प्रधानमन्त्री दाहालले ३० दिनभित्र विश्वासको मत लिनेमा नेता विश्वकर्माको शंका

<p>काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले ३० दिनभित्र विश्वासको मत लिन सके २ वर्ष टिक्ने टिप्पणी गरेका छन् । उनले भने, ‘अहिले ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ, अब ती दल सबैलाई मिलाएर लैजानको लागि प्रचण्डजीको काँधमा जिम्मेवारी छ, उहाँले कांग्रेसलाई त मिलाउन सक्नुभएन, यी ७ [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले ३० दिनभित्र विश्वासको मत लिन सके २ वर्ष टिक्ने टिप्पणी गरेका छन् । उनले भने, ‘अहिले ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ, अब ती दल सबैलाई मिलाएर लैजानको लागि प्रचण्डजीको काँधमा जिम्मेवारी छ, उहाँले कांग्रेसलाई त मिलाउन सक्नुभएन, यी ७ दल कसरी मिलाउनुहुन्छ ? ३० दिनभित्र विश्वासको मत लिनुभयो भने यो सरकार अघि बढ्छ, ३० दिन कट्यो भने २ वर्ष सरकार ढुक्कले टिक्छ ।’

काठमाडौमा साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले प्रधानमन्त्री दाहालले ३० दिनभित्र विश्वासको मत लिनेमा शंका व्यक्त गरेका हुन् । उनले भने, ‘म अस्पतालमा सिकिस्त विरामी थिएँ, मेरी श्रीमतीले म सिकिस्त विरामी भएको बेला ज्योतिषीलाई देखाईछिन्, ती ज्योतिषले २६ गतेसम्म बाँच्यो भने केही पनि हुँदैन् भनेर भनेको रहेछ, अब यो सरकार ३० दिन बाँच्यो भने २ वर्ष केहीले पनि छुँदैन् ।’

उनले आफ्नो दलको नेतृत्वमा रहेको गठबन्धन टुट्न घण्टा भन्दापनि मिनेटपनि नलागेको टिप्पणी गरे । उनले भने, ‘यो गठबन्धन यति चाँडै, मिनेटमा गठबन्धन टुट्ला भन्ने सायद नेपाली कांग्रेसका कुनैपनि नेताहरुलाई लागेको थिएन, परिणाम बदलियो, परिस्थिति बदलियो, जुन शक्ति र दलसँग अत्यन्तै खप्नै नसकिने, हुनै नसक्ने, नभन्देको भए हुन्थ्यो भन्ने आरोप र प्रत्यारोप थियो, उहाँहरुबीच विद्रोह र तिक्तता बिर्सिएर फेरि गठबन्धन बन्ला भनेर लागेको थिएन, यो राजनीतिक आश्चर्यजनक घट्ना घट्यो,’ उनले भने ।

उनले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाले पहिलो दल हुनुको नाताले दाबी बढि राख्दैमा प्रचण्ड भड्किनुहोला भन्ने आफूहरुलाई नलागेको पनि स्मरण गराए । उनले भने, ‘उहाँको पूरानो बानी सुध्रिएकै थिएन, ०७४ मा पनि त्यस्तै भयो, पुष्कमल दाहालको यो सुपर चलाखी थियो या यो पूर्व तयारी थियो, कांग्रेस नेताहरुले प्रचण्डको स्वभाव चिन्न नसक्नु गलत हो र वार्तामा भूमिका खेल्न नसक्नुले परिस्थिति बदलियो, प्रचण्ड प्रधानमन्त्री हुनुको कारण, यही पुष ९ र १० गते हामीले केही सावधानी अपनाउन नसक्नु हो, प्रचण्डको आनीबानी र चरित्र बुझेर पनि हाम्रो भूमिका नहुनु कमजोरी हो, कांग्रेसबाट प्राप्त मतको बधाई पनि लिन नभ्याउँदै, उहाँले गठबन्धन तोडेर ऐतिहासिक भूल गर्नुभयो ।’

उनले एमाले र माओवादी केन्द्र मिलेर नयाँ गठबन्धन बनाएको प्रति व्यंग्य कस्दै भने, ‘जोसँग डिभोर्स भयो, उसैसँग पूनः विवाह भयो, यो राजनीतिमा आठौं आश्चर्य भयो, दोस्रो र तेस्रो दल मिलेर सरकार बनाउनु स्वभाविक हो, विभिन्न रंगीविरंगी विचार एक ठाउँमा बस्नुपर्ने बाध्यता छ, यो प्रचण्डजीको कारण भयो, ओलीजीको भूमिका त किप्परको भूमिका हो, उहाँ केपी ओलीमा यो विकसित घट्नामा आग्रह, पूर्वाग्रह वा चलाखी म देख्दिनँ, यो त प्रचण्डजीको हुटहुटीले भएको हो, प्रचण्डकै सत्तामोह र महत्वकांक्षाको हुटहुटीले यस्तो भयो ।’

Share News