विकासन्युज

गृहमन्त्रीसँग परिसंघको भेटवार्ता, खुला सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न आग्रह

काठमाडौं ।  नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज गृह मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना दिँदै उद्योगी व्यवसायीहरुको समस्या, सीमा क्षेत्रमा भईरहेको अवैध कारोबारलगायतका विषयमा जानकारी गराएको हो । सो भेटमा परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताएका थिए । यस्तै, अधिकांश वस्तुको मागमा ३० देखि ७० प्रतिशतसम्म गिरावट आउँदा उद्योगी व्यवसायी आत्तिइरहेको जानकारी दिएका थिए । सरकारले विदेशी मुद्रा संचिती बढाउन आयातमा कडाई गर्दा पनि अटोमोबाइल बाहेक अन्य वस्तुहरु बजारमा उपलब्ध भईरहेको जानकारी दिँदै अग्रवालले मुलुकमा बढिरहेको अवैध कारोबार रोक्न गृह मन्त्रालयले प्रभावकारी कदम चाल्नुपर्नेमा बताएका थिए । उनले विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन पनि भएकाले ५० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए । सो अवसरमा नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै सुधारका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी रुपमा सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने कामलाई सधै उच्च प्राथमिकतामा राख्ने पनि बताएका छन् ।  

विदेशबाट नेपाल आउने व्यक्तिले एउटा मात्रै मोबाइल ल्याउन पाउने

काठमाडौं । विदेशबाट नेपाल आउने व्यक्तिले आफुसँग एउटा मात्र फोन ल्याउन पाउने भएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यलयको अनुसार एक व्यक्तिले प्रयोग गरेको बाहेक दोस्रो मोबाइल ल्याए भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्नेछ । यसमा ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अधिवृद्धि कर रहेको छ । यो नियम पुस १५ गतेदेखि लागु गर्ने तयारी गरिरहेको विभागले जनाएको छ । यसअघिसम्म एक व्यक्तिले दुई वटासम्म फोन ल्याउन व्यवस्था थियो ।

देशभरकै तापक्रम क्रमिकरूपमा घट्दै, चिसो बढ्यो

काठमाडौं ।  विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरले जनाएको छ । विभागका अनुासर आज काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । मङ्गलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ । मङ्गलबार काठमाडौँको तापक्रम चार दशमलव चार डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरको न्यूनतम तापक्रम तीन दशमलव एक डिग्री सेल्सियस, ताप्लेजुङको तीन दशमलव पाँच, लुम्लेको चार, डडेल्धुराको चार दशमलव चार डिग्री सेल्सियस, जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ, जोमसोमको माइनस पाँच र जुम्लाको माइनस छ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । न्यूनतमसँगै देशभरकै अधिकतम तापक्रम पनि घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरका अनुसार अहिले पहाडीसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । पहाडी क्षेत्रको कुहिरो हटेर घाम लाग्ने सम्भावना रहे पनि तराईका जिल्लामा भने दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको छ । हिउँदयामको मध्यतिर आइपुगेकाले पनि जाडो बढेको मौसमविद्ले बताएका छन् । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । डिसेम्बर महिना सकिएर जनवरी सुरु हुन लागेको छ । आज प्रदेश १ को पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद् प्रधानाङ्गले जानकारी दिए । रासस

अर्थमन्त्री पौडेलसँग बैंकरहरुको भेट, वित्तीय स्थायीत्वका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाल बैंकर्स संघले वित्तीय स्थायीत्वका लागि सरकारलाई सहयोग गर्न तयार रहेका बताएको छ । बुधबार नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँगको भेटमा बैंकर्स संघका कार्यवाहक अध्यक्ष सुनिल केसीले वित्तीय स्थायित्व र आर्थिक विकासका लागि बैंकरहरुले पूर्णरुपमा सहयोग र समन्वय गर्न तयार रहेको बताएका हुन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यसमितिका पदाधिकारीले नव नियुक्त अर्थमन्त्रीलाई बुधबार अर्थमन्त्रालयमा भेटेका छन् । बुधबार नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले अर्थ मन्त्रालयमा भेट गरेका हुन् । भेटमा बैंकरहरुले मन्त्री पौडेललाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

अर्थतन्त्रलाई सावधानिकपूर्वक लयमा फर्काउँछु : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थतन्त्र काबुभन्दा बाहिर गैनसकेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजनाका लागि प्रयास गर्ने पनि बताए । मन्त्री पौडेलले राम्रो काम गरेको भए राम्रो र राम्रो काम नगरे आलोचनात्मक टिप्पणी गर्न आग्रह गरे । ‘अर्थतन्त्रको स्थिति काबू बाहिर पुग्यो भन्ने होइन, समस्याहरु धेरै छन्, त्यसमा केही मिसह्याण्डलिङ पक्कै भएको हो, यद्यपि सावधानिक रुपमा ठिक ढंगले अघि बढ्यौं भने हामीले चाँडै सुधार गर्न सक्छौं,’ उनले भने, ‘म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको छु र अहिले भित्र बसेर पनि विभिन्न सुझाव लिइरहेको छु, बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रैछ त्यसको महसुस मैले पनि गरिरहेको छु ।’ अहिले सबैको साझा सरोकार अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने भएकोले आर्थतन्त्रमा रहेका समस्यालाई ठिक ढंगले चिन्ने र यसको उपयुक्त समाधान गर्नुपर्न मन्त्री पौडेलको भनाई छ । सबल अर्थतन्त्र निर्माणका लागि एक एक इटा थप्दै जाने काम गर्नु पर्ने भएकाले त्यसका लागि सबै पक्षको रचनात्मक भूमिका आवश्यक भएको उनले बताए । अर्थमन्त्री पौडेलले अघिल्लो कार्यकालमा आर्थिक पत्रकारहरुको सहकार्य र समन्वयले अर्थतन्त्र सुधारसँगै विकासका सहयोग पुगेको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता गरे । संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर समृद्धितर्फ उन्मुख गराउन सबै क्षेत्रले सकारसँग सहकार्य गर्दै एक÷एक वटा इटा थप्ने काम गर्न उनले आग्रह समेत गरे । भेटघाट कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले नवनियुक्त अर्थमन्त्रीलाई सफल कार्यकालको सुभकामना दिदैं अर्थतन्त्र सुधार गर्न तत्काल गर्नुपर्ने सुझाव पेश गरे । यस्तै अर्थ मन्त्रालयमा पत्रकारहरुले सूचना प्राप्त गर्न कठिन भएकाले रियल टाइममै सुचना उपलब्ध गराइदिन आग्रह गरे । ‘अर्थमन्त्रालयले मासिक रुपमा सार्वजनिक गर्ने बुलेटिन सार्वजनिक गर्न छोडेको छ, त्यसलाई समयमै प्रकाशन गर्नु आवश्यक छ, मन्त्रालय प्रविधिको प्रयोगबाट सार्वजनिक महत्वका सूचना र तथ्यांक दिनु जरुरी छ भने पत्रकार भेटघाटलाई नियमित गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने । पत्रकारहरुको क्षमता विकासको लागि अर्थमन्त्रालयले आगामी दिनमा कार्यतालिका नै बनाएर काम गर्न उनले आग्रह गरेका थिए । त्यसका लागि नाफिज सरोकारावाला संस्थासँग समन्वय गर्न तयार रहेको पनि उनले बताए ।

ब्याजदर एकल अंक र शतप्रतिशत एलसी खारेज सहित १० वटा माग राखेर उद्योगी व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । विभिन्न १० बुँदे माग राख्दै आन्दोलनरत उद्योगी व्यवसायीहरुले जारी आन्दोलनलाई स्थगित गरेका छन् । साथै, अर्थमन्त्री पौडेलले मागहरुको सम्बोधन गर्ने आश्वासन दिएपछि उद्योगी व्यवसायीहरुले आन्दोलन स्थगीत गरेका हुन् । बुधबार उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर विभिन्न १० वटा माग राखेका थिए । एकल अंकको ब्याजदर कायम हुनु पर्ने, पुरानै सीसीडी रेसियो कायम गरिनु पर्ने, चालु पूँजी निर्देशिका खारेज गरिनु पर्ने, विभिन्न शुल्कहरु घटाइनु पर्ने, संस्थागत ब्याजदर २ प्रतिशत कायम हुनुपर्ने, स्प्रेड दर र बेस रेट कायमको लागी न्यूट्रल विज्ञहरुबाट छानबिन गरिनुपर्ने, स्वदेशी बजार बचाउन अति उपभोग्य वस्तुको करको दर घटाई बिलविजक लाई मान्याता दिनुपर्ने, १ सय प्रतिशत एलसी मार्जिन खारेज हुनुपर्ने, टर्म लोन र एसटीएल लोनको म्याद १८० दिन हुनु पर्ने र ब्याज र सावाँ तिर्ने समय असार मसान्तसम्म हुनुपर्ने मागहरु उद्योगी व्यवसायीहरुले राखेका छन् । करिब एक वर्षदेखि देशमा भएको बैंक तथा वित्तिय समस्याहरु ब्याजमा अप्राकृतिक वृद्धि, पुनकर्जा फिर्ता, लगानीयोग्य पूँजी अभाव, तरलतामा कमी, आधारदर वृद्धि, आधार दरमा मनपरी प्रिमियम दर थप गर्ने बैंकको अभ्यास, आयातमा अवरोध, शतप्रतिशत मार्जिन, अव्यवहारिक चालु पूँजी कर्जा मार्ग निर्देशिका लगायतका समस्याले आफूहरु पिडीत भएको भन्दै उद्योगी व्यवसायीहरुले आन्दोलन गरिरहेका थिए । अर्थमन्त्री पौडेलले समस्या प्रति सरकार गम्भिर रहेको र छिटोभन्दा छिटो समस्या समाधानका लागी प्रयत्नरत रहेको बताएका थिए । साथै, निजि क्षेत्रसँगको सहकार्यमा सरकार प्रतिवद्ध रहने उनले बताए । अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सरकारको पहिलो प्राथमिकतामा रहेको अर्थमन्त्री पौडेलले बताएका थिए । अर्थमन्त्री पौडेलसँगको भेटमा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपाने, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरी र उद्योग संगठन मोरङका अध्यक्ष प्रदीप मुरारकाको उपस्थिती रहेको थियो । मन्त्री पौडेलसँग भेटपश्चात् बुधबार पत्रकार सम्मेलन गर्दै समस्या समाधानका लागि सरकार, नियमन निकाय र बैंक तथा वित्तीय संस्थाहरुको ध्यान आकर्षण र विभिन्न चरणमा भएको भेटबाट कुनै परिणाम नआएपछि देशभरका उद्योगी व्यापारिक संस्थाहरु सडक आन्दोलन गर्न बाध्य भएको बताएका थिए । तर, नयाँ सरकारले गठन भएको २४ घण्टा भित्र उद्योगी व्यवसायीको समस्या समाधान गर्न तत्पर रहेको बताएपछि स्थगीत गरेको उनीहरुको भनाइ छ ।

लुम्बिनी प्रदेशसभा सदस्यको शपथ १६ गते

लुम्बिनी  । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाका सदस्यलाई यही पुस १६ गते शपथ गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यलाई शपथ गराउन सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अधिवेशन पुस १८ गते बोलाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यलाई दाङको देउखुरीमा रहेको प्रदेशसभाको भवनमा शपथ गराउने तयारी गरिएको छ ।

नेप्सेमा २ बैंक सहित ४ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा मितेरी डेभलपमेन्ट बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल बैंक र प्राईम कमर्सियल बैंकको सेयरमूल्य समायोजन भएको हो । यी ४ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बिहीबार बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३६४.९३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बुधबार बैंकको सेयर प्रतिकित्ता ४१० रुपैयाँमा कारोबार भएको थियो । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता १७७.१४ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बुधबार बैंकको सेयर प्रतिकित्ता १८६ रुपैयाँमा कारोबार भएको थियो । नेपाल बैंकको २ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २८०.८८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बुधबार बैंकको सेयर प्रतिकित्ता २८६.५० रुपैयाँमा कारोबार भएको थियो । प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २२०.१० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बुधबार बैंकको सेयर प्रतिकित्ता २२८.९० रुपैयाँमा कारोबार भएको थियो ।