एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल
काठमाडौं । नेकपा एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गरेका हुन् । राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए । नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो । मनोनित दाहाल यसअघि दलका प्रमुख सचेतक थिए ।
डा नन्दबहादुर सिंहद्वारा एमयू ग्र्याजुएट स्कुल अफ ल स्थापनार्थ जग्गा हस्तान्तरण सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले पुस १३ गते ग्र्याजुएट स्कुलका लागि शैक्षिक तथा प्रशासनिक कृयाकलाप संचालन गर्ने उदेश्यका साथ तीन विधा जमिन प्राप्त गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको मिटिङ्ग हलमा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का वडाधक्ष्य ऋषि गिरी, नेपाल राष्ट्रिय आधारभूत विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराक्रम सिंह ठकुरी र नौलो सुधार सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष किशन बहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता पत्र अनुसार वीरेन्द्रनगर नगरपालिका, सुर्खेतस नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चाँदन चौकी, सुर्खेत र नौलो सुधार सामुदायिक बन उपभोक्ता समितिले सम्झौता मितिकै दिन देखि उक्त जग्गा र भौतिक संरचना मध्यपश्चिम विश्वविद्यालयलाई हस्तानान्तरण गर्ने सहमति भएको हो । कर्णाली प्रदेश सभाका सदस्यमा जानकी सिंह, मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायण प्रसाद पौडेल, कर्णाली प्रदेश सरकारका पुर्व न्यायधिवक्ता विद्याभुषण मानन्धर, ग्र्याजुएट स्कुल अफ लका डाइरेक्टर उपेन्द्र बहादुर विक लगायत सम्बन्धित व्यक्तित्वहरुले साक्षी तथा उक्त स्थानमा ग्र्याजुएट स्कुल अफ ल स्थापनार्थ पूर्ण सहयोग गर्ने प्रतिवद्धता सहित सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उक्त हस्ताक्षर कार्यक्रमको प्रतक्ष्य प्रसारण मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक फेसबुक पेज मार्फत गरिएको थियो ।
नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशन जेठ दोस्रो साता हुने
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस (एनटियुसी) महासङ्घको महाधिवेशन आगामी जेठ दोस्रो साता हुने भएको छ । हिजो बसेको महासङ्घको कार्यसमिति बैठकले २०८० जेठ १२ देखि १४ गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको हो । महाधिवेशनका लागि महासङ्घका राष्ट्रिय अध्यक्ष पुष्कर आचार्यको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । सो समितिको सदस्यमा महासङ्घमा आबद्ध सबै पेशागत ट्रेड युनियन (सङ्घ) साथै महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्ष रहेको महासचिव योगेन्द्र कुँवरले जानकारी दिए । अहिले महासङ्घअन्तर्गत २७ वटा पेशागत सङ्गठन आबद्ध छन् । बैठकले महाधिवेशनको तयारीका लागि कार्ययोजनासमेत बनाएको छ । सोअनुसार फागुन मसान्तसम्म आबद्ध सबै ट्रेड युनियनका सदस्यता निर्धारण गर्ने र चैत मसान्तभित्र सङ्घको अधिवेशन गरिसक्ने योजना बनाइएको छ । त्यस्तै जिल्ला अधिवेशन वैशाख ९ गते र प्रदेश अधिवेशन वैशाख १८ गते गरिनेछ । यो कार्यमा सहजीकरणका लागि केन्द्रीय प्रतिनिधि पठाउने निर्णयसमेत गरिएको छ । यसअघि महासङ्घले फागुन अन्तिम साताका लागि महाधिवेशनको मिति तय गरेको थियो । तर, स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलगायतका कारणले तयारी पूरा नभएकाले महाधिवेशन सार्नुपरेको महासचिव कुँवरको भनाइ छ । बैठकले सरकारको निर्णयअनुरूप आगामी वैशाखदेखि अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा सहभागी गराउन स्थानीयस्तरमा श्रमिकको पञ्जीकरण गर्ने तथा उनीहरूका समस्या सम्बोधन गर्न श्रम सल्लाहकार समिति गठन गराउन पहल गर्ने निर्णयसमेत गरेको छ । बैठकले अनुशासनहीन काम गरेको भन्दै महासङ्घका दुई जना राष्ट्रिय सल्लाहकार रिता खनाल तथा कल्पना अधिकारीलाई पदमुक्त गर्ने तथा अनौपचारिक क्षेत्रकी उपाध्यक्ष आशा सिंह राठौरलाई निलम्बन गर्दै थप कारबाहीका लागि अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।
गुणस्तरलाई कायम राख्न बजार अनुगमन गर्ने
विराटनगर । जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिको बुधबार बसेको बैठकले बजारमा कुनै पनि किसिमको अस्वाभाविक मूल्य वृद्धि, तौल, गुणस्तरलाई कायम गर्न संयुक्तरूपमा बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतमा बसेको बैठकले खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक उपभोग्य मालवस्तुको सहज आपूर्ति हुन जम्माखोरी, कृत्रिम अभाव सिर्जना, अधिक मूल्य कारोबार जस्ता अवाञ्छित गतिविधि हुन नदिने र त्यस्ता गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउने निर्णय गरेको छ । त्यस्तै कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढ्ने सम्भावना हुँदा सबै सरकारी, गैरसरकारी कार्यालय, सङ्घ संस्था, उद्योग, प्रतिष्ठान, यातायातलगायतका कर्मचारी, सेवाग्राही, मजदुर आदिका जम्मा, भीडभाड हुने स्थानमा आनिवार्य मास्कको प्रयोग, साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग, सामाजिक, व्यक्तिगत, भौतिक दूरी व्यवस्थापन कार्यलाई अनिवार्यरूपमा पालना गर्ने र गर्न लगाउने, भीडभाड हुन नदिने, सचेतना फैलाउने, फैलाउन लगाउने, आवश्यकताअनुसार स्थानीय तह र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न लगाउने र आवश्यकताअनुसार जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिको बैठक नियमितरूपमा बस्ने निर्णय भएको छ ।
कोरोनाको ‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक
काठमाडाैं । छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा सो भाइरसले धेरै मानिसममा सङ्क्रमण सार्ने बताए । उनका अनुसार ‘वि एफ ७’ ले अरु भेरियन्टभन्दा तीन–चारगुणा बढी सङ्क्रमण सार्ने गर्दछ । ‘चीन र भारतमा यस किसिमको नयाँ भेरियन्ट फैलिरहेको छ । भारतमा पाँच जनामा देखिएको छ’, उनले भने, ‘भारतमा देखिएकाले हामी सतर्कता अपनाउनुपर्दछ ।’ नेपालमा भने ‘वि एफ ७’ नामको नयाँ भेरियन्ट अझै फेला नपरेको मन्त्रालयले जनाएको छ । एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएको ४८ नमुनाको जिन सिक्वेन्सिन गर्दा ‘वि एफ ७’ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो । मन्त्रालयले नयाँ भेरियन्टको जोखिम हुन नदिनका लागि नेपाल–भारत सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने यात्रुको ज्वरो नाप्ने, शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण र जीन सिक्वेन्सिङ गर्ने कार्य गरिरहेको छ । नेपालमा अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गइरहेको छ । पुस ११ गते एक जनालाई मात्र सङ्क्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमित १० जना मात्र रहेका छन् ।रासस
राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न निर्देशन
काठमाडाैं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बुधबार बसेको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा बसेको बैठकले राजस्व सङ्कलनको वर्तमान अवस्था र राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा छलफल गरेको थियो । बैठकमा राजस्व सङ्कलनमा देखिएका चुनौती, चोरी पैठारी नियन्त्रणमा भएका प्रयासका विषयमा छलफल तथा समीक्षा गरिएको अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । अर्थमन्त्री पौडेलले सबै प्रकारका राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न बैठकमार्फत निर्देशन दिएका छन् । राजस्व सङ्कलनका हिसाबले अहिले चुनौतीपूर्ण अवस्थामा रहेकाले सबैले आ–आफ्नो जिम्मेवारी इमानदारितापूर्वक सम्पादन गर्न र राजस्व सङ्कलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न अर्थमन्त्रीबाट निर्देशन आएको प्रवक्ता काफ्लेले बताए । राजस्व चुहावट नियन्त्रणका लागि राजनीतिक नेतृत्वबाट आवश्यक पर्ने सबै किसिमको सहयोग उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन पनि मन्त्री पौडेलले दिए । त्यस्तै, समिति बैठकमा उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजस्व सङ्कलनमा देखिएको अन्तर पूर्ति गर्न सीमानाकामा हुने राजस्व चुहावट नियन्त्रण गर्ने कार्यमा गृह प्रशासन सक्रिय भएर लाग्ने बताए । कर्मचारीलाई कुनै राजनीतिक दबाब र प्रभावमा नपरी उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुहुँदै लामिछानेले अवैध व्यापारिक गतिविधि रोक्न दृढताका साथ काम गर्न पनि सबै सुरक्षा निकायका प्रमुखलाई समेत निर्देशन दिए । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव, गृहसचिव, राजस्व सचिव, सुरक्षा निकायका प्रमुखहरू, आन्तरिक राजस्व विभागमा महानिर्देशकलगायतको उपस्थिति थियो ।
गृहमन्त्रीद्वारा राहदानी विभागको अनुगमन
काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका छन् । राहदानी लिन सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको समाचार बाहिर आइरहेकाबेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गरेका हुन् । यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । ‘सोही आधारमा मन्त्रीले राहदानी विभागको अनुगमन गरेका हुन्’, गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए । उनका अनुसार परराष्ट्रमन्त्री नियुक्त नभएकाले पनि प्राप्त जिम्मेवारीका आधारमा उनले आज स्थलगतरूपमा अनुगमन गरेर वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।
गाँजाखेती हटाएर उदयपुरका किसान सुन्तला खेतीतर्फ आकर्षित
उदयपुर । लामो समयसम्म अवैध गाँजा खेती हुँदैआएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन् । किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन् । यस वर्ष पनि ताप्लीको ओख्ले, पिपलभन्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भएको ताप्ली सुन्तला जोन क्षेत्रका संयोजक तथा व्यावसायिक सुन्तला उत्पादक कृषक टोपबहादुर ठकुरीले जानकारी दिए । विसं २०५० देखि नै ताप्लीमा सुन्तला खेती थालिए पनि २०६० सालदेखि व्यावसायिक रुपमा सुन्तला उत्पादन गर्न थालिएको ओख्लेका ज्ञानबहादुर ठकुरीले बताए । ‘अहिले ताप्ली जिल्लाकै उत्कृष्ट सुन्तला जोन क्षेत्र बन्न सफल भएको छ’, उनले भने । जिल्ला कृषि ज्ञानकेन्द्रका अनुसार जिल्लामा अहिले झण्डै दुई सय ५८ हेक्टरमा सुन्तला खेती हुँदै आएको छ । ताप्ली क्षेत्रमा मात्रै एक सय ८० हेक्टरमा सुन्तला खेती विस्तार गरिएको ज्ञानकेन्द्रका प्रमुख महेश चौधरीले बताए । ‘सुन्तलाकै कारण यस क्षेत्रका किसानको आर्थिक अवस्थामा सुधार आएको छ’, उनले भने । ताप्लीकी उपाध्यक्ष धना मगर केही वर्षयता यस क्षेत्रमा वार्षिक झण्डै दुई हजार चार सय मेट्रिक टनसम्म सुन्तला उत्पादन हुने गरेको तथ्याङ्क रहेको बताए । ‘अन्य अन्नबाली उत्पादन पर्याप्त हुँदैन, सुन्तलाका लागि नै यो क्षेत्र उपयुक्त छ । गाउँपालिकाले जनताको आर्थिकस्तर उकास्न सुन्तला जोन क्षेत्र घोषणा गरी घरघरमा सय बोट सुन्तला हुर्काउने अभियान सञ्चालन गरेको छ’, उनको भनाइ छ । ताप्ली पिपल भञ्ज्याङका बीर्खबहादुर राई यस क्षेत्रमा व्यावसायिक सुन्तला उत्पादन गर्ने कृषकको आर्थिक अवस्थामा सुधार हुँदैगएको बताए । कृषि ज्ञानकेन्द्रका उदयपुरका अनुसार रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा समेत सुन्तला खेती विस्तार गरिँदैछ । रौताको नामेटार, आपटार, बोलुङखा र सल्ले, पाँबु उदयपुरगढी गाउँपालिकाको डुम्रे र उदयपुरगढी तथा लिम्चुङबुङको बाँसबोटे, बलाम्ता, बराह, ताम्लिछा, लाफासहितका क्षेत्रमा व्यापक सुन्तला खेती विस्तार गर्दै लगिएको छ । यहाँ सुन्तला प्रतिकिलो ८० देखि एक सयसम्ममा बिक्री हुने गरेको छ । रासस