खोटाङमा आगलागी हुँदा साढे ८४ लाखभन्दा बढी क्षति

<p>खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुमा सनिबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय मैया श्रेष्ठको घरमा जडान गरिएको विद्युत् सर्ट भएर सुरु भएको आगलागीबाट मैया श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेर नष्ट भएको हो । दिउँसोको समयमा भएको आगलागी स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको संयुक्त टोली नियन्त्रणमा [&hellip;]</p>

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुमा सनिबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।

स्थानीय मैया श्रेष्ठको घरमा जडान गरिएको विद्युत् सर्ट भएर सुरु भएको आगलागीबाट मैया श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेर नष्ट भएको हो ।

दिउँसोको समयमा भएको आगलागी स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको संयुक्त टोली नियन्त्रणमा लिएका थिए । आगलागीमा नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा, अन्नपातलगायत सम्पूर्ण बन्दोबस्तीका सामग्री जलेर नष्ट हुँदा ८४ लाख ५६ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले जानकारी दिए ।

उनका अनुसार मैयाको तीनतले घर, नगद एक लाख, चाँदी २० तोला, मोबाइल, टिभीलगायत घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा २७ लाख ४५ हजार बराबरको क्षति भएको छ ।

यस्तै कृष्णकुमारको तीनतले घर, नगद एक लाख ५० हजार, दुई तोला सुन, एक थान मोबाइललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा २८ लाख ८३ हजार बराबरको क्षति भएको छ ।

कर्णकुमारको तीनतले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा २८ लाख २८ हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका पीडित परिवार आफन्तकामा आश्रय लिएर बसिरहेको वडाध्यक्ष महेन्द्र राईले जानकारी दिए ।

यसअघि यही पुस ४ मा केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका थिए । स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँचवटा घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको थियो ।

उक्त आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरूपमा जलेर नष्ट भएको थियो । आगलागी नियन्त्रणमा लिने क्रममा स्थानीय अकबर राईको घर भत्काइएको थियो । बाक्सिला बजारका आगलागी पीडितका लागि अहिले राहत संकलन गर्ने काम भइरहेको छ ।

Share News