मंगलबार सेयर बजारमा उछाल : करिब ४ अर्बको कारोबार, ५ कम्पनीमा सर्किट
काठमाडौं । नयाँ सरकार गठन भएसँगै सेयर बजारमा उछाल आएको छ । निरन्तर ओरालो लागेर तल्लो बिन्दुमा पुगेको सेयर बजार अर्थमन्त्रीमा विष्णु पौडेल नियक्त भएसँगै उकालो लागेको हो । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्रीसँग भेट गरेर संकटमा परेको अर्थतन्त्र जोगाउन आग्रह गरेका थिए । सोही विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र नै पहिलो प्राथमिकतामा राखेको बताएपछि लगानीकर्तामा उत्साह छाएको छ । मंगलबार सेयर बजार ४ महिना यता कै उच्च विन्दुमा पुगेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ अंकमा बन्द भएको छ । यसअघि गत भदौ १४ गते नेप्से सूचक १९९५.३४ अंकमा थियो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार सेयर कारोबार झण्डै ४ अर्ब रुपैयाँको भएको छ । जुन ५ महिनायता कै उच्च कारोबार भएको हो । मंगलबार २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर ६३ हजार ६७ पटक किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहमा हरियाली छाएको छ । मंगलबार ५ कम्पनीको सेयरमा सर्किट लागेको छ । सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, सृजनशिल लघुवित्त र धौलागिरी लघुवित्त रहेको सेयर मू्ल्य सकिर्ट लागेको हो । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मंगलबार सबैभन्दा धेरै लक्ष्मी बैंकको कारोबार भएको छ । बैंकको २० करोड ९४ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, एनटीसीको १४ कोड २ लाख ८ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड १४ लाख ९६ हजार रुपैयाँ, नबिल बैंकको ११ करोड ३२ लाख २९ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको १० करोड १२ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
चावहिल-साँखु सडकमा पर्ने तीन पुल विस्तार सुरु
काठमाडौं । चारदेखि छ लेनमा विस्तार गरिएको चावहि-साँखु सडकखण्ड अन्तर्गत तीन वटा पुल विस्तार सुरु गरिएको छ । नारायणटारको बागमती पुलसँगै महादेव खोला पुल र मनोमता खोलामा पुल निर्माण गर्नका लागि प्रक्रिया अघि बढाइएको हो । अहिले यी पुल निर्माणका लागि सर्भे डिजाइन भइरहेको काठमाडौं चक्रपथ सडक विस्तार योजनाले जनाएको छ । निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी डिजाइन एण्ड बिल्ड ठेक्कामार्फत् निर्माण गर्न लागिएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । सो पुल निर्माण सम्पन्न गर्न अवधि साढे दुई वर्ष छ । ‘सडक जति चोँडा छ पुल पनि त्यति नै फराकिलो बनाइनेछ’, उनले भने, ‘पुलको दायाँबायाँ दुई/दुई लेनको पुल बनाइनेछ’, उन्ले भने । पुल निर्माण गर्न लागिएका तीन स्थानमध्ये सबैभन्दा बढी सवारी चाप नारायणटारको बागमती पुलमा एउटा पुल माथिल्लो पट्टी मात्र निर्माण गर्न लागिएको छ । ‘तलतिर घर भएकाले एकातिरबाट मात्रै बनाउन सकियो, दुवैतिर बनाउन सकिएन’, उनले भने । पहिले २२ मिटर चौडाइमा कालोपत्र गर्ने गरी ठेक्का भएको चावहिल साँखु सडक कतै त्यही चौडाइमा त धेरै स्थानमा त्योभन्दा कम चौडाइमा कालोपत्र भएको छ । अरु सबै ठाउँमा कालोपत्र हुँदा पनि थली सडक हुनसकेको थिएन । गत साता सो स्थानमा समेत कालोपत्र भएको छ । सडक विस्तार सुरु भएको झण्डै सात वर्षपछि अहिले सम्पन्न हुने क्रममा छ । सडक विस्तार हुँदा आफ्नो घरजग्गा मासिने भएकाले स्थानीयहरु मुआब्जा पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका थिए । सरकारले तीन वर्षअघि नै विस्तारका क्रममा रहेका उपत्यकाका सडक यथास्थितिमै कालोपत्र गर्ने निर्णय गरेको थियो । यसबीचमा मन्त्री, सांसद र शीर्ष नेताले सडकको पटक-पटक अनुगमन गरिसकेका छन् । पछिल्लो पटक नवनिर्वाचित सांसद सोविता गौतमले पनि आयोजना र स्थानीयसँग छलफल गरेर सडक निर्माण चाँडो सम्पन्न गर्न पहल गरेका थिए ।
कर्णाली प्रदेश सरकारले १४ हजार छोरीको बैंक खाता खोलिदियो
कर्णाली । ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरको’ कार्यक्रममार्फत कर्णाली प्रदेश सरकारले हालसम्म प्रदेशका १४ हजारभन्दा धेरै छोरीका बैंक खाता खोलिदिएको छ । वि.सं २०७६ साउनदेखि जन्मिएका छोरीहरूको बैंक खाता खोलिदिएकामा पछिल्लो समय कतिपय पालिकाहरुले आधिकारिक तथ्याङ्क नपठाउँदा समस्या भएको प्रदेश सरकारले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारलाई पालिकाले बैंक खाता खोलेको आधिकारिक तथ्याङ्क उपलब्ध नगराउँदा गत वर्षदेखि उक्त खातामा जम्मा गर्नुपर्ने रकम अझै दिइएको छैन । उक्त मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले अर्थ मन्त्रालयले बजेट छुट्याएर पालिकाहरुमा रकम नबुझाउँदा सम्बन्धित मन्त्रालय नै अन्योलमा रहेको बताए । गत वर्षदेखि नै रकम पालिकामा नपठाउँदा यो कार्यक्रम र आगामी कार्याक्रम के गर्ने ? भन्ने अन्योल भएको छ”, उनले भने । स्थानीय तह र प्रदेश सरकारको समन्वय नहुँदा कार्यक्रम प्रभावकारी नहुने देखिएको छ । सामाजिक विकास मन्त्रालयले स्थानीय तहसँग प्रभावकारीरुपले समन्वय नगर्दा कार्यान्वयनमा समस्या देखिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारुलले भने मन्त्रालयले छुट्टै टोली बनाएर डाटाबेसमा काम गरे कार्यक्रम उपलब्धिमूलक हुने बताए । उनले केही स्थानीय तहमा कठिन भूगोल र प्रविधिका कारण पनि समस्या देखिएको भन्दै आगामी दिनमा नयाँ मोडलबाट अगाडि बढ्ने जानकारी दिए । सुरुका वर्ष कार्यक्रमका लागि सरकारले आर्थिक वर्ष २०७६/७७ मा ७ करोड विनियोजन गरेको थियो । आव ०७७/७८ मा १२ करोड ६० लाख रुपैयाँ छुट्याइएको आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत विद्याप्रसाद उपाध्यायले बताए । उनका अनुसार गत आर्थिक वर्ष ०७८/७९ मा १६ करोड रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले चालू आवमा २० करोड रुपैयाँ बजेट उक्त कार्यक्रमका लागि विनियोजन गरिए पनि खर्चको विवरण अहिलेसम्म प्राप्त नभएको अधिकृत उपाध्यायले बताए । छोरीमाथि हुने विभेद, बालविवाह न्यूनीकरण र उच्च शिक्षाको ग्यारेन्टी गर्ने दीर्घकालीन उद्देश्यका साथ कार्यक्रम ल्याइएको प्रदेश सरकारले बताउँदै आएको छ । कार्यक्रम प्रभावकारी मानिए पनि स्थानीय र प्रदेश सरकारको समन्वय अभाव देखिएको हो ।
रवि लामिछानेको एक्सन : नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी २ दिनभित्र फिर्ता गर्नु
काठमाडाैं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ । मंगलबार मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै यस्ताे निर्देशन दिएका हुन् । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन उक्त कार्यविधि जारी गरी कार्यान्वयन गरिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी, यस्तो छ निर्वाचन प्रक्रिया
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो । नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ । संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभइ फरक–फरक मितिमा निर्वाचन हुनेछ । यस निर्वाचनमा सङ्घीय संसद् ३३४ र प्रदेशसभाका सदस्य ५५० मतदाता हुनेछन् । मुलुकको विद्यमान जनसङ्ख्या अनुसार यी पदको निर्वाचनका लागि सङ्घीय संसद्काप्रति सदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ । आयोगले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन गत मङ्सिर २९ गते प्रतिवेदन बुझाएको थियो । राष्ट्रपतिको आह्वान बमोजिम दुईभन्दा बढी दलको समर्थनमा यही पुस १० गते नयाँ सरकार गठन भइसकेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सम्पादन गर्नुपर्ने कामका लागि आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालतको न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्नेछ । निर्वाचनमा उम्मेदवार हुन सङ्घीय संसद्को सदस्यका लागि हुनुपर्ने योग्यताका साथै कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा कुनै कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ । निर्वाचनमा मनोनयनका लागि मतदाता नामावलीमा नाम समावेश भएका पाँच जना प्रस्तावक र पाँच जना समर्थक आवश्यक पर्ने कानुनी व्यवस्था छ ।
दरबार हाई स्कुलमा विद्यार्थीको सङ्ख्या बढ्दै
काठमाडौं । कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित ऐतिहासिक धरोहरको दरबार हाई स्कुल भानु माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको छ । भूकम्प जानुअघि उक्त विद्यालयमा ७१ विद्यार्थी अध्ययनरत रहेकामा अहिले बढेर पाँच सय ९१ पुगेको छ । अझै पनि आफ्ना छोराछोरीलाई यसै विद्यालयमा भर्ना गराउन आग्रह गर्दै अभिभावक विद्यालय आउने क्रम रोकिएको छैन । हरेक वर्ष कक्षा सुरु हुने बेलामा मात्र भर्ना लिन सकिने र सबै कक्षामा विद्यार्थी सङ्ख्या पूर्ण रहेकाले तत्काल नयाँ विद्यार्थी भर्ना लिन सक्ने अवस्था भने छैन । गोर्खा भूकम्पकले पूर्णरुपमा क्षति भएकोे यस विद्यालयमा नयाँ भवन निर्माणसँगै विद्यार्थी आउने क्रम रोकिएको छैन । राजधानीको मुटुमा रहेको यस विद्यालयको अहिले सबै कक्षामा विद्यार्थी भरिभराउ छ । विद्यार्थीको सङ्ख्या अत्यधिक रहेकाले कक्षा ७, ८ र ९ लाई विभाजन गरेर सेक्सन बनाएर सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले बताइन् । यहाँ ३० शिक्षक कार्यरत छन् । कुनै कक्षामा पनि विद्यार्थीको कमी छैन । विद्यार्थीको सङ्ख्या बढिरहेकाले ३६ सिट क्षमता भएको एउटा कक्षामा हामीले ४९ जनासम्म विद्यार्थी राखेर पढाइरेहका छौँ प्रधानाध्यापक पौडेलले भनिन् ।’नयाँ भवन, सुविधायुक्त प्रयोशाला, सफा खाजा घर तथा अङ्ग्रेजी माध्यममा पढाइ हुने यो सामुदायिक विद्यालयमा हरेक दिन विद्यार्थी बढिरहेका छन् । अब नयाँ भर्ना हुन आउने विद्यार्थीका लागि स्थान छैन’, उनले भनिन् । आगामी आर्थिक वर्षका लागि अहिले नै आउँछन् यस विद्यालयमा अहिलेका लागि मात्रै होइन आगामी शैक्षिक सत्रका लागि पनि सिट सुनिश्चित गर्नुपर्यो भन्दै अभिभावक आउने गरेका छन् । अहिले सबै कक्षा भरिभराउ भएको र तत्काल भर्ना गर्न नसकिने कुरा विद्यालयले भनेपछि आगामी वर्षका लागि सिट रोक्नका लागि अभिभावकबाट अहिले नै अनुरोध हुने गरेको छ । ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए । कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी, स्थानीयवासीका छोराछोरी बढी छन् । हाल शिशु कक्षादेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा आगामी वर्षदेखि १२ कक्षासम्म पढाउने गरी तयारी भएको कामपाले जनाएको छ । विद्यालय भवन ठूलो रहेको हुँदा सहयोगी कर्मचारी एकजना मात्रले सरसफाइको काम गर्न भने समस्या भएको बताइएको छ । त्यसैगरी विद्यार्थीको सङ्ख्याका आधारमा सम्बन्धित विषय शिक्षकको पनि अभाव रहेको प्रध्यानाध्यापक पौडेलले बताइन् । निकट भविष्यमै ललितकला क्याम्पससँग सहकार्य गरेर आर्ट कक्षा सञ्चालन गर्नेतर्फ छलफल भइरहेको पनि उनले सुनाइन् । नमुना विद्यालय दरबार हाई स्कुल हाल कामपामा ८९ वटा सामुदायिक विद्यालय सञ्चालित रहेकामा नमुना विद्यालयका रुपमा दरबार हाई स्कुलसहित अन्य दुई विद्यालय परेका छन् । ती विद्यालयलाई अन्यभन्दा थप व्यवस्थित रुपमा सञ्चालन गर्न चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए । यस विद्यालयमा हरेक दिन विद्यार्थीको सङ्ख्या बढिरहेकाले कामपाले आवश्यकअनुसार दरबन्दी थप गर्ने विषयमा पनि छलफल गरिरहेको उनले जानकारी दिए। प्रमुख सुवेदीले भने, ‘नमुना विद्यालय भएसँगै उक्त विद्यालय अन्यभन्दा फरक र गुणस्तरीय हुन जरुरी छ त्यसका लागि कामपा लागिरहेको छ ।’ नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले सो विद्यालय भवनमा ४० कक्षाकोठा छ ।
३ करोडमा काभ्रेको बेथानचोकमा केबुलकार निर्माण हुने
काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबुलकार निर्माणको योजना अघि सारेको बताए । केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भएको उनको भनाइ छ । गाउँपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले बेथानचोकलगायतका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्नका लागि केबुलकार निर्माण गर्न लागिएको बताए । उनले केबुलकार प्रोजेक्ट समग्र पालिकावासीको साझा सम्पत्तिका रुपमा निर्माण हुन लागेको उल्लेख गरे । आयोजना निर्माण समूहमा आबद्ध इञ्जिनियर ज्ञान तिमिल्सेनाका अनुसार केबुलकारका लागि नौवटा टावरहरु रहने छन् । केबुलकारको लम्बाइ तीन किलोमिटरको हुनेछ भनेसम्भाव्यता अध्ययनको सिलसिलामा करिब तीन करोड लागत लाग्ने अनुमान गरिएको छ । कार्यक्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी वडा नं १ का अध्यक्ष मधुसूदन तिमिलसेना, वडा नं ३ का अध्यक्ष कुवेर ढकाल, वडा नं ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिन, वडा नं ५ का अध्यक्ष राजकुमार वाइवालगायत वडा तथा पालिका सदस्यका साथै स्थानीयको उपस्थिति थियो ।
काठमाडौंमा यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौं उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो । सोमबार उपत्यकाको तापक्रम पाँच दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा छ । उनले पछिल्लो केही दिनयता न्यूनतम तापक्रम क्रमशः घटिरहेको र अब अधिकम तापक्रम पनि घट्ने क्रममा रहेको बताए । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा पनि सामान्य असर पर्नसक्ने हुँदा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । महाशाखाले आज बिहान ९ बजे गरेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस छ दशमलव पाँच डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।