विकासन्युज

सूर्यज्योति लाइफ बन्यो आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी

काठमाडौं । सूर्यज्योति लाइफ कम्पनी आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी बनेको छ । यूनाइटेड रजिष्टार अफ सिस्टमले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरीक्षणको आधारमा सो मान्यता प्रदान गरेको हो । सूर्यज्योति लाइफले यस गुणस्तर प्रमाण चिन्हप्राप्त गरे पश्चात् आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढगर्दै बीमीतहरुलाई सेवा सुविधामा थप सवल र सहज पार्दै जाने कुरामा बिश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए । साथै सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशैभर १८१ शाखाबाट सेवा प्रदान गर्दै आएको र आफ्ना बीमितहरुको आवश्यकता र चाहनालाई मनन गर्दै समय सापेक्ष कम्पनीले आफ्ना सेवाहरुलाई अझ परीस्कृत गर्दै लैजाने बताए ।

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।कम्पनीले पुस २१ गते बेनीबजारस्थित जिल्ला समन्वय कार्यालयको सभा हलमा राष्ट्रिय व्यक्तित्व तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ब्राण्ड एम्बेसेडर द्वुयश्री मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका कर्मचारी लगायतको सहभागितामा कार्यक्रम भएको हो । म्याग्दी जिल्लाको बेनीबजारमा करीब ३०० जनाको सहभागितामा बीमा सचेतना सम्बन्धी बृहत ¥याली प्रदर्शन गर्दै कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा महजोडीले जीवनबीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिए । ‘मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्यउपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको वीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाईन्छ,’ श्रेष्ठले भने । कार्यक्रममा कम्पनीका प्रमुखकार्यकारी अधिकृत पोषक राजपौडेलले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणाको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नु पर्नेमा जोड दिए । उनले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नविन, नयाँ र आकर्षक सुविधा सहित आएको बताए । कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत, जिल्ला समन्वय समितिका उप–प्रमुख दिल कुमारी खत्री, प्रमुख जिल्ला अधिकारी तुलसी रामपौडेल, म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदी लगायतले मन्तव्य राखेका थिए ।

नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि सम्झौता

काठमाडौं । नबिल बैंकले ग्रीनफाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्ने बताइएको छ । नबिलबैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र अलोई प्राइभेट लिमिटेडका सहसंस्थापक सोनिका मानन्धरले यो साझेदारीकालागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । वरिष्ठ सीईओ शाक्यले दिगो वित्तपोषणका रुपमाकमर्सियल इलेक्ट्रिक भेइकललाई सहजरुपमाऋणप्रवाहगर्न यस प्रणालीले मद्दत पुग्ने बताए । दिगो बैंकिङकोे रूपमा नबिल बैंकले व्यवसायिक विद्युतीय सवारी साधनखरिद गर्न चाहने उद्यमीहरूलाई आकर्षक मूल्य र सजिलो प्रक्रियामा ऋण लिन प्रोत्साहित गर्दै आएको छ ।

प्रधानमन्त्रीको पहलपछि राहदानी सफ्टवेयर कम्पनीले पठायो हेडक्वार्टरबाट विशेषज्ञ टोली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना विशेषज्ञ पठाएको हो । हिजो बुधबार प्रधानमन्त्री कार्यालयले विभागमा प्राविधिक टोली पठाएको थियो । हिजो भएको छलफल अनुसार, आज पुनः टोलीले विभागका जिम्मेवार पदाधिकारी तथा कम्पनीका नेपालस्थित प्रतिनिधिसँग छलफल शुरु गरेका हुन् । प्रधानमन्त्री कार्यालयबाट डाटावेश विशेषज्ञ, प्रोग्राम एक्सपर्ट, मन्त्रालयका सूचना तथा प्रविधि शाखाका उच्चपदस्थ कर्मचारीलगायतले त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर प्राविधिक अध्ययन गरेका थिए । टोलीले सफ्टवेयरमा देखिएको समस्या पहिचान गर्ने प्रणाली र प्रक्रिया के कस्तो छ भन्ने कुरा प्राविधिकरुपमा पहिचान गर्न आवश्यक अवलोकन गरेको थियो । त्यसलगत्तै कम्पनीको चीनमा रहेको मुख्यालयका प्राविधिकहरुसँग प्रधानमन्त्री कार्यालयको टोलीले हाल देखिएको समस्याका बारेमा कन्फ्रेन्स कलमार्फत कुराकानी गरेको थियो । भिडियो कन्फ्रेन्समार्फत भएको कुराकानीमा प्रधानमन्त्री कार्यालयको टोलीले कम्पनीनको प्राविधिक समस्याका कारण सयौं नेपालीले समस्या झेल्नुपरेकोले सम्झौता अनुरुप कम्पनीले तत्काल नै सफ्टवेयरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै कम्पनीले आफ्ना दुई जना उच्चस्तरका प्राविधिकलाई आजै नेपाल पठाएर समस्यालाई थप पहिचान गरी हल गर्न सहमति जनाएको टोली सदस्यले जनाए । यही सहमति अनुसार, भारत र मलेशियाबाट दुई जना प्राविधिक आजै नेपाल आउने र भोलि शुक्रबार प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीसँग छलफल गरेर फेरी समस्या नआउने गरी समाधान खोजिने छ। यसअघि प्रधानमन्त्री प्रचण्डले बिहीबार क्याबिनेट बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री, मुख्य सचिव, परराष्ट्र सचिव, राहदानी विभागका महानिर्देशकलगायतसँग समस्या तत्काल हल गर्न छलफल गरेका थिए । छलफलमा तत्काल देखिएको प्राविधिक समस्या हल गर्ने र लामो लाइनमा बस्नु नपर्ने गरी छिटो छरितोरुपमा राहदानी सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्रीले जोड दिएका थिए । सोही निर्देशनका आधारमा तत्कालको समस्या हल गर्न र भविष्यमा प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक छलफलका लागि बमोजिम प्राविधिक टोलीका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा परराष्ट्र सचिवलगायतको टोलीले समेत विभागको निरीक्षण गर्नुका साथै विभागका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताएका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उनले सरकार पत्रकार महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । प्रधानमन्त्री दाहालले मुलुकका लागि केही नयाँ गर्ने सङ्कल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको उल्लेख गर्दै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताए । भेटमा महासङ्घका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री दाहालको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनी कामना गरे । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति, कानून तथा व्यवहार गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे । सो क्रममा महासङ्घले प्रधानमन्त्री दाहाललाई बधाई दिएको थियो । भेटमा महासङ्घका अध्यक्ष पोखरेलका साथै सल्लाहकार र केन्द्रीय समितिका पदाधिकारी र सदस्य सहभागी थिए ।

चालू पुँजी कर्जा मार्गदर्शन २०७९ को संशोधन सकारात्मक : महासंघ

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कार्तिकदेखि लागु भएको चालु पूँजी कर्जा मार्गदर्शन २०७९ मा संसोधन एवं परिमार्जन सकारात्मक भएको उद्योग वाणिज्य महासंघले जनाएको छ । संशोधनले सिमाभन्दा बढी कर्जा प्रवाह भएको अवस्थामा भुक्तानीको समयावधि बढाउनुका साथै न्युनतम सिमा पनि बढाएको छ । यसले उद्यमी व्यवसायीलाई भुक्तानीको समयावधि थप प्राप्त हुनेछ भने साना उद्यमीलाई राहत पुग्ने बताउँदै महासंघले यी व्यवस्था सकारात्मक भएको जनाएको छ । विद्यमान जटिल अवस्थामा अर्थतन्त्र चलायमान बनाउन महासंघले सरकार र राष्ट्र बैंक समक्ष महासंघले राखेका अन्य माग पनि सम्बोधन हुनु आवश्यक रहेको महासंघले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । उद्योगको प्रकृति अनुसार फरक चालू पूँजी रकम आवश्यक पर्ने हुंदा २ करोड भन्दा बढी चालू पूँजी कर्जाको सीमा २५ प्रतिशत मात्र गरिनु अव्यवहारिक देखिने महासंघले प्रतिक्रिया दिएको छ । स्थायी प्रकृतिको चालु पूँजी कर्जाको माथिल्लो सिमा १० बर्षलाई बढाउनु आवश्यक रहेको भन्दै महासंघले चालु पूँजी कर्जाको लागि चल सम्पत्ति बाहेक अन्य कुनै पनि प्रकारको स्थिर वा अचल सम्पत्ति (जस्तैः घर, जग्गा आदि) सुरक्षण आवश्यक हुने छैन भनि व्यवस्था गरिएकाले यसमा व्यक्तिगत सुरक्षण पनि आवश्यक नपर्ने उल्लेख गरिनु जनाएको छ । यसैगरी नवीकरण हुने प्रकृतिका सम्पूर्ण चालु पूँजी कर्जा खाता आर्थिक वर्षको कुनै एक समयमा उद्योग/व्यवसायको प्रकृतिअनुसार कम्तीमा लगातार ७ दिन शुन्य वक्यौता कायम हुनुपर्ने व्यवस्था अव्यवहारिक भएकोले यसको खारेजीको माग महासंघले गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गरी वस्तु उत्पादन गर्ने उद्योगहरुलाई प्रतितपत्र खोल्नेदेखि सिपिङ, ट्रान्जिट हुंदै उद्योगसम्म कच्चा पदार्थ आइपुग्न १ देखि ४ महिना समय लाग्ने बताउँदै वस्तु उत्पादन गरी बजारमा जांदा धेरै जसो उधारोमा जाने र बजारबाट पैसा उठ्न ३ देखि ६ महिना समय लाग्ने हुंदा उधारो उठाउने सम्बन्धी ऐन अविलम्ब ल्याउनु पर्ने हाम्रो सुझाव राखेको छ । बिषम आर्थिक परिस्थितिका कारण २०७९ पुस मसान्तमा ऋणीहरुले साँवा ब्याज तिर्न नसक्ने अवस्था रहेको र यसले समग्र वित्तीय क्षेत्रमा पनि जोखिम बढ्न जाने हुँदा २०७९ चैत्र मसान्तसम्मका लागि ऋणको पुर्नसंरचना एवं पुनरतालिकीकरणको व्यवस्था गर्नुपर्ने माग महासंघको गरेको छ । यसैगरी पर्यटन क्षेत्रलाई प्राप्त पुनरकर्जा सुविधाको निरन्तरताको आग्रह पनि गर्दै महासंघले अर्थतन्त्र चलायमान बनाउन उच्च ब्याजदर कम गर्न केन्द्रीय बैंकले सम्पूर्ण वित्तीय एवं मौद्रिक उपकरणको प्रयोग गर्नु आवश्यक रहेको जनाएको छ ।

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाका बहुमत सदस्यको दाबी पेश गर्न सात दिनको समय दिएर दलहरूलाई आह्वान गर्नुभएको लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । लुम्बिनी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि यही पुस २७ गते बुधबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको जनाइएको छ । लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि ४४ जना सदस्य आवश्यक हुन्छ । लुम्बिनी प्रदेशको पहिलो पार्टी नेकपा एमालेका २९ जना सदस्य छन् । त्यस्तै नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका नौ, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका चार/चार, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र जनता समाजवादी पार्टी जसपाका तीन/तीन, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका एक/एक जना र तीन जना स्वतन्त्र रहेका छन् । स्वतन्त्र एक सदस्य भने माओवादीमा फर्केको बताइएको छ ।

पूर्वप्रमुख पादरी बेनेडिक्टको अन्त्येष्टिका लागि सेन्ट पिटर्समा हजारौँको भीड

भ्याटिकनसिटी । संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको सोह्रौँको अन्त्येष्टिमा भाग लिन सेन्ट पिटर स्क्वायरमा हजारौँको भीड लागेको छ । गत शनिबार ९५ वर्षको उमेरमा भ्याटिकनको मेटर इक्लेसिया मठमा उनको निधन भएको हो । कफिनलाई कुहिरोले ढाकिएको सेन्ट पिटरको बासिलिकाबाट बाहिर निकालेर बेदीको अगाडि राख्दा विश्वासीले दिवङ्गत पादरीको प्रशंसा गरेका थिए भने रातो लुगा लगाएका पादरीलाई हेर्दै शोकाकुल अनुयायीले बेनेडिक्टको पार्थिव शरीर रहेको कफिनमा शिर निहुराएर श्रद्धाञ्जलि अर्पण गरे । साथै उनीहरूले बाइबललाई चुम्बन पनि गरे । ‘हामी बेनेडिक्टलाई श्रद्धाञ्जली अर्पण गर्न आएका हौँ, आज यहाँ अलबिदा भन्न चाहन्छौँ,’ अन्तिम संस्कारमा भाग लिन म्युनिखको पूर्वमा रहेको सानो गाउँबाट आएका रेमन्ड मेनारले भने । श्रद्धाञ्जलिका लागि विभिन्न देशका सरकार प्रमुख, राजपरिवारका प्रमुख, विश्वभरका पादरीसहितको भीड लागेको छ । जर्मनीका लजालु धर्मशास्त्री पूर्वप्रमुख पादरी बेनेडिक्टले इसाई धर्मको पुनर्जागरणका निम्ति गरेकाे योगदान र गिर्जाघरप्रतिको उनको समर्पणको विश्वभरका नेताले प्रशंसा गरेका छन् । उनीहरूले पादरी बेनेडिक्ट एक निष्ठावान् व्यक्ति थिए भन्दै उनका सिद्धान्तहरूलाई विश्वले सधैँ सम्झने बताएका छन् सन् २०१३ मा उनले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा गरेका थिए । छ सय वर्षपछि पदबाट त्यसरी राजीनामा गर्ने उनि पहिलो प्रमुख पादरी थिए । त्यस बेला उनले एक अर्ब २० करोड क्याथोलिकका गिर्जाघर सम्हाल्ने शक्ति आफूमा नरहेको घोषणा गर्दै पदबाट बाहिरिएका थिए । उनलाई बीसौँ शताब्दीका महान् धर्मशास्त्रीहरूमध्येका एक मानिन्छ । उनले आफ्नो जीवनकाल चर्चका सिद्धान्तलाई समर्थन गरेर बिताए । विवाद र असहमतिका बीच भएको त्यो राजीनामालाई विश्वले ‘साहसिक कदम’का रुपमा टिप्पणी गरेको थियो भने केहीले छ सय वर्षपछि जन्मेको ‘क्रान्तिकारी’ पोप भनेका थिए । रासस