विकासन्युज

तनहुँको घिरिङ र पाल्पाको रामपुर जोड्ने पुल निर्माण हुँदै

तनहुँ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण सुरु भएको पक्की पुलको कामले गति लिएको छ । तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको हो । हाल तनहुँतर्फको सफ्टफिट स्ल्याब ढलान कार्य सकिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए। ‘स्ल्याब ढलान सकिएपछि अब वालको ढलान कार्यको तयारी हुँदैछ’, उनले भने, ‘त्यसपछि डेक स्ल्याबको ढलान हुनेछ ।” उक्त कार्य सकिएपछि नदी डाइभर्सन गरी बाँकी रहेको एउटा पिल्लरको काम हुनेछ । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पुलको काम युनाइटेड बिल्डर्सले पाएको छ । दुई सय १० मिटर लामो उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । पुल योजना पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ । दुई लेन प्रविधिमा निर्माण हुने पुल २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत् निर्माण हुन लागेको हो । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् । यहाँ पुल निर्माण सुरु भएपछि स्थानीयवासी पनि खुसी छन् । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहज रुपमा आवतजावत गर्न सकिन्छ । मोटरेवल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजाराँै सर्वसाधारण लाभान्वित हुनेछन् ।

हवाई भाडाको ‘कार्टेलिङ’ अध्ययन गर्न पर्यटन मन्त्रालयद्वारा निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडानमा हुँदै आएको ‘कार्टेलिङ’ अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ । आन्तरिक उडान गर्दै आएका बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले आपसी मिलेमतोमा आफुखुसी हवाई भाडादर निर्धारण गरेपछि मन्त्रालयले अध्ययनका लागि प्राधिकरणलाई निर्देशन दिएको हो । आन्तरिक उडान गर्ने कम्पनीले हवाई उडानमा कार्टेलिङ गरिरहेको सूचनाका आधारमा अध्ययन अगाडि बढाउन निर्देशन दिएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए। उनले भने, ‘कार्टेलिङको विषयमा उठेको कुरासम्बन्धी अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छौँ, कार्टेलिङ भएको पुष्टि भएमा कारबाही हुनेछ ।’ खुला बजार र उद्धार अर्थतन्त्रमा मिलेमतोमा भाडा निर्धारण गर्न नमिल्ने भएकाले यस्तो क्रियाकलाप नियन्त्रण गर्नमा लाग्ने उनको भनाइ छ । आन्तरिक हवाई कम्पनीले गर्दै आएको कार्टेलिङको राष्ट्रिय योजना आयोगले समेत अध्ययन गरिरहेको बताइएको छ । हवाई कम्पनीको कार्टेलिङको अध्ययन गर्न आयोगका सदस्य डा रामकुमार फुयाँलको नेतृत्वमा कमिटी बनेको छ । आयोगका तत्कालीन उपाध्यक्ष डा. विश्व पौडेलले सार्वजनिक यातायातको क्षेत्रमा भइरहेको सिन्डिकेट र कार्टेलिङको अध्ययन अघि बढाउँदै त्यसको जिम्मा फुयाँललाई दिएको बताइएको छ । मिलेमतोका आधारमा टिकट बिक्री गरेर कार्टेलिङको साम्राज्य खडा गरेको बताउँदै यो विषयलाई गम्भीर रुपमा लिएर अध्ययन अघि बढाइरहेको आयोगले जनाएको छ । नेपाल सरकारले तोकेको न्यूनतम र अधिकतम भाडादरलाई आधार बनाएर वायुसेवा कम्पनीहरुले कार्टेलिङ गरिरहेको आरोप लागेको छ । अहिले कुनै पनि सेक्टरमा उडान गर्ने सबै कम्पनीको हवाई भाडा एउटै कायम रहेको पाइएको छ ।

बाग्लुङ तमानखोलामा रङ्गशाला बन्दै

बाग्लुङ । तमान गाउँको बीचमा पहिले सानो खेलमैदान थियो । गाउँलेले त्यसलाई रङ्गशाला निर्माण गर्न सक्रियता देखाए । सुरु–सुरुमा पालिका तथा प्रदेश सरकारबाट बजेट पनि प¥यो । अहिले कुनै पनि निकायबाट बजेटको व्यवस्था हुन सकेको छैन । ‘तमान रङ्गशाला’ निर्माण थालेको आधा दशक भयो । अहिलेसम्म रङ्गशाला निर्माणले पूर्णता पाउन सकेको छैन । तमानखोला गाउँपालिका–३ तमानगाउँमा निर्माणाधीन ‘तमान रङ्गशाला’ को कार्य प्रगति ५० प्रतिशतभन्दा माथि जान सकेको छैन । गाउँपालिकाले खेल क्षेत्रको विकास र प्रवद्र्धन गर्नका लागि रङ्गशाला निर्माण अगाडि सारे पनि यस वर्ष बजेट शून्य छ । पहिले विद्यार्थीहरु खेल्ने साँघुरो चौरलाई स्थानीयवासीको सक्रियतामा सम्याएर खेल मैदानको स्वरुपमा ल्याएको स्थानीय भेषबहादुर पुनले बताए। उनले पहिले यो ठाउँ जलमग्न रहेको र यसलाई गाउँलेहरुले जनश्रमदान गरेर खेल मैदानका रुपमा विकास गरेको बताए। पुन भन्छन्, ‘यो ठाउँमा पानी जम्थ्यो, पछि यसलाई हामीले सम्याएर सानो मैदान बनाएका थियौँ, अहिले डोजर लगाएर यति ठूलो भयो, राम्रो पनि भयो, अब त केटाकेटीहरु पनि रमाएर खेल्न पाउनेछन्, कतै लोट्ला भन्ने डर पनि भएन, मेला महोत्सव गर्दा पनि सजिलो हुने भयो ।’ लामो समयदेखि खेलमैदानका लागि जनश्रमदान गरेको भन्दै आफूहरुले गरेको दुःल्खको प्रतिफल बिस्तारै यहाँका युवा तथा खेलाडीहरुले पाउने अपेक्षा लिएको उनले बताए। स्थानीयवासीको अधिक जनश्रमदान र गाउँपालिका, प्रदेश सरकार तथा केन्द्र सरकारसँगको सहकार्यमा रङ्गशाला निर्माण हुने आश्वासन पाएको उनको भनाइ छ । स्थानीय भीमबहादुर मगरले गाउँपालिकाले रङ्गशाला निर्माण गर्न थालेपछि बालबालिका र खेलाडीलाई खेल खेल्न सजिलो हुने बताए। धन गौ ज्योति माध्यमिक विद्यालय नजिकै रहेको रङ्गशाला गाउँको केन्द्रमा रहेको हुँदा यसले सिङ्गो तमानखोलाकै गौरव बढाउने बुढामगरको भनाइ छ । उनले रङ्गशाला निर्माणपछि दुर्गम गाउँमा पनि राष्ट्रिय स्तरको खेल आयोजना गर्न सकिने बताए । ‘यो गाउँमा खेलेर हुर्केका खेलाडी अहिले राष्ट्रिय स्तरमै नाम कमाउन सफल भएका छन्, उनीहरुले उतिबेला राम्रो खेलमैदानमा खेल्ने अवसर पाएनन्, खेल क्षेत्रमा राज्यको लगानी पनि खासै भएको थिएन, अहिले यस्तो विकट गाउँमा पनि रङ्गशाला बन्नु हाम्रो लागि गौरवको कुरा हो’, उनले भने । उनले खेलमैदान अभावका कारण यहाँबाट धेरै खेलाडी राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा भाग लिन नसकेको भन्दै रङ्गशाला निर्माणपछि तमानखोलालगायत सिङ्गो बागलुङका खेलाडीलाई ठूलो अवसर प्राप्त हुने बताए । खेल क्षेत्रबाट पनि तमानखोलालाई समृद्धितर्फ लैजान सकिने हुँदा रङ्गशाला निर्माणलाई जोड दिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए । उनले स्थानीयले निर्माण गरेको सानो खेलमैदानलाई रङ्गशालामा रुपान्तरण गर्न थालेको केही समयमै आधा काम पूरा भइसकेको भन्दै प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर काम पूरा गर्ने बताए । ‘यो रङ्गशाला गाउँपालिकाको गौरवको योजनाअन्तर्गत पर्छ, यहाँ स्थानीयले धेरै समय जनश्रमदान गरेर यति ठूलो मैदान बनेको छ, पहिले सानो–सानो मैदान थियो, यसलाई बढाएर यति ठूलो बनाउने काम स्थानीयहरुबाट भएको हो’, अध्यक्ष बुढा मगरले भने, ‘गाउँपालिकाले पनि केही बजेट विनियोजन गरेर अहिले सम्याउने काम भएको छ, यसमा अझ धेरै काम गर्नु बाँकी छ ।’ अध्यक्ष बुढा मगरले रङ्गशाला निर्माण गर्न अहिलेसम्म गाउँपालिका र गण्डकी प्रदेश सरकारको ६० लाख खर्च भइसकेको जानकारी दिए । तीन वर्षअगाडि गाउँपालिकाले दुई करोडको गुरुयोजना तयार गरेको उनको भनाइ छ । गाउँपालिकासँग पर्याप्त बजेट नभएको भन्दै सङ्घ र प्रदेशसँग सहकार्य गरेर पूरा गर्ने अध्यक्ष बुढामगरले बताए। रङ्गशालामा प्याराफिट निर्माण, घेराबार र सम्याउने काम पूरा हुन सकेको छैन । ‘ग्रामीण क्षेत्रमा रङ्गशाला निर्माण गर्नु सजिलो काम होइन, यद्यपि हामी लाग्यौँ, आधा बढी काम पनि सक्यौँ, एक करोडको डिपिआर गरेका थियौँ, अझै ५० लाख बढी खर्च हुने अनुमान छ, प्रदेश तथा सङ्घीय सरकारबाट बजेट ल्याएर सम्पन्न गर्ने लक्ष्य छ’, उनले भने, ‘यो बजेट गाउँपालिकाले मात्रै विनियोजन गर्न सक्ने अवस्था छैन, त्यसले गर्दा प्रदेश र केन्द्रमा पनि हामीले प्रस्ताव पठाएका छौँ, माथिल्लो निकायबाट सहयोग भयो भने केही समयमै यसको निर्माण सम्पन्न हुनेछ ।’ रङ्गशाला निर्माणका लागि गाउँपालिका र प्रदेश सरकारबाट विनियोजित ६० लाखभन्दा बढी खर्च गरी सकेको र स्थानीयले एक करोडभन्दा बढीको जनश्रमदान गरेको अध्यक्ष बुढामगरको भनाइ छ । तमान गाउँसम्म मोटरबाटो जोडिसकेको हुँदा जिल्लाका विभिन्न स्थानबाट समेत खेल खेल्नका लागि तमान गाउँमा पुग्ने सम्भावनमा बढी छ । म्याग्दीसँग सिमाना र सडक सञ्जालले जोडिएको हुँदा म्याग्दीबाट समेत खेलाडी आउने सम्भावना बढी रहेको उनको भनाइ छ । यस ठाउँमा अहिले पनि कुनै मेला महोत्सव लाग्दा म्याग्दीबाट बढी नागरिक आउने गरेको पाइन्छ । त्यस्तै पर्यटकीय क्षेत्र सोले डाँडा पनि नजिकै रहेको हुँदा खेलसँगै पर्यटनसमेत जोडिने उनको भनाइ छ । पालिकाले गाउँलाई पर्यटकीय गन्तव्य बनाइरहेको भन्दै रङ्गशालाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अध्यक्ष बुढामगरको भनाइ छ ।

खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार पाएन

लुम्बिनी । मर्चवार क्षेत्रका व्यवसायी, किसान, स्थानीय तथा सरोकारवालाले खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा सामान भित्रिनुले स्वदेशी उत्पादनको बजारीकरणमा समस्या रहेको उनीहरुको भनाइ छ । चेम्बर अफ कमर्स, रुपन्देही उद्योग व्यापार सङ्गठन र उद्योग व्यापार सङ्गठन मर्चवार सम्पर्क कार्यालयले शुक्रबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा आयोजना गरेको स्थानीय बजार प्रवद्र्धनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले स्थानीय बजार प्रवद्र्धनका लागि सम्पूर्ण पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय सन्तराम कोइरीले स्वदेशमा उत्पादन भएका कुखुराले बजार नपाएको गुनासो गरे । उनले भने, ‘भारतमा सस्तो मूल्यमा कुखुरा पाइने र खुल्ला सीमाका कारण सहजरुपमा चोरी–पैठारी हुने भएकाले सीमा वारिका व्यवसायी मर्कामा छन् ।’ त्यस्तै स्थानीय सूर्यनारायण यादवले खुल्ला सीमाका कारण स्वदेशी बजार सुनसान भएको बताए। उनले स्वदेशमा उत्पादन लागत बढी हुँदा सामानको मूल्यसमेत यहाँ बढी नै रहेको बताए। उनले स्थानीयस्तरमा उत्पादित सामानको बजारीकरणमा समस्या रहेको बताए। कृषक अशोककुमार तिवारीले किसानलाई मल र सिँचाइको व्यवस्था नभएसम्म विकास हुन नसक्ने बताए । उनले कृषकले उत्पादन गरेर वस्तुको मूल्य कृषकले नै तोक्न पाउनुपर्ने माग राख्दै भने, ‘किसानको विकास नभएसम्म मुलुकको विकास हुन सक्दैन ।’ स्थानीय अर्जुन हरिजनले चप्पल उद्योग सञ्चालन गर्दै आएको भए पनि बिक्रीवितरणमा समस्या आएपछि उद्योग नै बन्द गर्नुपरेको बताए । उनले उद्योग बन्द भएपछि ऋणको किस्ता र ब्याज तिर्न समस्या भएको गुनासो गरे । उनले भने, ‘अनुदान पाउनुपर्ने व्यक्तिसमक्ष पुगेको छ कि छैन अनुगमन गर्नु आवश्यक छ ।’ मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताले दर्ता प्रक्रियामा नआएका व्यवसायलाई करको दायरामा ल्याउनुपर्ने बताए । उनले स्थानीय सरकारले स्थानीय उत्पादन भएका सामान खरीद गर्नुपर्ने प्रस्ताव राखे । उनले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । मर्चवार क्षेत्रमा होटल, किरानालगायत व्यवसाय बन्द भएकाले त्यसतर्फ पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो । उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले किसानले समयमा मल र बीउ नपाएको बताए । उनले सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसकेको र सीमापारिबाट ल्याउँदा किसानले अनेकौँ हैरानी खेप्नुपरेको बताए । उनले भने, ‘स्थानीय सरकार र व्यवसायीबीच सहकार्य आवश्यक छ ।’ अध्यक्ष ज्ञवालीले किसानको जीवनस्तर माथि उकास्न सके मात्र अर्थतन्त्र मजबुत हुने बताए। कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले कृषिप्रधान क्षेत्र मर्चवारमा आउनुपर्ने मलसमेत घटिरहेको गुनासो गरे । उनले किसानले समयमै मल नपाएको बताए । उनले मर्चवार क्षेत्रमा रहेका पालिकाहरुले साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘साझा एजेन्डा बनाएर अघि बढे मर्चवार क्षेत्रको आवाज एकैपटक सम्बन्धित निकायमा पुग्छ ।’ कोटहीमाई–५ का वडाअध्यक्ष सञ्जयकुमार सैनीले कृषिप्रधान देश भनिए पनि किसानको धेरै समस्या रहेको बताए। उनले कृषिका लागि आवश्यक रहेको ट्र्याक्टरको भन्सार शुल्क बढ्दा कृषक मारमा परेको गुनासो गरे । मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले कृषि, शिक्षा र स्वास्थ्यमा आफूले जोड दिएको बताए । उनले कृषकलाई गाउँपालिकाबाट सक्दो सहयोग गरिएको बताए। उनले भने, ंनिजी क्षेत्रलाई जिम्मेवारी दिए कृषकले सहज रुपमा मल पाउन सक्थे ।’ उनले किसानलाई सिँचाइको व्यवस्था नहुनु दुःखद भएको बताए । कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले भारतबाट ल्याएर सामान बिक्री गर्नुपर्ने व्यवसायीको बाध्यता रहेको बताए। उनले भने, ‘मर्चवार क्षेत्रको व्यवसाय प्रवद्र्धनका लागि छुट्टै नीति बनाउनुपर्छ ।’ उनले किसानले मल समयमा नपाउँदा उत्पादनमा समेत समस्या आएको बताए ।

ठेकेदारले काम नगरेपछि दिक्तेल–गाईघाट सडक कालोपत्रको ठेक्का तोडियो

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुई वटा प्याकेज (खण्ड) कालोपत्रको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीको लापर्वाहीका कारण वर्षौंदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो । करिब ५५ करोड ८७ लाख लागतमा विसं २०७७ साउन १० गतेभित्र सक्नेगरी विसं २०७३ साउन ११ गते सम्झौता गरे पनि कालोपत्रको काम अपुरै राखेकाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए। योजना प्रमुख खकुरेलका अनुसार खोटाङको फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर) कालोपत्रको काम ठेक्का लिएको निर्माण कम्पनी देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीसँगको ठेक्का सम्झौता तोडिएको हो । त्यस्तै उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का सम्झौता पनि तोडिएको जनाइएको छ । मैनाचुली–शिद्धिसाइ प्रकाश जेभीले करिब ११ करोड १७ लाखको लागतमा कालोपत्र सम्पन्न गर्नेगरी विसं २०७८ चैत २८ गते सक्ने गरी विसं २०७५ भदौ १४ गते ठेक्का सम्झौता गरेको थियो । कालोपत्रका लागि ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेकाले ठेक्का तोडिएको खकुरेलले बताउनुभयो । गाईघाट–दिक्तेल सडक अन्तरगतकै सिम्पानी–माहुरे (२३ किलामिटर) सडकखण्डको कालोपत्र गर्ने काममा पनि ठेकेदार कम्पनीको ढिलासुस्ती भएको स्थानीय बासिन्दाले बताएका छन् । विसं २०७७ असार २९ गते सक्नेगरी विसं २०७३ असार २० गते सम्झौता भएको थियो । उक्त योजनाको फेरि आगामी असार मसान्तसम्ममा म्याद थपिएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले बताए। सडक कालोपत्रको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र सडकमा कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले विसं २०७६ पुस २० गतेदेखि महिना दिन सडकको काम ठप्प बनाएका थिए । उक्त सडक कालोपत्रको काममा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक तथा होटल र पसलको भुक्तानी पाउन बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपाका वडाध्यक्ष दिनेश राईले बताए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गको सडक कालोपत्रको ठेक्का तोडिएपछि निर्माणाधीन सडक अलपत्र परेको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा शिलान्यास गरेको दिक्तेल–गाईघाट सडक निर्माण गरेको २८ वर्षसम्ममा पनि कालोपत्र नहुँदा हिउँदको समयमा करिब छ महिनामात्र सञ्चालन हुँदै आएको छ । दिक्तेल–गाईघाट एक सय ४२ किलोमिटर सडकमध्ये एक सय एक किलोमिटर सडकखण्ड कालोपत्र गर्न तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विसं २०७३ मा दुई अर्ब ६८ करोड बजेट विनियोजन गर्नुभएको थियो । ठेकेदार कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्र सम्पन्न गर्ने भन्ने अन्यौलता सिर्जना भएको छ । दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोसीमा निर्माणाधीन पक्की पुल बिहीबारबाट सञ्चालनमा ल्याइएको छ । फोक्सिङटारमा निर्माणाधीन मोटरेवल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत सहजता हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । सुनकोसीमा मोटरेवल पक्की पुल नहुँदा करिब छ महिना पूर्वी तराईसँगको सिधा सम्पर्कविच्छेद हुँदै आएको थियो । फोक्सिङटारमा मोटरेबल पक्की पुल सञ्चालनमा आए पनि निर्माणाधीन सडकको काम पूरा हुने अवस्था छैन । हिउँदमा धुलो र वर्षामा हिलोका कारण करिब छ महिना अवरुद्ध हुँदै आएको उक्त सडकखण्डमा पक्की पुल बने पनि उपयोगविहीन हुने देखिन्छ । फोक्सिङटार पुल निर्माणमा ढिलासुस्ती हुँदा सात वर्षदेखि अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्नेक्रममा राज्यकोषको करोडौँ रकम खर्च भएको थियो ।

मौसम परिवर्तन हुने, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली गराउनुका साथै पूर्वी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीका अनुसार पश्चिमी वायुको प्रभावले बदली गराएको छ । पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने हिमाली तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना छ । शुक्रबार बेलुकीदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आइतबारदेखि क्रमशः बाहिरिने मौसमविद् वासीले उल्लेख गरिन्। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्क हिमपातको सम्भावना छ । अहिले काठमाडौँको तापक्रम १६ डिग्रिसेल्सियस रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा पाँचवटा नयाँ शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकै पटक पाँछ वटा शाखा कार्यालयको विस्तार भएको छ । १ नम्बर प्रदेश स्थित शाखा कार्यालय ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेस प्रदेश स्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेश स्थित शाखा कार्यलय रसुवा को शनिवार उद्घाटन गरिएको छ । यसपछी बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ । शाखा कार्यालय ताप्लेजुङ्ग को बैंक सञ्चालक दिलिप कुमार ढुङ्गाना, शाखा कार्यालय तेह्रथुम को म्याग्लुङ्ग नगरका प्रमुख संजयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलावारी को झापा १ ख का प्रदेश सांसद माननीय गोपाल तामाङ्ग, शाखा कार्यालय मलगंवा को सर्लाही २ ख का प्रदेश सांसद कौशल किशोर दास र शाखा कार्यलय रसुवा को रसुवा ख का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिवार अगल अलग कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले देशको दूरदराज तथा शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ सेवा प्रवाह गरिरहेको बताए । शाखा कार्यालयको उद्घाटनमा बैंकतर्फबाट बैंक सञ्चालक प्रा.डा.राजनबहादुर पौडेल र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ शाखा कार्यलय धुवलावारीमा, बैंक सञ्चालक लक्ष्मण घिमिरे र नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल शाखा कार्यालय रसुवामा, नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी शाखा कार्यालय मलगंवामा, उपकार्यकारी अधिकृत पवन रेग्मी शाखा कार्यालय ताप्लेजुङ्गमा र उपकार्यकारी अधिकृत विनयरमण पौडेल शाखा कार्यालय तेह्रथुममा सहभागी भएका थिए । शाखा कार्यालयहरुको उद्घाटन समारोहमा जनप्रतिनीधि, राजनितिक दलका प्रतिनिधि, सेना, प्रहरी, उद्योगी, व्यवसायी, कर्मचारीहरु लगायतको भव्य उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालन गरिरहेको छ ।

सिटिभेनी रबुका फिजीको प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी । सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसद्ले शनिबार उनी निर्वाचित भएको घोषणा गरेको छ । राबुका, सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुन्। रबुका संसद्को २८ मतले निर्वाचित भए भने अर्का नेता भोरेके बैनिमारामाले २७ मत प्राप्त गरेका छन् । संसद्का नवनिर्वाचित सभामुख नाइकामा लालबालावुले सो निर्वाचनको परिणाम घोषणा गरेका हुन्। फिजीको सोसल डेमोक्रेटिक लिबरल पार्टी शुक्रबार राबुकाको पिपुल्स अलायन्स र नेसनल फेडरेशन पार्टीसँग मिलेर गठबन्धन बनेको हो । गठबन्धनपछि राबुकाले विजय हासिल गरेका हुन् । यो सँगै फ्रान्क बैनीमारामाको नेतृत्वमा रहेको १६ वर्षे शासनको अन्त्य भएको छ । उनले सन् २००६ मा सैन्य कूद्वारा सत्ता कब्जा गरेका थिए । १६ वर्षमा पहिलो पटक फिजीवासी नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्ने तयारीमा छन् ।