरू गएको कात्तिक २५ गते नेपाल फर्कन सफल भए । अनि पीडितले कात्तिक ३० गते ब्युरोमा जाहेरी दिएका र सोही जाहेरीका आधारमा प्रहरीले काठमाडौँको ठमेलबाट मङ्सिर ८ गते चेन याङलाई पक्राउ गर्यो । उनलाई पक्राउ गरेको चाल पाएका अर्का अभियुक्त रुङ भने भागे । उनी भागेको थाहा पाएको प्रहरीले सबै नाकामा निगरानी बढाएकामा मङ्सिर ९ गते बिहानै बङ्गलादेश जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्न सफल भयो । उनीहरूमाथि झण्डै १५ दिनको आवश्यक अनुसन्धानपछि प्रहरीले मङ्सिर २७ गते अनुसन्धान प्रतिवेदनसहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सोही मिसिलका आधारमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कसुरअन्तर्गत अभियोगपत्र दर्ता भएकोमा काठमाडौँ जिल्ला अदालतमा मङ्गलबार (पुस ५ गते) थुनछेक बहस भएको थियो । अदालतले सोही दिन नै दुवै जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनीहरूले पठाएका धेरै नेपाली लाओसमा बन्धक जस्तैगरी राखिएको सूचना आएकाले उनीहरूको पनि उद्धार प्रयास जारी रहेको प्रहरीले जनाएको छ । रासस

‘राष्ट्र बैंकले पेलेको पेलै छ, बैंकहरुको भविष्य राम्रो छैन’

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले राष्ट्र बैंकले बैंकहरुको नियमनमा कडाइ गरेको धारणा राखेका छन् । बैंकको ३६औं वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो समय राष्ट्र बैंक कडाइका साथ उत्रिएको धारणा राखेका हुन् । उनले राष्ट्र बैंकले हरेक नीति नियम तथा व्यवस्थाहरु कडाइका साथ लागू गर्न बाध्य पारिरहेको बताए । यसले बैंकहरुको भविष्यमै प्रश्न खडा भएको उनको भनाइ छ । ‘पछिल्लो समय रास्ट्र बैंकले पेलेको पेलै छ, अर्कोतिर उद्योगी व्यवसायीहरु पनि आन्दोलित छन्, यसले बैंकको भविश्यमाथि नै प्रश्न उठाएको छ, बैंकहरुको भविष्य राम्रो छैन,’ उनले कार्यक्रममा भने । यस्तै, उनले मेगा बैंकसँग मर्जरपछि बैंक झन दरिलो र बलियो बन्ने धारणा राखे । उनले आगामी वर्षहरुमा बैंकले संभाव्यताको अध्ययन गरी संभावना भएको स्थानहरुमा बैंकको सेवा विस्तार गर्ने, बैकिङ्ग क्षेत्र तथा व्यापारिक जगतको आवश्यकता अनुसार नयाँ नयाँ उत्पादन तथा सेवाहरुको शुरुवात गर्ने धारणा राखे । उनले नयाँ प्रविधिमा आधारित सर्वसुलभ सेवा विस्तार गर्ने, आवश्यकता अनुसार पूँजी थप गर्न क्रणपत्र जारी गर्ने जानकारी दिए । आफ्नो पूँजी, ग्राहक संख्या तथा शाखा संञ्जाललाई मजबूत बनाउन उपयुक्त बैंक तथा वित्तिय संस्थालाई गाभ्ने/प्राप्ती गर्नका निम्ती मर्जर सम्बन्धी अध्ययन कार्य जारी राख्ने पनि बताए । बढ्दो घरबहाललाई ध्यानमा राखेर उपयुक्त स्थानमा बैंकको शाखा संचालन गर्नको लागी बैंकको आफ्नै घर/जग्गा खरिद गर्दै जाने, विकास रणनीति र गुणस्तरीय सेवाहरुको अनुसरण गर्दै मुलुककै शीर्ष बैंकका रुपमा आफूलाई स्थापित गर्न बैंक निरन्तर रुपमा प्रयासरत र प्रतिबद्ध रहने उनको भनाइ छ ।

कुन आधारमा बढाइयो पेट्रोलियम ढुवानी व्यवसायीको भाडा ?

काठमाडौं । नेपाल आयल निगमले पुस २ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको भाडा बढायो । निगम व्यवस्थापनको उक्त निर्णयको अहिले चौतर्फी आलोचना भइरहेको छ । बढाइएको ढुवानी भाडाले उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थपिने भएपछि सामाजिक सञ्जालमा निगमको विरोध भइरहेको छ । उपभोक्ता अधिकारकर्मी पनि निगमको यो निर्णय सही नभएको बनाइरहेका छन् । साविकको ढुवानी भाडादरमा औसत करिब आठ प्रतिशत बढाइएको छ । करारमा सञ्चालित पेट्रोलियम ढुवानी व्यवसायीको भाडादर वैज्ञानिक र समायानुकूल बनाउनका समायोजन गरिएको निगमको दाबी छ । अर्कोतर्फ ढुवानी व्यवसायी निगमले अहिले बढाएको भाडादर पनि कम रहेकाले अझै बढाउन दबाब दिइरहेका छन् । यसरी निगम, ढुवानी व्यवसायी र उपभोक्ताका आआफ्नै दाबी अहिले आइरहेका छन् । तर ढुवानी भाडा बढाउन माग गर्दै विगत लामो समयदेखि व्यवसायी बारम्बार आन्दोलित हुने गरेको पृष्ठभूमिमा निगम व्यवस्थापनले यस्तो निर्णय गरेको हो । विसं २०७५ यता ढुवानी भाडा समायोजन नभएको भन्दै व्यवसायी बेलाबेला आन्दोलित हुने गरेका थिए । पछिल्लोपटक गत भदौ अन्तिम सातादेखि उनीहरुले पेट्रोलियम ढुवानीमै अवरोध गरे । चाडबाड नजिकिएका बेला उनीहरु भारतमा ‘प्रोडक्ट डेलिभरी अर्डर’ (पिडीओ) उठाउन गएनन् । पेट्रोलियम पदार्थको आन्तरिक ढुवानीमा पनि अवरोध भयो । व्यवसायी आन्दोलित भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको रोहबरमा नेपाल आयल निगम र ढुवानी व्यवसायीबीच गत भदौ २९ गते तीन बुँदे सहमति भयो । जसमा ‘ढुवानी भाडा समायोजनसम्बन्धी प्रतिवेदन’ असोज ७ गतेभित्र लागू गर्ने र व्यवसायीले पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध नगर्ने गरी सहमति भयो । पेट्रोलियम व्यवसायीको ढुवानी भाडाबारे अध्ययन गर्न २०७८ मङ्सिर २४ गते गठन गरिएको समितिको प्रतिवेदन लागू गर्न निगम सञ्चालक समितिलाई व्यवसायीको चर्को दबाब थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव उर्मिला केसीको संयोजकत्वमा गठित ‘नेपाल आयल निगम लिमिटेडबाट करारमा सञ्चालित ट्याङ्कर/ट्रकको ढुवानी भाडा अध्ययन गर्न गठित कमिटी’को प्रतिवेदन लागू गरिनुपर्ने उनीहरुको माग थियो । यातायात व्यवस्था विभाग, काठमाडौँ विश्वविद्यालय, नेपाल आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका प्रतिनिधिसमेत रहेको यो समितिको प्रतिवेदन आएपछि आयल निगमले त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट समीक्षा प्रतिवेदन तयार पारिएको निगमका प्रवक्ता विनीतमणि उपाध्याय बताउँछन् । ‘मन्त्रालयका उपसचिवको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनमाथि त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानबाट समीक्षा प्रतिवेदन तयार पारेर त्यसैका आधारमा निगम व्यवस्थापनले ढुवानी भाडा बढाउने निर्णय गरेको हो’, प्रवक्ता उपाध्यायले भने । ढुवानी भाडा बढाउन निर्णय सञ्चालक समितिबाट पहिल्यै भए पनि निर्वाचन आचारसंहिताका कारण पुस २ गतेदेखि लागू भएको पनि उनको भनाइ छ । त्यसो भए, निगमले कुनकुन विषयलाई हेरेर ढुवानी भाडा बढाएको हो त ? ‘ट्याङ्कर चालकको तलब, नेपाल र भारतमा तिर्नुपर्ने सवारी कर तथा सडक दस्तुरलगायत अन्य कर, ब्लुबुक नवीकरण, रुट पर्मिट, फिटनेस चार्जलगायत शुल्क हेरिएको छ । त्यस्तै क्यालिब्रेसन चार्ज, ह्रासकट्टी, बीमा, सवारी मर्मतसम्भार, इन्धन खपत, लगानीको प्रतिफललगायत शीर्षक पनि छन्’, प्रवक्ता उपाध्यायले भने । यी विभिन्न शीर्षकमा विगत पाँच वर्षयता भएको वृद्धिलाई हेरेर प्रतिवेदन तयार पारिएको र सोही प्रतिवेदनको सुझावका आधारमा ढुवानी भाडा वृद्धिको निर्णय निगम व्यवस्थापनबाट भएको उनको भनाइ छ । स्वतन्त्ररुपमा सम्बन्धित निकायबाट अध्ययन प्रतिवेदन तयार पारी सोही आधारमा ढुवानी भाडा बढाउने निर्णय भएको निगमको दाबी रहे पनि उपभोक्ता अधिकारकर्मी भने उक्त प्रतिवेदनको निष्पक्षतामाथि नै प्रश्न उठाइरहेका छन् । ‘ढुवानी व्यवसायीकै मान्छे राखेर बनाइएको प्रतिवेदनको आधिकारिकता कति भन्ने मुख्य प्रश्न हो । जुन प्रतिवेदनका आधारमा ढुवानी मूल्य बढाइयो त्यो नै हचुवा छ’, उपभोक्ताहित संरक्षण मञ्च, नेपालका अध्यक्ष ज्योति बानियाँले भने । दक्षिण एसियामै नेपालको पेट्रोलियम ढुवानी भाडादर सबैभन्दा उच्च बनाउनेगरी निगमले गरेको निर्णय अनुचित रहेको उनको भनाइ छ । यो निर्णयले उपभोक्तालाई मात्र नभई निगमलाईसमेत आर्थिक भार थपेको तर केहि सीमिति ढुवानी व्यवसायी लाभान्वित भएको पनि बानियाँको जिकिर छ । साविकको ढुवानी भाडादरमा अहिले औसत आठ प्रतिशतले बढाएर लागु गरिए पनि व्यवसायी भने बढेको भाडादर पनि अपुग रहेको बताइरहेका छन् । नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्व अर्याल अहिले समायोजन गरिसके पछिको ढुवानी भाडादर पनि अवैज्ञानिक रहेको दाबी गर्छन् । ‘अध्ययन प्रतिवेदनअनुसार ढुवानी भाडा लागू गरिएन । डेढ वर्ष पहिलेको प्रतिवेदन अहिले कार्यान्वयन ल्याइयो । त्यसमा पनि हुबहु नभई घटाएर भाडादर कायम गरियो’, अर्यालले भने । कर, श्रमिको ज्याला, सवारी साधनका पाटपुर्जा, इन्धन मूल्यलगायत विभिन्न शीर्षकमा मूल्य बढेको तुलनामा अहिले गरिरहेको भाडा समायोजन पनि न्यून रहेको उनको भनाइ छ । यसअघि निगमले रक्सोलदेखि सिनामङ्गलसम्मको रुटलाई आधार मानेर भाडा निर्धारण गरेकोमा अहिले विभिन्न ३६ वटा रुटका लागि फरकफरक भाडा तोकेर थप वैज्ञानिक बनाइएको निगमको भनाइ छ । हाल नेपाल आयल निगमसँग रहेका एक हजार आठ सय ६९ वटा ट्याङ्क तथा ट्रकमध्ये एक सय ८७ वटा १२ किलोलिटर, एक हजार छ सय ५० वटा २० किलोलिटर तथा ३२ वटा ट्याङ्क ट्रकहरु २० किलोलिटर क्षमताका रहेका छन् । भाडा निर्धारण गर्दा २० किलोलिटर क्षमता भएका ट्याङ्क तथा ट्रकलाई आधार लिइएको निगमले जनाएको छ । त्यसैगरी सार्वजनिक सवारीसाधनको भाडा निर्धारणसम्बन्धी यातायात व्यवस्था विभागको प्रावधान, सरकारले तोकेका सवारीसाधनको करको दर तथा अन्य दस्तुर, श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सरकारी निर्णय र हाल कायम रहेका सबै रुटको दूरी यकिन गरी भारतको सडक खण्डमासमेत लाग्ने टोल ट्याक्सलगायत अन्य खर्चको विश्लेषण गरी भाडादर निर्धारण गरिएको निगमको तर्क छ । निगमले अहिले लागू गरेको पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको भाडादर प्रतिकिलोलिटर बरौनीदेखि जनकपुरसम्म तीन हजार दुई सय ५७, अमलेखगञ्जसम्म रु तीन हजार सात सय ७६, विराटनगरसम्म  तीन हजार पाँच सय ५७, पोखरासम्म छ हजार ७४, थानकोटसम्म छ हजार छ सय ३० र सिनामङ्गलसम्म छ हजार छ सय ९० रहेको छ ।

बारपाक सुलिकोटमा ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

गोरखा । बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। बारपाक सुलिकोट गाउँपालिकाको समन्वय तथा नेपाल नेत्रहीन सङ्घ, नेपाल नेत्र ज्योती सङ्घ र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा १५ दिनसम्म चलेको निःशुल्क आँखा शिविरका क्रममा मोतियाबिन्दु भएका बिरामीको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिए। उनीहरुको ताकुमाझ लाकुरीबोट स्वास्थ्यचौकीमा निःशुल्क शल्यक्रिया गरिएको हो। शिविरबाट पालिकाभित्रका छ सयभन्दा बढी आँखाका बिरामीले निःशुल्क सेवा लिएका भट्टले बताए। ‘गाउँपालिकाभित्र रहेका आठ वडामध्ये वडा नम्बर १ र २ मा मोतियाबिन्दु पहिचान भएका ४३ जनाको शल्यक्रिया गर्न बाँकी छ’, भट्टले भने। उनीहरुको यही पुस ११, १२ र १३ गते शल्यक्रिया गरिने भएको छ । शिविरमा आँखा परीक्षणका क्रममा समस्या देखिएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।