१३ संस्थालाई गाभेको प्रभुले मंगलबार सेञ्चुरीसँग एकीकृत कारोबार गर्दै, यी हुन् मर्जरपछिका सञ्चालक
काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेदेखि सुरू हुने भएको छ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरेर प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने भएको हो । प्रभु बैंक र सेञ्चुरी बैंकबीच स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् मर्जर पश्चात् सेञ्चरी बैंकको १ सय कित्ता सेयर हुने सेयरधनीहरूले प्रभु बैंकको पनि १ कित्ता नै सेयर पाउनेछन् । सञ्चालक समिति र व्यवस्थापन समिति मर्जर पश्चात् बन्ने बैंकको सञ्चालक समितिको पनि टुंगो लागेको छ । प्रभु बैंकबाट ४ जना र सेञ्चुरी बैंकबाट ३ जना गरी कूल ७ सदस्यीय सञ्चालक समिति बन्ने भएको छ । प्रभु बैंकबाट लिला प्रकाश सिटौला, रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा, रामेश्वर सापकोटा सञ्चालक बन्नेछन् । प्रभु बैंकबाट ३ जना सञ्चालक बाहिरिने छन् । यस्तै, सेञ्चुरी बैंकबाट मन बहादुर राई, अभिषेक बज्राचार्य र गीता प्रधान सञ्चालक बन्नेछन् । सेञ्चुरी बैंकबाट अध्यक्ष रहेका राजेश कुमार श्रेष्ठ र रण बहादुर श्रेष्ठ भने बाहिरिने भएका हुन् । मर्जर पश्चात् बन्ने बैंकको अध्यक्ष अहिलेसम्म टुंगो नलागेको भएपनि प्रभु बैंकका अध्यक्ष रहेका लिला सिटौला बन्ने सम्भवाना रहेको छ । सञ्चालक मन बहादुर राईका अनुसार सञ्चालक समितिको टुंगो लागेपनि अध्यक्षको भने एकीकृत कारोबार पश्चात् टुंगो लाग्नेछ । मर्जर पश्चात् बन्ने बैंकको व्यवस्थापन नेतृत्वको पनि टुंगो लागिसकेको छ । मर्जर पश्चात् प्रभु बैंकका अशोक शेरचन प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने सहमति भएको छ । यस्तै, सेञ्चुरी बैंकका सीईओ रहेका मनोज न्यौपाने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । तल्लो तहको कर्मचारी व्यवस्थापन आन्तरिक रुपमा भइरहेको उनले बताए । सीईओ न्यौपाने सेञ्चुरी बैंक करारमा नियुक्त भएका थिए । तर, मर्जर पश्चात् उनी डेपुटी सीईओमा स्थायी हुने नियुक्त हुनेछन् । ‘सेञ्चुरी बैंकका सीईओ न्यौपानेलाई सिनियर डेपुटी सीईओमा स्थायी पदमा हालको सेवा सुविधा नघट्ने गरी व्यवस्थापन गरिएको छ, अन्य कर्मचारीलाई पनि हाल जुन पद छ सोही पदमा रहने गरी सेवासुविधा नघट्ने गरी सेञ्चुरी बैंकबाट प्रभु बैंकका कर्मचारी हुनेछन्, उहाँहरुको पदावधि सेञ्चुरीबाट नै गणना हुने सहमति भएको छ, अहिलेसम्म कुनै कर्मचारीले बाहिरिने निर्णय गरेका छैनन्, भिआरएस कर्मचारीले माग गरे भने जारी गर्ने हो तर अहिले कुनै माग आएको छैन,’ उनले भने । मर्जर पश्चात् यस्तो बन्नेछ बैंक मर्जर पश्चात् बैंकको चुक्ता पूँजी २३ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चरी बैंकको १० अर्ब रूपैयाँ छ । मर्जर पश्चात् बैंकको चुक्ता पूँजी निक्षेप २ अर्ब ७७ करोड रुपैयाँ र कूल कर्जा २ खर्ब ३४ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । बैंकको शाखा सञ्जाल ३४१ वटा र २९६ वटा एटिएम मेसिन पुग्नेछन् । सेञ्चुरी बैंकको १ हजार १४३ जना र प्रभु बैंकका २ हजार ४१२ जना कर्मचारी रहेका छन् । मर्जर पश्चात् ३ हजार ५५५ जना कर्मचारी संख्या पुग्नेछ । दुवै बैंकको एकीकृत कारोबा मंगलबार विहान १० बजे प्रभु बैंकको केन्द्रिय कार्यालयमा हुनेछ । प्रभु बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचनको प्रमुख आतिथ्यतामा संयुक्त कारोबार हुने भएको हो । दुबै बैंकको पुस १४ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले मर्जरका लागि पुस १९ गते अन्तिम स्वीकृति दिएको थियो । बैंकको केन्द्रिय कार्यालय प्रभु बैंकको हालको केन्द्रिय कार्यालयलाई तोकिएको छ । प्रभु बैंकका पूर्व अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य देवीचन्द्र भट्टचनले दुवै बैंकको संयुक्त कारोबार गर्ने भएका हुन् । बैंकको केन्द्रिय कार्यालय प्रभु बैंकको हालको केन्द्रिय कार्यालयलाई तोकिएको छ । प्रभु बैंकका पूर्व अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य देवीचन्द्र भट्टचनले दुवै बैंकको संयुक्त कारोबार गर्ने भएका हुन् । १३ वटा संस्था मर्ज भएर प्रभु बैंक बन्दै प्रभु विकास बैंक, प्रभु फाइनान्स र वैभव फाइनान्सबीच २०७० असार ३० गते एकीकृत कारोबारपश्चात् प्रभु विकास बैंक सञ्चालनमा आएको थियो । साथै सो बैंकले २०७१ मंसिर ५ गते जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्ति गरेको थियो । यस्तै, प्रभु बैंक २०७३ माघ २ गते ग्राण्ड बैंक नेपालसँग मर्जर भएको थियो । यस्तै, सेञ्चुरी बैंकले हालसम्म विभिन्न ५ वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गरेको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई वि.स. २०७४ मंसिर २२ गते एकैदिन प्राप्ति गरेको थियो । त्यसअघि बैंकले सगरमाथा फाइनान्सलाई वि.सं. २०७४ असार ३१ गतेका दिन प्राप्ति गरेको थियो । बैंकले शुरुमा २ वटा बैंक इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनीको डेभलपमेन्ट बैंकलाई सोही वर्ष जेठ २८ गते प्राप्ति गरेको थियो ।
नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड समारोह सम्पन्न, २४३ अभिकर्ता सम्मानित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको एमडीआरटी अचिभर्स अवार्ड समारोह सम्पन्न गरेको छ । इन्स्योरेन्सले पुष २४ गते काठमाडौंको हायत प्लेसमा एमडीआरटी अचिभर्स अवार्ड २०२३ समारोह सम्पन्न गरेको हो । कम्पनीले वर्ष सकिएको सात दिन भित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ हजार ३०० रुपैयाँ प्रथम बीमा शुल्क सकलन गरी एमडीआरटीका लागि योग्य भएका २४३ जना अभिकर्तालाई सम्मान गरेको हो । २०७९ असोज मसान्तसम्ममा कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ ।
चिकित्सक संघले २ संस्थासँगको सहकार्यमा २ चिकित्सकलाई १ लाख नगद सहित अवार्ड प्रदान गर्ने
काठमाडौं । नेपाल चिकित्सक संघले रुपा फाउन्डेसन र सज्जन-श्याम ट्रस्टसँगको सहकार्यमा चिकित्सकलाई अवार्ड प्रदान गर्ने भएको छ । अपिल अनुसार संघले २ जना चिकित्सकलाई १/१ लाख नगद पुरस्कार सहित अवार्ड प्रदान गरिने जनाएको छ । चिकित्सक संघले प्रदान गर्ने पुरस्कार एक जना महिला र एक जना पुरुषले पाउने जनाइएको छ । अवार्डका लागि आगामी माघ २ गतेसम्म आवेदन दिन सकिने र संघको स्थापना दिवसको दिन अवार्ड प्रदान गरिने संघको अपिलमा उल्लेख गरिएको छ । स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको, चिकित्सक संघको आजीवन सदस्य रहेको, नयाँ सेवा स्थापनाको लागि रचनात्मक भूमिका निर्वाह गरेको, खोज अनुसन्धान कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको लगायतका मापदण्ड पुरा गरेको व्यक्तिले अवार्डका लागि आवदेन गर्न सक्ने जनाइएको छ । मापदण्डको बारेमा संघले अपिलमा विस्तृत विषय उल्लेख गरेको छ ।
नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढी व्यक्ति अपहरण
नाइजेरिया । नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके(४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेको जनाएको छ । इडो गभर्नरको कार्यालयले जनाएअनुसार बन्दुकधारीहरूको आक्रमण इग्वेबेनमा करिब ४ बजे स्थानीय समयमा भएको थियो । एके ४७ असल्ट राइफल लगायतका हतियार लिएर आएका मानिसहरूले आक्रमणको सो स्टेशनमा ट्रेनको पर्खाइमा रहेका यात्रुहरूलाई आक्रमण गरेका थिए । सूचना मन्त्री क्रिस ओसा नेहिखारेले आक्रमणमा ३२ जना अपहरणमा परेको तर एकजना बेपत्रा भएको बताएका छन् । अहिले, सुरक्षाकर्मीहरू परिचालन गरी पीडितहरूको उद्धार कार्य अगाडि बढाइएको नेहिखरेले जनाएका छन् । रासस
लोकतन्त्रको रक्षाका लागि सक्रिय भूमिका खेल्छौँ : अध्यक्ष राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो व्यवस्थाको दिगोपनाका लागि पार्टीले सक्रिय भूमिका खेल्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले लाग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘गणतान्त्रिक व्यवस्थाप्रति हाम्रो उच्च सम्मान रहेको छ, त्यस्तै लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि पार्टीले सदैव अग्रणी भूमिका खेल्नेछ ।’ अध्यक्ष राउतले आफूहरुलाई संसद्मा पु-याउन भूमिका खेल्ने जनताको अभिमतलाई धन्यवाद दिँदै आफ्नो निर्वाचन क्षेत्रबाट यसअघि निर्वाचित उम्मेदवारको पनि स्मरण गरे । ‘आवेग र अग्रजप्रति पार्टीको सम्मान पनि छ । हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकाङ्क्षा हो, त्यसलाई सकारात्मक ऊर्जाका रुपमा उपयोग गर्न सकौँ भनेर यहाँ आएको छु’, उनले भने । नेपाल विविधतायुक्त मुलुक नेपालको समस्यालाई सामूहिकरुपमा समाधान गर्न सबै अग्रसर हुनुपर्नेमा जोड दिए । उनले किसानले बेहोरिरहेको विभिन्न समस्याबारे सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
ग्लोबल आइएमईका नवनियुक्त अध्यक्ष ढकालले लिए शपथ, यस्तो छ सञ्चालक समिति
काठमाडाैं । ग्लाेबल आइएमई बैंकका नवनियुक्त अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । ढकालले साेमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गाेपनियताकाे शपथ लिएका छन् । ग्लाेबल आइएमई बैंकले साेमबारबाट बैंक अफ काठमाडाैंसँग ‘ग्लाेबल आइएमई बैंक’ नामबाट एकिकृत काराेबार सुरु गरेकाे छ । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहेकाे छ । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याबिनेट श्रेष्ठ र राम बहादुर भण्डारी रहेका छन् । यस्तै, बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशी रहेका छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
चार वर्षपछि पोखरा र भैरहवा विमानस्थल यात्रुले भरिभराउ हुन्छन् : महानिर्देशक अधिकारीसँगको कुराकानी
त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल सञ्चालनमा आएको झण्डै ७५ वर्षपछि भैरहवा र पोखरामा दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गत जेठ २ गतेदेखि भैरहवामा गौतमबुद्ध अन्तर्र्राष्ट्रिय विमानस्थल र पुस १७ गतेदेखि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको छ । दुई ठुला विमानस्थल निर्माण भएर सञ्चालनमा आएतापनि अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । केही समय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएतापनि अहिले उडान विहीन भएको छ । पोखरा विमानस्थलको औपचारिक उद्घाटन नै आन्तरिक उडान बाट भएको थियो । दुई ठुला विमानस्थलमा किन अन्तर्राष्ट्रिय उडान हुन सकेनन ? आवश्यक उपकरण सञ्चालनमा भारतको अवरोध, आन्तरिक उडानको भाडादर लगायतका विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीसँग विकासन्युजले कुराकानी गरेको छ । गत जेठबाट नियमित उडान भएको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान किन हुन सकेन ? अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नहुनुको मुख्य कारण नै खराब मौसम हो । अहिले हामीले आइएलएस सिष्टम सञ्चालन गर्न सकेका छैनौं । उक्त सिष्टम सञ्चालन नहुँदा बिहान लाग्ने बाक्लो तुवालोले उडान तथा अवतरण ठप्प भएको हो । जजिरा एयरलाइन्सले बिहान उडान गर्ने गरेको थियो । बिहानको समयमा मौसम खराबकै कारण जजिराले उडान पोष्टपोन्ट गरेको हो । अन्य वायुसेवा कम्पनीलाई हामीले भैरहवाबाट उडान गर्न आग्रह गरेका थियौं । कोभिडका कारण खोसिएको व्यवसाय पहिलेकै रुपमा नआएको हुँदा उहाँहरुकै आग्रहमा हामीले फोर्स उडानलाई नियमित गर्न सकेनौं । सन् २०२६ मा मात्रै पुरानै अवस्थामा फर्कने हामीले अनुमान गरेका छाैं । आइएलएस सिष्टम सञ्चालनमा भारतकै अवरोध हो ? हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस सिष्टम जडान गरिसकेका छौं । सञ्चालनका लागि केही कामहरु बाँकी हुँदा सञ्चालन नभएको हो । हामीले नेगोसेसन गर्न बाँकी छ । सिष्टम अहिले पनि अपग्रेड भैरहेको छ, सञ्चालन मात्रै हुन नसकेको हो । उक्त सिष्टम सञ्चालन गर्न हामीले मित्रराष्ट्र भारतबाट अनुमति लिएर मात्रै पब्लिक गर्नुपर्ने हुन्छ, उताबाट अनुमति नपाउँदा तत्काल रोकिएको हो नेपाल आउने बाटो भारतसँग समन्वय नगरी छैन । उक्त सिष्टम सञ्चालनका लागि समन्वय भैरहेको छ, अब छिट्टै सञ्चालन हुने अपेक्षा छ । भारतसँग प्राविधिक समन्वय गर्नुपर्छ । हाम्रा सबै तयारी र काम सकिसकेका छन । उताको सहमति मात्रै कुरेका हौं ।’ भैरहवामा जहाज कहिलेदेखि चल्छन ? अहिले चिसोका कारण तराईमा सितलहरका कारण बाक्लो हुस्सो लाग्ने गरेको छ । मौसम अलि सफा भएपछि उडान सुरु भैहाल्छ । मौसमका कारण उडान रोकिएको हो, अन्य कारण छैन, मौसममा सुधार आउनासाथ धमाधम उडान भैहाल्छ । भारत सरकारसँग उडान अनुमतिको कुरा बाइल्याटर एग्रिमेन्ट हो, यसमा क्यानले केही गर्न सक्ने अवस्था छैन । पराराष्ट्र मन्त्रालय, प्रधानमन्त्री लगायतका उच्च निकायबाट कुरा भैरहेको छ, हामीले आधिकारिक रुपमा पत्र पठाइसकेका छौं, अहिलेसम्म उताबाट केही जवाफ आएको छैन । हामी लागिरहेका नै छौं । अब यसको समाधान कुटनीतिक तवरबाट हुनुपर्छ । अन्य क्षेत्रमा माग बढी हुँदा मूल्य घट्छ र माग कम हुँदा मूल्य घट्छ तर हवाई सेवामा माग बढी भयो भने भाडा बढ्छ कम माग भयो भने घट्छ, यस्तो किन ? आन्तरिक उडानमा चर्काे भाडादर हुनुको मुख्य कारण नै हवाई इन्धन हो । नेपाल आयल निगमले हवाई इन्धनमा मात्रै ३५ देखि ४० प्रतिशतभन्दा बढी नाफा खादा हवाई भाडादर महंगो भएको हो । एक त हवाई इन्धनको मूल्य छ, अर्काे नेपाल एयरलाइन्सको आन्तरिक उडानमा न्यून प्रतिस्पर्धाका कारण उडान भाडादर महँगो भएको हो । नेपाल एयरलाइन्स सेवा प्रदायक निकाय हो, थोरै नाफा राखेर निगमले आन्तरिक उडानमा प्रतिस्पर्धा गर्न सके अहिले कायम भएको भन्दा आधा भाडा घट्छ । सरकारी वायुसेवा कम्पनीको न्यून सहभागिता छ, निजी वायुसेवा कम्पनीको मोनोपोली छ, उनीहरु व्यापार गर्न आएका हुन । मोनोपोली हुन नदिन सरकारले वायुसेवा कम्पनी सञ्चालन गरेको हो । यसमा निगमले हस्तक्षेप गर्न सके दुर्गमका बस्ने सेवाग्राहीले पनि जहाज चढ्न सक्छन् । नेपाल वायुसेवा निगम जहाज थन्काएर उडान नगर्ने, नेपाल आयल निगम हवाई इन्धनमा मात्रै ४० प्रतिशतभन्दा बढी नाफा राख्ने, अनि महंगो हुँदैन हवाई टिकट ? चर्काे शुल्क खाएर पनि निजी वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । प्राधिकरणले भैरहवा र पोखरा विमानस्थल बनाउन लागेको ऋण तिर्न सक्छ ? वार्षिक रुपमा प्राधिकरणको आम्दानी २० अर्ब बढी छ । जसमा हाम्रो खर्च ९ अर्ब हाराहारीमा आउँछ । वार्षिक रुपमा ९ अर्ब हामीसँग बचत हुन्छ, ऋण तिर्न समस्या नै छैन । हामीले वार्षिक रुपमा सरकारलाई १ अर्ब बराबर आयकर, ६ अर्ब सञ्चालन खर्च र विभिन्न आयोजनाका लागि लिइएको ऋणको ब्याज २ अर्ब भुक्तानी गर्ने गरेका छौँ । वार्षिक २० अर्ब हाराहारीमा आम्दानी गर्ने प्राधिकरणको ऋण करिब ३८ अर्ब बराबर छ । जसमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न चिनियाँ एक्जिम बैंक र चीन सरकारमो मिनिस्ट्री अफ कमर्शबाट २२ अर्ब, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एशियाली विकास बैंकको ७ अर्ब र नयाँ परियोजनाका लागि करिब ९ अर्ब हाराहारीमा हामीले ऋण लिएका छौं । उक्त ऋणको हामीले वार्षिक रुपमा सावाँ र व्याज भुक्तानी पनि गर्दै आएका छौं । दुई विमानस्थल बनाउन लिएको ऋण तिर्न क्यान सक्षम छ । भर्खर सञ्चालनमा आएका दुई विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जस्तो भरिभराउ देख्न सम्भव छ ? नेपालको हवाई क्षेत्र कोरोना अगाडीकै अवस्थामा फर्कन हामीले अझै पर्खनु पर्ने देखिएको छ । कोरोना अगाडिकै तुलनामा हवाई क्षेत्र फर्कन हामीले सन् २०२६सम्म पर्खनु पर्ने विभिन्न आंकलन गरिएको छ । विश्वभर असर गरेको कोरोनाकै असर गौतमबुद्ध र पोखरा विमानस्थलमा देखिएको हो । काठमाडौंको जस्तो यात्रुको भीड लाग्न हामीले केही समय पर्खनु पर्छ । आजभन्दा ७५ वर्ष अगाडि काठमाडौं विमानस्थल सञ्चालन गर्दा पनि यस्तै अवस्था थियो । यो प्रश्न काठमाडौं विमानस्थल निर्माण भएको भोलिपल्टै सोधिएको भए पनि त्यसबेला पनि सान्दर्भिक हुने थिएन । धेरै लामो पखाईपछि मात्र काठमाडौं विमानस्थल चलेको हो ।
पाकिस्तानको दक्षिण पश्चिममा बस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु, २० घाइते
पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु हुनाका साथै अन्य २० जना घाइते भएका छन् । प्राप्त जानकारी अनुसार त्यहाँस्थित राजमार्गमा मध्यरातमा बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो । मृतक र घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पतालका कर्मचारीले सञ्चारमाध्यमलाई बताएका छन् । पाकिस्तानमा प्रायः सडक मुख्य कारण जीर्ण सडक र सडक सुरक्षाका उपायको अवलम्वनको कमी नै हुने गरेको अनुसन्धानले देखाएको छ । रासस