विकासन्युज

आकर्षक रोजगारीको प्रलोभनमा परी दक्षिण अफ्रिका नजान अनुरोध

काठमाडौं । दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ जान अनुरोध गरेको छ । दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानुनी व्यवस्था छ । त्यस्ता पदहरुमा वैदेशिक रोजगारमा दक्षिण अफ्रिका जाँदा नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जान दूतावासले अनुरोध गरेको छ । दक्षिण अफ्रिकामा आकर्षक तलब, सुविधासहितको पदमा काम लगाइदिने एवं त्यहाँबाट युरोप, अमेरिका जान सहज हुने भ्रममा पारी नेपाली नागरिकहरुबाट लाखौँ रुपैयाँ लिने गरिएकोप्रति दूतावासले ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता नेपाली नागरिकहरुलाई भारतको विभिन्न सहरहरु ९नयाँ दिल्ली, मुम्बई०, संयुक्त अरब इमिरेट्स, कतार तथा तान्जानिया, मोजाम्बिक, केन्या, मलवी, मौरिसस, रुवाण्डा, कङ्गोलगायत मुलुक हुँदै दक्षिण अफ्रिकामा ल्याई अलपत्र पारी छोड्ने घटना भइरहेका छन् । कतिपय अवस्थामा ती ट्रान्जिट मुलुकहरुमा नै विषम परिस्थितिमा छोडिदिने घटनाहरु बढ्दै गएको दूतावासले जनाएको छ । वैदेशिक रोजगारमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा ल्याई अलपत्र पार्ने कार्यमा संलग्न हुने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यसखाले गैरकानुनी कार्यहरु नगर्न/नगराउन र यसतर्फ सचेत रहन दूतावासले अनुरोध गरेको छ । भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा पर्यटन भ्रमणमा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा सो भिसाका आधारमा यहाँ रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन । पर्यटक भिसामा आएर कुनै पनि किसिमको रोजगारीमा संलग्न हुने कार्य गैरकानुनी भएकाले त्यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई सम्बन्धित दक्षिण अफ्रिकी निकायले पक्राउ गरी कानुनबमोजिम दण्ड, जरिवाना गराई देश निकाला गर्ने गरेको छ । कुनै पनि मुलुक जानका लागि सम्बन्धित मुलुकको भिसा आवश्यक पर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका देशहरुमा जान सजिलो हुने विषय भ्रामक र मिथ्या भएकाले भिसासम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग वा ती मुलुकहरु हेर्ने विदेशस्थित नेपाली नियोगहरुमा सम्पर्क गरी आधिकारिक जानकारी लिन उपयुक्त हुने दूतावासले जनाएको छ ।

अब सामाजिक सुरक्षा कोषले उपचार गरेको बिलको पैसा नतिर्ने, तोकेकै ठाउँमा उपचार गर्नुपर्ने

काठमाडौं । सामाजिक सुरक्षा कोषले उपचार गरेको बिलको रकम भुक्तानी अस्पतालमार्फत मात्रै गर्ने भएको छ । एक सूचना जारी गर्दै कोषले प्रदान गरिरहेको स्वास्थ्य सुरक्षा योजना अन्तर्गतका सुविधाहरु फागुन १ गतेदेखि अस्पतालमार्फत मात्रै प्रदान गर्ने जानकारी दिएको हो । यसअघि कोषले कुनै पनि अस्पतालमा उपचार गरेको वापतको रकम बिल बुझाएपछि भुक्तानी गर्दै आएको थियो । कोषले तोकिएको स्थानमा भएको दुर्घटना बाहेक अन्त उपचार वापतको भुक्तानी कोषसँग सम्झौता भएका अस्पताहरुमार्फत मात्रै गर्ने जानकारी दिएको छ । तोकिएका  बोहक अन्त अस्पतामा उपचार गराई बिल पेश गरे भुक्तानी नगर्ने सूचनामार्फत जनाएको छ ।

कोभिड पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो

चितवन । कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार १२३ जनाले सेवा लिएका छन्। सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार २९९, योग सेवा दुई हजार ८४३, पूर्वकर्म/पञ्चकर्म सेवा दुई हजार ७९४, ज्येष्ठ नागरिक सेवा एक हजार, स्तनपायी आमा तथा शिशु सेवा १८९, नागरिक आरोग्य स्वास्थ्य सेवा ११ हजार ४४, अन्य सेवा ८१३ जनाले लिएका छन्। यस्तै, औषधालय सेवा २९ हजार ८२३ जनाले लिएका छन्। आव २०७६/७७ मा आठ हजार ७१२ जनाले सेवा लिएका थिए भने आव २०७७/७८ मा १२ हजार ६६५ जनाले सेवा लिएको केन्द्रले जनाएको छ। कार्यालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार कोभिड महामारीमा धेरैले आयुर्वेदिक औषधि प्रयोग गरेसँगै सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो। अधिकारीले भनिन्, ‘पहिले अन्यत्र निको नभएपछि आयुर्वेदबाट उपचार गराउन आउने धेरै हुन्थे, पछिल्लो समय प्रथम उपचार गर्न नै आउने बढेका छन्।’ सेवाग्राही बढेसँगै केन्द्रले सेवालाई विस्तार गर्दै लगेको छ। अधिकारीका अनुसार केन्द्रबाट २३ वटा औषधि निःशुल्करूपमा दिने गरिएको छ भने अन्य आवश्यक औषधि सशुल्क किन्न सकिने गरी फार्मेसी सञ्चालन गरिएको छ। यसैगरी प्रयोगशाला, भिडियो एक्सरेलगायतका सुविधा सञ्चालन गरिएको छ। केन्द्रमा प्रत्येक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगसमेत सञ्चालन हुँदै आएको छ। प्रत्येक मङ्गलबार रगत परीक्षणसहित निःशुल्क मधुमेह क्लिनिक र मधुमेह, उच्च रक्तचाप तौल जाँच एवं परामर्श सेवा सञ्चालन हुँदै आएको छ। केन्द्र परिसरमै ५० शय्याको अस्पताल निर्माणको प्रक्रिया सुरु भइसकेको छ। यसैगरी प्रादेशिक औषधि उत्पादन केन्द्रको भवन निर्माणको काम सम्पन्न भएर उपकरण खरिद र औषधि उत्पादनको प्रक्रिया अघि बढेको उनले बताइन्। आयुर्वेद औषधि उत्पादन केन्द्रका निर्देशक डा सुरेश महर्जनले १३३ वटा जडीबुटीबाट ३६ प्रकारका औषधि र तेल उत्पादन गर्ने तयारी गरिएको बताए। उनका अनुसार स्वदेशी जडीबुटीको प्रयोग गरी औषधि तयार गरिने छ। त्यसमध्ये पनि ८० प्रतिशत स्थानीय जडीबुटी हुनेछन्। अमला, हर्रो, बर्रो, बेसार, अदुवालगायतका ८० प्रतिशत जडीबुटी स्थानीयरूपमा नै उपलब्ध हुने उनको भनाइ छ। उनका अनुसार क्रमशः औषधिको सङ्ख्या बढाइँदै लगिने छ। उपकरण खरिदका लागि रु दुई करोड र कच्चा पदार्थ खरिदका लागि ६० लाख बजेट विनियोजन भइसकेको उनले जानकारी दिए। केन्द्रले बिहीबार पत्रकारहरूसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरी आफूले गरेका गतिविधि र भावी योजनाबारे जानकारी दिएको हो। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका–१ का अध्यक्ष कुलप्रसाद सापकोटाले केन्द्रको विस्तारका लागि विद्यालयसँग समन्वय गरेर थप जमिनको व्यवस्था गरिएको बताए। उनले रत्ननगरलाई आयुर्वेदिक उपचारको हब बनाउन नगरपालिका लागिपरेको भन्दै आयुर्वेद विद्यालय सञ्चालनका लागि छलफल भइरहेको बताए। केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले रोगी बन्न नदिने योगदेखि उपचारसम्मको सेवाको महत्त्व बुझाउन सबै लाग्नुपर्ने बताए। उनले केन्द्रको सेवालाई अझै चुस्तदुरुस्त बनाउन आफू लागिपर्ने भन्दै सबैको सहयोगको अपेक्षा गरे। रासस

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने

पोखरा । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओएण्डएम गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । उक्त आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने र यसबाट मुलुकले यथेष्टरुपमा लाभान्वित हुने अवस्था सिर्जना गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको जनाउँदै उनले विमानस्थलको भरपुर प्रयोगका लागि गर्नुपर्ने काममध्येको महत्वपूर्ण काम भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए । पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस १७ गते सो विमानस्थलको उद्घाटन गरेका थिए । चिनियाँ ऋण सहयोगमा उक्त विमानस्थल निर्माण गरिएको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उपप्रधानमन्त्री पौडेलले कोरोना महामारीका बाबजुद पनि पोखरा विमानस्थल समयमै निर्माण भएको बताए । बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदका लागि आगामी माघ २५ गते बुधबार निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले पदबाट राजिनामा दिएसँगै लुम्बिनी प्रदेशतर्फको राष्ट्रियसभा सदस्यको पद रिक्त छ । उनी राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट निर्वाचित थिए । सरकारले राष्ट्रियसभाको उपनिर्वाचनको मिति तोकेर निर्वाचन आयोगलाई जानकारी गराएको प्रवक्ता पौडेलले बताए । बैठकले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा बाजुरामा मृत्यु भएका सञ्जीव ऐडी र चेतनदेव ऐडीका परिवारलाई आर्थिक सहायतास्वरुप जनही १० लाख प्रदान गर्ने निर्णय गरेको छ । यस्तै बैठकले कम्बोडियामा एक क्यासिनोमा आगलागी हुँदा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव नेपाल ल्याउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । उनको शव नेपाल ल्याउन लाग्ने खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए । प्रधानमन्त्री दाहालले बिहीबार मन्त्रिपरिषद् बैठक अघि पाण्डेका परिवारसँग छलफल गरी शव नेपाल ल्याउने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नुवाकोटको बजेट कार्यान्वयन निराशाजनक

त्रिशूली । पूर्वाधार विकास कार्यालय नुवाकोटको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको उक्त कार्यालयले आफ्नो कार्यक्षेत्रका चार सय ५६ योजना कार्यान्वयनका क्रममा चालू आर्थिक वर्षको आधा समय पूरा हुन लाग्दा पूँजीगत बजेट बल्ल १२ प्रतिशत खर्च गरेको छ । चालू आवमा करिब रु दुई अर्ब बजेट प्राप्त भएर साढे चार सय योजना कार्यान्वयन गराउनुपर्नेमा २२ करोड अर्थात् १२ प्रतिशत मात्रै खर्च भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार बज्राचार्यले जानकारी दिए। उनका अनुसार केही उपभोक्ता समितिमार्फत योजना पूरा भएको छ भने अधिकांश योजना कार्यान्वयनको चरणमा रहेकाले प्रगति निराश देखिएको हो । ‘आर्थिक वर्षको सुरुआतको समयमा निरन्तरको वर्षा, त्यसलगत्तै चाडपर्व, चुनावी गतिविधि र आचारसंहिताको कारण कामलाई गति दिन समस्या भयो’, उनले भने, ‘अधिकांश योजना उपभोक्ता समितिमार्फत गर्नुपर्ने भएकाले उनीहरुमा चासो कम र कार्यालयमा न्यून कर्मचारी भएका कारण लक्ष्य अनुसारको प्रगति हासिल गर्न सकिएन ।’ सडकसहित पक्की र झोलुङ्गे पुल निर्माणका लागि कार्यान्वयनमा रहेका तेह्रवटा बहुवर्षीय सहित थप आएका समेत चार सय ५६ योजनाका लागि चालू आवमा एक अर्ब ९५ करोड बजेट कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी कार्यालयको थियो । उक्त बजेट तथा योजनामध्ये केही धादिङको योजनासमेत समावेश भएको र केही सडकको दायित्व सडक डिभिजन नुवाकोटतर्फ स्थानान्तरण भएसँगै कार्यालयले यो वर्ष नुवाकोट र रसुवामा एक अर्ब ८४ करोड ५० लाख बजेट कार्यान्वयनको जिम्मेवारी पाएको छ । प्रादेशिक कार्यालय भए पनि पूर्वाधार विकास कार्यालयले संघीय ससर्त अनुदानको बजेट कार्यान्वयनदेखि स्थानीयतहसँगको साझेदारीमा उपभोक्ता समितिमार्फत समेत साझेदारी गर्दै आइरहेको छ । कार्यालयको कूल योजना चार सय ५६ मध्ये तीन सय ५० भन्दा बढी ५० लाखभन्दा कम बजेट भएकाले उपभोक्ता समितिमार्फत काम गराउन लागिएको हो ।  नुवाकोट र रसुवाका लागि ससाना लागतको सडक निर्माण तथा स्तरोन्नतिसहित पक्की र झोलुङ्गे पुलको निर्माण एवम् मर्मतसम्भार कार्यालयको कार्यक्षेत्रमा पर्दछ । 

सुई नसर्ने घण्टाघर

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको मध्यभागमा अवस्थित घडी भवन अर्थात् घण्टाघर । यसका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर वर्गाकार घडी । समय दिन्छन् तर गलत दिन्छन् । बाह्र वर्षअघिसम्म घण्टाघरमा जति बज्यो त्यतिपल्ट धुन बज्थ्यो र घडीको सुई सर्दथ्यो । त्यसयता घडीका सुई घुम्दैनन् । वीरेन्द्रनगरको पहिचानका रूपमा रहेको घण्टाघरको चारवटै घडी बिग्रिएका छन् । कुनै पनि घडीले समयको जनाउ दिँदैनन् । मर्मतमा कसैले ध्यान नदिँदा मिठो धुनसँगै समयको जनाउँ दिने यी घडी अहिले चल्दैनन् । बाह्र वर्षअघि घण्टाघरका घडीमा टिङटिङ टिङटिङ आवाज आउँथ्यो । सोही आवाज सुनेर कति बज्यो भनेर थाहा पाउँथे । बाटो हिँड्ने बटुवा, घण्टाघर हेर्न पुगेका पर्यटक र स्थानीयले समय सहजै थाहा पाउँथे तर घण्टाघरको चार दिशामा रहेका चार घडीका सुईले १२ वर्षदेखि कहिल्यै समय फेरेका छैनन् । घडी सधैँ स्थिर छन्, सुई जाम भएर समय सधैँ उही देखाइरहेका छन् । यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन् । घण्टाघर रहेको स्थानमा उद्यान छ । घण्टाघरको माथिबाट वीरेन्द्रनगर उपत्यकाको ९० प्रतिशतभू–भाग दृश्यावलोकन गर्न सकिन्छ । विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल बिताइसके । उनीहरुले पनि घण्टाघरमा नयाँ घडी राख्न सकेनन् । यसपटकको स्थानीयतह निर्वाचनमा पनि मतदाताले ‘घण्टाघरको सुई कहिले घुम्छ रु’ उम्मेदवारसँग प्रश्न गरेकै हुन् । विसं २०४५ मा चीन सरकारको सहयोगमा घण्टाघर निर्माण गरी जडान गरिएका चार वटा घडी बिग्रिएको वर्षौैं भएको छ । प्रदेशमुकाम रहेको वीरेन्द्रनगर नगरपालिका–६, मा रहेको घण्टाघरका घडीले समय देखाउन छाडेपछि अहिले पर्यटकीय स्तम्भका रुपमा रहेको घण्टाघरकै पहिचान हराउन थालेको ६५ वर्षीय बेदुराम केसीले बताए । वीरेन्द्रनगर उपत्यकाको एक महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेको घण्टाघरको सुई बन्द हुँदा घण्टाघरकै पहिचान सकिन थालेको बताउँदै उनले भने, ‘नाम घण्टाघर भएर के गर्ने, घडीको सुई सर्दै सर्दैनन् । घडीमा टिङटिङ आवाज बजे कम्तीमा कति बज्यो भनेर आन्दाज त हुन्थ्यो । अहिले मोबाइलको जमाना भए पनि घडीको महत्व छुट्टै छ ।’ वीरेन्द्रनगर नगरपालिका–६, का ७१ वर्षीय लालवीर चपाईले पहिले साक्षर नभएका मानिसका लागि घण्टाघरका घडीको महत्व छुट्टै रहेको बताए । ‘घण्टाघरमा प्रत्येक घण्टामा धुन बज्थ्यो र घडीको सुई घुमेको थाहा हुन्थ्यो । घण्टाघरको सुई बन्द हुँदा घण्टाघरको पहिचान नै सकिने अवस्थामा पुगेको थियो । नयाँ घडी राख्ने कुरा सुनेको छु’, उनले भने । उनका अनुसार यहाँको काँक्रेविहार, देउतीबज्यै र बुलबुलेपछि घण्टाघर नै पर्यटकीय गन्तव्य हो । ‘उतिबेला सबैले घडी किनेर लगाउन सक्दैन्थे । पहिला घडीको घण्टीले समयको अड्कल दिन्थ्यो, अहिले दिन र रात भन्ने मात्र आँकलन गर्न सकिन्छ’, उनले भने, ‘घण्टाघरको घडीको ध्वनिले कुनै बेला बेग्लै आनन्द दिन्थ्यो ।’ अहिले सबैको हातहातमा घडी छन् । समय हेर्न मोबाइल फोनलगायत अन्य साधन पनि छन् तर घण्टाघरको समय हेर्दाको सम्झना गर्ने पनि उत्तिकै छन् । वीरेन्द्रनगर–१३ लामीडाँडाका छविलाल सार्कीले पहिले घण्टाघरका घडी राम्रोसँग चले पनि लामो समयदेखि सबै घडी बन्द रहेको बताए । ‘दिउँसो १२ बजे ठूलो धुुन सुनिन्थ्यो, अनिमात्र हामीले १२ बज्यो भनेर थाहा पाउँथ्यौँ’, उनले विगत सम्झिँदै भने, ‘बाटोमा हिँड्ने बटुवाले पनि घडीको धुन सुनेर कति बज्यो भन्ने थाहा पाउँथे ।’ घण्टाघरको संरक्षण गर्ने जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भए पनि हालसम्म संरक्षणमा उचित ध्यान नदिँदा अस्तित्व नै सङ्कटमा परेको उनले बताए । मजदुरी गर्नेका लागि पनि घण्टाघरको सुई र घण्टी महत्वपूर्ण रहेको वीरेन्द्रनगर–६ कै बास्मती भण्डारीले बताइन् । ‘घण्टाघरले काम जाने र फर्कने समयको ख्याल हुन्थ्यो’, उनले भनिन्, ‘घण्टाघरको सुई चल्दासम्म सुर्खेत बजारभरि आवाज सुनिन्थ्यो ।’ विसं २०७७ मा परेको चट्याङले घण्टाघरको संरचनामा क्षतिसमेत पु¥याएको छ । भेरी नदीमा पक्की पुल निर्माण सकिएपछि त्यहाँ बचेको निर्माण सामग्रीबाट चीन सरकारले उपहारस्वरुप वीरेन्द्रनगरको मध्यभागमा घण्टाघर बनाइदिएको हो । घण्टाघर निर्माणपछि यहाँका पर्यटकीय गतिविधिले समेत फड्को मारेको केसीले बताए । नगरवासीले पटकपटक घण्टाघरका घडी चलायमान गराउनुपर्ने माग राख्दै आएका थिए । त्यसो त घण्टाघर घुम्न आउने सयौँ पर्यटकलाई त्यहाँ रहेका चारवटा घडीले कहिल्यै सही समय देखाएनन् । घण्टाघर हेर्न आउने सयौँ पर्यटक टावरमा चढेर सुर्खेत उपत्यका नियाल्दै खिन्न भएर प्रश्न गर्छन्, ‘यति राम्रो उपत्यका नियाल्न शिर चढाउने घण्टाघरका सुईले कहिले चल्लान् र सही समय देखाउँलान् ?’ नगरवासीले राख्दै आएको उक्त माग भने अब पूरा हुने चरणमा देखिएको सुर्खेत उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घकै पहलमा वीरेन्द्रनगर नगरपालिकाले १२ लाख रुपैयाँको लागतमा पुराना घडी हटाएर नयाँ घडी जडानको काम गरिरहेको छ । घडी जडान भएपछि घण्टाघरका घडीले १२ वर्षपछि अब सही समय दिनेमा नगरवासी ढुक्क छन् । पुराना घडी मर्मतसम्भार हुन नसकेपछि विदेशबाट नयाँ घडी मगाएर जडान कार्य सुरु भएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले नयाँ घडी जडान गर्न प्राविधिक टोलीले घण्टाघरका पुराना घडीलाई विस्थापित गरी नयाँ जडान गर्ने तयारी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत तिवारीले नयाँ घडी जडान गर्नका लागि प्राविधिक टोलीले तीव्रताका साथ काम गरिरहेको जानकारी दिए । घण्टाघरमा राखिने चारवटा घडी भारतबाट ल्याइएको र विश्वकै सबैभन्दा राम्रो कम्पनी अमेरिकन टेक्नोलोजीका घडी भएको पनि उनको दाबी छ । वीरेन्द्रनगर उपत्यकाकै एक प्रमुख विशेषताका रुपमा रहेको घण्टाघर सुर्खेत जिल्लाको प्रमुख पर्यटकीयस्थल मात्र नभई कर्णाली प्रदेशकै पहिचानका रूपमा विकास गर्न सकिने स्थानीय बताउँछन् । पर्यटकीय गन्तव्यका रुपमा रहेको घण्टाघर उद्यान यहाँ घुम्न आउनेका लागि पहिलो गन्तव्यका रुपमा समेत रहेको छ ।

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे आज सुनुवाइ हुँदै, अन्तरिम आदेश दिए पद जाने

काठमाडाैं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका सम्बन्धनमा आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत छन् । आज अन्तरिम आदेशबारे निर्क्यौल गर्न सर्वोच्चले दुवै पक्षलाई झिकाएको हो । शुक्रबारको इजलासले अन्तरिम आदेश दिएमा लामिछानेको सांसद पद अयोग्य हुनेछ । तर, सर्वोच्चले अन्तरिम आदेश नदिएमा भने मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म उनको सांसद र मन्त्री पद कायमै रहनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरी लामिछानेको नेपाली नागरिकता रद्द भइसकेको अवस्थामा रास्वपाका सभापति पद, साधारण सदस्यता तथा निर्वाचनका प्रक्रिया बदर गर्न माग गरेका थिए ।

सरकारले निराकार पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च वेहोर्ने

काठमाडाैं । सरकारले  कम्वोडियाको एक होटलमा आगलागीका क्रममा मृत्यु भएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च वेहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च वेहोर्ने निर्णय गरेको हो । शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बैठकले राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचन माघ २५ गते बुधबार गर्न निर्णय गरेको पनि जानकारी दिएका छन् । यस्तै बैठकले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भन्सार कार्यलय स्थापना गर्नका प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।