ज्योति लाईफको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत भएको छ । शुक्रबार मात्रै इन्स्योरेन्सको २ करोड ४२ लाख कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ ।
सरकार गठनका लागि दाबी पेस गर्ने समय आज सकिँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन् । पाँचदलीय सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरी विभिन्न प्रयासमा जुटिरहेका छन् । त्यसका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राष्ट्रिय जनमोर्चालगायत दलका शीर्षनेताहरूले द्विपक्षीय, बहुपक्षीयरूपमा छलफल जारी राखेका छन् । गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गर्नका लागि पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको गठबन्धनका शीर्षनेताको बैठकमा आगामी सरकार गठन सम्बन्धमा सकारात्मक छलफल भएको र आज बिहान पुनः बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् । हालै सम्पन्न निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका दुई सय ७५ सिटमध्ये कांग्रेस ८९, नेकपा एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, नेकपा एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक–एक स्थानमा तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
पोखरामा पर्यटकलाई अब सूर्योदयसँगै जिपलाइनको मजा
कास्की । साहसिक पर्यटनमा रुचि राख्नेहरूका लागि अब पोखरामा सूर्योदयसँगै जिपलाइनको मनोरञ्जन प्राप्त गर्ने भएका छन् । पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य सराङकोटबाट हेमजाको याम्दीसम्म विसं २०७० देखि जिपलाइन सञ्चालन गर्दै आएको हाइग्राउण्ड एडभेञ्चर्स नेपालले स्वदेशी तथा विदेशी पर्यटकलाई सूर्योदय र जिपलाइनको अनुभवसँगसँगै प्रदान गर्न लागेको हो । पोखराको सराङकोटमा सूर्योदयको दृश्यावलोकनका लागि पुग्ने पर्यटकलाई जिपलाइनको अनुभवसमेत सँगै प्रदान गर्न सो सुविधा ल्याइएको हाइग्राउण्ड एडभेञ्चर्स नेपालका निर्देशक दिनेश महर्जनले बताए । उनकाअनुसार बिहान ५ देखि ५ः३० बजे पर्यटकलाई पोखराको लेकसाइडबाट गाडीमा सराङकोटसम्म पुर्याएर सूर्योदय दृश्यावलोकनसहित जिपलाइनको अवसर प्रदान गरिनेछ । हाल बिहान ९ बजेपछि मात्र जिपलाइन सेवा सञ्चालन हुँदै आएको छ । उनले भने ‘सनराइज हेर्न आउने एडभेञ्जर लभर्सहरूका लागि बिहानको समयमा जिपलाइनको अवसर थिएन, सो कमी हटाउँदै उनीहरूलाई सबेरै साहसिक जिपलाइनको अनुभव दिलाउने गरी यो प्याकेज ल्याएका हौँ, यसबाट पोखरामा पर्यटकले थप सुविधा प्राप्त गर्नेछन् र रमाउने छन् ।’ हाल दैनिक चार सयदेखि पाँच सय जनासम्म पर्यटक सूर्योदय हेर्नका लागि सराङकोटमा पुग्ने गरेका छन् । उनीहरूलाई लक्षित गरी हाइग्राउण्डले जिपलाइन सेवा सुरु गरेको हो । सनराइज प्याकेजमा स्टेशनसम्म आउन र गन्तव्यसम्म यातायात सुविधा, सराङकोटमा बे्रकफास्ट र जिपलाइनको अनुभव समेटिएको छ । सो प्याकेजमा प्रतिव्यक्ति रु १२ हजार शुल्क लाग्ने कम्पनीले जनाएको छ । सराङकोटमा समुद्र सतहदेखि एक हजार पाँच सय ५० मिटरको उचाइमा रहेको स्टेशनबाट याम्दीमा नौ सय ५० मिटर उचाइको तल्लो स्टेशनसम्म जिपलाइन सञ्चालन हुने गरेको छ । दुई स्टेशनबीचको दूरी एक किमी आठ सय मिटर छ । विश्वमै छ सय मिटरको सबैभन्दा भिरालो (स्टिपेष्ट) जिपलाइन रहेको कम्पनीले विश्व रेकर्डको सर्टिफिकेट प्राप्त गरेको निर्देशक मानन्धरले बताए । सो प्रमाणपत्र प्राप्त गरेसँगै कम्पनीको प्रवद्र्धनका लागि सघाउ पुग्ने बताइन्छ । हाइग्राउण्ड एडभेञ्जरले एक दशकअघिदेखि पोखरामा जिपलाइन सुरु गरेको हो । सो कम्पनीले हाल साहसिक पर्यटकलाई लक्षित गरी जिपलाइन, बञ्जी, स्विङ र एटिभी ड्राइभ सञ्चालन गरिरहेको छ । पोखरामा पछिल्लो समय साहसिक पर्यटकीय गन्तव्य थपिँदै जाँदा पर्यटकको बसाइ अवधि बढाउन सहयोगी भएका छन् । पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङबाट साहसिक पर्यटकीय गन्तव्य सुरु भएको यहाँ जिपलाइन, बञ्जीसँगै क्यानोनिङलगायतले पर्यटकलाई मनोरञ्जन प्रदान गरिरहेका छन् ।
खोटाङमा आगलागी हुँदा साढे ८४ लाखभन्दा बढी क्षति
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुमा सनिबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय मैया श्रेष्ठको घरमा जडान गरिएको विद्युत् सर्ट भएर सुरु भएको आगलागीबाट मैया श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेर नष्ट भएको हो । दिउँसोको समयमा भएको आगलागी स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको संयुक्त टोली नियन्त्रणमा लिएका थिए । आगलागीमा नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा, अन्नपातलगायत सम्पूर्ण बन्दोबस्तीका सामग्री जलेर नष्ट हुँदा ८४ लाख ५६ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले जानकारी दिए । उनका अनुसार मैयाको तीनतले घर, नगद एक लाख, चाँदी २० तोला, मोबाइल, टिभीलगायत घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा २७ लाख ४५ हजार बराबरको क्षति भएको छ । यस्तै कृष्णकुमारको तीनतले घर, नगद एक लाख ५० हजार, दुई तोला सुन, एक थान मोबाइललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा २८ लाख ८३ हजार बराबरको क्षति भएको छ । कर्णकुमारको तीनतले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा २८ लाख २८ हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका पीडित परिवार आफन्तकामा आश्रय लिएर बसिरहेको वडाध्यक्ष महेन्द्र राईले जानकारी दिए । यसअघि यही पुस ४ मा केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका थिए । स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँचवटा घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको थियो । उक्त आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरूपमा जलेर नष्ट भएको थियो । आगलागी नियन्त्रणमा लिने क्रममा स्थानीय अकबर राईको घर भत्काइएको थियो । बाक्सिला बजारका आगलागी पीडितका लागि अहिले राहत संकलन गर्ने काम भइरहेको छ ।
मेलम्चीद्वारा भित्री सडक निर्माणलाई प्राथमिकता
सिन्धुपाल्चाेक । मेलम्ची बजारको बढ्दो चापलाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजारका भित्री तथा वैकल्पिक सडक निर्माणलाई तीव्रता दिएको छ । मेलम्ची बजारस्थित नमूना मार्गमा अहिले भित्री सडक निर्माणको काम भइरहेको नगरपालिकाका इन्जिनियर जितबहादुर कार्कीले जानकारी दिए । भवन तथा सहरी विकास कार्यालय धुलिखेलमार्फत विनियोजित ५० लाख बजेटले काम भइरहेको सो सडक निर्माणपश्चात बजारको सवारी चाप केही हदसम्म न्यून हुने नगरपालिकाले अपेक्षा गरेको छ । मापदण्ड नपुगेका स्थानमा कम्पाउन्ड भत्काएर सडक विस्तार गरेको कार्कीले बताए । पूर्वाधार विकास कार्यालय चौताराको सहयोगमा सोही सडकमा पर्ने जागेश्वरी पक्की पुल निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । पुल निर्माणको काममा केही ढिलासुस्ती भएको स्थानीयवासीको गुनासोपछि नगरपालिकाले पटक–पटक ताकेता गरे पनि पुस मसान्तसम्म सडक र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको इन्जिनियर कार्कीले जानकारी दिए । नगर प्रमुख आइतमान तामाङले नगरपालिकाले भित्री सडक निर्माणलाई प्राथमिकता दिएको बताए । साथै टार–पिपलबोट भित्री सडक निर्माणका लागि समेत दुई करोड विनियोजन भई खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । विपद् प्रतिकार्य अभ्यास तालिम पाँचपोखरी थाङ्पाल गाउँपालिकाको समन्वय र आर्सो नेपालको आयोजनामा पालिकाका कर्मचारी तथा जनप्रतिनिधिका लागि आयोजित तीनदिने विपद् प्रतिकार्य अभ्यास तालिम शनिबार सम्पन्न भएको छ । तालिममा आगो, बस दुर्घटना र बाढीबाट प्रभावित भई विपद्मा परेका नागरिकलाई के–कसरी खोज उद्धार, राहत तथा पुनर्लाभका कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा कृत्रिम घटना अभ्यास प्रस्तुत गरिएको आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले जानकारी दिए । गाउँपालिकाका चार वडा सचिव र १० शाखा प्रमुखलाई प्रारम्भिक तालिम दिइएको हो । तालिमको राजाराम श्रेष्ठ, हर्षमान महर्जन र टीका महर्जनले सहजीकरण गरेका छन्। दैवी प्रकोपको तयारीका बारेमा जनचेताना फैलाउने उद्देश्यले गरेको सो कार्यक्रममा दैवी प्रकोप आएको नाटकीय प्रदर्शन गरिएको थियो । यो अभ्यास वर्षा सुरु हुनुअघि, प्राक्टिकल एक्सनले दैवी प्रकोप न्यूनीकरण कार्यक्रमअन्तर्गत काम गरेको प्रत्येक समुदायमा गर्ने गरिएको छ । यस्ता तालिम विपद् जोखिम रहेका हरेक वडामा आवश्यक रहेको वन वातावरण तथा विपद् शाखाका सदस्यसचिव नारायण बन्जरा क्षेत्रीले बताए । सूची निर्माण मेलम्ची नगरपालिकाको आपत्कालीन कार्य सञ्चालन केन्द्रको स्थापनापश्चात विपद्को समयमा आवश्यक सहयोग, समन्वय, सूचना सम्प्रेषण तथा सम्पर्क गर्नका लागि आपत्कालीन सम्पर्क नम्बरको सूची निर्माण गरिएको छ । यस्ता आकस्मिक नम्बर प्रत्येक वडा तथा मुख्य बजारमा उपलब्ध गराउने प्रक्रियमा केन्द्र रहेको मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताए। यसका साथै आगामी दिनमा आकस्मिक टोल फ्री नम्बरको व्यवस्थापन गरी २४सै घण्टा विपद्बारे जानकारी, सूचना उपलब्ध गराउन सक्ने व्यवस्था गर्नेतर्फ यस केन्द्रले तयारी गरिरहेको दुलालले बताए । यसबाट विपद्बाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने विश्वास पालिकाले लिएको छ ।
बेनीमा नदी नियन्त्रण आयोजना सुरु, नौ करोड लाग्ने
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु भएको छ । रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८ को सीमा क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण थालेको हो । परियोजनासँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पक्की पर्खाल बनाउनका लागि नदी डाइभर्सन र जग खन्न थालेको बेनी नगरपालिका–७ का वडा सदस्य सोहन श्रेष्ठले जानकारी दिए । ‘कालीगण्डकीमा पानीको सतह नबढ्दै सक्ने गरी पक्की पर्खाल निर्माण सम्पन्न गराउन पहल गरिएको छ,’ उनले भने, ‘बेनीको कालीगण्डकी नदी किनारको सबैभन्दा जोखिमयुक्त ठाउँमा कटान नियन्त्रण गर्न लागिएको हो ।’ अहिले पक्की पर्खाल निर्माण गर्न लागिएको ठाउँमा यसअघि निर्माण भएको करिब एक सय ६० मिटर पर्खाल विसं २०७५ असोज र २०७८ असारमा कालीगण्डकीमा आएको बाढीले बगाएको थियो । यो ठाउँमा ग्याबियनको अस्थायी पर्खाल र ठूला ढुङ्गा थुपारेर कटान रोकथामको प्रयास गरिएको थियो । रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले २२ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ माघमा कालीगण्डकी र म्याग्दी नदी नियन्त्रणका लागि संरचना बनाउन रौताह–बिएनबी कन्ट्रक्सनसँग नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको थियो । कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजिट पर्खाल असारअघि नै निर्माण भएको थियो । कालीगण्डकीको डाइभर्सन गराउन विवाद भएको र पानीको सतह बढिसकेकाले सङ्गमचोक पछाडिको कालीगण्डकी किनारमा गत वर्ष पक्की संरचना बनाउन सकिएको थिएन । बेनी नगरपालिका र जलजला गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीसँग सहमति जुटाएर नदी किनारमा पक्की पर्खाल निर्माण सुरु गरेको निर्माण कम्पनीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताए । उनका अनुसार कालीगण्डकी किनारमा आठ मिटर अग्लो र एक सय ३४ मिटर लामो काउन्टर फोर्ट प्रविधिको पर्खाल निर्माण गर्न लागिएको हो । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनीमा नदी नियन्त्रणका लागि चार वर्षयता काम गर्दै आएको छ । परियोजनाका इञ्जीनियर कृष्ण विश्वकर्माले बेनीको थप ठाउँमा पनि पक्की पर्खाल बनाउन ठेक्का प्रक्रियामा रहेको बताए । सङ्घीय सरकारले बेनीलाई जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेर नदी नियन्त्रणको काम गर्दै आएको छ ।
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मेका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको हो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०७९ आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, मानवअधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए । पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्री सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साज सज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।
तारकेश्वर नगरपालिकाका बासिन्दाले अब निःशुल्क रक्त सेवा पाउने
काठमाडौं । तारकेश्वर नगरपालिकाका बासिन्दाले रगतको परीक्षण तथा रक्तथैली शुल्क तिर्न नपर्ने भएको छ । काठमाडौँ उपत्यकामा स्थानीय बासिन्दालाई निःशुल्क रगत सेवा उपलब्ध गराउने नगरपालिकाको अभियानमा तारकेश्वर अर्को पालिका भएको छ । यही पुस ८ गतेदेखि लागू हुनेगरी तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्त सञ्चार सेवा निर्देशक दिव्यराज पौडेलले तारकेश्वर नगरपालिका कार्यालय धर्मस्थलीमा आयोजित कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा तारकेश्वर नगरपालिकाको तर्फबाट जनस्वास्थ्य अधिकृत विनोदकुमार शाह र शम्भु पौडेल, नेपाल रेडक्रस सोसाइटीका जनसम्पर्क अधिकृत रामबहादुर श्रेष्ठ र लेखा अधिकृत शम्भु निरौलाले पनि हस्ताक्षर गरेका छन् । नगरपालिका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने र नगरपालिकाबाट केन्द्रीय रक्त सञ्चार सेवामा रगत सङ्कलन कार्यमा सहयोग गर्ने उद्देश्यले सो सम्झौता गरिएको तारकेश्वर नगर पालिकाका प्रमुख महर्जनले जानकारी दिए । सम्झौता कार्यक्रममा नगरपालिकाका स्वास्थ्य सेवा समितिका डा. लक्ष्मी घिमिरेले तारकेश्वर क्षेत्रमा केन्द्रीय रक्तसञ्चार सेवाको सहकार्यमा रक्तसङ्कलन अभियान सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाको तर्फबाट विभिन्न वडाका वडाध्यक्षलगायत स्वास्थ्य सेवा सम्बन्धित स्वयंसेवक र कर्मचारीको उपस्थिति थियो । सो अवसरमा स्थानीय बासिन्दालाई सुलभ र निःशुल्क रगत उपलब्ध गराउन यो सम्झौता एउटा अर्को महत्वपूर्ण पहल भएको निर्देशक पौडेलले बताए । उनले भने, ‘अन्य स्थानीय निकायसँग पनि सहकार्य बढाउँदै लगिने छ ।’ रगतको आपूर्तिबमोजिम केन्द्रीय रक्तसञ्चार सेवालाई नगद शोधभर्ना दिइने सम्झौतामा उल्लेख छ । त्यस्तै नगरपालिकका हरेक वडाले वर्षको कम्तीमा दुईपटक रक्तदान कार्यक्रम आयोजना गरी केन्द्रीय रक्तसञ्चार सेवामा रगत आपूर्ति बढाउन सहयोग गर्नेछन् । नगरपालिकाको स्थायी बासिन्दा भएको वा नगरपालिकामा कार्यरत कर्मचारी भएको प्रमाणित हुने कुनै किसिमको सरकारी कागजात (नागरिकता, मतदाता परिचयपत्र) को प्रतिलिपिको आधारमा केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट निःशुल्क रगतको सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ । साथै दुर्घटनाजन्य अवस्थामा अत्यावश्यक भएमा नगरपालिकाको सिफारिसमा उनीहरुले सेवा पाउने छन् । सम्झौतापूर्व रक्तदानको महत्व र अवस्थाका बारेमा नेरेसोका जनसम्पर्क अधिकृत रामबहादुर श्रेष्ठ र निर्देशक पौडेलले अभिमुखीकरण गरेका थिए । रासस