नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौं उडान भर्दै
मङ्गलबारे । नेपाल एयरलाइन्सले आजदेखि इलाम-काठमाडौँ उडान सुरु गर्ने भएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ । एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान सञ्चालन हुने भएको हो । इलाम नगरपालिका–९ मा रहेको यस फल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट गत वर्ष इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरेर केही उडान गरेको थियो । तर सम्झौता सकिएसँगै उडानसमेत बन्द भएको छ । विमानबाट इलाम–काठमाडौँ करिब एक घण्टामा एकोहोरो उडान गर्न सकिन्छ । आज करिब ८ बजे काठमाडौँबाट उडान गर्ने तालिका रहेको छ । इलाममा करिब ९ बजे आउने र साढे नौ बजे काठमाडौँका लागि उड्ने तालिका निर्धारण भएको इलाम नगर प्रमुख केदार थापाले बताए । उनले उडानसँगै इलाममा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिएको जानकारी दिए । इलामबाट १९ सिट क्षमताको ट्वीनअटर जहाज सञ्चालन हुनेछ । इलामबाट काठमाडौँको एकतर्फी भाडा रु छ हजार तीन सय तोकिएको छ । काठमाडौँबाट इलामका लागि भने एकतर्फी भाडा रु छ हजार पाँच सय तोकिएको छ । तर ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ । एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ । यात्रुले इलाम बजारस्थित सिटीमार्टको पहिलो तलाबाट टिकट लिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । यो विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ । पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ । यस विमानस्थल छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको छ ।
कृषि कर्मबाट वार्षिक २० लाख आम्दानी गर्दै गुरुङ दम्पती
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा छितातालमा टाढाबाटै सेताम्मे टनेल लहरै देखिन्छन् । समथल भू-भाग रहेको छितातालमा निर्माण गरिएका दर्जन बढी टनेलभित्र अकबरे खुर्सानी, क्यारिलोना (पिरो खुर्सानी), गोलभेँडा, तितेकरेला, काँक्रा, मुला, गाँजर, प्याज, बन्दा, काउलीलगायत विभिन्न जातका तरकारी तथा फलफूल लटरम्म फलिरहेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डबाट करिब २० मिनेट तल पर्ने छितातालमा ‘सालपा–छिता बहुउद्देश्यीय कृषि फार्म’ सञ्चालनमा छ । पर्यटकीय दृष्टिले रमणीय ठाउँ छितातालमा स्थानीय केशोर गुरुङ ‘युवराज’ले बहुउद्देश्यीय व्यावसायिक कृषि व्यवसाय सञ्चालन गरेका हुन् उनले व्यावसायिक कृषि पेसा अपनाएको करिब चार वर्ष भयो । विसं २०७५ मा कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषि पेसा सुरु गरेका उनको वार्षिक आम्दानी अहिले २० लाखभन्दा बढी छ । किसान युवराजले उत्पादन गर्नुभएको तरकारी तथा फलफूल विशेषगरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको छ । बेमौसमी खुर्सानी प्रतिकेजी चार सय ५० र गोलभेँडा प्रतिकेजी ७५ मा दिक्तेल बजारस्थित विभिन्न बिक्री केन्द्रमा आफैँले लगेर ठेगाउने (ठेक्कामा लिएर बेच्ने व्यक्तिलाई आफ्नो मूल्य लिएर दिने) गरेका छन् । विज्ञान विषयमा आइएस्सी तथा आइटी इञ्जीनियर अध्ययन गरेका ३६ वर्षीय उनीलाई श्रीमती सरिता गुरुङले समेत सहयोग गर्दै आएका छन् । सरिता बिहान–बेलुका घरधन्दा गरेर बचेको दिउँसोको समय कृषि फार्ममा काम गर्छन् । श्रीमान्–श्रीमती मिलेर सञ्चालन गरेको कृषि फार्मको आम्दानी देखेर छिमेकीहरू पनि उनीहरूको सिको गर्न थालेका छन् । गुरुङ दम्पतीको बहुउद्देश्यीय कृषि फार्म २४ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको छ । बहुउद्देश्यीय कृषि फार्ममा अकबरे खुर्सानी दुई हजार दुई सय बोट र क्यारोलिना नौ सय बोट रहेको जनाइएको छ । बजारमा क्यारोलिनाभन्दा अकबरेको बढी माग रहेको युवराज बताउछन् । ‘बजारको मागलाई मध्यनजर गर्दै अफसिजन (बेमौसममा उत्पादन हुने)का लागि अकबरे र क्यारोलिना एक–एक टनेल लगाइएको जनाइएको छ’, उनले भने, ‘अकबरेको माग धान्न नसकिने भएपछि टनेल थप्ने तयारी गरेका छौँ ।’ सो कृषि फार्ममा स्थानीय युवाले समेत आफ्नै गाउँमा रोजगारी पाएका छन् । फार्ममा आइपर्ने काममा सहयोग गर्न–गराउन ज्यालादारीमा दैनिक पाँच–छ जना युवालाई लगाउने गरिएको गुरुङ दम्पतीले बताएका छन् । यस वर्ष थप स्तरोन्नति गर्ने योजना रहेको फार्ममा यस वर्षबाट कर्मचारीका रूपमा पूर्णकालीन कामदार राख्ने तयारी गरिएको युवराजले बताए । ‘अहिले दैनिक ज्यालादारीमा काम लगाउने गरिएको छ । तीन सयका दरले दैनिक पाँच–छ जनालाई ज्याला दिनुभन्दा पूर्णकालीन कर्मचारी राख्दा फाइदा हुने भएकाले यो वर्षबाट पूर्णकालीन कर्मचारी तयारी गरेका छौँ’, उनले भने, ‘पूर्णकालीन कर्मचारी भएपछि उनीहरूलाई पनि पाएजस्तो हुने, हामीलाई पनि दिएजस्तो हुने । दुवैतर्फको काम चल्ने भएकाले दुई जना युवालाई पूर्णकालीन कर्मचारी राख्ने तयारी गरेका हौँ ।’ गुरुङ दम्पतीले सोही कृषि फार्ममा तरकारी र फलफूलसँगै माछा र बाख्राखसीसमेत पाल्नुभएको छ । उनीहरुको बहुउद्देश्यीय कृषि फार्ममा अहिले दुईवटा पोखरीमा माछा तथा ३२ खसीबाख्रा रहेका छन् । कृषि फार्मबाट माछाका भुरासमेत ग्रडिङ गरेर (बढाएर) बिक्री गर्दै आएका गुरुङ दम्पतीले वार्षिक छ सय केजीभन्दा बढी माछा बिक्री गर्दै आएका छन् । ग्रास र कमनकार्प प्रजातिका माछा उत्पादन गर्दै आएका गुरुङ दम्पतीले गाउँघर तथा दिक्तेल बजारमा बिक्री गर्दै आएका छन् । बहुउद्देश्यीय कृषि फार्मबाट खसी वार्षिक सात–आठवटा तथा मसिनो पाठापाठी १०–१५ वटा बिक्री गर्ने गरिएको बताइएको छ । बैंकको ऋण लिएर व्यावसायिक कृषि फार्म सञ्चालन गरेका गुरुङ दम्पतीको एक छोरी छन् । कृषि व्यवसाय गर्ने कृषकका लागि बजारको समस्या भए पनि आफ्नै गाउँमा केही गरौँ भन्ने उद्देश्यले कृषि पेसा अङ्गालेको युवराजले बताएका छन् । ‘विदेशको मोह लागेन । ठूलो देश जानु बढी खर्च हुने । आफ्नै गाउँमा केही गरुम भन्ने उद्देश्यले कृषि व्यवसाय सुरु गरियो”, उनले भने, ‘अरुको खटनमा बस्नु परेन, सिर्जनशील हुनसके र मेहेनत गर्न सकेमा आफ्नै ठाउँमा पनि मनग्य आम्दानी गर्न सकिने रहेछ ।’ गुरुङ दम्पतीको बहुउद्देश्यीय कृषि फार्मलाई कृषि ज्ञान केन्द्र खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले टनेल सहयोग गरेको जनाइएको छ । दुई एमएस टनेलका लागि कृषि ज्ञान केन्द्र र दुई प्लास्टिक टनेलका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको युवराजले बताए ।
माघीपर्व मनाउँदै थारू समुदाय
काठमाडाैं । थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीलगायत अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेषरूपमा मनाउँदै छन् । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरू चारधाम जाने र नसक्नेहरूले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरूले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ । गाउँका मुखिया सबै मिलेर छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने गर्छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनोट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ । विशेषगरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारू समुदायमा छ । सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ । थारू समुदायमा प्राचीनकालदेखि नै मुखिया छान्ने परम्परालाई लोकतान्त्रिक अभ्यासका रूपमा लिने गरिन्छ । माघ १ गते नै यो अभ्यास हुने प्राचीनकालदेखिकै परम्परा छ ।
नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कतिमा पाइन्छ कर्जा ?
काठमाडौं । नेपाल बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । रेमिट्यान्स बचत खातामा ९.४२ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, बैंकको मुद्दति निक्षेपमा ९ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको हो । यस्तै, बैंकले कर्जामा अकितम ६ प्रतिशतसम्म प्रिमियम शुल्क तोकेको छ । बैंकको असोज मसान्तसम्म आधारदर ८.९२ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.२६ प्रतिशत रहेको छ ।
नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, आधार दर ९.४५ प्रतिशत
काठमाडौं । नबिल बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर घटेको छ । बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । यस्तै, बैंकको मुद्दति निक्षेपमा ९ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको हो । यस्तै, बैंकले कर्जामा अकितम ६ प्रतिशतसम्म प्रिमियम शुल्क तोकेको छ । बैंकको असोज मसान्तसम्म आधारदर ९.४५ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.०३ प्रतिशत रहेको छ ।
मिर्मिरे लघुवित्तको २३ प्रतिशत लाभांश पारित
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १२ ओं बार्षिक साधारण शभाले लाभांश पारित गरेको छ । लघुवित्तले गत आर्थिक बर्ष २०७८र७९ को नाफाबाट २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रप्स्ताव पारित गरेको हो । साथै संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पनि पारित गरेको छ । लघुवित्तका देशभर १५२ वटा शाखा संजाल रहेका छन् । लघुवित्तको गत असार मसान्तसम्म चुक्ता पूँजी ५२ करोड २० लाख रहेको थियो । चालु आर्थिक आर्थिक बर्ष २०७९र८० मा बुद्दज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरि चुक्ता पूँजीमा ९१ लाख २० हजारको बढोत्तरी भई ५३ करोड १२ लाख पुगेको थियो । साथे बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी ६५ करोड ३३ लाख कायम पुगेको छ । लघुवित्तले हालसम्म ३ वटा लघुवित्तलाई प्राप्ति गरिसकेको छ । एक आपसमा गाभ्नेरगाभिने सम्बन्धमा मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक समझदारी सम्पन्न भएको छ ।
प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ
काठमाडौं । प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बैंकको पुस २८ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा २ जना गरी ५ जना निर्वाचित गरेको थियो । संस्थापकबाट राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारणबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका थिए ।साधारणसभापश्चात् बसेको सञ्चालक समितिको ४५९ औं बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
पोखरा फाइनान्सको लाभांश पारित, अध्यक्षमा डा. दीर्घमान गुरुङ चयन
काठमाडौं । पोखरा फाइनान्सको २६ औं वार्षिक साधारण सभाले लाभांश पारित भएको छ । फाइनान्सको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरण पश्चात् फाइनान्सको चुक्ता पुँजी १.०८ अर्ब रुपैयाँ पुगेको छ । साथै सभाले अबको ४ वर्षको लागि संस्थापक समूहबाट डा. दीर्घमान गुरुङ, प्रतिक गुरुङ र दिवाकर पौडेललाई सञ्चालकमा सर्वसम्मत नियुक्त गरेको छ । सञ्चालक समितिको बैठकले डा. दीर्घमान गुरुङलाई संस्थाको अध्यक्ष पदमा नियुक्ति गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षक नियुक्त गरेको छ । साथै पोखरा फाइनान्स र अन्य उपयुक्त बैंक, वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न समेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । पोखरा फाइनान्सले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको संस्थाले जनाएको छ ।