विकासन्युज

आजको मौसम : हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीका साथै प्रदेश नं १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टा देशको प्रदेश नं १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही स्थानमा हुस्सु÷कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव एक डिग्री सेल्सियस छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले २ वटा गाडी बेचेर रकम असुल्दै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकले ऋण कर्जाको धितो सवारी साधन सम्पतिहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हो । उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म वा कम्पनीले पुस २० गतेभित्र बोलपत्र आवेदन दिनुपर्नेछ । प्रल्हाद बोगटीले हायरपर्चेज कर्जा शिर्षकमा लिएको ऋण चुक्ता नगरे बा ४ ख ६१०१ नम्बरको टाटा मोटर्स बिक्री गर्ने भएको हो । यस्तै, ऋणी केश राज महर्जनले ऋण चुक्ता नगरे बा ४ ख ६०९ नम्बरको टाटा मोटर्स बिक्री गर्ने भएको हो ।

आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा, २ वर्षभित्रमा ९५ प्रतिशत आत्मनिर्भर हुने

काठमाडौं । आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपालमा १ सय २५ औषधि उद्योग दर्ता भएका छन् । जसमध्ये ८३ उद्योगका औषधि बजारमा आइसकेका छन् । नेपाल औषधि उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीका अनुसार नेपालमा एउटा औषधि ५ उद्योगले उत्पादन गरेकालाई आयात रोक्दा मात्रै पनि २ सयभन्दा बढी प्रकारका औषधि रोकिन्छन् । उनको भनाईमा २० वर्षअघि बङ्गलादेशले २ कम्पनीले उत्पादन गरेका औषधि विदेशबाट आयातमा रोक लगाएको थियो । जसको नतिजास्वरुप अहिले बङ्गलादेश आत्मनिर्भर मात्रै होइन, निर्यातमा पनि अग्रणी बनेको छ । भारत लगायतका देशले पनि आफू आत्मनिर्भर भएका औषधि आयातमा रोक लगाउने गरेको अधिकारीले बताए । विश्व बजारमा पहिलो चीन र दोस्रो भारत सबैभन्दा बढी औषधि उत्पादन गर्ने मुलुक भएको व्यवसायी बताउँछन् । यसअघि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले ३० प्रकारका औषधि आयातमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि कार्यान्वयन नभएको अधिकारी बताउँछन् । ‘सरकारले उद्योग बच्ने गरी निर्णय गर्नुपर्छ,’ उनले भने । नेपालमा ५ वटा उद्योगले उत्पादन गरेको औषधि आयातमा प्रतिबन्ध लगाएमा २ वर्षभित्रमा ९५ प्रतिशत आत्मनिर्भर हुने अधिकारीको भनाइ छ । अहिले बनाउन सक्ने क्षमताको हिसाबले ७० प्रतिशत र बजारको हिसाबले ४५ प्रतिशत आत्मनिर्भर भएको उनी बताउँछन् । ‘आयात रोक्न सकियो भने अहिले नै हामी ७० प्रतिशत आत्मनिर्भर हुन्छौँ,’ अधिकारीले भने । वि.सं २०७४ मा ५० उद्योग मात्रै रहेकामा त्यसपछिका वर्ष एकाएक उद्योग थपिएका हुन् । अधिकारी थपिएका सबै उद्योगलाई एउटै औषधि उत्पादनको अनुमतिको सट्टा फरक–फरक औषधि उत्पादनको अनुमति दिनुपर्ने बताउँछन् । सङ्घका निवर्तमान अध्यक्ष डा जीनारायणबहादुर क्षेत्री आवश्यकभन्दा दोब्बर औषधि उत्पादन गर्न सकिने क्षमता उद्योगमा रहेको बताउँछन् । औषधि उद्योगमा मात्रै ५० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको उल्लेख गर्दै उनले उद्योगको पक्षमा सरकार हुनुपर्ने बताए । नेपालमा खपत हुने आधाभन्दा बढी औषधिमध्ये ९० प्रतिशत भारतीय आउने गर्दछ । १० प्रतिशत बङ्गलादेशलगायत देशबाट आयात गर्ने गरेको क्षेत्री बताउँछन् । क्षेत्रीका अनुसार १ वर्षमा ३० रुपैयाँदेखि ४० अर्ब रुपैयाँ औषधिका लागि विदेशिने गरेको छ । नेपाली औषधि उद्योगले ३० अर्ब रुपैयाँ हाराहारीको व्यापार गर्ने गरेका छन् । नेपालमा पर्याप्त उत्पादन भइरहेका औषधिको आयात तत्काल रोक्नुपर्ने उनले बताए । उद्योग स्थापनाका लागि आवश्यक पर्ने सामग्रीमा भन्सार छुट, सरल ब्याजदरमा ऋण, विशिष्टकृत औषधिको उत्पादन गर्नेलाई प्रोत्साहन, अनुसन्धानमा सरकारी लगानी हुनुपर्ने क्षेत्रीको भनाइ छ । नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने उनले बताए । सरकारले सहयोग गरेमा नेपाली उत्पादनले नेपाललाई मात्रै नभएर विदेशमा समेत पुर्याउन सकिने उनको भनाइ छ । २५ वर्ष पहिला क्षेत्रीको नेतृत्वमा गैँडाकोटमा स्थापना गरिएको टाइम्स फर्मासिटिकल्स प्रालिले विदेशमा औषधि निर्यात गर्न लागेको भन्दै उनले सहज वातावरण बनेमा सबै उद्योगले निर्यात गर्नसक्ने बताए । अहिलेसम्म नेपालमा खोपबाहेकका औषधि उत्पादन हुँदै आएका छन् । उत्पादनमा कठिन हुने औषधिसमेत यही उत्पादन गरेर देशलाई आत्मनिर्भरतर्फ लैजानुपर्ने क्षेत्रीको भनाइ छ । मुटु, क्यान्सरलगायतका रोगका औषधिसमेत यही उत्पादन हुन थालेको छ । पछिल्लो समय ठूलो लगानीमा खुलेका उद्योग आयात नरोकिए धरासायी हुने क्षेत्रीले बताए । ‘सरकार निजी क्षेत्रमैत्री हुन नसक्दा उद्योग धरासायी हुने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘चर्को ब्याजदर र विदेशी कम्पनीसँग अस्वस्थ प्रतिस्पर्धाको मारमा नेपाली उद्योग परेका छन् ।’

आज ३ लघुवित्त सहित ६ कम्पनीको सेयर किने लाभांश पनि पाइने, कुनको लाभांश कति ?

काठमाडौं । विभिन्न ६ कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, कालिका पावर कम्पनी, यूनाइटेड इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आरएसडिसी लघुवित्तले भोलि अर्थात पुुस १५ गते र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, कालिका पावर कम्पनी, यूनाइटेड इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सले पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । योबीचमा शुक्रबार र शनिवार परेकाले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरुले मात्र यी ४ कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले १३ औं वार्षिक साधारण सभा आम्रपाली ब्याङ्क्वेट भाटभटेनी काठमाडौंमा पुस ३० गते बिहान १० बजे बोलाएको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले १० औं वार्षिक साधारण सभा पुस ३० गते, दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा ११ बजे बोलाएको छ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट संस्थाका सेयरधनीहरूलाई हाल चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न नवौं वार्षिक साधारण सभा पुस २९ गते एशियन होटल बुटवलमा बिहान ९ बजे बोलाएको छ । कालिका पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्न पुस २९ गते रजिष्टर्ड कार्यलय भरतपुर चितवनमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कूल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २९ औं वार्षिक साधारण सभा पुस २७ गते अनमोल ब्याङ्क्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । सेन्ट्रल फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २६ औं वार्षिक साधारण सभा पुस २९ गते हेड अफिस कुपोण्डोलमा बिहान १० बजे बोलाएको छ ।

कुमारी र एनसीसी बैंकका ६० शाखा कार्यालय गाभिने, कुन-कुन शाखा हुन् ?

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच एकीकृत कारोबार हुनेभएपछि शाखा कार्यालयको पनि टुंगो लगाएको छ । दुवै बैंकबीच पुस १७ गते एकीकृत कारोबार गर्ने भएका छन् । सोही अनुसार दुवै बैंकका शाखा कार्यालय गाभेर एउटै शाखाबाट कारोबार हुने भएका छन् । बिहीबार जारी गरेको सूचनामा दुवै बैंकका ६० वटा शाखा कार्यालय गाभिने भएका हुन् । जसमा कुमारी बैंक ३० वटा शाखा कार्यालय र एनसीसी बैंकका ३० वटा गरी ६० वटा शाखा कार्यालउ गाभिएका हुन् । कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्ज भई कुमारी बैंकको नामबाट एकीकृत कारोबार हुनेछन् । एकै स्थानमा रहेका कुमारी बैंक र एनसीसी बैंकका शाखाहरु पुस १७ गतेदेखि गाभिएर कारोबार हुने भएका हुन् ।

निफ्रा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले मंसिर २९ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज पुस १४ गते अन्तिम दिन हो । बैंकले ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधि भएको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले ५ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ब्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरेको हो । सर्वसाधारणलाई बिक्री गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले आज पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा लगानीकर्ताहरुले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रलाई इक्राएनपी आईआर आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

नेकपा एसलाई गाभ्ने एमालेको तयारी, ठुलो दल बन्ने

काठमाडौं । एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन् । एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेताहरूले नेपालसँग भेटघाट गरी नेकपा एसका नेताहरूलाई पुरानो घरमा फर्कन आग्रह गर्दै एकताको प्रयास थालेका हुन् । मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि नै नेता नेपालसँग निरन्तर भेटघाट गरिरहेका एमालेका नेताहरूले संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन् । यही सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले मंगलबार साँझ नेकपा एसका अध्यक्ष नेपालसँग भेटघाट गरी एमालेको धारणा राख्दै पुरानै पार्टीमा फर्कन आग्रह गरेका थिए। उनले एमालेभित्र सम्मानजनक स्थान दिने बताउँदै पार्टी एकता वा समाहितका लागि प्रस्ताव राखेका थिए । नेकपा एसका नेता एवं नेपालका सम्धी सोमप्रसाद पाण्डेको घरमा उनीहरूबीच भेटघाट भएको थियो। सो भेटघाटमा उनीहरूले सम्भावित योजना र सरकारको विषयमा पनि छलफल गरेको स्रोतको दाबी छ। यद्यपि उनीहरूबीचको भेटघाटबारे कुनै धारणा सार्वजनिक गरिएको छैन । एमाले र माओवादी केन्द्रभित्र वाम एकताको पक्षमा वकालत गर्दै आएका नेताहरूको प्रतिनिधित्व गर्दै पौडेलले अध्यक्ष नेपालसँग भेटघाट गरी एमालेमै फर्कन आग्रह गरेका थिए। यस विषयमा एमाले अध्यक्ष ओलीकै पहलकदमी रहनुपर्ने धारणा नेकपा एसबाट आएको स्रोतको दाबी छ। अर्थमन्त्री पौडलेले भेट्नुअघि एमालेकै पूर्वउपाध्यक्ष वामदेव गौतमले पनि नेता नेपाललाई भेटेका थिए । यो समाचार नागरिक दैनिकमा छ ।

साढे ७ प्रतिशत ब्याजमा एभरेष्ट बैंकले पुस २५ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । एभरेष्ट बैंकले पुस २५ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक ७.५० प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक उर्जा ऋणपत्र २०८९’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले २ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दर मूल्यका २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् १२ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात् ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले छिटोमा पुस २९ गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ । साथै सिडिएससीको मेरो सेयर वेबसाइट वा एपबाट पनि सिआस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रलाई केयर नेपालले केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।