अमेरिकामा हिमआँधीमा परी ४९ जनाको मृत्यु
काठमाडौं । ‘शताब्दी कै विनासकारी हिमआँधी’ भनिएको आँधीबाट अमेरिकाका विभिन्न राज्यमा मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको सोमबार न्यूयोर्कका आपतकालीन कर्मचारीहरूले जानकारी गराएका छन् । प्रभावित बासिन्दाहरूलाई उद्धार गर्ने कोसिस भइरहेको स्थानीय प्रशासनले जनाएको छ । ‘उत्तरपूर्वी अमेरिकाका केही भागहरूमा हिमआँधीको अवस्था कायमै रहेको छ, यो खराब मौसमको विनाशकारी यात्रापछिको जोखिमयुक्त अवशेष हो, आँधीले देशलाई धेरै दिनसम्म चीसोको सामना गर्न बाध्य पारेको छ,’ न्यूयोर्कका गभर्नर क्याथी होचुलले भने । ‘हिमआँधीका कारण व्यापक रूपमा बिजुली कटौती भएको छ, हजारौँको बाटौमा अलपत्र परेका छन् र ९ राज्यहरूमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ,’ न्यूयोर्क प्रशासनद्वारा सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । न्युयोर्क राज्यमा अधिकारीहरूले विशेष गरी बफेलोमा घन्टौंसम्मको हिमबर्षापछि, सवारी साधनको अवरूद्धता र हिउँको किनारमा शवहरू फेला परेको र आपतकालीन कर्मचारीहरू जीवित व्यक्तिहरूको खोजीमा ‘कारदेखि कारसम्म’ मा जाने डरलाग्दो अवस्थाको वर्णन गरेका छन् । तीव्र हिमआँधी, हावाहुरी र शून्यभन्दा कम तापक्रमका कारण हालैका दिनहरूमा १५ हजारभन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएको ट्र्याकिङ, फ्लाइटवेयर डट कमले जनाएको छ । अमेरिकामा खराब जाडो मौसमको लागि अपरिचित नमानिने एरी काउन्टीको प्रसिद्ध शहर बफेलो सङ्कटपूर्ण अवस्थाको केन्द्रबिन्दुमा रहेको छ । शहरका धेरै भागमा ठूलो मात्रा तीन फिटसम्म हिउँले जमिनलाई ढाकेको छ । न्यूयोर्कका गभर्नर होचुलले मङ्गलबार पत्रकारसँगको कुराकानीमा भने, ‘निश्चित रूपमा यो शताब्दीको विनाशकारी हिमआँधी हो, न्युयोर्कका केही शहरमा रातभर ३० देखि ४० इन्च (०.७५ देखि १ मिटर) सम्म हिउँ जमेको छ ।’ विनाशकारी हिमआँधीपछि ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै होचुलले राष्ट्रपति जो बाइडेनसँग कुरा गरेको जनाएको छ । साथै न्यूयोर्क राज्यलाई सहयोग गर्न आग्रह गरे । बाइडेनले प्रभावित राज्यका लागि आपतकालीन सहयोगको घोषणालाई पनि अनुमोदन गरेको ह्वाइट हाउसले जनाएको छ ।
संघीय संसद्को अधिवेशन पुस २५ गतेका लागि आह्वान
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् । पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद् भवनमा संघीय संसद्को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो । यसपटक प्रतिनिधिसभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहने छन् ।
सीमा क्षेत्रमा अवैध आयात र व्यापारमा कडाइ गर्न महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मेला महोत्सवको आवश्यक सहयोगको व्यवस्था मिलाउन गृहमन्त्रीलाई आग्रह गरेको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई भेटेर नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले जिल्लामा हुने औद्योगिक व्यापारिक मेला महोत्सवको आयोजना उद्योग वाणिज्य संघहरूले गर्नका लागि सहयोग गर्न आग्रह गरेको हो । महासंघका अध्यक्ष गोल्छाले मुुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि व्रिफिङ गरेका थिए । ‘महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुुगत संघका पदाधिकारी एवं कार्य समितिका सदस्य उद्योगी व्यवसायीको मर्यादाक्रमको उचित प्रवन्धका लागि अनुरोध छ, सिमाक्षेत्रबाट हुने अवैध आयात/व्यापार नियन्त्रणमा कडाइ गर्न आग्रह छ, शान्ति सुरक्षा कायम गर्नु पर्याे,’ उनले भने । गृहमन्त्री लामिछानेले देशका लागि अर्थतन्त्र, उद्योग व्यवसायको महत्वलाई आफूले राम्रोसँग मनन गरेको बताएका छन् । महासंघले राखेका सुुझावलाई आफूले गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा ल्याउने उनले बताए ।
यति पैसा तिरेसी त खरर पढ्न सक्ने होला नि बाबु ? (फोटोफिचर)
काठमाडौं । नेपाल कला परिषद् बबर महलमा नेपालमा शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी भएको छ । परिषद्मा नेपालको वर्तमान शिक्षा अवस्थाको बारेमा कार्टुन प्रदर्शनी गरिएको हो । शिक्षा क्षेत्रलाई व्यंग्य गर्दै कार्टुन प्रदर्शनी शुरु भएको हो । रुपान्तरण सहितको सार्वजनिक शिक्षा सम्मेलन २०७९ मा कार्टुनिष्टहरुले बनाएका विभिन्न शिक्षासम्बन्धी कार्टुनहरुलाई परिषद्मा प्रदर्शनमा राखिएको छ । प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका सरोकारवाला एवं शिक्षा क्षेत्रमा देखिएका विसंगतीलाई ब्यंग्य गरेका छन् । प्रदर्शनमा शिक्षा सम्बन्धित विभिन्न कार्टुनहरु राखिएको छ । नेपालको शिक्षा अवस्था र उच्च शिक्षाका लागि विदेशमा जानुपर्ने नेपाली विद्यार्थीहरुको बाध्यतालाई कार्टुनमा चित्रण गरिएको देख्न सकिन्छ । साथै कार्टुनमा नेपालका शहरीया क्षेत्रको शिक्षा अवस्था र गाउँको शिक्षा अवस्थालाई पनि देखाइएको छ ।
सुर्य नेपाल इस्टर्न ओपन गल्फमा निरजलाई अग्रता
धरान । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन घरेलु गल्फर निरज तामाङले एक स्ट्रोकको अग्रता बनाएका छन् । पार(७० को धरान गल्फ क्लबको कोर्समा उनले ५ अन्डर ६५ को कार्ड तयार पारे। नेपाल नम्बर एक शुक्र बहादुर राई र सञ्जय लामा ४ अन्डर ६६ को स्कोरकासाथ संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन्। ३ अन्डर ६७ मा पहिलो १८ होलको खेल सकाएका भुवन नगरकोटी चौथो स्थानमा रहदा इभनपार ७० सहित जयराम श्रेष्ठ पाँचौ स्थानमा रहेका छन् । एमेच्योर गल्फर राजकुमार राई १ ओभर ७१ सहित छैटौ स्थानमा छन् । यसैगरी २ ओभर ७२ को स्कोरमा सात व्यवसायिक खेलाडीहरु रबि खड्का, रमेश अधिकारी, रामे मगर, टंक बहादुर कार्की, सुर्य प्रसाद शर्मा, दिनेश प्रजापति र बलभद्र राईले सातौ स्थान बाडेका छन्। लिडर निरजले सानदार सुरुवात गर्दै फ्रन्ट नाइन ६ अन्डर ३० मा सकाउने क्रममा दोस्रो, तेस्रो, पाँचौ, छैटौ र सातौ होलमा बर्डीको सफलता प्राप्त गरे। यसपछि आठौ होलमा बोगि खेपेका उनले चार पारको नवौ होलमा इगल प्रहार गरे। ब्याक नाइनको सुरूवाती तीन होलमा बर्डी प्रहार गर्दै उत्कृष्ट स्कोरतर्फ अग्रसर भएपनि १३औं, १४औं, १७औं र १८औं होलमा बोगीको सामना गरे। ब्याक नाइन उनले १ ओभर ३५ मा पुरा गरे। नेपाल नम्बर एक शुक्रले १ अन्डर ३५ मा फ्रन्ट नाइनको खेल सकाउदा ब्याक नाइनमा ३ अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे। सुरूवाती दुई होलमा बोगी खेपेका उनले पाँचौ, छैटौ र नवौ होलमा बर्डी प्रहार गरे। यसपछि १०औं, १३औं,१५औं र १८औं होलमा एक एक सट बचाए भने १४ औं होलमा बोगी खेपे। यसैगरी सञ्जय लामाले फ्रन्ट नाइट ३ अन्डर ३३ मा पुरा गर्ने क्रममा दोस्रो, पाँचौ र छैटौ होलमा बर्डी प्रहार गरे। यसपछि १०औं,१६औं र १८औं होलमा एक एक सट बचाए। तर १३औं र १४औं होलमा लगातार दुई बोगी प्रहार गर्दै ब्याक नाइन १ अन्डर ३३ मा सकाए। प्रतियोगिताको एमेच्योरतर्फ राजकुमार राईले दुई स्ट्रोकको अग्रता बनाएका छन् । दोस्रो स्थानमा रहेका रूपेन्द्र गुरूङ र युवराज भुजेलले ३ ओभर ७३ को कार्ड बनाए । उनीहरू प्रोफेसनल गल्फर धन बहादुर थापासँग संयुक्तरुपमा १४औं स्थानमा रहेका छन् । प्रो दल बहादुर लामा, थाम बहादुर राई, दीपक आचार्य र भुवन कुमार रोक्कासँगै एमेच्योेर खेलाडीहरू शुक्र राज राई र सुन्दर राई संयुक्तरुपमा १७औं स्थानमा रहेका छन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन् । दोस्रो दिनको समाप्तिमा उत्कृष्ट २१ व्यवसायीक र कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेलका लागि कट बनाउने छन् । कुल आठ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार प्राप्त गर्नेछन् । उपविजेताले ९० हजार तथा तेश्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बागमती प्रदेशले ल्यायो ५५ करोडको बिउपुँजी योजना
बागमती । बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि बिउपुँजी उपलव्ध गराउने योजना अन्तर्गत ५५ करोड रुपैयाँ विनियोजन गरेको छ । विनियोजित बजेट कार्यान्वयनका लागि बिउपुँजी परिचालन कार्यविधि र मापदण्डसमेत बनाइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बनाएको बिउपुँजी परिचालनसम्बन्धी कार्यविधि अनुसार मातहतको कार्यालयबाट व्यावसायिक योजना पेस गरेका आधारमा योजनाको करिब २० प्रतिशत छ । साथै मन्त्रालयबाट गठित बोर्ड तथा निर्देशनालयबाट सञ्चालन हुने कार्यक्रमको हकमा व्यावसायिक योजनाको २० प्रतिशत वा बढीमा एक करोडसम्म बिउँपुजी लगानी गर्न सकिने सो मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकरी दिए । १० लाखसम्मको बिउपुँजी उपलव्ध गराउनका लागि कुनै प्रकारको धितोसमेत आवश्यक नरहेको बताइएको छ । व्यावसायिक योजनालाई आधार बनाएर बिनाधितो १० लाखसम्म बिउँपुजी उपलव्ध गराउने कार्यविधि निर्माण भएको डा पाण्डेले जानकरी दिए । १० लाखभन्दामाथिको बिउपुँजी उपलव्ध गराउँन बैंक ग्यारेन्टी आवश्यक पर्नेछ । व्यावसायिक योजनाअनुसार सम्झौतापछि बिउपुँजीको १० प्रतिशत, योजना बमोजिम ५० प्रतिशत, काम भइसकेपछि ४० प्रतिशत र शतप्रतिशत काम भइसकेपछि स्वीकृत बिउपुँजीको ५० प्रतिशत रकम उपलव्ध गराउने कार्यविधिमा उल्लेख छ । नयाँ व्यावसायिक योजनालाई प्राथमिकता दिएर मन्त्रालयले कार्यक्रम ल्याएको भए पनि पुरानो व्यवसायलाई थप विस्तारका लागि पनि बिउपुँजी उपलव्ध गराइने मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले दिएको बिउपुँजी व्यवसायीले बढीमा पाँच वर्षमा फिर्ता गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । बिउपुँजी लिनका लागि कुनै ब्याज तथा शुल्क नलाग्ने भए तापनि किस्ता र भुक्तानी अवधिको निर्माण बिउपुँजी परिचालन समितिले गर्नेछ । बिउपुँजी परिचालनका लागि बोर्डरनिर्देशनाालय तथा कार्यालयले प्रमुख वा निजले तोकेको वरिष्ठतम् अधिकृतको संयोजोकत्वमा पाँच सदस्यीय बिउपुँजी परिचालन समिति गठन हुने कार्यविधिमा जनाइएको छ । कार्यविधिअनुसार सहकारी संस्थालाई दूध ढुवानीका लागि रेफ्रिजेरेटरदेखि ट्याङ्कर खरिदमासमेत बिउपुँजी परिचालन हुनेछ । बिउपुँजी लिएर बाख्रा, बङ्गुर, र गाईपालनका लागि पशुको सङ्ख्या, गोठ तथा खोरको आकार र बनावटलगायतको विषय तोकेर मन्त्रालयले मापदण्डसमेत बनाएको छ । यसअघि प्रदेश सरकारमार्फत् किसानलाई दिएको अनुदान प्रभावकारी हुन नसकेको कारणले यसवर्षदेखि बिउपुँजी योजना ल्याइएको उनले बताए । चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट करिब तीन सय वटा निजी कृषि फर्मलाई बिउपुँजी उपलव्ध गराउने मन्त्रालयको लक्ष्य डा पाण्डेको भनाइ छ । उनीहरुको परियोजना प्रस्तावको आधरमा २० प्रतिशतसम्म बिउपुँजी उपलव्ध गराइनेछ । मन्त्रालय अन्तर्गतको भेटनरी अस्पताल, तथा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र कृषि निर्देशनालय तथा दुग्ध विकास बोर्डमार्फत् छुट्टै सूचना जारी गरी बिउपुँजी लिनका लागि सहकारी तथा निजी कृषि फर्मलाई आह्वान गरिएको मन्त्रालयले जनाएको छ । हाल योजनाको छनोटकार्य भइरहको छ भने प्रदेश सरकारले विगत पाँच वर्षको अवधिमा कृषि क्षेत्रमा तीन अर्ब रुपैयाँ अनुदान प्रदान गरेको छ ।
शाइन रेसुङ्गा बैंकद्वारा वार्षिकोत्सवको अवसरमा १४ हजार ४० बृक्षरोपण
बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बृक्षरोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी–सीएसआर वहन गर्दै आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत देशका २२ जिल्लामा ३२ जातका बृक्षरोपण गरेको हो । वार्षिकोत्सवको अवसर पारेर २०७८ फागुन ११ गतेपछि २०७९ मंसिर ९ गते सम्म ९ महिनामा बैंकले सय भन्दा बढी सामाजिक संघसंस्था, स्थानीय तह,वन कार्यालय र क्लबहरु समेतको सहकार्यमा १४ हजार ४० वटा बिरुवा रोपेको बैंकले जनाएको छ । जलवायु परिवर्तनका कारण विश्ववयापी रुपमा वातावरणमा प्रतिकुल असर परिरहेकाले वातावरण संरक्षण, दीगो विकास र हरियाली प्रवद्र्धनलाई बैंकले उच्च प्राथमिकता दिएर बैंकिङ क्षेत्रमा संभवतः सबैभन्दा धेरै संख्यामा बृक्षरोपण गरेर नयां उदाहरण पेश गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । बैंकका ब्राण्डिङ तथा मानव संशाधन विभाग प्रमुख प्रभास राईका अनुसार लुम्बिनी प्रदेशका रोल्पा र रुकुम पुर्व वाहेक १० जिल्लासहित बागमती, गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशमा समेत बैंकले बृक्षरोपण गरेको छ । बृक्षरोपणमा संघीय राजधानी काठमाडौंसहित ५ वटा प्रदेशका शाखा कार्यालयका कर्मचारीको पनि सहभागिता रहेको राईले बताए । लुम्बिनीलाई केन्द्र बनाउंदै प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंकको पहिचान बनाएको शाइन रेसुङ्गा बैंकले हालै मात्रै उत्कृष्ट व्यवस्थापन गरेवापत बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको थियो ।
प्रधानमन्त्री दाहालले ३० दिनभित्र विश्वासको मत लिनेमा नेता विश्वकर्माको शंका
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले ३० दिनभित्र विश्वासको मत लिन सके २ वर्ष टिक्ने टिप्पणी गरेका छन् । उनले भने, ‘अहिले ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ, अब ती दल सबैलाई मिलाएर लैजानको लागि प्रचण्डजीको काँधमा जिम्मेवारी छ, उहाँले कांग्रेसलाई त मिलाउन सक्नुभएन, यी ७ दल कसरी मिलाउनुहुन्छ ? ३० दिनभित्र विश्वासको मत लिनुभयो भने यो सरकार अघि बढ्छ, ३० दिन कट्यो भने २ वर्ष सरकार ढुक्कले टिक्छ ।’ काठमाडौमा साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले प्रधानमन्त्री दाहालले ३० दिनभित्र विश्वासको मत लिनेमा शंका व्यक्त गरेका हुन् । उनले भने, ‘म अस्पतालमा सिकिस्त विरामी थिएँ, मेरी श्रीमतीले म सिकिस्त विरामी भएको बेला ज्योतिषीलाई देखाईछिन्, ती ज्योतिषले २६ गतेसम्म बाँच्यो भने केही पनि हुँदैन् भनेर भनेको रहेछ, अब यो सरकार ३० दिन बाँच्यो भने २ वर्ष केहीले पनि छुँदैन् ।’ उनले आफ्नो दलको नेतृत्वमा रहेको गठबन्धन टुट्न घण्टा भन्दापनि मिनेटपनि नलागेको टिप्पणी गरे । उनले भने, ‘यो गठबन्धन यति चाँडै, मिनेटमा गठबन्धन टुट्ला भन्ने सायद नेपाली कांग्रेसका कुनैपनि नेताहरुलाई लागेको थिएन, परिणाम बदलियो, परिस्थिति बदलियो, जुन शक्ति र दलसँग अत्यन्तै खप्नै नसकिने, हुनै नसक्ने, नभन्देको भए हुन्थ्यो भन्ने आरोप र प्रत्यारोप थियो, उहाँहरुबीच विद्रोह र तिक्तता बिर्सिएर फेरि गठबन्धन बन्ला भनेर लागेको थिएन, यो राजनीतिक आश्चर्यजनक घट्ना घट्यो,’ उनले भने । उनले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाले पहिलो दल हुनुको नाताले दाबी बढि राख्दैमा प्रचण्ड भड्किनुहोला भन्ने आफूहरुलाई नलागेको पनि स्मरण गराए । उनले भने, ‘उहाँको पूरानो बानी सुध्रिएकै थिएन, ०७४ मा पनि त्यस्तै भयो, पुष्कमल दाहालको यो सुपर चलाखी थियो या यो पूर्व तयारी थियो, कांग्रेस नेताहरुले प्रचण्डको स्वभाव चिन्न नसक्नु गलत हो र वार्तामा भूमिका खेल्न नसक्नुले परिस्थिति बदलियो, प्रचण्ड प्रधानमन्त्री हुनुको कारण, यही पुष ९ र १० गते हामीले केही सावधानी अपनाउन नसक्नु हो, प्रचण्डको आनीबानी र चरित्र बुझेर पनि हाम्रो भूमिका नहुनु कमजोरी हो, कांग्रेसबाट प्राप्त मतको बधाई पनि लिन नभ्याउँदै, उहाँले गठबन्धन तोडेर ऐतिहासिक भूल गर्नुभयो ।’ उनले एमाले र माओवादी केन्द्र मिलेर नयाँ गठबन्धन बनाएको प्रति व्यंग्य कस्दै भने, ‘जोसँग डिभोर्स भयो, उसैसँग पूनः विवाह भयो, यो राजनीतिमा आठौं आश्चर्य भयो, दोस्रो र तेस्रो दल मिलेर सरकार बनाउनु स्वभाविक हो, विभिन्न रंगीविरंगी विचार एक ठाउँमा बस्नुपर्ने बाध्यता छ, यो प्रचण्डजीको कारण भयो, ओलीजीको भूमिका त किप्परको भूमिका हो, उहाँ केपी ओलीमा यो विकसित घट्नामा आग्रह, पूर्वाग्रह वा चलाखी म देख्दिनँ, यो त प्रचण्डजीको हुटहुटीले भएको हो, प्रचण्डकै सत्तामोह र महत्वकांक्षाको हुटहुटीले यस्तो भयो ।’