धनकुटाबाट ५० करोड बढीको काठ निर्यात
धनकुटा । धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ (लकडी) तराईका उद्योगका लागि निर्यात हुने गरेको छ । सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ । जिल्ला डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार वार्षिक २८ देखि ५७ करोडसम्मको काठ जिल्ला बाहिर निकासी हुने गरेको छ । कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष जिल्लाबाट २८ लाख ८३ हजार नौ सय १८ क्युबिक फिट काठ निकासी भएको थियो । जसमा सरकारद्वारा व्यवस्थित वनबाट १५ हजार एक सय ८० र निजी तथा नम्बरी वनबाट २८ लाख ६८ हजार सात सय ३८ क्युबिक फिट काठ निकासी भएको छ । यहाँबाट काठ निकासी गर्दा व्यवसायीले काठको जातअनुसार प्रतिक्युबिक फिट रु एक सयदेखि दुई सयसम्मको दरले सरकारलाई कर तिर्ने गरेका छन् । जिल्लाबाट गत वर्ष काठ निर्यातबाट रु आठ करोड ३१ हजार सात सय १० कर उठेको थियो । चालु आर्थिक वर्ष २०७९÷०८० को तीन महिनामा जिल्लाबाट निजी वनबाट मात्र १० लाख ८५ हजार दुई सय २४ क्यूबिक फिट काठ निकासी भएको छ । तीन महिनामा रु २ करोड ९२ लाख ९३ हजार कर उठेको वन कार्यालयका सहायक वन अधिकृत उत्सव थापाले जानकारी दिए । एक डिभिजन र छवटा सव डिभिजन रहेको जिल्लाबाट सबैभन्दा बढी उत्तिस जातको काठ निर्यात हुनेगरेको कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए ।
खेलको विकासलाई गिज्याइरहेका खेलकुद संरचना (फोटो फिचर)
सातदोवाटोस्थित स्वीमिङ पुलको दर्शक बस्ने कुर्सी । काठमाडौं । पछिल्लो समय नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किरहेको छ । एकपछि अर्को खेलहरुमा पराजय भोगिरहेको नेपाल उत्कृष्ट जित निकाल्न असक्षम छ । क्रिकेट होस् वा फुटबल उत्कृष्ट नतिजा निकाल्न नेपाल असक्षम भएको केही समय यताका खेलहरुबाट स्पष्ट हुन्छ । नेपालमा सबैभन्दा धेरै फ्यान भएको फुटबलमा समेत गुट, उपगुटका कारण विभिन्न समस्या पैदा भएका थिए । यद्यपी मुख्य प्रशिक्षक परिवर्तनपछि भएका दुई मैत्रीपूर्ण खेल भने नेपालले जितेको छ । तर फ्यानहरुका लागि त्यो पनि सन्तोषजनक छैन । त्रिपुरेश्वरस्थित स्विमिङ पुल । भुकम्पले भत्केपछि यो स्विमिङङ पुल अलपत्र छ । दोस्रो धेरै मन पराइने क्रिकेटमा पनि पछिल्लो समय जित निकाल्न नेपाली टिमले सकेको छैन । हालै नामिबियामा सम्पन्न आईसीसी क्रिकेट लिग डिभिजन २ अन्तर्गत भएका सबै खेलमानेपाल पराजय व्यहोर्न बाध्य भयो । साथै अन्य समूह चरणका खेलमा पनि नेपालले सन्तोषजनक नतिजा नकाल्न सकेको छैन । खेल मात्रै कमजोर होइन, खेल सँगसँगै नेपालका खेलकुद संरचनाहरु पनि कमजोर र जिर्ण बन्दै गइरहेका छन् । ललितपुरको च्यासलस्थित फुटवल ग्राउण्डमा घाँस उम्रेर ढाकेपछि । खेलको अभ्यासका लागि राम्रा र सुविधायुक्त भौतिक संरचना नभइरहेको भन्ने गुनासो बढीरहेको नेपालमा भएका केही संरचनाहरुको समेत उचित संरक्षण र संवद्र्धन हुन नसक्नु दुःखद् हो । यिनै जिर्ण र संरचनामा अभ्यास गर्न खेलाडीहरु बाध्य बनेका छन् । भत्केका संरचनाहरु बनाउन र भएका खेल संरचनाको विकास गर्न लाग्नेतर्फ सम्बन्धित निकायहरु चनाखो देखिँदैनन् । संरचनालाई सुविधायुक्त बनाउनु त टाढाको कुरा संरचनाको व्यवस्थापन गर्न पनि कठिन बनेको छ । सरसफाइ र नियमनका कुरा त फोटोमै कसरी भएको छ भन्ने स्पष्ट हुन्छ । खेलका संरचनाहरु बिग्रिँदै गएका छन् । रंगशालामा फ्याकिएका नवौं साफ खेलकुद प्रतियोगिताको मस्कट । सातदोबाटोस्थित स्वीमिङ पुलको दर्शक बस्ने कुर्सी, काठमाडौंको मुलपानीको क्रिकेट रंगशाला लगायत अधिकांश काठमाडौं उपत्यकाका खेलकुद संरचनाहरु जिर्ण बनिरहेका छन् । त्रिपुरेश्वरस्थित स्विमिङ पुल त भूकम्पले भत्केपछि अलपत्र नै छ । रंगशालामा फ्याँकिएका नवौं साफ खेलकुद प्रतियोगिताको मस्कट, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा च्यातिएको झण्डाहरु तस्बिर हेर्दा नै कस्तो अवस्था रहेछ भन्नेकुरा स्पष्ट बुझिन्छ । फोटो : न्युज एजेन्सी नेपाल ।
ठमेलमा पुस्तकको व्यापार बढ्दै, ‘फरगेट काठमाडौं’ पर्यटकको रोजाइमा
काठमाडौं । कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीले बताए। भारतबाट किताब खरिद गरेर ल्याउने र नेपालमा बिक्री गरिने उनले सुनाए। पाँच–दश वर्षअघि हुने व्यापारको तुलनामा अहिले पुस्तक बिक्री छैन । तर कोरोना महामारी पछि पाठक थपिएको पिलग्रिम्स बुक हाउसका बिक्री प्रवन्धक गौरव अवस्थीले बताए । ‘अहिले स्थानीय, त्यसमा पनि युवा पाठकको सङ्ख्या कोरोना महामारीपछि थपिएको छ । पर्यटक भने यो वर्ष धेरै आएका छैनन्’, उनले भने । पछिल्लो समय अनलाइनबाट पनि पाठकले आफूलाई मन परेको पुस्तक किन्न थालेका छन् । ‘विदेशी पसलमै आउँछन्, केहीले अनलाइनबाट लिन्छन्, स्थानीय पाठक आफैँ आएर हेरेर पुस्तक लैजान्छन्’, उनले भने, ‘जर्मन, फ्रान्स, अमेरिका, भारतलगायत देशका पर्यटक पुस्तक खोज्न आउँछन् ।’ विदेशीको तुलनामा नेपाली पाठकको सङ्ख्या पनि कम छैन । अवस्थीका अनुसार नेपाली पाठकले ‘सेल्फ हेल्प’, व्यवसायसम्बन्धी, बालबालिकासम्बन्धी, साहित्य, नाटक, धार्मिक, सदगुरु, ओशोको पुस्तक धेरै खोज्छन् । पर्यटकले विदेशी लेखककै पुस्तक बढी खोज्ने उनको अनुभव छ । नेपाली लेखक बुद्धिसागरद्वारा लिखित अङ्ग्रेजी अनुवाद ‘कर्णाली ब्लुज’, पारिजातको ‘शिरिषको फूल’, मन्जुश्री थापाको ‘फरगेट काठमाडौं’, सम्राट उपाध्यायको ‘द गुरु अफ लभ’,‘यारेस्टिङ गड इन काठमाडौँ’, ‘द रोयल घोस्ट’लगायतका पुस्तक विदेशी पाठकको रोजाइमा पर्छन् । थापाद्वारा लिखित ‘फरगेट काठमाडौँ’मा २०५८ सालमा नेपालमा भएको राजदरबार हत्याकाण्डदेखि आर्थिक सङ्कटको विषय समेटिएका छन् । जुन नेपाली पुस्तकमध्ये पर्यटकले बढी खोज्ने किताब हो । पिलग्रिम्समा ५० देखि १५ हजारसम्म मूल्यका पुस्तक पाइन्छन् । विदेशीले किताबमा छुट नखोज्ने भन्दै नेपालीले नै बढी खोज्ने अवस्थीको भनाइ छ । साथै अन्य किताबमा ‘इकिगाइ’,‘जापनीज वे अफ लिभिङ’, व्यवसाय सफल पार्ने विषय समेटिएको ‘रिच ड्याड पुअर ड्याड’, ‘थिन्क एण्ड ग्लोरिज’, ‘द पावर अफ कन्फ्युज्ड माइन्ड’, विदेशी लेखक जोन भेक्टनद्वारा लिखित ‘हिस्ट्री अफ नेपाल’, काठमाडौँमा ३० वर्ष बसोबास गर्नुभएका थोमसद्वारा लिखित ‘काठमाडौँ’, ‘म्यासाकर रोयल प्यालेस’ लगायतका पुस्तक बढी बिक्छन् । विदेशी ग्राहक निश्चित मौसममा आउने भएपनि स्वदेशी ग्राहक बाह्रै महिना आउने ठमेलस्थित नेपाल बुक हाउसका सञ्चालक गणेशजङ्ग कार्कीले बताए । विदेशीले पर्वतीय पदयात्रासम्बन्धी पुस्तक बढी खोज्ने भन्दै उनले स्वदेशी पाठकले साहित्य र विचार समेटिएका पुस्तकमा बढी रुचि राख्ने अनुभव सुनाए । विराटनगर स्थायी घर भएका कार्कीले विशेष गरी नेपालका पर्यटकीय क्षेत्रसम्बन्धी किताब विदेशीले रुचाउने जिकिर गरे । कार्कीको पसलमा दुई सय ५० देखि २५ हजारसम्म मूल्यका पुस्तक पाइन्छन् । नेपाली भाषा सिक्न चाहाने पर्यटक पनि आउने भन्दै उनले पदयात्रामा प्रयोग हुने शब्द भएका किताब खोजिने बताए। पैँतीस वर्षदेखि ठमेल बुक्स सञ्चालन गर्दै आएका अन्जनी अग्रवालले ‘सेकेन्ड ह्याण्ड’ पुस्तकको व्यापार गर्छिन् । अनलाइनमार्फत पुस्तक बिक्री हुन थालेसँगै आफ्नो व्यापार घटेको उनको तर्क थियो । कतिपय विदेशीले त उनको पसलमा किताब बिक्री गर्न ल्याउने अग्रवालले सुनाए । पर्यटकले नेपालका धामी झाँक्री, मौरीपालन, इतिहासलगायत पदयात्रामा उपयोगी हुने पुस्तक खोज्ने गरेको उनले सुनाए । पछिल्लो समयमा व्यापार नभएको भन्दै अग्रवालले सटर भाडा तिर्न गाह्रो भइरहेको गुनासो गरे । ठमेलमा अहिले विदेशी पर्यटक आउने मौसम नभएपनि अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसले केही चहलपहल देखिएको ठमेल पर्यटन परिषदका अध्यक्ष भवी शर्माले बताए ।
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सम्पन्न, १४ विधामा अवार्ड वितरण
काठमाडौं । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले सम्पन्न भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको ग्राण्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गर्दै सातौं संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो । आइसिटी अवार्डका संयोजक राजन लम्सालको सभापतित्वमा सुरू भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले प्रविधीमार्फत गरेका थिए । प्रतिनिधि सभा सदस्यहरु ठाकुर गैरे, महेश बर्तौला, मनीष झा, शिशिर खनाल लगायतको उपस्थिती रहेको कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल र राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीकोे उपस्थिति रहेको थियो । त्यस्तै अतिथिको रूपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव मधु मरासिनी, नास्टका उपकुलपति सनिलबाबु श्रेष्ठ, आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल , पूर्व मन्त्री गणेश शाह , राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयाल, राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा सरकारी संस्थाका उच्च अधिकारी, सूचना प्रविधि क्षेत्रका विभिन्न अग्रज व्यक्ति, सहकार्य संस्थाका प्रतिनिधि, सूचना प्रविधि कम्पनीका प्रतिनिधि, पत्रकार लगायत देश तथा विदेशबाट समेत उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्त्वय राख्दै आइसिटी अवार्ड संयोजक राजन लम्सालले नेपालमा डिजिटल इकोसिस्टम विकास गर्न विगत सात वर्षदेखि अवार्ड आयोजना गरिरहेका बताए । ‘६ महिनादेखिको अथक मेहनत र परिश्रम पश्चात आइसिटी अवार्ड सफलतापूर्वक सम्पन्न गरेका छौं,’ उनले भने, ‘नयाँ नयाँ स्टार्टअप, आईडिया र इन्नोभेसनलाई प्रोत्साहन तथा अग्रजलाई सम्मान गर्ने हाम्रो अभियान निरन्तर जारी रहनेछ ।’ कार्यक्रमका प्रमुख अतिथि मुख्यसचिव बैरागीले आइसिटीको क्षेत्रमा केही फड्को मारेको तर गर्नुपर्ने धेरै रहेको बताए । ‘आईसिटी जीवन जिउने एउटा तरिका भइसकेको छ,’ उनले भने, ‘हरेक क्षेत्रमा आइसिटीले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । आइसिटीबाट देशको विकास गर्नुपर्छ ।’ त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. अर्यालले आइसिटी क्षेत्रको विकासका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न मन्त्रालय सधैं तयार रहेको प्रतिवद्धता जनाए । आइसिटी अवार्डले नयाँ नयाँ इनोभेसनलाई प्रेरणा मिलेको बताउँदै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले डिजिटल इकोसिस्टम विकास गर्न सरकारले पूर्वाधारमा लगानी गर्नुपर्ने बताए । त्यस्तै इन्फोडेभलपर्सका ग्रुप अध्यक्ष सञ्जिब राज भन्डारीले यस वर्ष आईसिटी अवार्ड ५५० बढीको आवेदन आउनु एकदमै राम्रो कुरा भएको बताए । नेपालले इन्टेलुक्चुअल पर्पटीमा पनि काम गर्नुपर्ने उनको भनाइ छ । यसैगरी काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिला डंगोलले स्थानीय तह पनि अब डिजिटल रूपमा अगाडि बढ्न पर्ने बताइन् । काठमाडौं महानगरपालिका सोही अनुसार अगाडि बढेको समेत जानकारी दिइन् । प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले डिजिटल पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउँदै त्यसका लागि नीति निर्माण तहबाट आफुले पहल गर्ने बताए । त्यस्तै अवार्डका जुरी संयोजक हेमपाल श्रेष्ठले विभिन्न चरणको छलफल र छनौट पश्चात सर्वोत्कृष्ट विजेता छानिएको बताए । कार्यक्रमको समापन गर्दै सुस्मित ग्रुपका अध्यक्ष सुशिल पोखरेलले आइसिटी अवार्ड हरेक वर्ष उत्कृष्ट हुँदै गइरहेको जानकारी दिए । ग्राण्ड फिनाले कान्तिपुर टेलिभिजन, कान्तिपुर सिनेप्लेस, कान्तिपुर टिभीको एप तथा वेबसाइट र आइसिटी अवार्डको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण भएको थियो । त्यस्तै यसअघि कान्तिपुर टिभीबाट अवार्डका विशेष ४ श्रृखला समेत प्रसारण भएका थिए । यस वर्ष अवार्डका लागि ५५० बढीको अनलाइन आवेदन प्राप्त भएको थियो भने ५ महिनासम्म छनौट प्रक्रिया सञ्चालन भएको थियो । यस वर्ष १४ विधामा आइसिटी अवार्ड प्रदान गरिएको छ भने सातै प्रदेशका उत्कृष्ट ७ स्टार्टअपलाई समेत सम्मान र प्रमाणपत्र गरिएको छ । यस वर्षको ह्वावे स्टार्टअप आइसिटी अवार्ड मोनाल टेकलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आइसिटी अवार्ड गल्ली म्याप्सलाई र राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड कारोबार एपलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोट पश्चात पब्लिक भोटिङ समेत गरिएको थियो । त्यस्तै व्यक्तिलाई प्रदान गरिने आन्टरप्रेनर आइसिटी अवार्ड मंगेशलाल श्रेष्ठ , नेपाली डायस्पोरा आइसिटी अवार्ड डा. वेद काफ्ले , नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड विजय कृष्ण श्रेष्ठ र एनसेल वुमन आइकन आइसिटी अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर) बाफलको ज्ञानोदय माध्यमिक विद्यालय, डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) खोकनाको ज्ञानोदय बाल बाटिका स्कुल स्कुल, डिजिटल सर्भिसेस आइसिटी अवार्ड फोनपे र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड वैदेशिक रोजगार विभागलाई दिइएको छ । यस्तै सबैभन्दा बढी पब्लिक भोट ल्याउने टिगलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिएको छ भने साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड चिंगारीलाई प्रदान गरिएको छ । सार्क राष्ट्रका ५० बढी स्टार्टअपको प्रतिस्पर्धाबाट चिंगारीले अवार्ड हात पारेको हो । अवार्डको सिलसिलामा यस वर्ष स्टार्टअप एण्ड आईडिया फेस्ट, मेन्टरिङ सेसन, स्टोरी सेयरिङ सेसन, फिल्ड भिजिट, प्रिजेन्टेशन तथा स्पिड डेटिङहरू सञ्चालन भएका थिए । इन्फोडेभलपर्सले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३० भन्दा बढी संस्थाहरूको सहकार्य रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको कार्यक्रममा नेपाल टेलिकम र जेनेस सोलुसन इन एसोसिएसन प्रायोजकको रूपमा रहेका छन् । विश्वप्रसिद्ध कम्पनी ह्वावे र एससीटी स्मार्ट क्युआर पावर्ड बाईमा पार्टनरमा रहेका छन् । यसैगरी क्याटेगोरी पार्टनरमा एनसेल, ई–कमर्स पार्टनरमा दराज, पेमेन्ट पार्टनरमा आईएमई पे, बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंक, इकोसिस्टम पार्टनरमा माइक्रोसफ्ट, इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट, नलेज पार्टनरमा प्रेसिडेन्सियल कलेज, इम्स्योरेन्स पार्टनरमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् । त्यस्तै फिनोभेसन पार्टनरमा नेपाल क्लियरिङ हाउस, आईटी ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, एडटेक पार्टनरमा वेद, एआई टेक पार्टनरमा फ्युज मेसिन्स, डेटा सेन्टर एण्ड क्लाउड पार्टनरमा सिल्भर लाइनिङ, गेमिङ पार्टनर यार्सा ल्याब्स, लर्निङ पार्टनर एम्बिसस गुरू, मोबिलिटी पार्टनर दराज, सेक्युरिटी पार्टनर एमिनेन्स वेज, ब्रोडकास्टिङ पार्टनर कान्तिपुर, एप पार्टनर हाम्रो पात्रो, टेक्नोलोजी पार्टनर टेक्नोरियो, इन्भेष्टमेन्ट पार्टनर बिजबेल रहेका छन् । अन्य सहयोगी संस्थामा नेपाल बैंक लिमिटेड, किंग्स कलेज, दूरशिक्षा, बारकोड नेपाल, स्प्यारो एसएमएस, नेपाल आन्टरप्रेनर्स हब, ब्रोडब्याण्ड र आइसिटी फाउन्डेसन नेपाल रहेका छन् । के के पाउँछन् अवार्ड विजेताले ? नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा आइसिटी अवार्ड प्राप्त गर्नु एउटा गौरवको विषय बन्दै आएको छ । यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइीसटी अवार्ड २०२२ का विजेताले माइक्रोसफ्ट र ह्वावेबाट क्लाउड सेवाको लागि लाखौं रुपैया बराबरको क्रेडिट पाएका छन् । नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षको लागि हाई स्पिड इन्टरनेट सेवा दिएको छ भने एनसेलले वुमन आइकन आइसिटी अवार्ड विजेतालाई ३ लाख रूपैयाँ नगद दिएको छ । यसैगरी सिल्भर लाइनिङले डिजिटल सर्भिसेस विधामा विशेष सपोर्ट प्याकेज दिएको छ । अन्य स्पोन्सर तथा सहयोगी सस्थाहरुले विभिन्न किसिमले सेवाहरु निशुल्क प्रदान गरेका छन् । स्टार्टअप तथा प्रडक्टहरुको लागि लगानीको वातावरण बनाउन विभिन्न किसिमका नेटवर्किङ र मिटिङहरु सञ्चालन हुने छन् । सातै प्रदेशका ७ उत्कृष्ट स्टार्टअप गत चैतदेखि जेठसम्म लिभिङ विथ आइसिटीले सातै प्रदेशममा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना गरेको थियो । देशैभरका स्टार्टअप तथा आईडियालाई प्रवर्द्धन र प्रोत्साहन गर्न आयोजना भएको उक्त कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट स्टार्टअप छनौट गरिएको थियो । छनौट भएका स्टार्टअप तथा आईडियालाई काठमाडौं ल्याएर ३ दिने बुटक्याम्प सञ्चालन गरिएको थियो भने नेपालका केही ठूला आईटी कम्पनीको भिजट समेत गराइएको थियो । सातै प्रदेशबाट छनौट भएका ३५ बढी स्टार्टअप र आईडिया मध्येबाट प्रत्येक प्रदेशका सर्वोत्कृष्ट छनोट गरिएको छ । यस अनुसार प्रदेश १ बाट क्युरा हेल्थ, मधेश प्रदेशबाट इजिइट्स, बागमती प्रदेशबाट नलेज एक्सचेन्ज, गण्डकी प्रदेशबाट स्वस्तिक ग्रुप (स्वस्तिक न्युट्री फुड), लुम्बिनी प्रदेशबाट फरिद डटकम, कर्णाली प्रदेशबाट सुर्खेत सफ्ट र सुदूरपश्चिम प्रदेशबाट पाथिभरा सेन्सर सोलुसन उद्योगलाई प्रदेशका उत्कृष्ट स्टार्टअपको रूपमा सम्मान गरिएको छ ।
बेइजिङमा कोभिड सङ्क्रमण बढ्दो
एजेन्सी । उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको बताएका छन् । बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको थियो, तर उनीहरू सबै उपचारपछि सङ्क्रमणबाट निको हुनेछन् । बेइजिङ चाओ–याङ अस्पतालका उपाध्यक्ष तोङ झाओहुइका अनुसार अस्पतालमा पछिल्ला दिनमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपत्कालीन अवस्थाका बिरामी आउने गरेका छन् । चीनले गम्भीर बिरामीहरूको उपचारका लागि चिकित्सा सुविधाहरू तयार गरेको छ किनकि देशमा यी बिरामीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारी जियाओ याहुइका अनुसार तेस्रो श्रेणीका अस्पतालले गम्भीर अवस्थाका कोभिड–१९ का बिरामीका साथै अन्य गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्नुपर्छ । जिओले भने, ‘आधारभूत अवस्था भएका ज्येष्ठ बिरामी र बालबालिकालाई अवस्था परिवर्तन हुनेबित्तिकै सिधै तेस्रो श्रेणीका अस्पतालमा स्थानान्तरण गर्नुपर्छ । चीनको त्रिस्तरीय अस्पताल ग्रेडिङ प्रणालीको शीर्षस्थानमा तेस्रो श्रेणीका अस्पताल छन् । तिनीहरूसँग सबैभन्दा बढी अस्पताल बेडहरू छन् र उनीहरूले व्यापक चिकित्सा सेवा प्रदान गर्छन् ।
मलावीमा चट्याङबाट ४२ जनाको मृत्यु
एजेन्सी । चालू वर्षाको मौसममा चट्याङ लागेर संरचना भत्किँदा मलावीमा ४२ जनाको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार यस साता चट्याङ लागेर २८ जनाको ज्यान गएको छ । यो सँगै चट्याङ्बाट मृत्यु हुनेको कुल सङ्ख्या ४२ पुगेको छ । त्यसैगरी आँधीबेहरी तीव्र हावाका कारण पर्खाल भत्किँदा १४ जनाको मृत्यु भएको विपद् व्यवस्थापन मामिला विभागका आयुक्त चार्ल्स कालेले बताएका छन् । हालसम्म ८५ जना घाइते भएका छन् भने केही सडक, विद्यालय र अस्पतालमा पनि क्षति पुगेको बताइएको छ । देशका २९ जिल्लामध्ये २४ जिल्लामा अविरल वर्षा, बाढी, हावाहुरी, असिना र चट्याङका कारण करिब ४२ हजार जनता प्रभावित भएको आयुक्तले बताए । मलावीको वर्षा मौसम सामान्यतया अक्टोबरमा शुरु भई अप्रिल सम्म रहन्छ। बुधबार मौसम परिवर्तन र मेट्रोलोजिकल सेवा विभागले दक्षिणी मलावीमा आउँदा दिनहरूमा बाढी आउन सक्ने ठूलो भारी वर्षाको चेतावनी जारी गरेको छ।
बाहिरी चक्रपथ निर्माण अन्योलमा, सरकारले प्राथमिकता नदिँदा घोषणामा मात्र सीमित
काठमाडौं । उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ निर्माणको कामलाई अगाडि बढाउन सकेको छैन । चक्रपथ निर्माणको लागि सरकारले बजेट सुनिश्चित गर्न नसक्दा प्राधिकरणले काम अगाडि बढाउन नसकेकाे हाे । प्राधिकरणका आयोजना प्रमुख जगदिश लामिछानेले लामो समयदेखि अन्योलमा रहेको उक्त आयोजनाको काम हालसम्म पनि अगाडि बढाउने सुरसार नरहेको बताउँछन् । उनका अनुसार चक्रपथ निर्माणको लागि सरकारले बजेट सुनिश्चित गर्न नसक्दा प्राधिकरणलाई काम अगाडि बढाउन सकस परेको हो । वर्षेनी बाहिरी चक्रपथ निर्माणको कामलाई तीव्रता दिने भनिएता पनि हालसम्म अर्थात डेढ दशकसम्म पनि अगाडि बढ्न नसकेकोमा उनको गुनासो छ । नेपाल सरकारले आर्थिक वर्ष २०६१/६२ बाट काठमाडौं उपत्यकामा जग्गा एकीकरणको माध्यमबाट बाहिरी चक्रपथ निर्माण गर्ने कार्यक्रमको घोषणा गरी विस्तृत अध्ययन कामहरू अगाडि बढाएको थियो । तर, घोषणा भएको डेढ दशक बित्दा बाहिरी चक्रपथ निर्माण आयोजनाको नाम मात्रै भयो, काम भने ठप्प छ । ‘बाहिरी चक्रपथ निर्माण सुरु हुने ठाउँमा हजारौं संख्यामा घर बनि सकेका छन्, अब नीतिगत निर्णय नभएसम्म बाहिरी चक्रपथ निर्माणको काम अगाडि बढाउन मुस्किल छ, नीतिगत निर्णय सरकारले गर्नुपर्याे, वैकल्पिक निर्णय हामीले गरेर भएन, अब यसको निर्णय क्याबिनेट तथा सरकारले गर्नुपर्छ,’ उनले भने । प्राधिकरण चालु आर्थिक वर्ष २०७९/८० बाटै निर्माणको काम सुरु गर्ने तयारीमा थियो । तर, बजेटको सुनिश्चित र पूर्ण रूपमा तयारी नहुँदा काम अगाडि बढाउन समस्या भएको पनि आयोजना प्रमुख लामिछाने बताउँछन् । काठमाडौं जिल्लाका मुख्य स्थानहरू चोभार गाम्चा, सतुङ्गल, काप, पुराना भञ्ज्याङ, सितापाईला, नागार्जुन, नेपालटार, चाली, कपन, जगडोल, सन्डोले, थली डाँछी, ललितपूर जिल्लाका लुभु ठत्र धापाखेल, थेचो, बुगमती, चोभार र भक्तपुर जिल्लाका मुख्य स्थानहरू गामफेदी पकाउनेपाटी वासवारी, याङडोल, मसानडोल, भाटेढिकरे नयाँ ठिमी दधिकोटमा उक्त चक्रपथमा निर्माण हुने भनिएको छ । लामिछानेका अनुसार उक्त चक्रपथको लम्बाई काठमाडौंमा ३५.०८, ललितपुरमा १५.८ र भक्तपुर जिल्लामा २१.०८ गरी कूल ७२ किलोमिटर रहेको छ । सडक ६/६ लेनको निर्माण गर्ने गरी साइकल ट्रयाक ग्रीन बेल्ट र फुटपाथसहित उक्त सडकको चौडाई ५० मिटर रहेको छ । बाहिरी चक्रपथ निर्माण योजनामा सडकको दुवैतर्फ २५०/२५० मिटर जग्गा एकीकरण गरी बस्तीको विकास गर्ने समेटिएको छ । चक्रपथ बन्ने ठाउँमा नै घर बनेका कारण अहिले चक्रपथको काम अगाडी बढ्ने की नबढ्ने दुबिधामा छ । १७.५२ किलोमिटरको डीपीआर गर्नै बाँकी ७२ किलोमिटर लम्बाईमध्ये करिब ५४.४८ किलोमिटर सडकको डीपीआर तयार भैसकेको र बाँकी १७.५२ किलोमिटर सडकको डीपीआर तयार हुन बाँकी नै छ । सडक बन्ने या नबन्ने भन्ने टुङ्गो नभएपछि उक्त किलोमिटर सडक डीपीआर गर्न बाँकी रहेका पनि लामिछाने बताए । चक्रपथ निर्माण सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को २०६५ मा निर्णयबाट चोभार-सतुंगल सडक खण्डको ६.६ कि.मीको भौतिक विकास योजना स्वीकृत भई नेपाल राजपत्रमा २०७४ जेठ १५ मा सूचना प्रकाशन गरिसकेको छ । ‘१७ वर्ष अगाडि नै बाहिरी चक्रपथको भिजन राख्दै गर्दा राज्यले प्राथमिकता दिएर काम गरेको भए अहिले बनि सक्थ्यो, बजेट पनि छुट्याउन सकेन, चीन लगायत अन्य देशबाट बजेट आउने भनियो तर आएन,’ उनले भने । लागत बढ्न सक्ने प्राधिकरणका अनुसार बाहिरी चक्रपथ निर्माणको काम सुरु भएमा लागत बढ्न सक्ने अनुमान गरिएको छ । हाल चक्रपथको जम्मा अनुमानित लागत ४२ अर्ब २७ करोड रुपैयाँ रहेको छ । जसमध्ये चोभार सतुंगल (६.६ कि.मी) खण्डको लागि ३ अर्ब ८७ करोड ५४ लाख ५ हजार ७ सय २४ रुपैयाँ आवश्यक पर्ने प्राधिकरणको भनाई छ । ‘बाहिरी चक्रपथको काम सुरु भए लागत बढ्न सक्छ, मुआब्जा सहितको रेट बढेर आउँछ, कति बढ्न सक्छ भन्ने अनुमान गरिएको छैन,’ उनले थपे- ‘कताबाट जाने भन्ने टुङ्गो नभई हामीले पाइला चाल्नु भएन ।’ चालु आर्थिक वर्षमात्रै पुँजीगततर्फ ३५ लाख र चालुतर्फ ९९ लाख ८७ हजार गरी करिब एक करोड ३५ लाख रुपैयाँ बजेट बाहिरी चक्रपथ आयोजना निर्माणको लागि विनियोजन भएको प्राधिकरणले जानकारी दिएको छ । तर चक्रपथ निर्माणको घोषणा भएदेखि हालसम्म ५० लाख रुपैयाँ मात्र बजेट आएको प्राधिकरणका लामिछाने बताउँछन् । ‘एउटा भिजन राखेर बजेट र कार्यक्रम छुट्टाउँदै जाने हो भने मात्र त्यो कार्यक्रमको प्रगति हुन्छ, नत्र भने नारामा घोषणा मात्र मात्र राखेर एउटा प्रोजेक्ट बन्न सक्दैन,’ उनले भने । चक्रपथ निर्माणभन्दा मुआब्जामा खर्च बढी बाहिरी चक्रपथ निर्माण हुने भनिएको ठाउँमा अहिले हजारौं संख्यामा घर तथा संरचनाहरू निर्माण भइसकेका छन् । अब चक्रपथ निर्माणको सुरु भयो भने अर्बौं रुपैयाँ मुआब्जा सरकारले तिर्नुपर्ने हुन्छ । कति मुआब्जा तिर्नुपर्छ भन्ने तथ्याङ्क प्राधिकरणसँग पनि छैन । त्यसको लागि पुनः सरकारले अध्ययन गर्नुपर्ने पनि लामिछानेले बताए । अहिले चक्रपथ निर्माणमा भन्दा पनि मुआब्जामा बढी खर्च लाग्ने देखिएको छ । जग्गा प्राप्त गरी जग्गा एकीकरणको माध्यमबाट योजना अगाडि बढाउन हालसम्म जग्गा प्राप्ति गर्ने प्रक्रिया स्वीकृतिको चरणमै रहेको छ । सन् २००४ मा लगानी बोर्डबाट एक्सप्रेसन अफ इन्ट्रेस्ट (इओआई) माग गरी छनोटमा चीन सञ्चार निर्माण कम्पनीलाई राखिएकोमा अन्य थप प्रक्रिया अगाडि बढेको छैन । ‘पहिला जग्गा रोक्का भएन, त्यही ठाउँमा भटाभट घर बने, अहिले चक्रपथ निर्माण गर्नुभन्दा बढी मुआब्जा वितरण खर्च हुने भयो,’ लामिछानेले बताए । उक्त चक्रपथ आयोजनाको काम अन्योलमा पर्दा निर्माण शुरु हुन मुस्किल देखिन्छ । जग्गा एकीकरणबाट प्राप्त हुने बिक्री प्लटबाट २५०/२५० दायाँ/बायाँ प्रस्ताव गरिएको वस्ती विकासको ६ मिटर चौडा सडक दल र खुल्ला क्षेत्रको विकास गर्न सम्भव भएता पनि मूल ५० मिटर जग्गा विकास कार्यक्रममा प्रस्ताव गरिएका ११ मिटर तथा ९ मिटरका सडक नेपाल सरकारको लगानीमा निर्माण हुन पर्ने प्रस्ताव गरिएको छ । यो विषयमा हालसम्म श्रोत सुनिश्चितता भई नसकेको प्राधिकरणको भनाइ छ । सरकारको बजेटले नपुगे विदेशी ऋण अथवा सहयोग आवश्यक पर्ने लामिछानेले बताए । ‘बाहिरी चक्रपथ १७ वर्ष अगाडि जुन भिजन राखिएको थियो, त्यो अपरिहार्य कुरा हो, किनभने उपत्यकाको जग्गा सबै सक्यो, अब कृषियोग्य जमिन छैन, यो अवस्थामा राज्यले कडा निर्णय नगर्ने हो भने योजनावद्ध विकास हुँदैन, योजनावद्ध विकासको लागि बाहिरी चक्रपथ अपरिहार्य हो, १७ वर्ष बितिसकेपछि अब चाहिने रहेछ भन्ने कुरा हरेकले महशुस गरेका छन् तर राज्यको प्राथमिकता छैन,’ उनले भने ।
बेइजिङमा कोभिड सङ्क्रमण बढ्दै, दैनिक ५०० बिरामी अस्पतालमा
बेइजिङ । उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको बताएका छन् । बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको थियो, तर उनीहरू सबै उपचारपछि सङ्क्रमणबाट निको हुनेछन् । बेइजिङ चाओ–याङ अस्पतालका उपाध्यक्ष तोङ झाओहुइका अनुसार अस्पतालमा पछिल्ला दिनमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपत्कालीन अवस्थाका बिरामी आउने गरेका छन् । चीनले गम्भीर बिरामीहरूको उपचारका लागि चिकित्सा सुविधाहरू तयार गरेको छ किनकि देशमा यी बिरामीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारी जियाओ याहुइका अनुसार तेस्रो श्रेणीका अस्पतालले गम्भीर अवस्थाका कोभिड–१९ का बिरामीका साथै अन्य गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्नुपर्छ । जिओले भने, ‘आधारभूत अवस्था भएका ज्येष्ठ बिरामी र बालबालिकालाई अवस्था परिवर्तन हुनेबित्तिकै सिधै तेस्रो श्रेणीका अस्पतालमा स्थानान्तरण गर्नुपर्छ । चीनको त्रिस्तरीय अस्पताल ग्रेडिङ प्रणालीको शीर्षस्थानमा तेस्रो श्रेणीका अस्पताल छन् । तिनीहरूसँग सबैभन्दा बढी अस्पताल बेडहरू छन् र उनीहरूले व्यापक चिकित्सा सेवा प्रदान गर्छन् ।’